विलक्षण प्रतिभाकी धनी झमककुमारी मान्छेहरूकै बस्तीमा अपाङ्ग र अप्ठ्यारो मान्छे भई जन्मेकी एकजना सचेत सिर्जनशील योद्धा । जस्को वाकशक्ति नै छैन तर वाकशक्ति हुने बाठाहरूको कुरूप कुराहरूभन्दा सुन्दर खालका विचार सम्प्रेषण गरेर उनी कविता कोर्छिन्, लेख–निबन्ध लेख्छिन् र कथा–कुथुङ्गीमा पात्रहरू खोज्छिन् । नपत्याउँदीली दन्थकथामा वर्णित जादूगर पात्रहरूभन्दा कमजोर नभएकी झमककुमारी साँच्चिकै धर्मशास्त्रमा वर्णित ‘देव–कन्या’ भन्दा शक्तिशाली देखिन्छिन् । देशको परिवेश धमिलो छ तर दृष्टि कमजोर रहे पनि झमककुमारी सुन्दर कुराहरू आफ्नो मर्मभित्र लुकाएर कुरूपताकै विरूद्ध विचार अभिव्यक्ति दिन सिपालु छिन् । दुवै हात नचलेका अभागीजस्तै देखिने, ढाड सीधा नभएकी, खुट्टा डोब्रिएकी, शरीर खुम्चिएकी अवलाजस्तै देखिने झमककुमारी मुखबाट र्याल झार्दै अरूले भनेको राम्रा कुराहरू बुझेर सुन्छिन् र आफूलाई संकल्पमा बाँध्दै खुट्टाकै औंलाले कलम च्यापेर सिर्जनाका हरफहरू कोरिरहन्छिन् ।
वि.सं. २०३७ साल असार २१ गते धनकुटा नगरपालिका–३ कचिडे भन्ने ठाउँमा पिता कृष्णबहादुर घिमिरे र माता आशादेवी घिमिरेकै मल–जलमा पहिलो जीवनबूँद भई जन्मेकी अनौठोढङ्गकै उनी सोझो ढङ्गको सरल प्रश्न गर्छिन् –म ईश्वरको उपहार भएको भए किन यस्तो अवस्थाकी भएँ ? उनले किन यसरी रचना गरे ? तिक्त सत्य व्यक्त गर्न जानेकी भावनाका धनी झमककुमारीले यही जन्मलाई कसरी सार्थक बनाउने भनेर नै सिर्जनामा आफूलाई रमाउन दिएकी हुन् । २०५२ सालदेखि मात्र साहित्यिक सिर्जनामा आरम्भ गरेकी यिनका हालसम्म प्रकाशित कृतिहरूमा आफ्नै चित्ता: अग्निशिखातिर (२०५७), मान्छेभित्रका योद्धाहरू (२०५७), अवसानपछिको आगमन (विविध–२०५७), सम्झनाका बाछिटाहरू (लेखनिबन्ध–२०५७), नौलो प्रतिबिम्ब (कविता–२०६०), पर्दा, समय र मान्छे (कथा–२०६२), बेमौसमका आस्था (निबन्ध २०६३), झमक घिमिरेका कविताहरू (२०६५), जीवन काँडा कि फूल (आत्मजीवनी–२०६५), आगो र झिल्काहरू, डायरीका पानाहरू, मेरा अनुभूतिहरू, फव्रिmएका फूल र समयबिम्ब (डायरी) आदि छन् । २०६७ मा ‘जीवन काँडा कि फूल’ (२०६७) मा यिनले मदन पुरस्कार प्राप्त गरेको देखिन्छ । यो आत्मसंस्मरणका कृति धेरै भाषामा अनुवादित छन् ।
जन्मदेखि नै उदासलाग्दो शरीर बोकेर जिएकी मनका बलिया योद्धा झमककुमारीले आफैले उपाय सोचेर कष्टसाध्य प्रयास गरेर लेख्न सिकिन् । अक्षर पढ्न र लेख्न जानेपछि ‘रामायण’ अध्ययन गरेकी यिनले आफ्नो इच्छाको बिस्कुन फुकाउन साहित्य–लेखनतिर ध्यान दिइन् । प्रतिभा र क्षमताकी धनी झमककुमारीकै सम्झनाका बाछिटाहरू मा रमेशप्रसाद भट्टराई शर्माले उनको परिचय यसरी दिएका छन्– झमकको बाह्य संसार सानो छ, निकै सानो तर यो सुन्दर छ । सल्लाघारी, तल्लोकोप्चे, माथिल्लो कोप्चे, तलतिर तमोर, माथितिर हिले छेउछाउसम्मको ग्राम्य बस्ती, जुन पूर्ण नगर नभए पनि नगरोन्मुख छ । यही सानो संसारको कचिडे एउटा अति सानो बस्ती र त्यसभित्रको एउटा घरसम्मको सानो संसारमा उनी बाँधिएकी छन् । यस सानो संसारमा बाँधिएर पनि, औपचारिक शिक्षा नपाएर पनि झमकको लेखकीय संसार ज्यादा विस्मृतिमय छ । उनी गाउँघर, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय क्षेत्रसम्म फिँजारिएकी छिन् । त्यसैले उनको विचार सङ्कीर्ण छैन, उनको हृदय सानो छैन । मैले उनका रचनाहरूमा चिनेकी झमक यस्तै–यस्तै छन् ।
शरीर सानो र अप्ठ्यारो भए पनि हृदय सानो नभएकी, विचार सङ्कीर्ण नभएकी झमककुमारीले स्वार्थ–रहित भावनामा रम्नु नै धर्म हो भन्छिन् र धर्मको नाममा हुने अन्धविश्वासलाई उनी दुत्कार्छिन्– यही नै उनको विशाल मन हो । जीवनलाई गति दिने खालको साहित्य मन पराउने यिनका लागि ‘कलम’ र ‘पुस्तक’ नै जीवनका पर्यायवाची वस्तु भएका छन् । आत्मविश्वास मनमा साँचेर जिएकी झमक बहिनीले कायरतालाई सबभन्दा मन नपर्ने भनी आफूभन्दा परतिर सार्न खोज्छिन् । उनी आलोचनासँग डर मान्दैनन् । राम्रो पक्षको सिर्जना गर्न आलोचना हुनुपर्छ भन्छिन् । समाजमा अवस्थित बहुसङ्ख्यक मान्छेहरू आलोचनासँग डराउँछन् यस्तै सन्दर्भलाई आफूले आत्मसात गरेर उनी भन्ने गर्छिन्– समाजसँग हरेक वस्तुलाई छुट्याउने सही दृष्टिकोण हुन आवश्यक छ, जुन कुरा आज फितलो हुँदै गइरहेको छ । यस खालको परिवेश नियालेर पनि आफूलाई भन्न लागेको कुरा कलममार्फत् लेख्न नडराउने झमककुमारीले समाजमा रहेका घमण्डी मान्छेहरूलाई उनीहरूको सानो मन, थोरै योगदान र घमण्डलाई आफ्नै सिर्जना देखाएर होचो बनाइदिएकी छिन् । थोरै गरेर धेरैको जस बटुल्न इच्छा गर्नेहरूलाई थोरै लेखेर तुरून्तै ठूलो सम्मान खोज्ने आलाकाँचा साहित्यकारहरूलाई, अलिकति आफूसँग केही भएपछि संसार नै जितिसकेको छु भनेर घमण्ड गर्नेहरूलाई यिनीले आफ्नो सुन्दर सिर्जनामार्फत् होचा बनाइदिएका छन् । जीवन के हो ? आफूले भोगेर राम्रो अरूलाई दिनु हो, सुन्दर वस्तुको सिर्जना गर्नु हो । झमककुमारीको जीवनले त यस्तै भन्दै गरेजस्तो छ । उनी अध्ययनशील छिन्; अध्ययन गर्छिन्– ज्ञान बटुल्छिन् र ज्ञानलाई मनकै ढुकुटीमा राखेर पुन: समाजमा बाँड्न चाहन्छिन् । झमककुमारीको विशेषता भन्नु नै यही हो ।
चिन्तनशील प्रतिभा झमकुमारीले अन्धविश्वासमा भौंतारिएका ठूला–ठूला मन भएका भनिने मान्छेहरूलाई पनि आफ्नै ढङ्गको विचार सम्प्रेषण गरेर श्राद्ध कसका लागि गर्ने ?, पूजा गर्ने आग्रह, को हो मान्छे, कर्मवादीहरू र भाग्यवादीहरू आदि लेखरचनामा सटिक ढङ्गले सरल भाषामा अनुभूति पोखेकी छिन् । श्राद्ध कसका लागि गर्ने ? मा बाबुआमाको नाममा बाहुनलाई मात्र श्राद्ध गरेको हो कि ? उनी लेख्छिन् । पूजा गर्ने आग्रहमा आफूभित्रको ॐ मात्र पूजे पुग्छ, प्रतिमालाई पूजा गर्नु पर्दैन । उनी तर्क राख्न सक्षम छिन् को हो ठूलो मान्छे ? मा उनी दाउरेहरूको अनुहारमा लिङ्कनलाई र शोषितहरूको मुहारमा माक्र्स, स्टालिन र लेनिनहरू भेट्टाउँछिन् । अनौठो किसिमको तर्क छ कर्मवादीहरू र भाग्यवादीहरू लेखमा अन्तिममा उनी लेख्छिन्– कर्मवादकै गीतहरू गाउनमै मलाई आनन्द छ ।
कविताराम बाल साहित्य प्रभा पुरस्कार, अस्वीकृत विचार साहित्य पुरस्कार, गोपालप्रसाद जन कल्याण पुरस्कार, अपाङ्ग प्रतिभा पुरस्कार, अपाङ्ग सहायता कोषबाट सम्मानित भई पुरस्कार र सहयोग प्राप्त गरिसकेकी झमककुमारीलाई गुञ्जन महिला समूह, खगेन्द्र नवजीवन केन्द्र, स्वर्ण शिक्षा इङ्गलिस स्कूल, गोकर्ण, कौशिकी साहित्य प्रतिष्ठान, राष्ट्रिय युवा कोष, पारिजात स्मृति केन्द्र, थापाथली जनकल्याण परिवार, नरोत्तमदास–इन्दिरा साहित्य गुठी, प्रगतिशील लेखक सङ्घ र राष्ट्रिय जन साँस्कृतिक मञ्च, धनकुटाले र नेपाल विद्यार्थी सङ्घ, जिल्ला कमिटी धनकुटाले अभिनन्दन गरेका छन् । उच्च विचारका धनी अपाङ्गजस्तै देखिने अप्ठ्यारो शरीर बोकेर जीवनबाट आफ्नै ढङ्गको सबल प्रतिबद्धता जाहेर गर्दै आएकी झमककुमारी आफ्नो दृष्टि ठूला बाबा श्यामप्रसाद शर्मालाई चिठीमा यसरी व्यक्त गर्छिन् – म जनताका आवाजलाई जनताकै भाषामा, कलमद्वारा जनसमक्ष ल्याउन प्रयत्नरत रहने छु । ठूलो बाबा ! म साहित्यलाई माया गर्दछु र मैले साहित्यमा पैसा कमाउनकै लागि हात हालेको थिएन र छैन पनि । ठूलो बाबा, मैले यहाँले जति अनुभव गर्न नपाए तापनि मैले जनताकै अखडामा जन्मेर, हुर्केर वर्तमानमा जवान भएकी कारण उनीहरूका सुख–दु:ख नजिकैबाट देख्ने मौका पाएकी छु । आफू पनि एउटा निम्न आयस्रोत भएको परिवारमा जन्मेकीले सर्वहारावर्गको भोक, शोक, अभाव, पीडा कस्तो हुन्छ भन्ने मैले सहज रूपमा अनुभव गरेकी छु । त्यसैले मलाई लागेको छ – सर्वहारावर्गको लागि नलेखे कसको लागि लेख्ने ? के शोषकवर्गको लागि लेखेर २/४ पैसा कमाएर आफू मज्जा गरूँ ? झमककुमारीका यस्तै भावना र चेतले बताउँछ उनी जनता र देशकै पक्षमा विचार सम्प्रेषण गर्न रूचाउने लेखिका हुन् । सही चिन्तन बोक्न लालायित झमकका भावनाहरू स्वार्थरहित छन् । के यस खालका भावनाहरू देशकै लागि संरक्षित र सुरक्षित गर्न सकिँदैन ?