थोरै बाँचे – त्यसैले थोरै मात्र लेख्न पाए कवि हरिभक्तले । थोरै लेखेर पनि कविकारुपमा सबैले चिनिदिएका कवि हुन् हरिभक्त कटुवाल । आफूले बुझेअनुसारका कार्य–कर्महरु गर्न नपाएपछि संवेदनशील व्यक्ति अड्बाङ्गे ढङ्गमा बाँच्न रुचाउँछन् । हरिभक्त कविले पनि आफूले बुझेअनुसारका कार्यहरु गर्न पाएनन् । त्यसैले त उनी कवितामा नै यसो भनेर आफूलाई देखाइदिन्छन् –“मेरो देशको कुनै समस्या टार्न नसक्ने म कवि भएँ – जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्यो ।” हरिभक्त कटुवालको यो मार्मिक अभिव्यक्तिले संकेत गर्छ उनी हार खाए । जालझेल, प्रपञ्च अर्थात् कयौं बेथितीहरुसँग हार खाए । विचरा कविले परिवेश बुझे तर परिवेशमा केही गर्न पाएनन् । उनी सिर्फ हास्यका पात्र बने, प्रवासबाट स्वदेश फर्के – स्वदेशबाट पुन: प्रवास लखेटिए । यस्तै रीत र बेढङ्गका थुप्रै खालका शासना पाएर उनी कायल मात्र बनेनन्, रक्सी सेवन गर्ने खराब लतमा पुगेर गुनगुनाए । मान्छेका अनेकौं काला देखिने खराब मनोवृत्तिबाट लेखेटिँदै गरेका यिनी मान्छेका जीवन प्रसङ्गहरु भोगेर पनि हैरान हैरान भए । त्यसैले त उनी रक्सीलाई सजिलोसित जिउने एउटा क्याप्सुलजस्तै सम्झिन्छन् :
सपना बोकेर आइदिने रातहरुलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रयासलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठा निहुँ पाइएको छ –
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम ।
वि.सं. १९९० असार १८ मा जन्मेका हरिभक्त कटुवाल रक्सीलाई सलाम गर्दागर्दै रक्सीकै मोहकता र सम्मोहनमा परेर २०३७ भदौ २५ गते ४७ वर्षको युवावयमा आफूलाई मान्छेको भीडबाट पराजित हुँदै जीवनक्रमबाट अन्त्य गराए । वि.सं. २०२९ सालमा प्रकाशित यो जिन्दगी के जिन्दगी कवितासङ्ग्रहमा आफ्नो कुरामा उनले साहित्यसम्बन्धमा यसरी विचार पोखेका छन् –“कुनै परिभाषा, मान्यता अथवा वादलाई मनमा राखेर मैले कविता कहिल्यै लेखिनँ ।” कविताकै सन्दर्भमा लेख्दालेख्दै, कविता खोज्दाखोज्दै कवि बनेकै कारणले यिनका कवितामा कवित्व देख्न पाइन्छ । यसै क्रममा उनी आफ्नो विचार पोख्छन् –“मानिसको जिन्दगीमा हाँसो पनि छ र आँसु पनि छ । जिन्दगी जिउने क्रममा जब म निराश भएँ, निराशाकै कविता लेखेँ । जब आनन्दले उद्वेलित भएँ हर्षका गीत गाएँ । म आँसु लुकाएर हाँसोको कथा कसरी लेखूँ ? टन्न गरम कपडा लगाएर, ठूला ठूला होटलमा कफी र ड्रिङक्स खाएर जाडो लाग्यो पाँच पैसा भन्ने बालकको कविता मलाई लेख्न मन लाग्दैन ।” जिन्दगीलाई कविताप्रति नै समर्पित गरिसकेका कटुवालले १४ वर्षको उमेरदेखि नै कविता–गीतमा आफ्नो मनलाई भुलाइरहे ।
वि.सं. १९९२ असार १८ गते भारतको आसाम राज्यमा पर्ने डिबु्रगढ अन्तर्गतको बोगिबल गाउँमा पिता वीरबहादुर तथा माता विष्णुमाया कटुवालका छोराका रुपमा जन्म पाएका हुन् हरिभक्त कटुवाल । आई.ए.सम्मको परीक्षा उत्तीर्ण गरिसकेका यिनले पछि घरको आर्थिक स्थिति कमजोर रहेको कारणले बी.ए. पढ्न पाएनन् । पहिलोचोटि वि.संं २०१३ सालतिर पब्लिक हेल्थ इन्सपेक्टर भई आसाममा सेवा पुर्याइसकेका यिनी २०१४ सालमा शिक्षक पनि भएर कार्य गरे । थुप्रै क्षेत्रमा परिश्रम बगाउँदा–बगाउँदै आसामबाट पछि राजा महेन्द्रको बोलावटमा २०२४ सालतिर नेपालमा पुगेका यिनले नेपाली साहित्य संस्था, काठमाडौंमा कार्यालय सचिव भएर पनि सेवा पुर्याए । वि.सं. २०२६ मा तत्कालीन नेराप्रप्रमा जागीर खाएका यिनी पछिसम्म त्यहाँको जागीरमा टिक्न पाएनन् ।आफ्नै खालका दृष्टिबिम्बमा आफूलाई ढालेर स्वाभिमानका पद्चापहरु टेक्दै आएका यिनी त्यता पनि टिक्न नपाएपछि अभिव्यक्ति साहित्यिक पत्रिकामा सम्पादन सहयोगी रहेर सेवा पुर्याए ।रुपरेखामा पनि यिनले सेवा पुर्याएको देखिन्छ । पछि वि.सं. २०३० सालमा साझा प्रकाशनमा जागिर खाएका यिनी त्यहाँ केही क्षणमात्र टिके । यसरी थुप्रै ठाउँमा पुग्दै, त्यस ठाउँलाई छोड्दै जीवन भोग्दै बाँचेका कवि कटुवालले यस्तै अनुभव साटेर बाँचेका जीवन क्रमहरुकै विषयवस्तु बनाएर कविता, गीत, कथा, एकाङ्की, उपन्यास आदि सबै खालका विधाहरुमा आफूलाई समाहित तुल्याए । तर पनि यिनी गीत, कविता अनि मुक्तकमा साँचेर बाँचे ।
कवितामा बिम्ब साँच्न जानेका, सीपलाई प्रयोग गर्न सिकेका, विषयवस्तुमा स्वाभाविकता भर्न सिपालु कवि हरिभक्त कटुवाल आसाममा जन्मेर नेपाली भाषामा कविता बिम्ब छोड्न सफल एकजना प्रतिभासम्पन्न नेपालका कवि हुन् । कवितामा अलङ्कार प्रयोग गर्न खप्पिस, स्वाभाविक बिम्ब भर्न सिपालु, प्रतीक र अनुप्रासलाई ओजपूर्ण ढङ्गले गाँस्न जानेका भएर नै हरिभक्त कटुवाल सफल कविका रुपमा चर्चित रहे । यिनका प्रकाशित पुस्तकहरुमासम्झना (गीतसङ्ग्रह, २०१६),भित्री मान्छे बोल्न सक्छ (कविता सङ्ग्रह, २०१८),ऐतिहासिक कथासङ्ग्रह (सहलेखन, २०२०),सुधा (खण्ड– काव्य, २०२१),पूर्व किरण (कवितासङ्ग्रह, सम्पादित २०२१), यो जिन्दगी खै के जिन्दगी (कवितासङ्ग्रह, २०२७),स्पष्टीकरण (कथासङ्ग्रह, २०३०), म मरेको छैन (एकाङ्की नाटकसङ्ग्रह),बद्नाम मेरा यी आँखाहरु (कविता–सङ्ग्रह, २०३०) छन् । सम्पादनमा पनि विशेष योगदान पुर्याइसकेका यिनले मुक्ति, हिमालय, प्रज्ञा, हिमानी, संगीत, सरिता, बान्की, अभिव्यक्ति लगायत अरु पत्रपत्रिकाको पनि सम्पादन गरेर सेवा पुर्याएका छन् । सन् १९५९ मा सर्वश्रेष्ठ कविका रुपमा रोयल एकेडेमी पदक प्राप्त गरेका यिनले वि.सं. २०२४ मा स्वर्णपदक, वि.सं. २०२५ र २०२८ मा श्रेष्ठ साहित्यकारका रुपमा ९८९/– र १३००/– रुपियाँ नगद पुरस्कार पनि प्राप्त गरेका हुन् ।
“कोठाभरि अँध्यारो छ । अँध्यारो मलाई मन पर्दैन । सायद कसैलाई मन पर्दैन । बत्ती बालूँ त ? भयो । आज अँँध्यारो मन नपरे पनि बेस छ । मन परेका कुरा के कति पाइएको छ र जिन्दगीमा ? मन नपरेको यस अन्धकारमा बसेर मन परेका तर नजुरेका कुराहरु सोच्न मन लागिरहेछ ।” यो चिन्तन हरिभक्त कटुवालले जीवनकै क्रममा प्रतीकात्मक भाषामा लेखेका छन् । नेपालको सडक कविता क्रान्तिमा प्रजातन्त्रको पक्षमा सडक–सडकमा पुगेर यिनले जनाइदिएको सहभागिता बिर्सिनसक्नु छ । कवितामा हुँकार बोलेर, मुक्तकमा मार्मिकता साँचेर कविता सुनाइदिँदा यिनको कविचेत उल्लेखयोग्य छन् । कवितामा उच्चकोटीको विचार भर्न सिपालु कवि कटुवालले गणतन्त्रप्रति आफ्नो आशक्ति जनाएर भोलिको नेपालको खाका नेपालीहरुले कोर्नेछन् भनी कवितामा लेखेका छन् यसरी :
ती जो बिहानै काखीमा पुस्तकको ठेली च्यापेर
हूलका हूल निस्किरहेछन् गल्ली गल्लीबाट
तिनलाई बाटो छोडिदेऊ ।
ती लहरजस्तै उर्लेर आइरहेछन्,
यी घर – जसलाई हामी घर ठानिरहेका छौं
यी सडक – जसलाई हामी सडक भनिरहेका छौं
यी मन्दिर – जसलाई हामी मन्दिर सम्झिरहेका छौं
यी केही पनि प्रशस्त हुने छैनन् उनीहरुका लागि ।
ती त सपना बोकेर आइरहेछन् – निर्माणको गीत गाउँदै
उनीहरुलाई छेक्न नखोज
आफूलाई चाहिने घर
आफूलाई चाहिने सडक
आफूलाई चाहिने मन्दिर
उनीहरु आफै बनाउने छन्
निश्चित छ –
भोलिको नेपाल उनीहरुले चाहेजस्तै हुनेछ ।
कवितामा सरल भाषा प्रयोग गरेर मान्छेलाई मान्छेकै वृत्तमा राखेर छाम्न सिपालु कवि कटुवालले मानवीय भावनालाई स्वाभाविक ढङ्गले कवितामा प्रष्ट्याएका छन् । आँसु–हाँसो, दु:ख–सुख, अँध्यारो–उज्यालो दुवैको समिश्रण जीवन हो भनेर जीवनलाई कवितामा अथ्र्याउन जानेका कवि हरिभक्तले जीवनमा थुपै्रखालका आरोह अवरोह भोगे । त्यसैले उनी भन्छन् –“यस्तो लागिरहेछ, आफैलाई यो जीवन – अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।” कवि हरिभक्त कटुवालका जीवन प्रसङ्गहरुका साथै उनले परिभाषित गरेका कवितामा देखेका जीवनहरु स्वाभाविक ढङ्गले परिचालित छन् । त्यतिमात्र होइन, यिनले साहित्यबारे पनि आफ्नो धारणा भनेर आफ्नो डायरीमा यसरी २०२६ सालतिर नै लेखेका थिए –“साहित्यमा चलिरहेको विभिन्न वादहरुदेखि पर आफू एउटा अपवाद भएझैं लाग्छ । आफू धेरै टाढा छोडिएको देख्छु र पछिल्तिर हेर्छु त्यहाँ असङ्ख्य–असङ्ख्य उदासहरुले मतिर हेरिरहेका देख्छु, मलाई लाज लाग्छ, म केवल मेरै लागि मात्र जन्मेजस्तो लाग्छ, मैले मेरो कलमले खै तिनीहरुका लागि गोरेटो बनाएको ? खै मैले ती असंख्य अनुहारका लागि साहित्य सिर्जना गरेको ?” कति स्वाभाविकता पोख्न जानेको ? कस्तो मानवीयताको व्याख्या गर्न सिकेको?
निकै संवेदनशील रहेकै कारणले धेरै खालका मानवीय तरङ्गहरुसँग यिनले सङ्घर्ष गरे । कवितालाई चेतनाकै स्पर्शका रुपमा अभिव्यक्ति पोख्न सिपालु भएकै कारणले कवि कटुवालले कवितालाई आफ्नो विचारकै झण्डाका रुपमा फरफराउन सफल रहे । कविता नबुझने देशमा, कविको महत्व र अर्थ नभएको हाम्रोजस्तो देशमा हरिभक्त कटुवालले पनि ‘कवि’को अहमत्वमा प्रश्न गरेर कवितामा यसरी लेखे:
जाति हुन्थ्यो बरु म कवि नभएर
त्यही रित्तो भाँडोभरि मट्टितेल हुन सकेको भए
मेरो देशको एउटा घरमा एकरात, एकछाक बल्न सक्थेँ
एउटा बृद्धको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थेँ ।
तसर्थ भन्न सकिन्छ, हरिभक्त कटुवाल कविताका कवि हुन् । कवि भएकै कारणले यिनी सुन्दर कविता लेख्न जानेका कवि भए । कवि मात्र नभएर मान्छेका मन छाम्न सफल कवि । शैली, बिम्ब, प्रतीक र अलङ्कारमा अभिव्यक्ति पोख्न सिपालु कवि भएकैले यिनले कवितामा ख्याति कमाए । अझ भनौं, मानव मन छाम्न जानेका एकजना सुुुन्दर कविभएर हरिभक्त कटुवालले कविका रुपमा आफूलाई स्थापित तुल्याए ।