‘वेदना’ साहित्यिक पत्रिकाको प्रकाशनमा आफ्नो श्रम र बर्कत पोख्दै आएका धुलिखेलका मेरा मित्रहरू दिल बरदान र सुवास श्रेष्ठसँग भएर पारिजात दिदीकहाँ पुगेको २०३० सालतिर हो । जब दिदीकहाँ पुगेँ हामीलाई सम्मोहनले छोएजस्तो भयो । अनि हामीहरू महिनाको ४–५ पटक जसो पारिजात दिदीको घर पुग्न थाल्यौँ । पारिजात दिदी बस्दै आएको म्हैपी कोठामा पुगेपछि नयाँ–नयाँ साथीहरूसँग भेटघाट हुने, दिदीसँग साहित्य र विचारको सम्बन्ध जोड्न पाइने आदि कारणले म्हैपी, पारिजातको म्हैपी–घरले हामीलाई प्रभाव छोड्न थाले । सुकन्या दिदी प्रत्यक्ष हामीसँग गफमा सामेल नभए तापनि उहाँले पकाइदिएर पठाइदिएको चिया मीठो मानेर सधैं जसो पिउने गथ्यौं । यो क्रम मेरो जीवनमा चल्दै रह्यो । त्यही पारिजात निवास म्हैपी घरमा कहिलेकाहीँ दाजु निर्मल लामासँग पनि राजनीतिक कुराकानी हुने गथ्र्यो । म्हैपीसँगको मेरो आत्मीयता बढ्दै जानुका कारणहरूमा पारिजातको व्यक्तित्व, निर्मल लामाको सौहार्दता र सुकन्या दिदीको व्यावहारिकताले पछ्याइदिएको हो भन्नु पर्छ ।
प्रगतिशील दृष्टि र भावनामा रमेर राजनीतिक–वृत्तमा पनि सक्रिय रहेको र साहित्य मन परेकै कारणले यो म्हैपी–घरले मन र तनमा तरङ्ग छोड्न सफल रह्यो । पारिजातको साहित्यिक मर्म र कर्म निर्मल लामाको सादगी जीवन र उच्च विचारले मेरो युवा मस्तिष्कलाई धेरै कुराहरूले डोर्याइदियो । म त्यसताका गुन्थेँ र मन पराउँथेँ पारिजातका निश्चल मन र कर्महरू/ निर्मल लामाका राजनीतिक सोच र कर्मपथहरु । त्यही बाटो र राजनीतिक निष्ठा मन परेकै कारणले निर्मल लामा र पारिजातकहाँ जान पाएपछि त्यसताका गौरव गर्थेँ । यसरी सम्बन्ध गाँसियो पारिजात दिदीसँग र मेरो मनभित्र पनि टाँसियो पारिजातका बिम्ब–चित्र ।
स्वाभिमानी स्वभाव, तर्कशील मनोभावना र आफूले रोजेको बाटोका दृढ पथ–यामी भएकै कारणले उहाँ कहिल्यै पनि सङ्घर्ष र कठिनाइसँग लत्रिएको देखिएनन् । कोमल आकृतिमा मन फिँजाउनुभएर अप्ठ्यारो शरीरलाई पनि सप्ठ्यारो बनाउनुभएर र साहित्यिक मर्ममा जनमन गाँस्न लगाउनुभएर लेखन धर्मिता निभाउँदै आउनुभएकी पारिजात युगकै हाँकजस्तो चेतना–मूर्ति हुनुहुन्थ्यो । चुरोटको चुस्कीसँगै आए जति साथीभाइ इष्ट भित्रसँग मित्रता राख्नु हुँदै कोठाकै चौघेराभित्र कैदीजस्तो हुनुभएर पनि जीवन जगत्का मर्म छुन सफल उहाँ युगकै लागि सार्थक भएर जानुभयो । पारिजातसँग यसरी मेरो सम्बन्ध अन्तरङ्गमा मिल्दै गएको र पारिजातसँग मित्रता बढ्दै गएको हो – प्रसङ्ग सधैँ म सम्झिरहेछु ।
सुवास र दिलहरू धुलिखेलमा सक्रिय, म बनेपामा रहकै कारणले पारिजात दिदी धुलिखेल र बनेपामा बस्न पाउँदा निकै रमाउनुभएको थियो । उहाँको सम्मानमा कोठा गोष्ठी छलफल कार्यक्रम गर्ने गथ्र्यौं । काभ्रेका थुप्रै साथीहरूसँग त्यसताका धुलिखेलमा रहनुभएर आत्मीयता साट्ने अवसर पाउनुभयो मात्र होइन काभ्रेली जनमनले पारिजातसँग नजिकै बसेर कुराकानी गर्ने सुअवसर प्राप्त गरेका हुन् । त्यो समय काभ्रेलीहरूका लागि अहोभाग्य नै सम्झिनुपर्थ्यो । पारिजात दिदीले धुलिखेलमा बसेर उपन्यास लेख्न सुरु गरे । नवरङ्ग होटेलका साहुजी अर्थात् पूर्णमान श्रेष्ठको आनीबानी, व्यवहार मन पराउनुभएर उनलाई खोतल्ने जमर्को गर्नुभएर उपन्यास लेखनको कल्पना गर्नुभएको हो । ‘उसले रोजेको बाटो’ उपन्यास केही दिनमा धुलिखेलमा रहँदा उहाँले लेख्नुभएको हो । उपन्यासमा समग्र पूर्णमानको जीवनलाई समेट्नुभई नायक बनाइदिनुभयो । काभ्रेका लागि यो घटना ऐतिहासिक र सम्झिन लायकको प्रसङ्ग हो ।
सँगसँगै रहँदा बस्दा र नजिकले भावना साटासाट गर्न पाउँदाले नै पारिजातसँग मेरो घनिष्ठता विचारसँगै गाँसिएर बढ्यो । चौथो महाधिवेशनका विचारको रङ्गमा हामी दुवै रङ्गियौँ । एउटै विचार, एउटै खालको साहित्यिक मर्ममा डुबुल्की मार्दै हामी एक आपसमा मैत्री भाव राख्दै यात्रामा लाग्न पाउँदाका क्षणहरू मनमोहक रह्यो । २०३६ सालतिर प्रगतिशील लेखक कलाकार सङ्घको केन्द्रीय तयारी समितिमा पारिजात दिदीसँगै म पनि शरद बनेपा भएर केन्द्रीय सदस्यमा रमायौँ । रघु पन्त, मञ्जुल, रायन, सुवास श्रेष्ठ, मोहन श्रेष्ठ, पद्मरत्न तुलाधर, दुर्गालाल श्रेष्ठ, जागृतिप्रसाद भेटवाल, मल्ल के. सुन्दरहरूसँग हामी दुवै जना पनि प्रगतिशील साहित्यिक यात्रामा लागिरह्यौँ । यस यात्रामा पारिजात दिदीसँग मेरो सोच र यात्रा सँगसँगै जस्तो भयो । केही वर्ष निरन्तर जसो सँगसँगै विचार साटासाट गर्ने थलो र प्रसङ्ग एउटै खालको बन्यो । पारिजात दिदी झन्–झन् मेरो मथिङ्गलमा, मेरो भावनामा र मेरो आँखामा एउटा भरपर्दो बिम्ब भएर चम्किदियो । प्रगतिशील भावनाको यो यात्रामा हामी एक अर्काका सहयोगी भयौं । ‘वेदना’ मा र यसै गरी ‘जनमत’ मा पारिजातका भावनाहरू समेट्न हामी सफल भयौँ । पारिजातसँगको सम्बन्ध अझ ठुलो अकल्पनीय संयोग जुर्यो । २०३४ असारमा पारिजात दिदीकै चेली भारतीसँग मेरो विवाह भयो । भारतीसँगको मेरो जीवन सम्बन्धले अझ पारिजातका ‘ऊर्जा’ मेरो मनमा थपियो जस्तो भयो । मुक्ति आन्दोलनका सम्बन्धमा उहाँसँग विचार साटासाट गरेर जीवनका क्रमहरू गुजार्यौँ ।
म्हैपीको सानो घर । एउटा खाट र केही मेचहरू सजाइएको चिटिक्क परेको एउटा कोठा । भित्तामा चेग्वेग्वाराको फोटो र अन्य फोटाहरू सजाइएका छन् । दिनभर जसो भेला हुन्छन् साहित्यकारहरू । दिदी कुरा फुकाउँदै, चुरोटको सर्को फुक्दै, कालो चियाको बाफमा जिन्दगीका आयामहरू साथीभाइ माझ राख्दै दिन कटाउने गर्नुहुन्छ । हामी कहिलेकाहीँ दिदीकहाँ ‘वेदना’ बोकेर र ‘जनमत’ का भावना सुनाएर यात्रामा सामेल हुन्छौँ । अक्सरयता दिलजी र सुवासजी पनि मसँगै हुने गर्थ्यो ।
पारिजात दिदीसँग यसरी सम्पर्क हुँदै आत्मीयता बढ्दै गएको मेरा सम्बन्धका हरफहरू धेरै खालका छन् । समग्र घटनाहरू पटाक्षेप गर्न पाएको छैन, कुनै सन्दर्भमा उल्लेख गर्नेछु । शरद बनेपाको नामबाट आलोचक हुँदाताकाका मेरा आलोचनाका लेख–रचनाहरू बढी नै आक्रामक र तीखो भएकै कारणले पारिजात दिदीसम्मले पनि पचाउन सकेका थिएनन् । ‘वेदना’ साहित्यिक पत्रिकामा २०३३ सालमा प्रकाशित ‘आयामेली साहित्यिक धारणा र वैरागी काइँलाका कविताहरू’ आलोचनामा मैले यी हरफहरू लेखेको थिएँ – “नेपाली साहित्यमा यस्तै बाङ्गाटिङ्गा अन्तर्विरोधले भरिएका स्वरहरू बोकेर कैयौँ किसिमका नामधारी साहित्यिक जमातहरू हाम्रा सामु देखापरि सकेका छन् । अभिलेखवाद, अस्वीकृत जमात, राल्फा सन्तति, आयामेली आन्दोलन, बुट पालिस लेखन आदि । यी सबै चेहराहरू हाम्रो अगाडि जो साहित्यको नाममा देखा परेका छन् ती सब जमातहरू वास्तवमा प्रगतिवादी साहित्यिक धारालाई प्रत्यक्ष वा अप्रत्यक्ष तहसनहस पार्न, जनताको मनमस्तिष्कलाई भ्रमपूर्ण बाटोमा डोर्याउन, सामाजिक यथार्थताबाट पलायनता तर्फ कुदाउन अन्योलपूर्ण रहस्यात्मक विचार बोकेर आउने साहित्यिकहरू साँच्चीकै ‘आफ्नो सुर्याइँ देखाउने ठाउँ नभेटेका सुर वीरहरूजस्तै मात्र हुन् । यस्तो किसिमको प्रवृत्ति मध्यम वर्गीय अवसरवादी बुद्धिजीवी भनाउँदाहरुको दिमागमा लहडले उब्जने प्रतिक्रियावादी विचार हो र लहडमा नै सेलाएर जाने प्रक्रिया हो यो साबित भएको वास्तविक प्रमाण तथा तथ्य पनि हो ।” यस लेखले प्रगतिशील साहित्यिक फाँटमा निकै हलचल ल्याइदियो । रामचन्द्र भट्टराईको ‘सुस्केरा’ मार्फतको सम्पादकीयले मेरो खोइरो खन्दै लेखको खण्डन भन्दा बढी शरद बनेपाको खोइरो खन्ने काम भयो । यही लेखको समर्थनमा ऋषिराज बरालको ‘त्रिकोण’ बोल्यो । प्रगतिशील साहित्यिक पत्रिकाहरि मेरो लेखको समर्थन र विरोधमा लामबद्ध भयो । ‘वेदना’ उक्त लेखको समर्थनमा तर्क बोल्दै देखा पर्यो भने ‘सङ्कल्प’ ले मेरो लेखको विरुद्ध धुवाँ धार आक्रमणका शब्दहरू प्रयोग गर्यो । केही क्षणसम्म प्रगतिशील साहित्यकारहरूमाझ आलोचना–प्रत्यालोचना र चर्चा भइरह्यो । पछि उक्त लेखसमेत सङ्ग्रहीत गरी छापेको ‘आलोचना र परिचय’ नामक २०४४ सालमा प्रकाशित मेरो पुस्तकको भूमिकामा पारिजातले मेरोबारे यसरी लेख्नुभएको थियो – “आज मलाई कस्तो–कस्तो अनौठो लागिरहेछ । म दुवालजीलाई शायद २०३० सालदेखि चिन्दछु त्यसको दुई अथवा अढाई वर्ष अगाडि म ‘राल्फा सन्तति’ मा थिएँ । त्यसताका रोमान्से ली विद्रोही (दुवालजीको भाषामा विद्रोह लेखि ‘टोपल्ने’, ‘फलाक्ने’ आदि) लेखक आज म प्रगतिशील समालोचक आनन्ददेव भट्टजीहरूको समकक्ष बसी आफ्नो मन्तव्य लेख्दै छु ।” यसै क्रममा मेरो टिप्पणीलाई मन नपरेर उहाँले उक्त भूमिकामा यसरी लेख्नुभयो – “आज फर्केर हेर्दा तपाईँलाई हामी राल्फाको अपरिपक्व लेखनलाई रोमान्से ली आक्रोश लेखि ‘टोपल्ने’, ‘फलाक्ने’ भन्दा कस्तो लाग्छ ?” यो चित्त दुखाइ पारिजातले त्यसताका पोख्नुभएको थियो । हुन त मैले त्यसताका लेखेका अतिशयोक्ति जस्तो देखिने लेख–रचनाहरूबारे उक्त पुस्तककै भूमिकामा ‘आफ्नै कृति : आफ्नै दृष्टि’ मा “आलोचना गर्दा खेरिको दृष्टिकोण अतिशयोक्तिपूर्ण, समाजवादी आँखाले बढी हेर्दा वास्तविकतामा चिरा परेको जस्तो महसुस हुँदो रहेछ– त्यही भयो मेरो आलोचना कृतिमा पनि ।” पारिजात दिदीको चित्त दुखाइ स्वाभाविक रहेको मैले महसुस गरेँ । यस्तै–यस्तै घटनाक्रमहरू र सन्दर्भहरूमा पारिजातसँग थुप्रै क्रमहरू गुजारेका कुराहरू मनमा सधैँ आइरहन्छ; पारिजातलाई म सधैँ सम्झिरहन्छु ।