इतिहासका अङ्ग र पक्ष
इतिहासविद्हरुका अनुसार इतिहासका चारवटा अङ्गहरु हुन्छन् – घटना, स्थान, काल र व्यक्ति । यिनीहरुको संयोजनबाट नै इतिहासको निर्माण हुन्छ । तर समाजका टाठा–बाठाहरु वा यिनीहरुका भरौटे र धुपौरेहरु इतिहासको निर्माता मानवलाई नमानी अभौतिक वा अलौकिक ईश्वरलाई मान्दछन् । अझ अगाडि बढी आफैंलाई ईश्वरको अवतार वा दूत भनी इतिहासको निर्माता भन्न पुग्छन् । यसैको आधारमा इतिहासलाई शासकको विवरण, राजा–महाराजाहरुको कार्य भनी दरवारभित्र सीमित राख्न खोज्छन् । कुनै एउटा शासक वा वीर नायक समाजको एउटा अंश मात्र हो र ऊ नै सम्पूर्ण वा समष्टि होइन । शासन सत्तामा ‘वीरहरु’ पदासीन रहे तापनि समाजको उत्पादन वा कार्यमा सत्ताबाहिरका जनताको भूमिका प्रमुख रहेको हुन्छ । किनभने समाजका सम्पूर्ण उत्पादन कार्यहरु तिनीहरुले सञ्चालन गरेका हुन्छन्; यद्यपि वीरहरु तिनीहरुमाथि सत्ताको बलले हैकम चलाउँछन् । यही आधारमा भौतिकवादीहरु जनतालाई नै इतिहासको निर्माता भन्न पुग्छन् । अध्यात्मवादीहरु महाभारतका कृष्णले जस्तै ‘अहं ब्रह्मास्मि’ भन्ने गर्दछन् र सारा कुरा उनलाई चढाएर मुक्ति दिलाउने कुरामा विश्वास गर्दछन् । समाजको विकासमा प्रमुख भूमिका खेल्ने बहुसंख्यक जनतामाथि एउटा वा एकाध परिवारद्वारा हुने शोषण, दमन र उत्पीडनलाई तिनीहरु आफ्ना दुष्कर्म वा कुकृत्यहरुको परिणाम मान्दैनन् । उल्टो रुपमा उत्पीडित जनताको पूर्वजन्म, भाग्य, कर्म वा नियतिको फल भनी मान्दछन् । वास्तवमा इतिहासको निर्माणमा समाजका प्रत्येक वर्गको धेरै वा थोरै भूमिका रहेको हुन्छ । ठूला–बडा वा उत्पीडित वर्गको सत्तामा पूर्ण हैकम भई उत्पीडित जनता दबिएका छन् भने तिनीहरुले चाहे अनुसार समाजका कार्य जनताविरोधी जस्तो हुन पुग्छन् । यस अवस्थामा उत्पीडक वर्गको भूमिका गौण हुन्छ । स्थिति मल्लको समयमा भएको युद्ध, राजेन्द्र विक्रमको समयमा भएको कोतपर्व, ९७ सालको शहीद काण्ड, २०१७ सालको कालो काण्ड यसका उदाहरण हुन् । जब उत्पीडित वर्गले सत्तासीन उत्पीडकहरुको विरुद्धमा विद्रोह वा आन्दोलन गर्छ र त्यसमा जनता सफल हुँदा शासकहरु परिवर्तन वा सुधार गर्न वाध्य हुन्छन् । यस अवस्थामा जनताको भूमिका प्रमुख र उत्पीडक–शासक वर्गको भूमिका गौण हुन्छ । गोरखाको लिगलिग कोटका खड्का शासकको पतन, २००७ सालको आन्दोलन र राणाको पतन, २०४६ सालको आन्दोलन र परिवर्तन यसका उदाहरण हुन् । प्रत्येक घटनामा कुनै कारणको लागि समाजका दुईवटा वर्गका बीच संघर्ष हुन्छ, जसमा कुनै वर्गको भूमिका प्रमुख र कुनै वर्गको भूमिका गौण हुन्छ ।
इतिहासमा जनताको भूमिकालाई आजकाल सबैजसो इतिहासकारले सिद्धान्तत: मानी जनताको इतिहास हालसम्म नलेखिएको र अब लेखिनु पर्छ भन्न थालेका छन् । समाजमा रहेका सम्पूर्ण जनता ९:बककभक या तजभ एभयउभि० मा उत्पीडित वर्गको अंश अत्यधिक हुन्छ । यसैले अधिकांश माक्र्सवादीहरु उत्पीडित वर्गलाई नै सम्पूर्ण विश्व वा इतिहासको निर्माता भनी मान्न पुग्छन् । माक्र्सवादका प्रणेता कार्ल माक्र्सले संसारका सबै वस्तुको निर्माता ईश्वर होइन मानव हुन् भने अर्थमा मानवले सबथोक बनाउँछ भनेका हुन् । यहाँ सम्पूर्ण जनता ९:बककभक या तजभ एभयउभि० भन्नाले सबै तप्काका जनतालाई लिएको प्रष्ट छ । तर सोभियत रुसका माक्र्सवादीहरुले यसलाई जनताको समष्टि रुपलाई नलिई अंशको रुपमा उत्पीडित जातिलाई मात्र लिएको पाइन्छ । शासकहरुद्वारा जनतामाथि चलाएको क्रूर दमन र उत्पादनमा उत्पीडक वर्गले खेल्ने भूमिकाको कारण नै त्यसरी मानिएको हो । तर इतिहासको प्रत्येक घटना एउटा पक्षको भूमिकाले मात्र घट्दैन र यसमा दुई परस्पर विरोधी वर्गको भूमिका हुन्छ । यसमा एउटा पक्ष प्रमुख र निर्णायक हुन्छ र अर्को पक्ष सहायक र गौण हुन्छ । प्रत्येक निर्माण र विकासमा समाजका सबै पक्षको भूमिका हुन्छ तर वर्गीय दृष्टिले सबैभन्दा ठूलो वर्गको भूमिका बढी हुन्छ र न्यून वर्गको भूमिका अपेक्षित रुपले कम नै हुन्छ ।
इतिहास विभिन्न पक्षहरुको समग्र वा समष्टि रुप हो । पक्षहरु भन्नाले आर्थिक, राजनैतिक, सामाजिक, साँस्कृतिक, धार्मिक, सैनिक, कूटनीतिक, वैधानिक आदिलाई मानिन्छ । कसै–कसैले इतिहासका यी पक्षहरुलाई प्रकारको रुपमा लिने गरेको पाइन्छ । त्यस्तै विश्व मानचित्रका महादेश, उपमहादेश, राष्ट्र, प्रान्त क्षेत्र वा जिल्लाको इतिहासलाई पनि अलग–अलग रुपमा लिने गरको पाइन्छ । तर यी सबै विश्व इतिहासकै अङ्ग वा पक्षहरु हुन् र विश्वदेखि अलग कुनै पनि देशको इतिहास हुन सक्तैन । नेपालको इतिहासलाई पूर्ण र वैज्ञानिक बनाउन यसका छिमेकी चीन र भारतको इतिहासदेखि विलकुलै भिन्न बनाएर लेख्न कठिन हुन्छ । यहाँको आर्थिक साँस्कृतिक आदि इतिहास लेख्दा छिमेकीहरुको सन्दर्भदेखि विलकुलै अलग पार्ने हो भने नेपालको इतिहास पूर्ण बनाउन सकिंदैन ।
पहिले शासकहरुको विवरण मात्र तयार पारी एकाध कुरा समेटेर राजनैतिक इतिहास लेख्ने गरिन्थ्यो र यसैलाई पूर्ण इतिहास मानिन्थ्यो । पछि इतिहासमा समाज, अर्थतन्त्र, सेना आदि सबैलाई समावेश गरिन थाल्यो । यो परम्परा अघि बढेपछि राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक आदि पक्षका अलग इतिहास पनि लेखिन थाल्यो । त्यस्तै पहिले शासक वर्गको देनको रुपमा मात्र इतिहासलाई लिने गरेकोमा पछि दरवारको पर्खाललाई नाघेर इतिहासलाई ईश्वरको रचना होइन मानवको रचना भनी मानिन थाल्यो । इतिहासको निरन्तर अध्ययन गर्दै गएपछि इतिहासको तथ्यात्मक खोज तथा अध्ययनको आधारमा विश्व सन्दर्भसित पनि गाँसेर वास्तविक वा वैज्ञानिक इतिहास लेखिन थाल्यो । नेपाली सन्दर्भमा केही समय अघिसम्म इतिहास लेखन या त दरवार वा शासनको निर्देशनमा लेखिन्थ्यो या वास्तविक कुरा पत्ता लागे पनि शासक वर्गको कोपभाजनको डरले स्तुतिपरक मसलाहरु मिलाई वा सीमित भएर लेख्ने प्रवृत्ति अझै कायम छ । यद्यपि वैज्ञानिक इतिहास लेख्ने प्रयासहरु दिन–दिनेै बढ्दै छ ।
क्रमश :