शुभ बिहानी
अनोैठो धरातल टेकेर
युगौं पुरानो जुत्तामा शरीर घिसारेर
लुखुर–लुखुर हिँडिरहन्छ कविजी
आस्था इमानदारिता विवेक नैतिकता बोकेर
डिस कलर्ड कोट, लेउ परेको उही पुरानो जुत्ता
क्षितिजलाई आत्मसात गर्दै
संसारभरको पीर व्यथा
आफ्नै ज्याथा सम्झेर
गुल्जार गल्लीहरुमा नुतन कथा बुन्दै
हरेक साँझ हल्का मातेर
देशको चिन्तामा दुविरहन्छ कविजी ।
नो अव्जेक्शन लेटर
ट्यूशन फिमा ट्याक्स
सुरक्षा भत्तामा ट्याक्स
इनकममा ट्याक्स
उफ्
जहाँ,
जेब्राक्रशमा बाटो काट्नेहरू
स्पोट डेथ हुने देशमा
जहाँ,
स्कुलमा पढ्ने नानीहरू
दिनदहादै अस्मिता लुटिने देशमा
खै ! कहाँ छ सुरक्षा ?
यो सामाजिक सुरक्षा ट्याक्स
जनताको लागि हो कि सरकारको लागि ?
कहर र पीडा कोरोना भाइरस
महामारीको भयावह परिवेश
सिंहदरवार वरपर स्पे्र छरेर
महानताको प्रदर्शन गर्दो हो
चिल्ला पजेरो चिल्लो जुत्ताहरू
तिनका सुकेनासा खुट्टाहरू
बडेमान भुँडीहरू जो
राष्ट्रिय झण्डासँग सँगै हल्लिरहन्छ ।
कविजीलाई
कोरोना भाइरसभन्दा
जनताका रगत चुस्ने भाइरससँग छ आक्रोश
यो कस्तो ड्यामेज सिस्टम
एक अमूल्य भोटको उपहास
हर्दम कष्टकर र संघर्ष
कविजीले
पुरानो जुत्तालाई खास यार बतायो
एक बोटल जम्बो सुनामी समायो
इमानको कमाई आधा घुट्कायो
पुन: पुरानो जुत्ता लगाएर
अफिस आउने आदत बनायो !!!