प्राण शून्य भनौं भने
झकिझकाउ छ फूलमालाले
मूर्छित भनौं भने
सफा कञ्चन र हँसिला छन् ।
दुधले नुहाएका मूर्तिहरु
यस्तै यस्तै दृश्यहरु
दिनहुँ देखिरहेका छन् केही मान्छेहरु
हजारौं शुभेच्छुक भक्तहरु
आशीर्वाद किनिरहेका छन्
नाथे पत्थरसँग !
बदलामा चडाएका छन्
अनगिन्ती दक्षिणा र भेटीहरु !
मन्दिर छेवैमा उभिएका केही थान मान्छेहरु
वर्षांैदेखि पुकार्दै छन् ईश्वरसँग
हे ईश्वर !
हामीलाई पनि पत्थरको मूर्ति बनाइदे न
साँझ–बिहानको छाक टार्न गाह्रो भयो
पत्थरको मूर्ति बनाउन नसक्ने भए
मजस्ता हजारौं अनि लाखौंको लागि
सहिदगेटमा एकथान शालिक बनाई दे न ।