प्रकृतिको रम्य स्थलमा नित्य भ्रमण गर्न रुचाउने माधवलाल कर्माचार्यको जन्म वि.सं. १९८३ पुस १० गते केलटोल, काठमाडौंमा पिता शेरलाल र माता बद्रीनानीको कोखबाट भएको थियो । जीवनको अन्तिम क्षणसम्म पनि श्रीमती, बुहारी, नातिहरुसँग जीवनका अनुभूतिहरु सँगाल्दै बुढेसकालमा पनि कलमलाई आफ्नो सबभन्दा भरपर्दो र मिल्दो साथीकै रुपमा स्वीकार्दै जीवनक्रमहरु गुजारेर गएको देखिन्छ । श्रीमती नानुको कोखबाट एउटा छोरा, तीनवटी छोरीका बाबु हुने सौभाग्य प्राप्त गरेका यिनले छोरापट्टिबाट दुई नातिनी र छोरीहरुपट्टिबाट चारवटा नातिहरुका हजुरबुबा भएर आफूलाई चिनाएर गएको देखिन्छ । केही गर्ने, केही लेख्ने, केही खोज गर्ने सन्दर्भहरु बोकेर आस्थामा बाँचेरआफूलाई कलमजीवीका रुपमा देखाइजान सफल कर्माचार्य कलमलाई जीविकाकै लागि पनि औजार बनाएको तथ्य प्रस्ट पार्न कन्जुस्याइँ गर्दैनथे ।
थुुप्रै पुस्तकहरुका सहायक पुस्तक लेखेर, थुप्रै पुस्तकहरुको अनुवाद गरेर जीवनका धेरै क्षणहरु गुजारिसकेका कर्माचार्य साहित्य राष्ट्र र जनमानसकै लागि हुनुपर्ने तथ्य औंल्याउने गर्दथे ।पटना विश्वविद्यालयबाट २००६ सालमा नै बी.ए. पास गरेका उनले २०१५ सालमा बेलायतबाट पब्लिक एन्ड सोसल एडमिनिस्ट्रिेसन र २०२५ सालमा जापानबाट टे«निङ कोर्स इन बुक प्रोडक्सन इन एसिया विषयमा तालिम हासिल गरेका हुन् । माधवलाल कर्माचार्यले जीवनका थुप्रै क्षणहरु शिक्षक भएर, श्री ५ को सरकारको प्रशासक भएर, जोरगणेश प्रेसका प्रबन्धक भएर, रेग्मी रिसर्च सेन्टरमा तथ्याङ्क बटुलेर बिताएका छन् । पछिसम्म पनि अनुवादमा घोटिएर, सम्पादनमा जोतिएर, कसैको पुस्तकमा भूूमिका लेखिदिएर, नयाँ–नयाँ खोजीकै क्रममा आफूलाई बिताउन र बिसाउन रुचाउने माधवलाल कर्माचार्यले जीवनमा केही झन्झटहरु कसैलाई पनि नदिइकन आनन्दले आफूलाई समर्पण मात्र गर्दै गएको देखिन्छ।
भावनामा सरलता बोकिरहेका, विचारमा सुन्दरता खोजिरहेजस्तो, आस्थामा सत्यका छिर्काहरु छर्किरहलाजस्तो सौम्य, शान्त, गाम्भीर्यकै रुप हो साहित्यकार माधवलाल कर्माचार्य । विवादमा कम मात्र आउने, निरन्तर साधना र सिर्जनामा जुटिरहने, योग्य र दक्ष कर्मचारी भइकन पनि अनायास २०१७ सालमा आफूलाई जागिरबाट बर्खास्त गरेको क्षणलाई उनी तीतो सत्यको रुपमा प्रष्ट पार्ने गर्दथे । बेथिति हुने ठाउँमा न्याय–निसाफ खोज्न गाह्रो हुन्छ, यहाँ यस्तै हुन्छ, आफ्ना दु:खका क्षणहरु उनले बताए ।
मान्छेकै हितखातिर सिर्जित अनुभूति पो साहित्य । देश, समाज र परिस्थिति सुहाउँदो र उपोयोगी साहित्य नै हितकारी साहित्य हो भनी साहित्यको परिभाषा व्यक्त गर्ने माधवलाल कर्माचार्यले मान्छेको परिभाषा र मान्छेकै बारे आफ्नो अनुभूति यसरी व्यक्त गरेका छन् –“मान्छे भावनाको पोको हो । मान्छेलाई चिन्न असाध्य गाह्रो हुन्छ । मान्छे तुरुन्तै कसैको शत्रु हुन सक्छ त तुरुन्तै मित्र पनि हुन जान्छ । मान्छेको भविष्यवाणी गर्न गाह्रो, मान्छेहरुलाई अरु प्राणीहरुलाई झैं सोच्न सकिन्न, मान्छेको स्वरुप बुझ्न गाह्रो !” हो, उनले भनेझैं साँच्चीकै अर्थमा मान्छे बुझ्न गाह्रो, माधवलालदाइको मान्छेको परिभाषामा सत्यता छ ।
साधारण रङ्ग मन पराउने, खानामा जस्तोसुकै पनि खाने, यो–त्यो नभन्ने माधवलाल कर्माचार्यले बेलायत, फ्रान्स, स्विजरल्यान्ड, इटाली, मिश्र, थाइल्यान्ड, भारत, हङकङ, जापान, रुस, बङ्गलादेश आदि मुलुकहरुको भ्रमण गर्नुका साथै थुप्रै क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनारहरुमा भाग लिएर आफ्नो दक्षता देखाइसकेका यिनले राष्ट्रभित्र पनि थुप्रै सङ्घ–संस्थामा रहेर सेवाको भावनाले साहित्यिक योगदान पुर्याइसकेका देखिन्छन् । उदाहरणका लागि उनले नेपालभाषा परिषद् (२००७), नेपाली भाषा प्रचारक सङ्घ (२०१०), नेपाली साहित्य संस्थान (२०१९), नेपाली लेखक सङ्घ, जापानी साहित्य अनुवाद समिति आदि सङ्घ–संस्थामा रहेर अध्यक्ष, सदस्य भई सेवा पुर्याएका छन् । उनले गरेको सेवाबापत उनलाई सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु तेस्रो (२०१३), छिन्नलता पुरस्कार गुठीले सम्मानपत्र (२०५४) र जनमत प्रकाशनले जनमत वरिष्ठ साधक सम्मान (२०६०) दिएर कदर गरिसकेको छ ।
प्रेमभित्र स्वार्थ लुकेको हुन्छ । स्वार्थमय प्रेमभित्र पनि स्थिरता, सुरक्षा, उन्नतिको आसक्ति हुन्छ भने मात्र त्यो प्रेम हो । यसरी प्रेमको परिभाषा व्यक्त गर्ने कर्माचार्यले आफूलाई मन पर्ने स्वदेशी लेखकहरुमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ र बालकृष्ण सम हुन् भन्दथे र विदेशी लेखकहरुमा किट्स, शेली, वर्डस्वर्थ, शेक्सपियर, बनार्ड सा, मोपाँसा, दोस्तोवस्की, टाल्सटाय, शरदचन्द्र, रवीन्द्रनाथ टैगोरको नाम लिने गर्दथे । सधैं अध्ययन र लेखनमा व्यस्त रहिरहने उनले साहित्यमा राष्ट्रिय साहित्यको आवश्यकता भएको औंल्याउँदै राष्ट्रिय साहित्यको परिचय आलोचना र साहित्य पुस्तकमा यसरी व्याख्या गरेका छन् –“….. राष्ट्रिय साहित्य भन्नाले मोटामोटी रुपले जम्मा तीन कुराहरु समावेश भएको साहित्य भन्ने बुझिन आउँछन् – अरु राष्ट्रबाट छुट्टै खास आफ्नै विशेषताले युक्त भएको, आफ्नो राष्ट्रको गौरव–गरिमामा हरदम सजग भएको र आफ्नो राष्ट्रिय हितलाई सर्वोपरि मानी सिर्जना गरिएको अर्थात् राष्ट्रिय साहित्य भनेपछि आफ्नो जीवनलाई सम्बद्र्धन गर्ने प्रेरणाले प्रेरित भएको हुन्छ अवश्यै नै … ।” यसरी राष्ट्रिय साहित्यको वकालत गर्दै आएका कर्माचार्यले साहित्य मानिसमात्रको भलाइको लागि सोच्नुपर्ने विषय हो” – सन्दर्भमा उल्लेख गरेका छन् ।
अङ्ग्रेजी भाषाका ज्ञाता, अनुवादक, कथाकार, निबन्धकार, कवि, समालोचक र सम्पादकको समष्टि रुप बनेको छ माधवलाल कर्माचार्य । नेपालभाषाका सर्जक कवि तथा लेखककै नाम पनि हुन गएको छ माधवलाल कर्माचार्य । उनीद्वारा लिखित मौलिक पुस्तकहरुमा तीन कविका कविता(समालोचनात्मक लेखसङ्ग्रह – २०१९), न्हूगु म्ये (नेपालभाषाको गीतसङ्ग्रह – २०२१), Printing and Publishing in Nepal (1974),,जिगु मिखाय् साहित्यया छुं (समालोचनात्मक लेखसङ्ग्रह – २०३७), सुन सुन हे पंच भाइ(गीतसङ्ग्रह), खँ साहित्ययागु/साहित्यया खँय् (आलोचनासङ्ग्रह – २०४३), त्जभ एगदष्किजष्लन धयचमि ष्ल ल्भउब ि(लेखसङ्ग्रह–२०४३), सम्झना (निबन्धसङ्ग्रह), सौगात (समीक्षासङ्ग्रह–२००८), मर्ने जति परेपछि (कहानीसङ्ग्रह – २०३४), भानुभक्तप्रति (कवितासङ्ग्रह–२०१५), लफ्वँ: (नेपालभाषा कवितासङ्ग्रह – २०१५), थ:छ्येँ (कहानीसङ्ग्रह – २०३४), खरानीको थुप्रो (कवितासङ्ग्रह – २०१९), हाइस्कुल (निबन्धसङ्ग्रह – २०२१), सरल नेपाली व्याकरण (२०२३), आलोचना र साहित्य (समीक्षासङ्ग्रह – २०२२) र Mustang Documents in the Nepal Language (अनुसन्धात्मक लेखसङ्ग्रह – २०५३) आदि र अन्य नयाँ पुस्तक ढ्याङ गाउँको बगरे र अरु कथाहरु प्रकाशित छन् । थुप्रै महत्वपूर्ण पुस्तकहरु अङ्ग्रेजी भाषाबाट नेपालीमा र नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा उनले उल्था गरेका छन् जसमा कवि हानसानको केही कविता (२०२९), आइ.ए. रिचर्डस्का साहित्यिक समालोचना सिद्धान्त (संयुक्त), छिन्नलताका कविताहरुको सङ्ग्रह (नेपालीबाट अङ्ग्रेजीमा), रजनीशको पुस्तक सबै मानिस भगवान् हुन् (२०३५), कथा–सौरभ (छिमेकी राष्ट्रका कथाहरु – २०३९), व्यथितका चुनिएका कविताहरु (अङ्ग्रेजीमा २०२१), रवीन्द्रनाथ टैगोरको जीवनस्मृति (२०२२), गान्धीका सबै मानिस दाजुभाइ हुन् र सहस्र सारस (जापानी उपन्यास) आदि । यसका साथै थुप्रै पुस्तक–पत्रिकाका सम्पादनकार्यमा पनि उनले आफूलाई समर्पण गरेका छन् जसमानवकुञ्ज (२०२२), नेपाल डाइजेस्ट (२०२८), युनेस्को बुलेटिन (२०२९), प्रगति, यती, पूर्णदास श्रेष्ठया झिंस्वपु बाखं (२०४१), गीतिकवयित्री छिन्नलता श्रीमती रमोलादेवी शाह (२०४३) र कँस्वाँ (वैकुण्ठप्रसाद लाकौलका कवितासङ्ग्रह), Siddicharans Pomes आदि पुस्तकहरु प्रकाशित छन् ।
जीवनका सबैजसो क्षणहरुमा किताब, कापी, कलमसँग खेल्दै आएका माधवलाल कर्माचार्य २०७० फागुन १ गते सिर्जनालाई चटक्कै छोडेर अवसान भएको देखिन्छ ।“के गर्ने ? नाइँ भन्न सक्दिन, कहिले कसैको पुस्तकको अनुवाद गरिदिनुपर्ने, कहिले कसैको पुस्तकको भूमिका लेखिदिनुपर्ने कामहरु आइपर्छन्, सकेसम्म गरिदिनुपर्छ ।” यस्तै भावनाहरु जीवनभर पोखेर आफूलाई सिर्जनामा समर्पित भएर गएको देखिन्छ स्रष्टा माधवलाल ।
कसैको अनावश्यक चित्त नदुखाएर, भद्रता, शालीनता चेहरामा चियाउन दिएर एउटा सुन्दर आकृतिजस्तो देखिने माधवलाल कर्माचार्यका थुप्रै अप्रकाशित कृतिहरु होलान् । माधवलालले धेरै गरेर गएका छन् नेपाली र नेपालभाषा साहित्यमा । त्यसको खोजी गरिदिनुपर्छ । जीवनमा थाक्न नजानेका कर्माचार्यले जीवनका सम्बन्धमा आफ्नो विचार यसरी व्यक्त गरेका छन् –“जीवन हो, जस्तै स्थितिमा पनि डोर्याइरहनुपर्छ ।” हो उनले कष्ट नसोचेर जीवनलाई डोर्याएर गएको देखिन्छ ।