पोखरालाई कर्मथलो बनाएका ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक’ ले जीवनको उत्तराद्धमा एक साथ अनेकन खुसी र ‘सरप्राइज’ पाए। जीवनको वयमा ६० वर्ष पुग्दा बल्ल पहिलो पटक काठमाडौं टेक्ने र देख्ने अवसर मात्रै पाएनन्, उनका वर्षौदेखि लेखेर थन्किएका कविताहरुले पुस्तकाकार पाए । यति मात्रै होइन, संघीय राजधानीको सुन्दर मण्डला थिएटरको मञ्चमा दिग्गज दर्शकका सामु कविता सुनाउने अवसर समेत पाए ।यति धेरै संयोग र खुसी आफ्नो जीवनमा पहिलो पटक प्राप्त भएको प्रतीकले बताए ।
पोखराका ‘प्रतीक’को पहिलो कृति ‘भुइँमान्छेका कविता’ काठमाडौंमा लोकापर्ण गरिएको छ। विश्व मजदुर दिवसका दिन ‘कन्सेप्ट नेपाल’ले मण्डला थिएटरमा आयोजना गरेको ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा उनको कृति विमोचन, सम्मान र एकल वाचन गरियो।
बुक्स हिमालयले प्रकाशन गरेको ‘भुइँमान्छेका कविता’ कृति प्रमुख अतिथि साहित्यकार माया ठकुरी, कवि तीर्थ श्रेष्ठ, प्रकाशन संस्थाका पवन शाक्य र कृतिकार प्रतीकले संयुक्त रुपमा लोकापर्ण गरे। यसमा ३१ ओटा कविता छन्। लगत्तै प्रतीकलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरियो।
विगत तीन दशकदेखि कविता, कथा र गजल लेखनमार्फत नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएस्वरूप सम्मान गरिएको कार्यक्रम संयोजक अमृत भादगाउँलेले बताए।
प्रतीकको कवितामाथि बोल्दै कवि अभय श्रेष्ठले भने, ‘हामीसँग दुई आँखा छन् जसले हामी भौतिक संसारलाई नियाल्छौँ। कवि हुन ती दुई आँखाभन्दा पनि हृदयका आँखा खुल्नु जरुरी छ। हृदयका आँखा बन्द भए हाम्रा भौतिक आँखा अपूर्ण हुन्छन्। प्रतीकका कविता हृदयका आँखा खोलेर लेखिएका अन्तर्दृष्टियुक्त अभिव्यक्ति हुन्।’
कवि श्रेष्ठले प्रतीकसँगको सम्बन्ध बारे चर्चा गरेका थिए भने प्रमुख अतिथि ठकुरीले आशीर्वचन प्रदान गरेकी थिइन्। कार्यक्रममा प्रकाशक शाक्यले शतप्रतिशत लेखकस्व स्रष्टालाई नै दिने गरी बर्सेनि एउटा किताब प्रकाशन गर्दै जाने घोषणा गरे। यस सिलसिलामा भुइँमान्छेको कविता पहिलो कृति हो।
खचाखच दर्शक माझ ‘इक्कु इक्कु भन्छन् मलाई’ कविताबाट वाचन सुरु गरेका उनले क्रमशः कालै हुन्छन् छायाँहरू, मलाई बुझ्न मन लाग्यो, काल आएसि, बाँदरहरू, तिमी फूल हौ, अहिंसा प्रेमको जरा हुनुपथ्र्यो, सिकारी जुकाहरू, इन्जिनियहरू र इन्द्रेणी पोखिएको धर्तिको गीत शीर्षक कविता सुनाए।
दिनभरि मजदुरी गरेपछि साँझ डेरामा बसेर साहित्य सृजना गर्दै आएका ‘प्रतीक’ अचेल पोखराको विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्छन्। विगतमा उनले कहिले सेती नदी किनारका बालुवा चाल्ने काम गरे भने कहिले घर बनाउने र रंगरोगन गरे।
पुर्खयौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको आफ्नो घर छैन। जग्गा पनि छैन। त्यसैले उनी डेराको जीवन बाँचिरहेका छन्। प्रकाशनका लागि उनका थुप्रै पाण्डुलिपि तयार छन्।