तनहुँका विभिन्न साहित्यिक गतिविधिको नेतृत्व गर्दै आएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले दमौलीमा बाल कथा लेखन सम्बन्धी ३ दिने कार्यशाला सम्पन्न गरेको छ । आदिकवि भानुभक्त क्याम्पसको सहआयोजना र व्यास नगरपालिका वडा नं२को प्रवद्र्धनमा प्रतिष्ठानले बाल कथा लेखन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।
समाजका विविध पक्षबारे बालबालिकाको अनुभव, भोगाइ र सिकाइलाई लेखन सीपका माध्यमबाट अभिव्यक्त गराउने उद्देश्यले बाल कथा लेखन कार्यशाला आयोजना गरिएको गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले बताए ।
कार्यशालामा व्यास नगरपालिकाका विभिन्न विद्यालयका ५० जना भन्दा बढी बालबालिकाहरु सहभागी भएका थिए । बालबालिकालाई लेखक तथा साहित्यकार बिजयराज आचार्य र शर्मिला सेढाइले प्रशिक्षण दिएका थिए । सो अवधिमा कथा लेखनका लागि आवश्यक ज्ञान तथा सीप, कथा बन्न आवश्यक तत्व लगायतका बारे प्रशिक्षण प्रदान गरिएको थियो ।
साथै कार्यशालाकै अवधिमा बालबालिकालाई विभिन्न शीर्षकमा बाल कथा लेखनका लागि उत्प्रेरित गरी उनीहरुद्धारा लिखित उत्कृष्ट ६ कथालाई कार्यक्रमको समापन सत्रमा प्रस्तुती समेत गरिरएको थियो भने बाकीँ कथाहरुलाई पनि संकलन गरी प्रकाशित गर्ने आयोजकले प्रतिवद्धता व्यक्त गरेको छ । बालबालिकाले समाजमा विद्यमान विकृति, विसंगति, रुढीवादी परम्परागत र बदलिदो समय र परिस्थितीबाट सिर्जना भएका समस्यालाई कथाका विषयवस्तुको रुपमा प्रस्तुत गरेका थिए ।
कार्यशालाका मुख्य प्रशिक्षक आचार्यले निकै उत्साहित भइ सक्रियता पूर्वक कार्यक्रममा सहभागी भएको बताए । भौतिक किकाससँगै स्थानीय तहले भाषा, कला, साहित्यको बिकासका लागि यस्ता रचनात्मक क्रियाकलापलाई थप प्रोत्साह गर्नुपर्नेमा उनले जोड दिए । बालबालिकाको सक्रियता र उत्साहलाई हेर्दा कथा लेखनको राम्रो सम्भावना देखेको बताउदै उनले भने बालबालिकाको रचनालाई निरन्तर प्रोत्साहन गर्न प्रकाशन पनि गर्न आवश्यक हुन्छ, त्यसमा विद्यालय र क्याम्पसले सहयोग गर्नपर्छ ।
संस्थाका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहायक क्याम्पस प्रमुख सागर पौडेल, प्रशासन सहायक सुर्दशन पोख्रेल, सहप्रशिक्षक सर्मिला सेढाई लगायतले बोलेका थिए ।