भोलिपल्ट बिहान जलपान सिद्धिएपछि रिसेप्सन अफिसमा गएर मैले ट्याक्सी मागेँ । न्यूजिलयाण्डभरि नै ट्याक्सीको व्यवस्था राम्रो थियो । प्रत्येक ट्याक्सीमा फोनद्वारा कुराकानी गर्ने साधन भएकोले, ट्याक्सीको हेडक्वार्टरुले एकैछिनमा ट्याक्सी आइपुग्ने सूचना दियो । नभन्दै ट्याक्सी आइ नै पुग्यो । ट्याक्सीभित्र पसेँ, ड्राइभरसँग नै बसेँ । अनि ड्राइभरले सोधिहाले – जाने कहाँ ? मैले ड्राइभरलाई त्वाकौ गाउँ सहर मात्र के भनेको थिएँ, उनले मलाई नियालेर भने – तपाईं इन्डोनेसियाको मान्छे हो कि ? मैले जवाफ दिएँ होइन । त्यसपछि उनले फेरि के बोल्न लागेका थिए, मैले खल्तीबाट भादगाउँले टोपी झिकेर लाएँ । मैले टोपी लाएको उनले अघिल्तिर जडिरहेको ऐनामा देखेछन्, अनि त मोटर घ्याराक रोक्दै उनले मसँग हात मिलाएर भने – अहो, तपाईं त नेपालका मान्छे पो हुनुहुँदोरहेछ । मैले सोधेँ – यो कुरा तपाईंले कसरी थाहा पाउनुभयो ?उनले भने – माउन्ट एभरेष्टको टाकुरामा पुग्ने हाम्रा हिलारीलाई नेपालीहरूले यस्तै टोपी लगाइदिएका थिए । त्यो तस्वीर मसँग यहीँ छ । उनले मोटरको खोपामा खोज्दै, नेपाली टोपी लगाएका हिलारीको तस्वीर मलाई देखाए । अनि मैले पनि फूर्तिसाथ भनेँ – हो म नेपालकै मान्छे, म उहाँकै घरदैलो हेर्न आएको, मलाई उतै लगीदिनुहोस् ।
मोटर फेरि स्पीडमा दगुरायो । ड्राइभर ठट्यौलो स्वभावका मान्छे रहेछन् । उनले मलाई कुरा सुनाउन लागे – हाम्रा हिलारी त नाइटहूडको मानपदवी पाएर ठूला भइसकेका छन् । ऊ यतिबेला बेलायतमै छन् । उसका आमाबुबा र भाइ पनि उसैलाई भेट्न उतै पुगेका छन् । उसको घरमा त कोही पनि छैन । उसका घर वरिपरीका बारीमा मौरीका घारहरू मात्र छन् ।
मलाई मिस्टर बेवस्टरले भनी पठाउनुभएको कुराको सम्झना भएर आयो । अनि मैले मनमनै गुनेँ – आखिर यहाँसम्म आइहालेँ, टाढैबाट भए पनि हिलारीको घरआँगन एकपटक हेरेर नै जाऊँ । पछि मैले ड्राइभरसँग सोधेँ – यताउँधो हिलारीले केटाकेटीमा चढ्ने डाँडो कतातिर छ नि ?ड्राइभरले मोटरको स्पीड कम गर्दै मलाई दक्षिणतिर औंल्याउँदै भने – ऊ त्यो पर देखिएको रूपापेहू डाँडो त हो नि । देख्नुभो तपाईंले ? मैले ठम्याउँदै भनेँ – अँ देखेँ देखँे । अनि फेरि उनले मलाई बयान गर्दै भनेँ – यहाँको त्यो डाँडोमा उकालो ओरालो गर्न खप्पीस भएपछि त हिलारीले दक्षिणी टापूमा गई माउन्ट कुक चढ्न अभ्यास गरेको ।
फेरि ड्राइभरले मोटरको स्पीड बढाउँदै मलाई कुरा सुनाउन लागे – बुझ्नुभो, हिलारी त मेरो एकज्यानका साथी । हाम्रा पूर्खा र उसका पूर्खा यहाँ अकल्याण्डमा सँगसँगै बसाई सर्न आएका बेलायतबाट । ६ पुस्ता भयो । हाम्रा घरआँगन पनि सँगसँगै छन् । तर के गर्नु, हिलारीको सोखचाहिँ केटाकेटीदेखि नै डाँडाकाँडा चढ्ने, मेरो चाहिँ पाङ्ग्रा गुडाउने । आखिर उसले विश्वविद्यालयमा राम्रो पढाई गर्न सकेनन्, ऊ पर्वतारोही भएर निस्के । म पनि ऊजस्तै विश्वविद्यालयको जीवनमा असफल भएँ र आज मोटर हाँक्दैछु । तर एउटा कुरा म तपाईंलाई सुनाउँछु, मैलेचाहिँ बिहे गरिसकेँ, मेरी एउटी छोरी पनि भइसकेको छ । हिलारीले चाहिँ बिहे गरेको छैन, अहिलेचाहिँ सुन्छु उसले यहाँ हाम्रो अकलयाण्डकै ठिटी ल्वीज रोजसँग बिहे गर्ने पक्कापक्की गरिसक्यो रे । अनि मैले प्याच्च सोधेँ – उनीहरूको पहिलेदेखि नै प्रेम थियो होला । ड्राइभरले जवाफ दिए – ए, उसो त हिलारीले ती ठिटीलाई पनि तालिम दिने रूपापेहू डाँडोमा चिप्लेटी खेलाउन लैजाने गरेका थिए । तर ती ठिटी पछि गायिका भएर निस्किन् र उनी अष्ट्रेलियाको सिड्नीमा त्यहाँको संगीत महाविद्यालयमा उच्च शिक्षा लिन गइन् । हिलारीचाहिँ डाँडाकाँडा चढ्ने काम खोज्दै बेलायत पुगे, अनि त्यतैबाट नेपाल ।
अनि ड्राइभरले मलाई त्वाकौको सानो बजार घुमाई एडमण्ड हिलारीको घरआँगन र मौरीका घारहरू देखाउन लगे । मैले मनमनै विचार गरेँ – मान्छेको प्रारब्ध पनि गजबकै हुँदोरहेछ, कहाँको मान्छे कहाँ पुगिरखेको छ, फेरि भोलि ऊ कहाँ पुग्ने हो, कसलाई के अत्तोपत्तो । यस्तै विचारमा डुब्दै वरपर हेर्दै थिएँ, टाढैबाट रेलको सिटी बजेको तीखो आवाज सुनियो । मसँग पनि बेलुकी ६ बजे ट्रेनबाट अकल्याण्ड छोड्नुपर्ने टिकट थियो । त्यसैले मैले ड्राइभरलाई भने – जाऊँ अब फर्कौं । अनि ड्राइभरले मोटर मूलबाटोमा ल्याई स्पीड बढायो । उनले फेरि मलाई हिलारीकै कथा सुनाउन लागे र भने – हाम्रा हिलारीले त जहाँ गए पनि माउन्ट एभरेष्ट चढेकै बारेमा भाषण गरेर थुप्रै पो पैसा कमाइसकेका छन् रे । अब त नयाँ घर बनाउने इष्टिमेट गरेका छन् रे भन्ने हल्ला छ ।
मचाहिँ मनमनै गुन्दै थिएँ – हाम्रा बूढापाकाहरू मात्र तालुमा पनि आलु फल्छ भन्दथे, वास्तवमा हो रहेछ ।
जनमत मासिकको १५२ अंक वि.सं २०६६ चैत्रमा सत्यमोहन जोशी विशेषमा प्रकाशित रचना ।