मातृत्वजस्तै ममता म हाँसूँ
भ्रातृत्वजस्तै समता म गाँसूँ
प्रकाशजस्तै म दिगन्त नाचूँ
आकाशजस्तै म अनन्त बाँचूँ ।
निर्भीक भै सत्य सधैँ म बोलूँ
निर्माणका द्वार सबै म खोलूँ
बाटा नयाँ जीवनका खनूँ म
संवेगको उच्च चुली बनूँ म ।
दुर्गन्ध मैलो मनको म धोऊँ
सुगन्धले मग्मग पुष्प होऊँ
विद्वेषका झार सबै उखेली
हालूँ सुखी जीवनको सुसेली ।
सम्भावनाका प्रतिभा म बोकूँ
सद्भावनाका बिरुवा म रोपूँ
हाँसूँ म मान्छे हँसिला बनाई
बाँचूँ म आफू दुनियाँ बचाई ।
सन्जीवनी जीवनका छरूँ म
पीडा दुखी जीवनका हरूँ म
बाल्दै दियालो सृजना गरूँ म
बाँड्दै उज्यालो नमरी मरूँ म ।