देशको उत्तरी भूगोल, अग्ला पहाडहरुको समूह । पहाडको शिरदेखि छातीसम्म हिउँले ढाकेको अवस्था । चाँदीजस्तै देखिने हिउँले पहाडहरु सिँगारिएका थिए । यो जन्मभूमिलाई संसारमा चिनाउने र मानिसहरुको मनलाई लोभ्याउन सक्ने हिमाली वातावरण सुन्दरताको भण्डार थियो ।
त्यस वनको निगालो घारीमा एक जोडी रातो हाब्रे र एक जोडी डाँफे बस्दथे । डाँफे र हाब्रे जोडीहरु छिमेकी मात्र होइनन् मन मिल्ने साथी पनि थिए । तिनीहरु धेरैजसो एउटै रुखमा बस्थे । एकले अर्कोलाई सुखमा मात्र होइन, दु:खमा पनि साथ दिन्थे ।
उनीहरुमा असाध्यै राम्रो मेलमिलाप थियो । त्यो देखेर त्यस वनमा बस्ने धेरै जनावरहरु लोभिएका थिए । तिनीहरुमध्ये एकजोडी मुसा पनि थिए । तिनीहरु पनि त्यही रुखको टोड्कामा बस्थे ।
एकदिन सबेरै मुसाहरुले हाब्रे जोडीलाई भेटे र भने, “नमस्कार मामा र माइजू ! डाँफे दिदी भिनाजू र तपाईंहरुको मेलमिलाप देखेर हामी लोभियौँ । हामी पनि तपाईंहरुको छिमेकी हौँ । अब साथी बनेर मिलेर बस्न र सहयोग गर्न पनि चाहन्छौँ ।”
हाब्रेहरुले पनि मुसाहरुलाई नमस्कार गरे । भाले हाब्रेलाई मुसाहरुको प्रस्ताव मन परेन । तर पनि ऊ केही नबोली बस्यो । पोथी हाब्रे बुद्धिमान थिई । उसले यो प्रस्ताव खुसीसाथ स्वीकार गरे । उसले भालेसँग कुरा राखी, “सुरक्षाको हिसाबले हामीलाई भुइँमा बस्ने मुसासँग पनि मेलमिलाप आवश्यक छ ।”
उनीहरुले मुसाको अनुरोध स्वीकार गरे र भने, “हुन्छ, स्वागत छ तपाईंहरुलाई । हामी पनि तपाईंहरुलाई सुखदुखमा साथ र सहयोग दिन सधैँ तयार छौंँ ।” हाब्रेको कुरा सुनेर मुसाहरु खुसी भए ।
भोलिपल्ट नै हाब्रेहरुले डाँफे र मुसाहरुको बैठक राखे । डाँफेहरुलाई मुसासँगको मित्रता मन परेको थिएन तापनि साथीहरुको प्रस्ताव भएकोले सजिलै स्वीकार गरे । श्रीमती हाब्रेको अध्यक्षतामा बैठक बस्यो । उनीहरुले बैठकमा मुसाहरुलाई स्वागत गरे । हाब्रे र डाँफेहरुले थपडी बजाए ।
बैठकको अध्यक्ष भएको नाताले श्रीमती हाब्रेले उपस्थित सबैलाई स्वागत गर्दै सम्बोधन गरी, “साथीहरु, वन हाम्रो घर हो । यो बिस्तारै असुरक्षित हँुदै आएको छ । मान्छेको कारण वन साँघुरिँदै छ । हाम्रो सिकार गर्न खोज्नेहरु बढेका छन् । डँढेलोको समय भएकोले यसबाट बच्न हामी सक्षम र चलाख हुनुपर्छ ।”
सहभागी सबैले एकैसाथ भने, ‘सही हो ।’ त्यसपछि श्रीमान् डाँफेले आप्mनो विचार राख्यो, “हामी देशको राष्ट्रिय चरा । वनमा हामी सबैभन्दा असुरक्षित हुँदै छौँ ।”
मुसाको पनि दुखेसो थियो, “हामी सधैँ डँढेलोसित डराउनु पर्ने अवस्थामा छौँ ।” श्रीमान् हाब्रेको बोल्ने पालो आयो । उसको गुनासो थियो, “हामीलाई खानेकुरा र बस्ने ठाउँको समस्या छ ।” बैठकबाट उनीहरु यस्तो टुङ्गोमा पुगे ‘मानिसहरु नै यी समस्याहरुको मुख्य कारण हो ।’
सबैको कुरा सुनेपछि श्रीमती हाब्रेले सबैलाई धन्यवाद दिई । उसले आप्mनो विचार राखी, “समस्या सबैको छ र सबै ठाउँमा छ । समस्याको कारण अरु नै भए तापनि समस्या हामीलाई पर्न आएको छ । त्यसैले यसको समाधान हामीले नै खोज्नुपर्छ ।”
श्रीमती हाब्रेले बैठकको निर्णय सुनाई, “साथीहरु, हाम्रा यी समस्या समाधान गर्न हामी एकजुट हुनैपर्दछ । अब मुसा साथीहरुले रुखमुनि अर्थात् भुईंतर्पm ध्यान दिनुहुनेछ । त्यसबाट रुखमा बस्नेलाई शिकारीको आक्रमणबाट सुरक्षा हुनेछ । डाँफे साथीहरुले डँढेलो लाग्न लागेको सूचना दिएर सहयोग गर्नुहुनेछ । हामी हाब्रेहरु बीचमा बसेर तपाईँहरुलाई कुनै पनि बेला सहयोग गर्न तयार रहनेछौँ ।”
श्रीमती हाब्रेले सुनाएको निर्णय सबैले इमान्दारीसाथ पालन गर्ने वाचा गरे । भोलिपल्टदेखि नै निर्णय लागु भयो ।
जब सिकारीहरु डाँफे र हाब्रेहरुलाई बन्दुक ताक्दै गरेका हुन्थे तब मुसाहरुले
उनीहरुको खुट्टाहरुमा टोकेर घाइते बनाइदिन्थे । उनीहरुको हातबाट अचानक बन्दुक खस्दथ्यो । अनि बन्दुक खसेको आवाज सुनेर रुखमा बस्ने साथीहरु डाँफे र हाब्रेहरु भागेर ज्यान बचाउँथे ।
यो कुरा डाँफे र हाब्रेलाई राम्ररी थाहा थियो । डाँफे र हाब्रेहरुले मुसाहरुको कामको कदर गर्दै रहे ।
समय बित्दै गयो । यस्ता धेरै घटनाहरु दोहोरिरहे । साना साथीको ठूलो काम देखेर डाँफे र हाब्रेहरु दङ्ग थिए ।
एक दिन डाँफेहरु अलि टाढा चर्न गएका थिए । त्यही वनको एक छेउमा डँढेलो सल्केको देखे । उनीहरु धेरै नै डराए । ‘अब कसरी मुसा साथीहरुलाई बचाउने’ भन्ने चिन्ताले आत्तिन थाले । हतार हतार गुँडमा फर्किए र हाब्रेहरुसँग सल्लाह गरे ।
डाँफेहरु सुरक्षित ठाउँ खोज्न तुरुन्तै उडे । डँढेलो त्यहाँ आइपुग्न धेरै समय लाग्दैनथ्यो । त्यसैले टाढा पुग्न समय पर्याप्त थिएन । उनीहरुले त्यही वनको एक कुनामा पानीको ठूलो पोखरी देखे । पोखरीको बीचमा एउटा ढुङ्गो थियो जहाँ उनीहरु सबै सजिलै अटाउन सक्थे ।
साथीहरु डाँफेहरुलाई पर्खिरहेका थिए । उनीहरु छिटोछिटो गरी साथीहरु भएको ठाउँमा पुगे । उनीहरुले खोजेको ठाउँको बारेमा सबै कुरा सुनाए । हाब्रेहरुलाई पोखरीसम्म पुग्ने बाटो बताउँदै अति छिटो दौडन लगाए । उनीहरुले एक एक ओटा मुसा बोकेर लैजाने कुरा सुनाए । मुसाहरु ‘अब ज्यान बँच्ने भो’ भन्ने ठानेर अत्यन्त खुसी भए ।
डँढेलो नजिकै आइसकेको थियो । डाँफेहरु र हाब्रेहरु पनि पोखरीको डिलमा पुगिसकेका थिएनन् । हाब्रेहरु सकिनसकी दौडिरहेका थिए । कामको बाँडफाँड अनुसार डाँफेहरु आप्mना चुच्चाले मुसाहरुका पुच्छर चेपेर बिसाउँदै बिसाउँदै साह्रै अप्ठेरोसँग पोखरीमा पुगे ।
केहीबेरमै दौडदै हाब्रेहरु पोखरीको डिलमा पुगे । हाब्रेहरु पौडेर बीचमा रहेको ढुङ्गोमा पुगे । उनीहरु सबै मिलेर काठ र छेस्का छेस्की बटुलेर बस्ने ठाउँ सजिलो बनाए । केही मिनेटमा नै डँडेलो त्यहीँ आइपुग्यो । केहीबेरमा नै हरियो वन अँगारजस्तै कालो भयो । तिनीहरुजस्ता धेरै प्राणीहरुका खानेकुरा र बस्ने ठाउँ नष्ट भयो । कतिको त जीवन पनि नष्ट भयो ।
मुसा र हाब्रेहरुले डाँफेको कामको प्रशंसा गरे । उनीहरुले आपूmहरु सधैँ सँगै रहने वाचा गरे । एकले अर्कोलाई सधैँ सहयोग गर्दै सबै आनन्दसित बस्न थाले ।