लिपिविज्ञ रविसन शाक्यले ऐतिहासिक अभिलेखमा रहेका १५ वटा लिपिको तालिका प्रकाशनमा ल्याएका छन् । त्यसमा रोमन, ब्राह्मी, लिच्छवि, कुटिला, सिद्धं, उछेन, उमे, रञ्जना, भुजिंमोल, नेवारी (नेपाललिपि), बंगाली, मैथिली, नन्दिनागरी, किरात र देवनागरी छन् । यसमा स्वरवर्ण, व्यञ्जनवर्ण, संयुक्तवर्ण र अंक समेटिएका छन् ।
यी लिपिहरू नेपालमा विभिन्न कालखण्डमा प्रयोग गरिँदै आएका थिए । अहिले पनि यी लिपि पुन: प्रचलनमा ल्याउने कम्प्युटर फन्टसमेत निर्माण गरेका छन् । यसलाई पुन: प्रयोगमा फन्टलाई साधारण र युनिकोडसमेत निर्माण गर्ने शाक्यले जनाएका छन् ।
यसअघि पुरातत्व विभागले प्राचीन लिपिलाई हस्तलिखित तालिका प्रकाशित गरेको थियो । शाक्यले ऐतिहासिक कालदेखि हालसम्म नेपालमा प्रचलनमा रहेका र कम्प्युटरमा प्रयोग हुँदै आएका लिपिलाई तालिकाबद्ध गरेका हुन् । ती लिपि विभिन्न शिलापत्र, ताम्रपत्र, ठ्यासफू आदिमा यी लिपि रहेका छन् । थ्याका रिसर्च सेन्टरले ‘लिपि विकास तालिका’ प्रकाशन गरेको हो । रञ्जना लिपिबारे विशेषज्ञका रूपमा परिचित शाक्यका ‘प्राचीन लिपि वर्णमाला’, ‘अल्फाबेट अफ नेप्लिज स्क्रिप्टस्’लगायत दर्जन कृति प्रकाशित छन् ।