आफ्नो घर नभएको छेपारो
जब रात पर्छ र चिसोले सताउन थाल्छ
अनि सम्झन थाल्छ
काम पो गर्नुपर्ने रहेछ
मेहनत गरेर मौरीले जस्तै
घर पो बनाउनु पर्ने रैछ ।
चिसोमा छटपटाउँदै
रात बिताइरहेको छेपारो
बिहानीपख त्यही चिसो ढुंगामा
फुसुक्क निदाउँछ,
घरभित्र सुतेका माहुरीहरु
बिहानै उठ्छन् र आ–आफ्नो काममा लाग्छन् ।
उता बिहानको घाम
छेपारोको ढाडमा लाग्न थाल्छ
तातो घामको न्यानोमा
अल्छी छेपारो
दिउँसै सपना देख्न थाल्छ र
सपनामै बर्बराउँछ –
घर त गजबसँगै बनाइयो
कस्तो न्यानो !
माहुरीहरुका जस्तो जालीदार घर हो र ?
मेरो घर त पूर्वको घाम सिधै आउने
पश्चिमतिरबाट हावा बहने
आहा !!
माहुरीहरु हो पख अब
म तिमीहरुलाई सिकाउँछु
घर कस्तो हुनु पर्छ र कसरी बनाउनु पर्छ ।।।
त्यही बेला त्यही बाटो फर्कदै गरेको
एक हुल माहुरीको भुनुनु आवाजले
मीठो सपनाबाट झसङ्ग हुँदै
छेपारो
नमीठो गरी व्युँझन्छ,
उही चिसो ढुंगा
ढल्कँदै गरेको घाम, र
उही आलस्यपना ।।।