धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्वको ऐतिहासिक वराह पोखरी खोटाङ जिल्लाको दक्षिणी भेगमा पर्दछ । स्रोत र निकास दुवै नभएको यो पोखरीमा राता माछा पनि पाइन्छन् । पोखरीको डिलमा शङ्खेश्वर महादेवको मन्दिर पनि छ । स्वाँ–वाँ गरी पोखरी गर्जेर अनि पोखरीको पानीको रङ्ग परिवर्तन भएर निकट भविष्यको विपत्ति एवं महामारीको पूर्व सङ्केत मिल्ने कुरा यहाँका पुजारी बताउँछन् । वराह पोखरीको परिसरमा सर्प मारिएमा सहस्र सर्पहरू निस्केर जमिनै ढाक्ने कहावत पनि पाइन्छ । कात्तिकको ठुलो एकादशी र राम नवमीलगायतका पर्वहरूमा धार्मिक मेला लाग्ने यो वराह पोखरीमा श्रद्धापूर्वक धूप बत्ती बाल्दै परेवा उडाएर भक्तजनहरू आफ्नो भाकल पूर्ण गर्छन् । यो वराह पोखरीको उत्पत्ति कथा पनि कम रोचक छैन :
हाल यो विशाल पोखरी रहेको ठाउँमा मानव बस्ती थियो रे ! यहाँ तामाङ र मगरका १५/२० घर थिए रे ! २/३ ओटी कुमारी केटीहरू आएर एउटा तामाङ बूढालाई सपनामा भने – तिमीहरू यहाँबाट अन्यत्र सरेर यो ठाउँ खाली गर, हामी छिटै यहाँ आउँदैछौं ।
कैयौँ रात निरन्तर यस्तै सपना देखेपछि त्यो तामाङ बूढाले छिमेकीहरूलाई सपनाको कुरा सुनाएछ । कसैले पनि बूढाको कुरालाई वास्ता गरेनन् अर्थात् पत्याएनन् ।
एक दिन साँझमा त्यो तामाङका बूढाबूढी कोदाको ढिँडो पकाउँदै रहेछन् । चुलाछेउको मझेरी चर्केर फुतफुत ४/५ ओटा राता माछा निस्केछन् । आश्चर्यचकित हुँदै तामाङ बूढो अगेनामा माछा पोलेर खान थालेछ । यत्तिकैमा माछा निस्केको ठाउँबाट र अगेनाबाट भुलभुल गर्दै पानी निस्कन थालेछ । हातमा ढिँडो लिएर तामाङ बूढाबूढी पानी निस्कने ठाउँ टाल्न थालेछन् । हेर्दाहेर्दै पानी छताछुल्ल भएर मझेरी ढाक्दै भित्तातिर पानीको सतह बढ्न थालेछ । जलमग्न पानीमा डुबिने डरले ती बूढाबूढी घरको तलामा चढेछन् । तलामा पनि पानीको सतह पुगेपछि झ्यालबाट छिरेर आत्तिँदै बूढाबूढी घरको छानाको धुरीमा चढेछन् । क्षणभरमै पानीले धुरी पनि पुरेछ र सारा जलमग्न भएर त्यो मानव बस्ती महासागरकै रूपको जल गर्तमा हराएछ ।
माथि डाँडाका घरबाट बिहानै उठेर हेर्दा अघिल्लो दिन मानव बस्ती भएको स्थान रातभरमै विशाल पोखरीमा परिणत भएछ । यस्तो अभूतपूर्व दृश्य देखेर मान्छेहरू छक्क परेछन् । यसरी, चिसापानीमाथिको हुमा पोखरीबाट देवीहरू पानीसहित यो ठाउँमा सरेर वराह पोखरीको रूपमा बसेछन् । यही पोखरीबाटै यो गाविसको नाम वराह पोखरी रहन गएछ ।
अलिक पछि ती तामाङ बूढाबूढीलगायत पोखरीमा डुबेका मृतकहरू जागृत भई धामीको आङमा उत्रेर काया–कैरनसहित सविस्तार बक्न थालेछन् । अतः वराह पो पुस्ता–पुस्तामा प्रसारण हुँदै आएको त्यही दन्त्यकथा मैले पनि यहाँ तपाईँलाई सुनाउँदो भएँ ।
– फाक्टाङ, खोटाङ