त्यो दिन सबै साथीभाइ दङ्ग परेर कमलाको सुनौलो रंगको गोल्डेन पेन हेर्दै थिए । नयनले पनि हतार हतार झोला राखेर कमलाको नजिकै गएर कलम हेर्यो । कलम सुनौलो रङ्गको थियो । एकदमै राम्रो थियो । टिलिक्क टल्केको थियो । त्यो गोल्डेन पेन कलम देखेर नयनलाई लोभ लाग्यो । उसले त्यो कलम चोर्ने विचार गर्यो । नयनले चनाखो भएर यताउति हेर्यो । ऊ कलम चोर्ने जुक्ति सोच्न थाल्यो । एक छिन पछि टङटङ घन्टी लाग्यो । हाफटाइममा केही साथीहरु खाजा खान बाहिर निस्किए । केही कक्षाको कोठाभित्र नै थिए । नयन चुपचाप आफ्नो बेन्चमा बसेको थियो । ऊ कोही नभएको मौका पर्खिरहेको थियो ।
बल्ल कक्षाबाट ६ जना साथीहरु बाहिर निस्किए । अब कक्षामा राधा, रीता र नयन मात्र बाँकी थिए । नयन यसो उठेर कमलाको बेन्चमा जान लागेको थियो । रीताले पुलुक्क हेरिन् । नयन थचक्क आफ्नै बेन्चमा बस्यो । ऊ यताउति हेरेर छटपटाउन थाल्यो । ऊ आफ्नो बेन्चको झ्यालबाट चौरमा साथीहरु यताउति दौडेको हेर्न थाल्यो । सबै साथीहरु खेलकुदमा रमाइरहेका थिए ।
धेरैबेरसम्म राधा र रीता कक्षाबाट बाहिर नगएपछि नयन बाहिर जान आफ्नो बेन्चबाट जुरुक्क उठ्यो । ठिक त्यति नै बेला आशाले कराउँदै सबैलाई बोलाउँदै भनिन्, लौ बाहिर हेर्न आओ त साथी हो ! हाम्रो विद्यालयमा कति फिलिममा खेल्ने होचा मान्छेहरु आए । सबै साथीहरु उत्सुक हुँदै बाहिर निस्किए । राधा र रीता पनि कापि र कलम झोलामा हालेर हतार हतार बाहिर निस्किए । बल्ल नयनलाई मौका मिल्यो ऊ खुसुक्क कमलाको बेन्चमा गयो । उसले सुटुक्क कमलाको झोला खोल्यो । अनि सुटुक्क कलम निकाल्यो । कलम निकाल्दा नयनको जिउ थरर काम्यो । त्यसपछि ऊ बेतोडसँग दौडिँदै गएर चर्पीभित्र छिर्यो ।
चर्पी भित्र पुगेपछि नयनलाई खलखली पसिना आयो । उसले एकछिनसम्म एकतमासले त्यो राम्रो कलमलाई हेरिरह्यो । यो कलम आफ्नो भयो भन्ने कुरा सोच्दा उसको मन फुरफुर बताससँगै उडेको जसरी रमायो । एकछिन पछि त्यो कलम अब कहाँ लुकाउने भन्ने कुराले नयन आत्तियो । उसले मनमनै भन्यो, होइन पाइन्टको खल्तीमा राख्नु हुन्न । साथीहरुले देखे भने बर्बाद हुन्छ । सर्टको भित्र राख्दा पनि खतरा छ, कतै सर्टको टाँक खुलिदियो भने के गर्ने ?
यसरी धेरै बेरसम्म नयन कलम कहाँ लुकाउने भन्ने कुरामा छटपटियो । अचानक उसले जुत्ता सम्झियो । जुत्ता खोलेर कलम राख्यो र जुत्ता लगाउन खोज्यो । अहँ जुत्ता त लगाउनै सकेन । अघिसम्म कलम आफ्नो बनाउँदा खुसीकले नाचेको नयन अहिले कलम लुकाउने ठाउँ नपाएर आत्तियो र दिक्क मान्न थाल्यो । उसलाई एक मनले त कलम फेरि लगेर कमलाको झोलामै हालिदिऊ जस्तो पनि लाग्यो । तर त्यो उपाय उसले अब सम्भव देखेन । कसरी लुकाएर लगेर राखिदिने ? साथीहरुले के बोकेको भनेर हेरे भने चोर त पक्डाऊ खाइहाल्छ नि ! मनमा यति कुरा खेलेपछि नयन चर्पीमा दिसा बस्न बसेजस्तै गरी थचक्क बस्यो । उसले कलम अब चर्पीको दुलो भित्र नै हालिदिने विचार गर्यो । धेरैबेरसम्म छटपटाउँदा नयनको पेट दुख्यो । ऊ पाइन्ट फुकालेर दिसा गर्न तयार भयो । त्यतिबेला नि त्यो कलम दुलोमा हालिदिन मात्र आँटेको थियो । ऊ खुट्टामा आफ्नो सेतो लामो मोजा देखेर आफै खिसिक्क हाँस्यो । उसलाई एउटा जुक्ती फुरिसकेको थियो ।
दिसा गरेर सफाइको काम सकाए पछि नयनले फेरि एकपटक मुसुक्क हाँसेर रमाउँदै ला ला ला गीत गाउँदै पाइन्ट लगायो अनि मस्तसाथ पाइन्ट माथि सारेर मोजा भित्र कलम घुसार्यो । बल्ल ऊ युद्धमा जितेको सेना झै भएर चर्पीबाट बाहिर निस्कियो । ऊ बाहिर निस्किँदा पालो कुरेर बसेका साथीले उसलाई कर्के नजरले हेरे । ऊ ‘आज मेरो पेट सन्चो छैन के’ भन्ने बहाना बनाएर हतार हतार कक्षाकोठामा गएर चुपचाप बस्यो ।
टङटङ घन्टी लाग्यो । सर पढाउन आउनु भयो । नयनको मुटु पनि ढुकढुक गरिरहेको थियो । ऊ घरीघरी पाइन्टको तलतिर मोजामा हात लगेर कलम छामिरहेको थियो । यसरी ऊ छिनछिनमा कलम छ कि छैन भनेर छामिरहेको थियो । उसको ध्यान पटक्कै पढाइतिर जान सकिरहेको थिएन । एक पटक त कलम जहाँको तहि छ भन्ने पक्का गर्न नयन डेस्कमुनि पुरै निहुरीएर हेर्न पुगेछ । सरको आवाजले तर्सिएर झसङ्ग हुँदै बल्ल ऊ चुपचाप बेन्चमा सिधा भएर बस्यो ।
एकछिन पछि सरले कालोपाटीमा लेख्नु भएको सार्ने बेला ‘सर मेरो कलम हरायो’ भन्दै कमला जुरुक्क उठेर ग्वाँग्वाँ रुन थाली । मेरो बाबाले विदेशबाट ल्याइदिनु भएको राम्रो कलम, अब बाबाले मलाई मार्नु हुन्छ, अब म के गरुँ सर– कमला घुक्कघुक्क रुँदै एक्लै कराएर रोइरही । राधा र आशा आफ्नो बेन्चबाट उठेर कमला भएको ठाउँमा आइपुगे । उनीहरुले कमलाको हात समातेर भयो नरोऊ भनेर सम्झाउन खोजे । तर कमलाले कसैको कुरा सुनिन । ऊ रोइरही । त्सपछि सरले रिसाउँदै भन्नु भयो, कुन बदमास्ले चोर्यो हँ कमलाको कलम ? सरले राताराता आँखा पार्दै चारैतिर हेर्दै कक्षाका सबै विद्यार्थीलाई सोध्नु भयो । नयन त सरको मुखमा हेर्न नसकेर किताब पल्टाएर किताब पढेको नक्कल गरेर बस्यो ।
कहाँ बदमास मात्र हुनु र सर, त्यो कलम चोर्ने त फटाहा नै हो, राधाले उठेर रिसाउँदै जोडले भनी ।
छ्या, त्यस्तो चोरलाई नि के साथी भन्नु है सर !, आशाले उठेर झन् बढी रिसाउँदै भनी ।
आफ्नो मिल्ने साथी आशाले पनि त्यसो भनेपछि नयन झसङ्ग भयो । उसको मनमा धेरै कुरा खेल्न थाल्यो । उसलाई कलम चोरेकोमा पछुतो लाग्यो । एक मनले त उसले जुरुक्क उठेर सबै कुरा भनेर कलम फिर्ता दिऊँ कि जस्ता पनि लाग्यो । फेरि भोलि देखि सबै साथीहरु उसलाई चोर भनेर बोल्नै छोड्लान् कि भन्ने डरले ऊ उठ्न पनि सकेन । थचक्क बसिरह्यो । उसले आफ”ले कलम चोरेको कुरा पनि कक्षामा भन्न सकेन ।
स्कुल छुट्टी भयो । नयन फटाफट हिँड्दै थियो । उसले आशालाई पनि एक्लै अलि पर हिँडिरहेको देख्यो । अब यो कुरा आशालाई भन्छु भनेर नयन दौडिँदै आशा छेउमै पुग्यो । आशा नयनलाई हेरेर मुसुक्क हाँसी । नयन पनि मुसुक्क हाँस्यो । ऊ आशालाई केही भन्न खोज्दै थियो । आशाले नै कुरा सुरु गर्दै भनिन्, थाहा छ नि नयन आज कक्षामा कति बोर भयो है ! बिचरी कमला कति रोई । म त आफ्नो जतिसुकै प्यारो साथीले चोरी गर्यो भने पनि सहन सक्दिनँ ।
मलाई त चोरहरु देखि असाध्यै घृणा लाग्छ, आइ थिन्क आइ टु टु मच हेट थिप । मेरो बाबा प्रहरीमा भएर नि शायद यस्तो भएको होला, आशाले खुइया गर्दै भनि ।
आशाको मुखबाट यति धेरै कुरा सुनेपछि नयन लल्याकलुलुक भयो । केही बोल्न सकेन । आशासँग उसले आशासँग सल्लाह लिने आँट गर्न सकेन ।
ऊ आशालाई बाईबाई भन्दै फटाफट घरतिर लाग्यो । सधैँ हाँस्दै आउने छोरो नियाउरो अनुहार लगाएर आएको देखेर आमाले सोध्नु भयो, के भयो छोरा ?
नयनले केही होइन भनेर टार्यो ।
मनभरि धेरै कुरा सोचेर थोरै खाना खाएर छटपटाउँदै नयन सुत्न गयो । ऊ धेरैबेरसम्म निदाउन सकेन ।
मध्यरातमा बल्लतल्ल निदाएको एकछिनपछि अचानक नयन ‘म चोर होइन, म चोर होइन’ भन्दै कराउँदै उठ्यो ।
आमाले उसलाई मायाले अङ्गालो मार्दै भन्नु भयो, गल्ती गरेका छौ भने गल्ती सच्याऊ बाबु ! गल्ती सच्याउने उपाय आफैँ सोच । सकेनौ भने मलाई भन्नु म सहयोग गरौँला ।
बिहान उठेपछि पनि नयनले धेरैबेर सोच्यो । आमाले उसलाई स्कुल सम्म पुर्याइदिनु भयो ।
नयन विद्यालय पुग्दा सबै विद्यार्थी प्रार्थना गीत गाउन चौरमा जम्मा भइसकेका थिए । ऊ हतार–हतार कक्षाकोठा भित्र छिर्यो । उसले यताउति हेर्यो । कक्षाकोठा भित्र कोही थिएनन् । सबै प्रार्थना गीत गाउन चौरमा जम्मा भएका थिए । कोही छैनन् भनेर पक्का भएपछि उसले सुटुक्क खल्तीबाट कलम निकाल्यो । हतार हतार एउटा कापिको पाना च्यातेर त्यसमा केही लेख्यो र कमलाको झोलाभित्र सुटुक्क न कलम राखिदियो । अनि ऊ दौडिँदै प्रार्थना गीत गाउन चौरमा गयो ।
पहिलो घन्टी लाग्यो, टङ् । सर कक्षामा पढाउन आउनु भयो । कमलाले खुसी हुँदै भनी, आहा ! मेरो कलम भेटियो सर । कति ज्ञानी साथी रहेछ एउटा कागजमा ‘सरी’ लेखेर त्यही कागजमा पेन बेरेर मेरो झोलामा हालिदिएको रहेछ ।
त्यसपछि सबै साथीहरुले एक स्वरमा भने, आफूले गरेको गल्ती सुधार्ने त्यो साथी राम्रै रहेछ सर ।
नयनले पनि साथीले भनेको कुरामा उनीहरुसँगै ‘हो ! हो !’ त भन्यो, तर उसले जीवनमा गतिलो पाठ पढिसकेको थियो । त्यसपछि उसले जीवनमा कहिल्यै ……..।