२०७७/१०/२५ गते आइतबार । गीताजीको स्वास्थ्योपचारको लागि भारतको तामिलनाडू राज्यको भेल्लोरस्थित सिएमसी मेडिकल कलेज जाने तयारी गरेको एकवर्ष हुन लागेछ ।विश्वभरि नै कोरोना ( कोभिड–१९) को महामारीका कारण हाम्रो देशमा २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन सुरु भयो । हामी त्यसतर्फ जान सकेनौं । गीताजीलाई बीचबीचमा निकै समस्या देखियो । निकै गलिन्, निकै थाकिन् तर पनि जीवनदेखि निरास र हतास कहिल्यै बनिन्, बनेकी छैनन् । उच्च मनोवलका साथ उनी रोगसँग लडिरहेकी छन्, संघर्ष गरिरहेकी छन् । अहिले कोरोनाको कहर केही हदसम्म कम भएको महसुस गरिएको छ ।नेपाल सरकारले तोकेका सीमा नाकाहरुबाट भारततर्फ जान केही सहज भएकाले हामीले भेल्लोर जाने निश्चय गर्यौं । विर्तामोडमा भएको एउटा साहित्यिक कार्यक्रममा कञ्चनजङ्घा एफ.एम.का प्रवन्ध निर्देशक काका चन्द्र भण्डारीसँग मेरो भेट भयो । भलाकुसारीका क्रममा मैले भेल्लोर जाने कुरा गरेँ । काकाले –“मैले पनि काकीलाई भेल्लोर पठाउनु छ । भतिजले टिकट काटेको छैन नि भनी सोध्नुभो । “प्राविधिक कारणले अनलाइन एपाइन्टमेन्ट लिन समस्या भएकाले एपाइन्टमेण्ट लिएको छैैन । त्यही भएर टिकट पनि काटेको छैन“ भनेँ मैले । काकाले “अहिले भेल्लोरमा हाम्रो भतिजो सुरेस (चेतन) उपचारको लागि गएको छ । मलाई गीताको हस्पिटल नं र आवश्यक कागज पठाउनु’ भनेपछि मैले काकाको आज्ञा पालन गरेँ । नभन्दै एपाइन्टमेण्ट पनि भयो, जहाजको टिकट पनि भयो । यसका लागि काकाश्रीप्रति आभारी छु । माघ ३० गतेको एपाईन्टमेण्ट भएकाले तीनचारदिन अघि नै जानुपर्ने भयो । कोरोना टेष्ट अनिवार्य रहेछ ।त्यसको रिपोर्ट बिना उपचारको प्रक्रिया नै अघि नबढ्ने भन्ने बुझिएकाले हाम्रो टिकट माघ २६ (तदनुसार ८ फेव्रेरी २०२१) तय भयो । अघिल्लै दिन अर्थात् माघ २५ गते नै हामी घरबाट निस्कियौँ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष आदरणीय लोकराज ढकालसँग पनि भेल्लोर जाने विषयमा मेरो एकदुईपटक कुराकानी भएको थियो । उहाँ नियमित परीक्षणका लागि भेल्लोर गइरहनु हुन्छ । उहाँले पनि सकारात्मक सल्लाह दिनु भएको थियो । अलिक दिनपछि कोरोनाको भ्याक्सिन लगाएर जानुपर्र्छ भन्नु भएको थियो । गीताजीको स्वास्थ स्थिति दिनानुदिन कमजोर बन्दै गइरहेका कारण धेरै समय व्यतीत गरेर उनलाई अझ धेरै कमजोर बनाउन मनले मानेन । मैले लोकराज सरसँग फेरि सम्पर्क गर्न सकिनँ । सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन सकिन । सम्पर्क नभइ हिँडनु परेकोमा अप्ठ्यारो महसुस भइरहेको छ । मेरो कान्छो सुपुत्र प्रभातको साथी आशीष राउतको पिता भोजराज राउतसँग गाडीको कुरा गरेको थिएँ । उहाँको दुईवटा निजी गाडी भए पनि उहाँले नभ्याएका कारण उहाँको साथी छत्र थापाजीलाई भनेर गाडी पठाई दिनुभयो । धुलावारीबाट लीना काकीलाई लिएर जानुपर्ने भएकाले हाम्रो मारुतीभ्यान लीना काकीकातिर मोडियो । तर बाटो भुलेर एकछिन अलमलमा पनि परियो । धुलावारीबाट लीना काकी (चन्द्र भण्डारीकी जीवनसंगी) लाई लिएर हामी काकरभिट्टा तर्फ लाग्यौँ, साथमा हामीसँगै जुली भण्डारी पनि हुनुहुन्थ्यो । बागडुुगरामा जुलीभाइकै सानीमाको घरमा हाम्रो बेलुकाको बसाईको टुङ्गो लागेको थियो । पानीटंकीबाट हामी हिँड्दै बसपार्कसम्म गयौँ । बाटामा ट््याक्सीवाहरुलाई स्पष्टीकरण दिँदादिँदा हैरान् । कहाँ जानु हुन्छ ? सिलगुडीसम्मको रु २५०/, रु ३००/– दिनु । पुर्याइदिन्छौँ भन्दै झोला तानौँला झैँ पो गर्छन् गाँठे । यो रोग हाम्रो नेपालमा पनि कम छैन । खासगरी बसवालाहरुको हरकत यस्तै पाइन्छ नेपालमा पनि । अझ यात्रीहरुको झोला तान्ने र पाखुरामा समाएरै घिसार्न खोज्ने पनि गर्छन् त्यहाँ । जुलीभाइ हाम्रो साथ भएकाले सजिलै भयो बागडुगरासम्मको यात्रा ।
विहारमोडको बास र प्रधान परिवारको न्यानो आतिथ्य
अपरान्ह तीन बजे बागडुगरा बिहारमोड उत्रियौं हामी । यो ठाउँ त म निकैचोटि आएको छु तर एशियन हाइवे निर्माण भएपछि भने अलमलिने रहेछ । अर्कै नयाँ स्थानमा आएजस्तो लाग्यो । एशियन हाइवे बनेपछि त सिलगुडी जाने बाटो पनि फराक र चिल्ला बनेका रहेछन् । छोटो समयमा भारतले गरेको आर्थिक तथा भौतिक विकास देखेर आफ्नो राष्ट्रलाई सम्झिएँ । विरक्त लागेर आयो । हाम्रा गाउँ शहर र हाटबजारका बाटाघाटा सम्झिएँ र सम्झिएँ हाम्रा देशका तथाकथित र स्वनामधन्य नेताहरुलाई । धिकार्न मन लाग्यो उनीहरुलाई । सत्ता, भत्ता, पद र कुर्सीका लागि देश जतासुकै जाओस्, जेसुकै होस्, मतलव हुन्न उनीहरुलाई । केवल व्यक्तिगत र पार्टीगत स्वार्थ मात्र हेर्ने गर्दछन् । जसका कारण हाम्रो देश विकास हुन सकेको छैन । जुलीभाइले फोन सम्पर्क गर्नुभो उहाँको सानीमाको छोरा गोविन्द प्रधानलाई । केही क्षण पर्खिएर बस्यौँ । यो पर्खाईको समयलाई सदुपयोग गर्दै हामीले केही फलफूल किन्यौँ । गीताजीको लागि अम्मक र स्टाबेरी र हामीलाई काशीवयर । गोविन्द भाइ आएपछि सिटीरिक्सा चढेर हामी घरतर्फ लाग्यौँ । झण्डैझण्डै भेल्लोरका गल्ली जस्तै । काठमाडौंको असनको गल्ली भन्दा पनि फरक नपर्ने । एकदुईचोटी मात्र त्यहाँ पुगेको मान्छे त हत्तपत्त पुग्नै सक्तैनन् होला । जुलीभाइ गइरहने गरे पनि गल्लीको बाटोमा अलमलिन्छुु भनेर गोविन्दजीलाई बोलाउनु भयो ।
हामी घरमा पुगेर आराम गर्यौं । घरका सदस्यहरु सानीमा रत्ना प्रधान, जेठोे छोरो–बुहारी गोविन्द+नीतु प्रधान । यो दम्पतीको एकमात्र सन्तान सुपुत्र मयांक । कान्छोछोरा–बुहारी गौतम+मिठुु प्रधान (बंगाली जातिकी) । यो दम्पत्तीको दुई सन्तान रहेछन् । छोरी कृतिका र अन्वी । कृतिका भने जन्मदै निकै ठूलो समस्या लिएर जन्मेकी रहिछन् । जन्मदै मलद्वार रहेनछ उनको ।डाक्टरले अपरेसन गरेर भुँडीबाट आन्द्रा बाहिर निकालेर आन्द्राबाट मल निष्काशनको व्यवस्था गरिदिएको रहेछ । जिब्रो पनि बाहिर झुण्डिएको थियो रे । खाना खुवाउन निकै सकस । विस्कुट घोलेर जसोतसो खुवाउने गरेको रहेछ । यी कृतिका नानीको उपचारका लागि प्रधान परिवारले निकै दु:ख र खर्च गरेका रहेछन् । भारतको बैँगलोर स्थित मणिपाल अस्पतालसम्म पनि पुर्याएका रहेछन् । एकडेढ महिनापछि आउनु १,५०,०००/– जति खर्च लाग्छ भनेर फिर्ता पठाएका रहेछन् । आफ्नो मुटुको टुक्रा, जेठी सन्तानको अवस्था त्यस्तो भएपछि सिंगो प्रधान परिवार चिन्तित हुनु स्वाभाविकै थियो । तर हिम्मत भने हारेन यो परिवारले । बैंगलोरबाट फर्किएपछि काठमाण्डौ लिएर गएछन् छोरीलाई । त्यहाँ छोरीको रोगको पहिचान भएछ । “छोरीको तौल ५ केजी भएपछि लिएर आउनु । अपरेसन गरेर मलद्वार बनाउनु पर्छ तर यस्ता समस्या भएकाहरुको १०० प्रतिशत नै सफल हुन्छ भन्ने ग्यारेण्टी चाहिँ हुदैन । सफल हुन पनि सक्छ, नहुन पनि सक्छ । रिस्क तपाईंहरुले नै लिनु पर्र्छ’, डाक्टरले यसो भनेपछि पनि यो परिवारले हिम्मत हारेन । छोरीको त्यो अवस्था देखेका र भोगेका प्रधान परिवारले रिक्स लिन मञ्जुर गर्यो । थाइराइडको औषधी लिएर फर्कियो यो प्रधान परिवार काठमाडौंबाट । काठमाडौंबाट फर्किएपछि थाइराइडको ओखती खान थालेपछि नानीलाई निकै सुधार हुँदै गयो । खाना खान सहज हुँदै गयो । वजन पनि बढ्दै गएछ । कालीबाख्रीको दुधले ससाना बालबालिकाहरुलाई ओखतीको काम गर्छ भन्ने सुनेर कालीबाख्री खोजेर, किनेर ल्याएछन् प्रधान परिवारले । वैज्ञानिक कारण पनि छ कि अन्धविश्वाश हो यो, त्यो त थाहा छैन । यो कुरा सुनेर भने अचम्म लाग्यो मलाई । त्यसो त बाख्रीको दुध होस् या गाईभैँसीको दुध होस्, यसले बालबालिका मात्र हैन युवा तथा बृद्धबृद्धा सबैलाई फाइदा गर्छ भन्ने कुरामा द्विविधा छैन मलाई । कालीबाख्रीको दूध खुवाउन थालेपछि नानी हृष्ठपुष्ठ हुँदै गइछन् । नानीको तौल ५ केजी पुगेपछि फेरि काठमाडौं लिएर गएछ यो परिवारले छोरीलाई । सबै टेष्ट गरेर अपरेसन गर्ने तयारी भइरहेको बेला नानीलाई पखाला चलेछ जसको कारण अपरेसन नगरी फर्किनु पर्यो । घरमा आएको केही समय पछि नानीको वजन पुन: आधाकेजी बढेछ । फेरि काठमाडौं लगेर अपरेसन गरियो नानीको । संयोग नै भन्नुपर्र्छ, अपरेसन सफल भयो । स्वाभाविक रुपमा प्रधान परिवार खुसी भयो अपरेसन सफल भएपछि । तर नानीलाई मल त्याग गर्न भने समस्या भएछ । आन्द्राबाट ट्वाइलेट भइरहेको अवस्थामा त्यहाँबाट ट््वाइलट हुने अवस्था बन्द भएपछि मलद्वारबाट ट््वाइलेट गर्न नजानेर फेरि समस्या भएछ नानीलाई । ट््वाइलेट हुन खोज्दा नानी त डरले कराउँदै, चिच्याउँदै यताउता भाग्न थालिछन् । उनलाई समाएर ट्वाइलेट बसाउनु पर्ने अवस्थाको सिर्जना भएछ । बिस्तारै बानी पर्दै गइछन् । उनको बोली प्रष्ट आउँदैन । फरक क्षमताकी भइन् उनी । तर उनमा विलक्षणको प्रतिभा देखिन थाल्यो । उनी अहिले १२ वर्षकी भएकी छन् । हेर्दा ७/८ बर्षकी झैँ लाग्छ ।पाक्कपुक्क परेकी छन् । श्रवण शक्ति भने आम मान्छेको भन्दा कडा छ । सबै कुरा बुझ्दछिन् । मोवाइलमा वंगाली, हिन्दी, नेपाली गीतका म्युजिक भिडियो डाउनलोड गरेर राखेकी छन् । मोबाइलमा भएको म्युजिक भिडियो बजाएर नाचिरहने उनको स्वभाव नचिनेका, नजानेका मान्छेहरुसँग पनि चाँडै घुलमिल भइहाल्ने । एकरात बिताइयो प्रधान परिवारको घरमा तर उनले हामी सबैलाई माया लगाइन् । प्रधान परिवारका सबै सदस्य फरासिला, मिजाशीला, हँसिला र मिलनसार पनि उत्तिकै । खुलेर गफगाफ गर्ने । गीताजीको खानपिनमा निक्कै ध्यान दिनुभो कान्छी बुहारीले । बंगाली मूलकी भएर पनि मज्जाले नेपाली भाषामा कुराकानी गर्न सक्ने । हामीलाई आफ्नै घरमा भएको जस्तो अनुभूति भयो घरका सदस्यहरुको व्यवहारले ।
विहारमोडबाट प्रस्थान र भेल्लोरको बसाई
भोलिपल्ट विहान सुख्खारोटी र आलुभाजीको नास्ता गरेर हामी बागडुगरा एयरपोर्टतर्फ लाग्यौँ । जेठो छोरो गोविन्दले ट्याक्सीको व्यवस्थापन गर्नुभयो । जुलीभाइ र गौतम भाइ बागडुगरासम्म हामीलाई छोड्न जानु भयो । झण्डैझण्डै हतार हतार भयो हामीलाई । एयरपोर्टभित्र चेकजाँच गराई जहाज चढाउने कार्यमा हामीलाई ठूलो सहयोग गर्नुभयो कान्छी बुहारी मिठुका भाइले । भाइ बागडुगरा एयरपोर्टमै इण्डिगो एयरलायन्स कम्पनीमा काम गर्ने भएकाले हामीले कुनै असहज अवस्थाको सामना गर्नु परेन । हामी सहजताका साथ जहाजमा चढ्यौँ । यो सहयोगका लागि भाइलाई धन्यवाद छ अनि धन्यवाद छ मिठु बुहारीलाई जसले एयरपोर्टमा भएको आफ्नो भाइ गुड्लुसिंलाई फोन गरेर यो महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भयो । बागडुगराबाट विहान ८:१६ मा उड्यो हामी चढेको जहाज । जहाजभित्रै केही सिर्जना गरेँ मैले र यो संस्मरण पनि आधाजति लेखेँ । बैंगलोरमा जहाज अवतरण गर्दा ११:४६ बजेको थियो तर यात्रीलाई भने १२:०४ मात्र जहाजबाट ओराल्ने भयो । एयर एशिया कम्पनीको बसले हामीलाई ५ नं गेट अगाडि ल्याएर छाडिदियो । हामी ५ नं लगेज स्थलमा आएर हाम्रो झोलाको पर्खाईमा बस्यौँ तर झोला आएन । झोला नआएपछि हामीले सोधीखोजी गर्दा थाहा भयो हामी चेन्नाई जाने भएकाले हाम्रो झोला चेन्नाईमै पाइने रहेछ । हाम्रा झोलाहरु बैंगलोर एयरपोर्टमा पाएको भए ट्याक्सीमा भेल्लोर आउने सोच पनि थियो । त्यहाँबाट जहाज चेन्नाई प्रस्थान गर्ने समयसम्ममा त हामी भेल्लोर आइपुग्ने थियौँ । तर सोचे जस्तो कहाँ हुँदोरहेछ र ! जे भए पनि हाम्रा झोलाझ्याम्टाको टुङ्गो लागेपछि भने हामीलाई ढुक्क भयो ।
पाँचघण्टा भन्दा बढी समय बिताउनु पर्नेभयो हामीले बैँगलोर एयरपोर्टमा । एयरपोर्टको परिसरभित्र यताउता टहलिंदै क्याम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल बैंगलोरमा । ठाउँठाउँमा फोटो खिच्दै समय बिताउन थाल्यौँ । काकी र मैले सेण्डविच किनेर खायौँ । गीताजीलाई भने खानेकुराकै समस्या । एयरपोर्ट भित्र हरेक कुरा महङ्गो । एककप चिया खानुपर्यो भने रु १००।– कफी त झन् २७०।– ओहो ! सम्झदा पनि कहाली लाग्छ । हैन, जहाजमा यात्रा गर्ने जति सबै करोडपति, अरबपति नै हुन्छन् भन्ने ठानेको हुन्छ कि क्या हो सरकारले पनि ? सामान्य आर्थिक अवस्था भएका निम्न स्तर भएका मान्छे पनि त अति आवश्यक काम परेर यात्रा गरेका हुन्छन् नि ! ऋणपान गरेर हिँडेका हुन सक्छन् । कस्तो विचित्र छ संसार ! जति अप्ठ्यारो परे पनि जति अभाव र गरीवीले गाँजे पनि मानिसले बेहोर्नै पर्दो रहेछ । बेहोरिरहेका छन् बेहोरिरहेका छौँ । ४५ मिनेट समय लाग्छ चेन्नाई पुग्न भनेर एनाउन्स गरिए पनि ३० मिनेटमै अवतरण भयो जहाज । साँझ ७:३० बजेको थियो हामी चेन्नाईबाट भेल्लोरको लागि ट्याक्सी चढ्दा । बाटामा २ मिनेट गीताजीलाई औषधी सेवनका लागि ट्याक्सी रोकिएको बाहेक कतै रोकिएन ट्याक्सी । रातको १०:४५ बजेको थियो हामी भेल्लोर आईपुग्दा । काकी लीना मार्फत् होटलमा कोठा बुकिङ भइसकेको थियो हाम्रो । सिधै होटलमा ल्याइदिए हामीलाई टिकटको र होटल बुकिङको व्यवस्था गरिदिने जयले । उनको हामी बसेको होटलकै तल्लो तलामा राघवेन्द्र ट्राभल्स एजेन्सी रहेछ । निकै सहयोगी रहेछन् उनी । लीना काकीसँग पहिलेदेखिकै चिनजान रहेछ ।पैसाले समस्या पर्यो भनेपनि काम चलाउने । पछि नेपाल गएर उनको खातामा रकम पठाई दिँदा पनि हुने । यति सहयोगी अर्काको मुलुकमा पाउनु भनेको ठूलै कुरा हो भन्ने लाग्छ मलाई । जेहोस् हामीलाई सजिलै भयो । कोठामा सामान थन्क्याएर फ्रेस भएर खानाको खोजीमा निस्कियौँ । रातको १२ बज्न लागेको थियो यतिबेला । सबै होटलहरु बन्द भैसकेका थिए । सधैँ व्यस्त रहने गान्धीमार्ग सुनसान जस्तै देखिन्थ्यो । लाग्थ्यो यो शहरमा मान्छेको बस्ती छैन । मानवविहीन शहर हो यो । प्रशासनले निकै कडाई गर्दोरहेछ । ९ बजे रातीदेखि होटल पसल बन्द हुँदा रहेछन् । धन्न फुटपाथमा केही खानेकुरा भेट्यौँ । डोसा भनेर किनेको कोठामा ल्याएर खाँदा त बाबरको रोटी पो रहेछ । काकी र मलाई त जे खाए पनि खासै फरक नपर्ने तर गीताजीलाई भने जहाँ गए पनि खानकै समस्या पर्ने । घर छाडेर हिँडेपछि सोचे जस्तो, चाहे जस्तो कहाँ हुँदोरहेछ र ! परेजमा बस्छु भनेर मात्र पनि कहाँ सकिँदो रहेछ र ! जे भेटिन्छ, जे भेटियो त्यही खानेकुरा खाईन् गीताजीले पनि । खानु के थियो र ! केवल खाएको अभिनय गर्नु बाहेक । क्यान्सरको विमारीले त्यतिधेरै परेजमा बस्नुपर्दैन तर मृगौला फेलर भएका विमारीले भने असाध्यै धेरै परेजमा बस्नुपर्ने । पानी पिउँदा पनि बान्ता हुने उनलाई के ख्वाएर बचाउने भन्ने चिन्ताले मलाई सधैँ सताई रहन्थ्यो । उनको फुंग उडेको, गलेको, थाकेको र खिन्न भएको अनुहार देखेपछि मन थाम्नै कठिन हुन्थ्यो मलाई । मैले मेरो अनुहारमा म आफू निरास भएको, हतोत्साही भएको भावभंगिमा देखाउन हँुदैनथ्यो गीताजीको अगाडि । महादेवले कालकुट विष पिए झैँ मैैले पनि सारा पिरव्यथाहरु भुलेको अभिनय गर्नै पथ्र्यो । तर यसो गर्न मलाई निकै गाह्रो थियो । धेरैचोटि एक्लै एकान्तमा रोएको छु, छटपटिएको छु, तड्पिएको छु म । छातीभित्र दन्दनी आगो बले पनि, डढेलो लागे पनि मैले केही नभएको जस्तो व्यवहार गीताजीको सामु, छोराहरु र बुहारीहरुका सामु अनि आफन्त शुभचिन्तकहरुका सामु पनि गर्नै पथ्र्यो । जबजब गीताजीलाई खाना खुवाउने समय हुन्छ र खाना खुवाउँछौँ, त्यसबखत यति नरमाइलो लाग्छ त्यसको वर्णन गर्न असमर्थ छु म । कान्छो छोरो र बुहारीको पनि अवस्था मेरो जस्तै थियो । म भन्दा पनि उनीहरु अझ दुखित भएको उनीहरुको अनुहार पढेर थाहा हुन्थ्यो मलाई । म झन् दु:खित हुन्छु भनेर होला उनीहरु म र गीताजीको अगाडि कहिल्यै निन्याउरो भएनन् । आमाको मनोवल घट्छ भनेर पनि हुन सक्छ, केही नभएको जस्तो गर्थे उनीहरु । जेठोछोरो प्रतीक जर्मनमा भएकाले प्रत्यक्ष भेटघाट नभए पनि भिडियो कलमार्फत् बेलाबेला सम्पर्क गरिरहन्थ्यो । विदेशको ठाउँमा एक्लै बसेको ऊ, उसलाई झन् कति पीडा भयो होला यता आमाको दुवै मृगौला फेलर भएर मृत्यु नजिक पुग्न लाग्दा ।
प्रसंग खानेकुराको थियो, भावनामा पो वहकिएछु म । लजको बसाई । हामी बसेको कोठा साँगुरो र खाना पकाएर खान नमिल्ने भएकाले दुईरात र एकदिन बसेर त्यहाँबाट हामी जे.के भवनमा सर्यौं मिति २०७७/१०/२८ गते । जे.के. भवनमा यस अघि आउँदा हामी बस्ने गरेका थियौँ । लगभग त्यस लजका सबै स्टाफ र मालिक पनि हामीले चिनेका थियौँ । त्यहाँ सरेको पहिलो दिन भुइँतलामा अलिक महँगो कोठामा परियो । दुईदिन महँगो कोठामा बसाई भयो हाम्रो । दिनको रु ७५०।–। खाना पकाउने भाँडाकुडाको दैनिक रु १८/–खाना पकाउने २ केजी ग्याँसे सिलिण्डरको रु २६०/– दुईदिन पछि पहिलो तलामा दैनिक रु ५५०/–पर्ने कोठामा सरियो । त्यहाँ पनि बसाई लामो भएन हाम्रो । तेराख साहित्य प्रतिष्ठान धुलावारीको स्थापनाकालको तदर्थ समितिका सदस्य, संगै बसेर काम गरेका बासुदेव खतिवडा पनि सपरिवार (श्रीमती हेमन्ता र छोरा नितेस) उपचारका लागि १०/११ दिन अघि नै आउनु भएको रहेछ । उहाँहरुसँग लीना काकीले सम्पर्क गर्नु भयो । वसन्तम् एपार्टमेण्टमा बस्नु हँुदो रहेछ दैनिक रु ३५०/– कोठा भाडा तिरेर । हामी पनि उहाँहरु बसेको लज हेर्न गयौं । कोठा ठीकठीकै लाग्यो र सस्तो पनि । खाली कोठा छन् कि भनी बुझ्यौँ । खाली भएपछि खवर गर्नु है भनी हामी फर्कियौँ । भोलिपल्ट कोठा खाली भएछ । कोठा बुक गरेर हामीलाई खवर गर्नुभो उहाँहरुले । हामी पर्सिपल्ट मात्र कोठा सर्यौं तर अघिल्लै दिनदेखिको भाडा तिर्नेगरि । यहाँ आएर बसेपछि मात्र थाहा भयो, कोठा वास्तवमै साँगुरो रहेछ र दुईवटा बेड मात्र । त्यसैमा तीनजना एडजस्ट हुनुपर्ने । गद्दा सरेर बिचमा सुत्ने मान्छे भुइँमा लडिन्छ कि भन्ने डर । ब्यूँझेपिच्छे गद्दा ठेलेर मिलाउनु पर्ने । निकै असुविधा भयो हामीलाई । यतिबेला भने “सस्तो बेसाहाले पखाला चलाउँछ“ भन्ने उखानको याद आयो। भो अब कोठा सर्नेमा ह्याट्रिक नहानौँ भनेर यसै कोठामा काम चलाउँ भनेर बसियो । त्यसो त यहाँ बस्ता प्रतिदिन भारु २००/– वचत पनि भएको छ । गीताजीको चेकअप त १२ फेबु्रअरीमै सकिएको हो तर काकीलाई पर्खनु परेकाले बस्नैपर्ने वाध्यता थियो हामीलाई । दिनभरी कोठामै बसिरहन पनि दिक्क लाग्ने भएकाले नपुगेका ठाउँ र पुगेकै ठाउँहरुमा पनि घुमफिर गर्यौ हामीले । १६औँ शताब्धीमा निर्माण भएको टिपु सुल्तानको दरबार र मन्दिरको अवलोकन गर्न यसपटक पनि पुगियो । यसअघि नपुगेको स्थान रत्नागिरी मोर्गन टेम्पल भने यसपटक पुग्ने अवसर मिल्यो । भेल्लोरको बस स्टेण्डबाट बस चढेर गइयो । प्रतिव्यक्ति बसभाडा रु १५/ भव्य मन्दिर । मन्दिर निकै उचाईमा अवस्थित । गीताजीलाई उकालो हिँडाउन कठिन हुने भएकाले अटोरिक्सामा ६०/– तिरेर मन्दिर पुगियो । १४ औँ शताब्धीमा निर्माण भएको यो मन्दिर निकै आकर्षक र कलात्मक थियो । तामिलनाडु राज्यमा अधिकांश हिन्दुहरुको बसोबास । घरैपिच्छे जस्तो मन्दिर, घरको दैलो अगाडि विहानै सेतो पिठोको रेखी हालेर रंगोली जस्तो आकार बनाएर विहान बेलुकै पूजा गर्ने, महिलाहरुले कपालको पछाडि चुल्ठोमा सेतो फूल लगाउने चलन रहेछ भेल्लोरमा । भेल्लोरमा मात्र हैन तामिलनाडुु राज्यभरि भन्दा पनि हुन्छ । अनि त्यसमा पूजा गर्ने गरेको देखिन्छ । कुभिण्डो, नरिवल, कागती र केराको पातको निकै महत्व रहेछ यहाँ । कुभिण्डो, नरिवल र कागती पूजाआजा गर्दा आवश्यक पर्दोरहेछ । पूजा गरिसकेपछि त्यसमाथि बाती बालेर जमिनमा पछारेर फुटाउने गरिंदोरहेछ र फुटेको ठाउँमा रातो अविर दलिंदो रहेछ । हाम्रो हिन्दु संस्कारमा दशैँमा बलि दिने चलन छ अझै पनि । प्राणीको सट्टा फलफूलको बलि दिएको हो कि जस्तो लाग्यो । केराको पात यहाँको विशेष रहेछ र खाना खान दिँदा होटलहरुमा केराको पातमा दिइन्छ । यसलाई शुद्ध मानिन्छ । वास्तवमै केराको पातलाई धोईपखाली गरेपछि शुद्ध हुन्छ नै होला । हामी भेल्लोर शहर भित्रै रहेको “पचैयाप्पाज सिल्क“ नामको कम्प्लेक्समा पनि गयौँ । पाँचतले सो व्यापारिक भवनमा रेडिमेड लुगा कपडादेखि जुत्ता चप्पल, पेटी लगायतका सामाग्रीहरु पाइँदोरहेछ । प्रत्येक तलामा भेराइटी भेराइटीका सामान, ड्रेस लगाएर बसेका कर्मचारीहरु, सबै कारोवार कम्प्युटराइज सिस्टमबाट हुुने । हामी पनि लिफ्ट चढेर चौथो तलासम्मको अवलोकन गर्यौं र केही रेडिमेड कपडाका आइटमहरु खरिद गर्यौं । तेस्रो तलामा खरिद गरेका बिल रकम एटिएमकार्डबाट सजिलै भुक्तानी भयो तर ग्राउण्ड फ्लोरमा भने एटिएमबाट भुक्तानी हुन सकेन र नगदै भुक्तानी गर्नुपर्यो । भेललोरबाट १५ कि. मी. टाढा रहेको रत्नागिरी हिलमा अवस्थित मोर्गेन टेम्पल र २० कि.मी. टाढा दक्षिणतर्फ रहेको साई बाबाको मन्दिरको पनि अवलोकन गरियो यसपटक । यी दुवै स्थानमा यस अघि पुगेका थिएनौँ हामी । साई मन्दिर जाँदै गर्दा बाटामा टेम्पो रोकेर तरबुजा किन्यौँ र खायौँ । गर्मी निकै थियो । तरबुजा खाएकाले शीतल भएको अनुभव भयो । मन्दिर पनि व्यापारीकरण भएको छ आजभोलि । ठाउँठाउँमा पर्यटकहरुलाई पासो थापे जसरी अप्ठ्यारोमा पारेर रकम असुल्ने गरिन्छ । पैसा नदिई धरै नपाइने । नेपालमा भन्दा भारतमा यो प्रबृत्तिलेसायद प्रश्रय पाएरै होला अलिक बढी मौलाउने अवसर पाएको ? १८ फ्रेब्रेरीको जहाजको टिकट कन्फर्म भइसकेको थियो हाम्रो । तर पनि हामी रिस्क जोनमै थियौँ । काकी लीनाको सिटीस्क्यानको रिपोर्ट १६ तारिकमा डाक्टरलाई देखाउनु थियो । डाक्टरले त्यो रिपोर्ट हेरेर फेरि थप टष्ेट लेखिदिए भने के गर्ने होला भन्ने सवाल जिउँदै थियो । टिकट काटे पनि धरमर धरमरमा थियौँ हामी । तर धन्न सिटीस्क्यानको रिपोर्ट हेरेर अब समस्या छैन भनेर विदा दिए काकीलाई डाक्टर सञ्जित आरोनले । अब भने हामी ढुक्क भएर बस्यौँ । १७ तारिख (२०७७/११/५) त्यत्तिकै बसाई भयो हाम्रो । तर पनि सदुपयोग गर्यौं साईमन्दिर अवलोकन गरेर । १८ तारिक विहान ९:३० को फ्लाइट थियोे हाम्रो ।
चेन्नाई इन्टरनेशनल एयरपोर्टबाट प्रस्थान
चेन्नाई इन्टरनेशनल एयरपोर्टबाट ब्क्ष्च् ब्क्क्ष्ब्को लफईट नं १५–५१७ को उडान थियो हाम्रो । टिकटमा कलकत्ता १ घण्टा ५० मिनेटको ट्रान्जिट लेखिएको थियो । तर चेन्नाईबाट हैदरावादतर्फ उड्यो हामी चढेको जहाज । हैदरावादबाट हामी चढेकै जहाज कलकत्ता जाने रहेछ । ९:४५ मा हैदरावादमा अवतरण गरेको जहाज ११:३५ बजे त्यहाँबाट उडान भर्यो । प्लेनबाट उत्रन पाइएन । हैदरावाद र कलकत्ता दुवै स्थान हाम्रा लागि नयाँ थिए । हैदरावादबाट १२:३० मा उड्यो हामी चढेको जहाज । १:४५ बजे कलकत्तास्थित नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गर्यो । आज बिहानैदेखि गीताजीलाई सञ्चो भएन । पूरा रात ननिदाइकन नै बित्यो । खै के के सम्झिन् कुन्नी ! राती ११ बजेतिर सुतेका थियौँ । गीताजी निदाइन् होला भनेको आँखाबाट आँसु झारी रहेकी मैले थाहा पाएपछि सम्झाउन थालेँ –“तिमीलाई केही हुन दिँदैनौँ । अन्तत: किडनी ट्रान्सफर गर्ने नै हो, तत्काल आवश्यक परे डायोलोसिस गर्ने हो । तिमी किन आत्मबल कमजोर बनाउँछौ ?’ भनेर सम्झाएँ । डाक्टरले दुईवटा विकल्प दिएका छन् । पहिलो विकल्प डाइलोसिस र दोस्रो विकल्प प्रत्यारोपण । हामी दुवै विकल्पका लागि तयारै छौँ त । किन यसरी कमजोर बनाउँछौ आफूलाई । तिमीलाई कुनै पनि हालतमा यत्तिकै मर्न दिदैनौँ । प्रत्यारोपण नै गर्नुपर्यो भने पनि नेत्रकाकाले मृगौला दिन्छु भन्नु भएकै छ । यसरी मनोवल गिराउनु हुँदैन । मैले निकै सम्झाएँ गीतालाई । काकीले पनि गीता रोएको र मैले उनलाई सम्झाएको थाहा पाउनु भएछ र काकीले पनि गीताजीलाई सम्झाउनु भयो । त्यसपछि मात्रै गीताका आँखाबाट आँसु रोकिए । बाहिरफेर कहिल्यै आफूलाई कमजोर नदेखाउने, उच्च मनोवल भएकी मान्छे, भेल्लोर छाड्ने रात यसरी रुँदा मलाई पनि मानसिक रुपमा निकै कमजोर बनायो । सायद गीताजीलाई लाग्यो होला – सिएमसी भेल्लोरमा मेरो उपचार भएन, डाक्टरले विदा दिइन्, म बाँच्तिन होला ! मेरो यो उमेरमै अन्त्य हुनेभो । आदि इत्यादि सोचिन होला र मन थाम्न नसकेर आँसुको माध्यमबाट पीडा बगाएर हलुका हुन खोजेकी । तर त्यस्तो बिल्कुल हुँदै होइन । डाक्टरले हाम्रै सहजताका लागि नेपालमै थप उपचार गराउनु भनेकी हुन् । हामी तीनैजनाले रातभरी आँखा नझिम्काइकनै रात बितायौँ । रात बिताउनु थियो जसरी पनि बिताइयो । विहानको राती ३:३० बजेको आलराम बनाएँ मैले तर काकीले “ढिलो हुन्छ भतिज, २:३० को बनाउनु” भनेपछि फेरि २:३० को आलाराम बनाएँ । तर आलारामको काम नै आएन । हामी तीनैजना ननिदाइकनै २:३० बज्यो । ३:१५ मा हामी कोठाबाट निस्कियौँ । झोलाझ्याम्टा निकै भारी थिए । हाम्रो दुईवटा झोला निकै गह्रौँ थिए । काकीको एउटा ब्याग गह्रौँ थियो । जसरी तसरी होटलबाट ब्यागहरु निकालेर तल झर्यौैं । अघिल्लै दिन लजको हिसावकिताव फस्र्याई सकेकाले हिँड्नेबेलामा सजिलो भयो । सिँढीछेउमै होटलको मेनेजर सुत्ने गर्दथे । उनलाई उठायौँ र गेट खोल्यौँ । हामीलाई छाडन हेमन्ता भाउजू गेटसम्म आउनु भयो । हामीले कोठा छाड्नेबेलामा हामीले प्रयोग गरेर बँचेको ग्याँसको सिलिण्डर पनि दियौँ । जेके भवनमा चाहिँ यसरी प्रयोग गरेर उब्रिएको ग्याँस नापेर पैसा फिर्ता गर्दथ्यो तर यहाँ त्यसो गर्दो रहेनछ ।मैले उदाहरणसहित भन्दा पनि उसले मानेन । “हामीसँग ग्याँस नाप्ने मेशिन पनि छैन, पैसा पनि रिटर्न हुँदैन, बरु तपाईहरुको उब्रिएको ग्याँस मेरो होटलमा सरसफाई गर्ने मान्छेलाई दिन्छु गरिव दु:खी मान्छे खुसी भएर लान्छ” भन्यो मेनेजरले । मनमनै रिस पनि उठ्यो । हामीले तिरेको पैसामा तिम्रो मनमौजी ? भनेँ मैले – हामीले किनेको, हामीले चलाएको ग्याँस हाम्रो मान्छेलाई दिन्छौँ । त्यो हाम्रो खुसीको कुरो हो । हाम्रो सम्पत्तिमा हाम्रो निर्णय लागु हुन्छ कि तिम्रो ? तिमीले भन्दैमा हुन्छर ! भनेपछि उनले केही भन्न सकेनन् । बिहान ३:३० बजे ट्याक्सी पनि आइपुग्यो । ट्याक्सी चढेरहामी चेन्नाईतिर लाग्यौँ । बाटामा ड्राईभरसँग कुरा गर्दै गयौँ । हिन्दी निकै राम्रो बोल्दा रहेछन् । हामीलाई सजिलै पनि भयो । ट्याक्सीमा एसी चलाए ड्राइभरले । विहानै पनि गर्मी गर्मी भयो ट्याक्सीमा । एसीकै कारणले हो वा अन्य कारणले गीताजीलाई बान्ता भयो । ड्राईभरले कभरपेपर (बान्ता हुँदा प्रयोग गरिने प्लाष्टिक) बोकेको रहेछ गाडीमा । उनले आवश्यक परे माग्नु होला भनेपछि मैले मागीहालेँ । “एकपटक सिएमसीकै एकजना इन्जिनियर र उसको सहायकलाई लिएर चेन्नाई जाँदा सहायकले ट्याक्सीको झ्यालको सिसा खोलेर बाटाभरि बान्ता गरेर टयाक्सी नै खराव गरिदिएको र त्यसपछि भने कभरपेपर राख्ने गरेको भनेर ड्राइभरले आफ्नो अनुभव सुनाउन पनि भ्याए हामीलाई । दुईतीन पटक बान्ता भयो चेन्नाई पुगुञ्जेलसम्म गीताजीलाई । मलाई लाग्यो एसीको कारण भन्दा पनि उनको बिमार र अनिँदोको कारण भमिटिङ भएको होला । ट्याक्सीभित्रै निकै गलेको देखिन्थिन् उनी । मन अमिलो भयो मेरो पनि । टुलुटुलु हेर्नु बाहेक के पो गर्न सक्थेँ र म ! उनलाई जति पीडा हुन्छ, त्यति नै मलाई पनि पीडा हुन्थ्यो । अरुबेला तीनघण्टा समय लाग्ने बाटो आज भने बिहानको राती भएकाले बाटो खुला भएका कारण दुईघण्टामै चेन्नाई पुगियो । विहान ५:५० मै पुगियो चेन्नाई । “मलाई हिजो बेलुकै थाहा भएको भए भेल्लोरबाट विहान ५:३० मा मात्र चेन्नाई तर्फ जाने सुझाव दिन्थेँ । तपाईंहरुले २/३ घण्टा बिताउनुपर्ने भो” ड्राइभर सुकेसले भन्दै थिए हामीलाई । विहान सातबजे चेकजाँचमा गयौँ । एयर एसियाको चेकजाँच काउण्टरमा गयौँ । गीताजी र मलाई त समस्या भएन । हामीसँग पासपोर्ट भएकाले सहजै भयो । तर काकीलाई भने एकछिन अप्ठ्यारो पार्यो त्यहाँको कर्मचारीले । काकीको पासपोर्ट थिएन । नागरिकता देखाएको, यसले हुँदैन भन्यो । टिकटमा अङग्रेजीमा ीभभलब द्यजबलमबचष् लेखिएको छ । अंग्रेजीमा लीना भण्डारी लेखिएको फोटो सहितको आईडी चाहिन्छ नत्र हुँदैन । “मैले लीना भण्डारी भनेको मान्छेयही हो भनेर कसरी चिन्छु ? मैले पनि जागिर जोगाउनु पर्छ“ भन्दै हाम्रो कुरा सुन्दै नसुनौला झैँ गर्यो उसले । नेपाल र भारत सरकारका बीच भएको सन्धिमा दुवै देशका नागरिकलाई एकअर्को छिमेकी राष्ट्रमा भिजिट गर्दा पासपोर्ट आवश्यक पर्दैन भनेर तर्क गरेँ मैले । त्यसमा अंग्रेजीमा काकीको नाम भए पनि फोटो थिएन । उसले मेरो कुरामा सहमती जनायो तर फेरि पनि माथिकै कुरा दोहोर्यायो । सिएमसी (क्रिस्चियन मेडिकल कलेज, भेल्लोर) को हस्पिटल कार्ड पनि देखायौँ । मैले र काकीले निकै तर्कवितर्क गरेपछि उसले सिनियर अर्को कर्मचारीलाई सोध्यो । उसले के भन्यो कुन्नी, त्यो त थाहा भएन । तर एकपटकलाई जानु होला र फेरि यसरी भ्रमण गर्दा पासपोर्ट वा अङ्ग्रेजीमा फोटोसहितको आईडी लिएर भ्रमण गर्नुहोला भनेर सल्लाहकारको भूमिका पनि निर्वाह गर्न भ्यायो त्यो कर्मचारीले । हामीले पनि ठीक छ सर भन्दै सहमति जनायौँ । अब भने हाम्रो तनाव कम भयो र हामी भित्र छिरेरजाँचकीको अन्तिम चेकजाँचमा पुग्यौँ । विहान ९:३० मा जहाज चढ्न पुगियो । करिव ९:४५ भएको थियो होला जहाजले भुइँ छोड्दा । चेन्नाईबाट हैदरावाद र हैदरावादबाट कलकत्ता हुँदै हामीलाई बेलुका ३:४८ मिनेटमा बागडुगरा अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरायो हामी चढेको जहाजले । लगेज आउन्जेल पर्खनै पर्यो । बाहिर निस्कदै गर्दा ट्याक्सीवालाहरुको होहल्लाले हैरान भयौँ हामी । म यतिमा लान्छु, उतिमा लान्छु भन्दै झोला तानौला झैँ गर्छन् । बल्लबल्ल एउटा ट्याक्सीसँग भारु ५००/– मा सहमति भयो र त्यसैमा चढेरकाकरभिट्टा तर्फ लाग्यौँ ।
काकरभिट्टाबाट सिधै हामी धुलावारी लीना काकीलाई छोड्न गयौँ । काका चन्द्र भण्डारीले खाना पकाई सक्नुभएको रहेछ । खाना खाएर हामी त्यहाँबाट प्रस्थान गर्दा ७:३० भइसकेको थियो । सवारी साधन आफ्नै भएकाले समस्या केही भएन । चन्द्रगढीस्थित घर आईपुग्दा रातको ८ बजिसकेको थियो ।