अस्थिर समयले
जिन्दगीको क्यानभासमा
पोतिरहेछ अनेकौं रंगहरु
इन्द्रेणी सपना देख्ने आँखाहरु
शहरका महलहरु चहार्दै छन्
सेतो दरबार भित्रन लालायित छन
जहाँ
आशा,भरोसा,अनि
बिश्वासको लिलाम हुने गर्छ
आँखाकै मुहानबाट बगेर
नदीहरु माहासागर पुगेका हुन
चंचलता र अस्थिरता नदिको स्वभाब हो
पहाडहरु भत्काउदै
गुराँसका जरा खोतल्दै
हरियाली सोहोर्दै
बगरमा लम्पसार नदीको यौवन
कहाँ कहिले विसर्जन हुने हो?
नदी अनि जिन्दगीमा स्थिरता कहिले भेटिने हो?
शव्दको विस्थापन कहिले हुने हो?
आवरणमा जे देखिन्छ
हर चिजमा रुपान्तरण भेटिन्छ
समय सग समयनै किन हैरान छ
चेतना विस्तारित भएर
ब्रह्माण्ड साँघुरो भएपछि
किन सौर्य आँधी चल्दैछ?
चेतनाको अवसान भएपछी
समय र जिन्दगीको हिसाबमा
समानान्तर धर्सा किन मधुरो देखिदैछ?
हार्दिक आभार !!