बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले नेपाली बालसाहित्यको क्षेत्रमा आधा शताब्दीदेखि अनवरत सेवा जारी राखेका सर्जक शान्तदास मानन्धर लाई नगद २५ हजार रुपैयाँसहित ’साहित्य सृष्टि वाङ्मय साधना सम्मान’ प्रदान गरिएकोछ ।
केन्द्रका अध्यक्ष प्रमोद प्रधानले आफ्नो छोरी सृष्टि प्रधानको नाममा यो सम्मान २०७८ पुस ११ गते अक्षय कोष स्थापना गरेका हुन्। बाल साहित्य साधकलाई सम्मान गर्न अक्षयकोष स्थापनापछि हरेक वर्ष बालसाहित्य क्षेत्रमा साधना गरेका एक व्यक्तिलाई यो सम्मान प्रदान गरिने केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले बताए। ३० वर्ष बालसाहित्यका क्षेत्रमा सेवा पुर्याएका साधकलाई यो पुरस्कार प्रदान गरिने केन्द्रको नीति रहेको र शान्तदास यो सम्मान पाउने पहिलो सर्जक बनेका छन्।
यसैगरी अनुज्ञा नेपाललाई राकुपा बाल वाङ्मय बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ। अनुज्ञाको कविता संग्रह ’उज्यालोको खोजी – २०७८’ का लागि यो पुरस्कार प्रदान गरिएको केन्द्रले जनाएको छ। उनलाई नगद १० हजार र सम्मानपत्र प्रदान गरिएको छ।
२०७९ असार २५ गते वरिष्ठ साहित्यकार रामकुमार पाँडेले आफ्नो जन्मदिवसको अवसर पारी ‘राकुपा बालबाङ्मय पुरस्कार’ घोषणा गरेका हुन्। केन्द्रका सल्लाहकारसमेत रहेका पाँडेले बाल साहित्यलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको बताए। यो पुरस्कार २० वर्ष मुनिका बालक एवं किशोरले रचना गरेका प्रकाशित किताबमध्ये उत्कृष्टलाई प्रदान गरिने नीति छ। अनुज्ञा यो पुरस्कार पाउने पहिलो व्यक्ति बनेकी छिन्।
अनुज्ञाको उज्यालोको खोजीका साथमा हामी गर्न सक्छौ चित्रकविता पनि प्रकाशित रहेको छ। एम्बिसन एकेडेमीमा कक्षा १२ सकाएकी उनले यसअघि नुरगंगा राष्ट्रिय राष्ट्रिय बालसाहित्य पुरस्कारसमेत प्राप्त गरिसकेकी छन्।
कार्यक्रममा पाँडेको पुस्तक ’जिउँदो सालिक’समेत लोकार्पण भयो। किशोर अध्याय पुस्तकका रुपमा आफूले यो पुस्तक प्रकाशन गरेको र यसमा १० विभिन्न लेख रहेको उनले बताए। मानिसहरु विभिन्न कारणले जिउँदो सालिक बनेको विषयलाई आफूले किताबमा समेटेको पाँडेले बताए।
केन्द्रका महासचिव अनन्त वाग्लेले सञ्चालन गरेको कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, केन्द्रका सल्लाहकार डा धर्म डंगोल, सिर्जना शर्मालयागतको उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रका उपाध्यक्ष आचार्यले स्वागत गरेका थिए भने कोषाध्यक्ष शान्ति सापकोटाले सम्मानित व्यक्तिबारे प्रकाश पारेकी थिइन्।