कथा लेखनबाट साहित्यमा पाइला चाल्नु भएकी आख्यानकार हुन् , मीरा गोतामे । आमा बने पछि साहित्यमा बढी सक्रिय गोतामेलाई आख्यान विधाले बढी तानेको देखिन्छ । त्यही भएर कुनै पनि आख्यानका कृतिहरू खोजी खोजी पढी हाल्ने बानी छ । उपन्यासहरू पढ्ने बानीले नै उहाँलाई पनि लेख्न प्रेरित गरेको देखिन्छ । पहिलो उपन्यास वाटै साहित्य बृत्तमा परिचित बन्नु भएकी मीरा छिटै कथा सङ्ग्रह पाठकमाझ ल्याउने तयारीमा हुनुहुन्छ । आख्यान मन पर्ने विधा भएकोले उहाँको दिनचर्यामा उपन्यास लगायत कथाहरू पढ्नु पनि एक हो । पढ्नु र लेख्नु जीवनको अभिन्न अङ्गको रूपमा लिई रहनु भएकी गोतामेसँग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी :
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
भर्खरै अङ्ग्रेजी क्लासिक “द सिक्रेट गार्डेन” पढेर सकेँ । त्यसअघि कल्पना प्रधानको “मन मन्दिरका तस्बिर” र पारिजातको “अनिदो पहाडसँगै” पढेकी थिएँ ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनु पर्दा ?
यो त गाह्रो प्रश्न भयो । यस्ता धेरै पुस्तक छन् । अहिले चाहिँ अग्रेंजीमा पाउला हकिन्सको “द गर्ल अन द ट्रेन ” र नेपालीमा अमर न्यौपानेको “सेतो धरती” कै नाम झट्ट दिमागमा आयो । हिन्दी साहित्य भने पढ्ने बानी छैन ।
तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
सुत्नु अघिको समय र दिउँसो घरै बसेको समय लेखपढ गर्न उत्तम समय लाग्छ मलाई ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
मलाई त आख्यानले नै तान्छन् । आख्यानका पात्रहरूले मलाई लामो समयसम्म बाँधिराखेको हुन्छ । त्यसमाथि पनि राम्रो उपन्यास पढ्न पाएँ भने दसैँ आएझैँ लाग्छ ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
खासै पढ्न पाइएन । कोर्सका पुस्तकहरू पढ्नेलाई मात्र राम्रो मानिन्थ्यो । साहित्य पढ्ने सचेतना नै थिएन । यद्यपि भेट सम्मका पुस्तक र पत्रिकाहरू एकै छिनमा पढेर भ्याइहाल्थें ।
तपाईँले कुन उमेर समूहमा बढी पढ्नु भयो ?
पहिले पनि पढ्ने गर्थे तर विवाह र आमा भएपछि बढी पढ्न थालेँ । जीवनको अर्को आयाम देखेको र पात्रहरू सित आफूलाई रिलेट गर्न सक्षम भएकाले पनि होला ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
लैनसिंङ वाङदेलको माइत घर धेरैपल्ट पढेकी छु । शिरीषको फुल, प्रेतकल्प र सेतो बाघ चाहिँ दुई पटक ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
पहिलोपल्ट के लेखिएको रहेछ भनेर पढियो । असाध्यै मन छोएपछि भने कसरी लेखिएको रहेछ भनेर जान्नका लागी दोहोर्याएर पढेँ ।
ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
सुन्दर कथावस्तु र पाठकलाई तानी रहन सक्ने कलात्मक लेखन शैली खुबै मन परे यी पुस्तकहरूमा ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
एकदम पछ्याउँछ । खाँदा, हिँड्दा डुल्दासम्म त्यही पात्रहरू मस्तिष्कमा घुमी रहन्छन् । आफ्नो मनले खाएको पुस्तक हो भने पढेको धेरै दिनसम्म त्यो ह्याङओभरले छोड्दै छोड्दैन । यतिसम्म की मेरो वरपरका साथीहरूमाझ पनि त्यसकै व्याख्या गरिरहेकी हुन्छु । उनीहरूलाई पनि पढ्न प्रेरित गरिरहेकी हुन्छु ।
तपाईँको विचारमा पढ्नु केका लागी हो ?
भीडबाट हटेर स्रष्टाले फरक दृष्किोण बाट सोचेको हुन्छ । कल्पना र यर्थाथ लाई बेजोड ढङ्गबाट मिश्रण गरेको हुन्छ । त्यही कल्पनाशीलता र दृष्टिकोण बुझ्नका लागी पढ्ने गर्छु म । आफू नपुगेका ग्रामीण बस्तीदेखि देश विदेशसम्म पुग्न र विविध पात्रहरूको जीवन बाँच्न पनि पुस्तकले मद्दत गर्छ ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
कर्णाली ब्लुज, तुइन, खलङ्गामा हमला, माइत घर, पागल बस्ती, राधा, डार्लिङ हार्बर, महारानी, ताप, नरेन्द्र दाइ ।
तपाइसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
धेरै छैनन् । सङ्कलनको चेतना नै ढिलो आयो । २५०० जति होलान् की ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
स्याली रुनीको “ब्युटिफूल वर्ल्ड व्हेर आर यु” र विक्रम सेठको “अ सुटेवल ब्वाय” को धेरै तारिफ सुनेकी छु । जसरी पनि पढ भन्ने सुझाव पनि पाएकी छु तर दुईचार वटा चर्चित बुक स्टोरमा खोज्दा पनि पाइन । यी दुई पुस्तक हातमा छिटो परोस् भन्ने कामना छ ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
एउटै लेखकको सबै पुस्तक उत्तिकै मन पर्छन् भन्ने छैन । म चाहिँ लेखकभन्दा पनि लेखिएका पुस्तकलाई नै प्राथमिकतामा राख्छु । कुनै लेखकको एउटा पुस्तक असाध्यै मन परे पनि अरू पुस्तक त्यति मन नपर्न सक्छन् । त्यसैले लेखकको नाम लिनुभन्दा उनीहरूका कृतिको नाम लिनु उपयुक्त लाग्छ मलाई । भन्नै पर्दा माथि उल्लेखित सबै स्वदेशी र विदेशी पुस्तकका लेखकको नाम लिन चाहन्छु ।
अध्ययन र लेखाई बाहेकका रुचिहरू के के छन् ?
विभिन्न ठाउँ भ्रमण गर्ने, साथीभाइसँग नाचगान गर्ने आदि ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन कुन पुस्तकहरू सिफारिस गर्नु हुन्छ ?
शिरीषको फुल, प्रेतकल्प, सेतो बाघ, सेतो धरती, उदरिङ हाइट्स, द गर्ल अन द ट्रेन, द किङ अफ द क्लाउड फरेस्ट आदि । यी पुस्तकहरूले जीवन र जगतका विविध आयामहरू सिकाउँछन् ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के के छन् ?
मैले आफ्नो पहिलो उपन्यास लेखिसकेपछि यताउता केही नबुझी प्रकाशनको लागी थोरै हतार गरेँ कि भन्ने लागिरहेको छ । त्यसैले दोस्रो पुस्तक चाहिँ प्रशस्त समय लिएर मात्र प्रकाशन गर्ने योजनामा छु । मेरो एउटा कथासङ्ग्रह पाइप लाइनमा छ ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ ?
जस्तोसुकै घटना र परिवेश दर्साइए पनि हरेक सृजनामा स्रष्टाको विचार हाबी हुन्छ । निश्चित दृष्टिकोणबाटै घटनालाई दर्साइएको हुन्छ । त्यसैले कुनै पनि स्रष्टाको वरपरको वातावरण नै सिर्जनामा प्रतिबिम्बित भएको हुन्छ जस्तो मलाई लाग्छ ।
तपाईँको जीवनमा सानैदेख कोही रोल मोडल छ, जसले जीवनयात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
मेरो जीवनको रोल मोडल मेरो बुवा नै हो । उहाँले हामी छोरीहरूलाई हरेक क्रियाकलापमा प्रेरणा दिनुभयो । कामको जति व्यस्तता भए पनि प्रशस्त समय दिनुहुन्थ्यो । पढाई लेखाइमा पनि धेरै नै मद्दत गर्नुहुन्थ्यो । मलाई आजसम्म पनि आफ्नो बुवा जत्तिको असल लोग्ने मान्छे अरू कोही लाग्दैन ।
साहित्यिक यात्रामा भने आदरणीय दिज्जु बाबा बस्नेत नै मेरो रोल मोडल हुनुहुन्छ । आफ्नै ठुलीआमाकी छोरी भएकाले पनि उहाँका पुस्तकहरू पढ्दै हुर्किएकी हुँ । त्यसैले पुस्तक र पुस्तक लेखनप्रति मोह त थियो नै । उहाँका पुस्तक विमोचनहरूमा जान सधैँ उत्सुक हुन्थेँ । आफूले पुस्तक तयार पार्ने बित्तिकै उहाँलाई नै सुनाएर भूमिका लेखिदिन आग्रह गरेकी थिएँ । उहाँको आवाज, लेखन र पुरै व्यक्तित्व नै उम्दा लाग्छ । सबै विधामा उत्तिकै प्रखर बाबा दिज्यू साह्रै प्रतिभाशाली हुनुहुन्छ ।