हो, हरिचा अर्थात् हरिमानको आमाको निधन भएको एक वर्ष हुन अब तीन दिन मात्र बाँकी छ । हरिचाले अब सेतो लुगा लगाउन नपर्ने हुन्छ । तीन दिनपछि त साधारण मानिसले झँैं आफूलाई मनपरेको रँंगीविरँगी पोशाकहरू लगाउन पाउने हुन्छ । हरिचाको एकजना मात्र दाजु भए तापनि उनको तर्फबाट धेरै बालबच्चा भएको तथा विधवा फुपू र उनका सन्तानहरूसमेत भएको हुँदा घरमा धेरै परिवार छन् । यसो हेर्दा पर्सिको दिन चाँडो आए हुन्थ्यो भनी घरका सबै जहानबच्चा उत्सुक भएका देखिन्थे । किनभने त्यो दिन बर्खी फुकाउने दिन, अनि जिन्दगीमा सधैं वसन्त मात्र पलाउँछ भन्ने धारणा सबैले लिएका हुन सक्छ । तर हरिचाको मन कस्तो थियो, थाहा पाउन सक्ने संकेत देखिँदैन । हुन सक्छ उ एकजना अपवाद बन्न पुगेको छ । जे होस् तीन दिनको दिनमा घरमा ठूलो भोज हुँदैछ । अत: हरिचाले निमन्त्रणा पत्रहरू लेख्न शुरु गर्छ– यही ……..साल…… गते……. बारका दिन ठीक समयमा पाल्नुहुन अनुरोध भन्ने मुख्य अभिव्यक्तिसमेत राखेर । त्यसपछि आफ्नो दाजुको निर्देशानुसार कसैमा चूल्है, कसैमा श्रीमान् श्रीमती र कसैमा बच्चाहरूसमेत भन्ने विभिन्न संकेतहरू ठूलो रातो अक्षरले एक कुनामा लेख्छ । काम सकेपछि आफूले गरेको कामप्रति आफै खिजिन्छ अनि कसो कसो आफँै प्रति भुनभुनाउँदै रन्को खन्याउन मन गर्छ । तर विवश छ उसलाई किनभने उसको अस्तित्व नै छैन जस्तो महसूस उसले गरेको हुन्छ । अनि उसको आफ्नो व्यक्तित्व भन्ने त कुरै भएन ।
भोलिपल्ट हरिचाको दाजु राममानको फुर्सद हुन्न । घरको जेठो–पाको, सबै हेर्नै पर्यो । आफूलाई प्रभावशाली ठान्ने राममानमा त्यो निस्तेज भाव छँदै छैन जतिको हरिचामा छ । यदि हरिचा जस्तै भैदिएको भए सबै चौपट हुन्थ्यो । निमन्त्रणा पत्रसमेतलाई राममान आफैले राम्ररी हेर्यो र आफ्नो रीतिथितिअनुसार घरमा काम गर्ने अष्टलाल ज्यापूद्वारा बाँड्न पठायो । यतिले उसलाई कहाँ सन्तोष भयो र त्यसैले मुख्य मुख्य ठाउँमा आफू स्वयं पनि मौखिक निमन्त्रणा दिन गयो । राममानको लागि यो आत्म–सन्तोष तथा गौरवको कुरा थियो किनभने आफन्तहरूलाई राम्ररी खुवाउन पाएमा आफ्नो यश–कीर्तिरूपी सुनमा सुगन्ध हुन्छ भन्ने उसको दृढ विश्वास थियो । मौकामा हीरा पनि फोड्नुपर्छ भन्ने नेपाली उक्ति उसलाई बराबर सम्झना हन्छ । अत: भोजको लागि आवश्यक सरसामानको लागि समेत उ आफै लागेको हुन्छ– चाहिने भन्दा बढी माल किनेर विग्रन्न भन्ने उसको उदार नीति छ । बजारबाट किनमेल सिध्याई राममान थकित भई साँझतिर घर पनि पुग्नु, उता पुनाचा: बगरेले अर्हाएबमोजिमका मासु ल्याई पनि पुर्याउनु, कस्तो अचम्म ! बिचरा राममानलाई थकाइ मेट्ने फुर्सत पनि भएन । झन् कामको सही शुरुवात पो हुन्छ । मासु देख्ता बच्चाहरूमा पनि आनन्दको लहर चल्न थाल्छ । उनीहरूलाई भोलिको भोज बल्ल शुरू हुन थालेको जस्तो हुन्छ । भोलिको लागि मासुका विभिन्न परिकार पकाउन शुरू हुन्छ । राममानको ठूलो स्वर मात्र नभैदिएको भए त्यो मासुको थलथले पाक सिध्याउन अझ निकै बेर लाग्थ्यो होला तैपनि रातको दुई बजिहाल्यो ।
आज बर्खी फुकाउने दिन । यस दिनमा गरेको दानपुण्य सबै दिवङ्गत आत्मालाई प्राप्त हुन्छ भन्ने हाम्रो धारणा तथा विश्वास छ । तर किन हो कुन्नि आज हरिचाको चेहरा भने धेरै मलीन छ । हाम्रो धारणाप्रति अविश्वास भएर हो वा हामीले गर्ने तरीका मन नपरेर हो केही बुझ्न सकिएन । घरमा बिहानदेखि नातेदारहरूको घुइँचो लाग्छ । क्षणभरमै त्यस घरमा उत्सवको वातवारण प्रस्फुटित हुन्छ । यस्तो क्षणमा किन हो कुन्नि हरिचाको शरीर गर्हुँगो भएर आउँछ । उसलाई आन्तरिक छटपटाइले सताउन थाल्छ । घरको कुनै पनि कोठा खालि छैन । सबै ठाउँमा विभिन्न विषयको गफ, चर्चा–परिचर्चा र वादविवाद संचालन भैरहेको हुन्छ । उसलाई यता जाऊँ, उता जाऊँ, कता जाऊँ, कता हुन्छ । त्यत्रो घरमा पनि उसले एकान्त बिसौनी भेट्टाउन सक्तैन । लाचार हुँदै एउटा कोठामा ङिच्च हाँस्दै यसो लुसुक्क भित्र पस्छ । गरम गरम गफ चलिरहेको हुन्छ । अधवँैशतिर उन्मुख एउटी तरुनी हात हल्लाउँदै, आँखा नचाउँदै भन्दैछिन् “थाहा छ ? मेरी नन्द प्रतिमा कस्ती नकच्चरी, नजीक बस्ने नारानचा ड्राइभरसँग आँखा…म मात्र के पुगेको थिएंँ… त्यस्ती नाठो खेलाउन …….।” पालो आएको महसूस गर्दै अर्की युवती आफ्नो सारीको सप्को यसो मिलाउँदै, त्यस्तै स्वरमा लामो राग तान्दै, “अँ हो भने आजकालका तरुनीहरू हाम्रो पालामा जस्ता हुन् र ! हाम्रो नन्द त बुझयौ ? घरमा भने कस्तो असल हुन्छिन्, अनि साथीकहाँ जाने भनी घरबाट फुत्केपछि को–को केटासँग सिनेमा हेर्न पुगेकी ……. ।” हरिचालाई एकपल्ट रीस उठ्छ । यो बेला यो दिनमा यस्तो पनि कुरा ! एक बाजि त झोक्किएर कोठाका सबैमाथि रीस पोखूँ जस्तो लाग्छ । तर विवश छ ऊ, समाज जता जान्छ आफू पनि उतै जानुपर्ने बाध्यता । यद्यपि समाजसँग उसले राम्ररी ताल मिलाउन सकेको हुन्न । अत: मन मारीकन हरिचा त्यस कोठाबाट विस्तार विस्तारै बाहिर जान्छ ।
केही छिनपछि भोज शुरू हुन्छ । भोज खानेमा जति उत्साह छ त्यत्तिकै खुवाउनेमा पनि देखिन्छ । बर्खीको काम सिध्याएपछि राममानले तिनै खुवाउनेहरूको नेतृत्व गरेको हुन्छ । लहरै ओछ्याइएका लपेसको पछाडि बसेका युवा–युवती र केटाकेटी पनि मिनेट जस्तोको अन्तरमा आउने परिकारको प्रतीक्षामा देखिन्छन् । हरिचा हेर्दै जान्छ, लपेसमा रहेको च्यूरामाथि मासु मात्र होइन अरू प्रकारका चीजबीजहरू पनि थपिँदैछन् । निम्तालुहरू बडो स्वाद लिएर मासु लुछिरहेका छन् मानौं आज दशँै हो । एकातिर हरिचाले अगाडिको यो वास्तविक दृश्य देखिरहेको हुन्छ भने अर्कोतिर उसको दिलदिमागभित्र वर्षदिन अगाडिको आफ्नी आमाको निर्जीव शरीर चितामा जल्दै सिद्धिन लागेको र सुँक्क एवं घँुक्कको आवाज निक्लिरहेको घटनाले फन्को मारिरहेको हुन्छ ।
हरिचा घोत्लिएर सोच्दै थियो– आज बर्खी फुकाउने दिनको भोज । शिशिर हेमन्तको जाडोबाट कठाँग्रिएको कोइलीलाई वसन्त आउँदा सुरिलो संगीतमय आवाज निकाल्न पाउने जस्तै यो दिन । कुनै मानिस मरेको वर्ष दिन पुग्दा उसको संझनामा दान, पुण्य, पूजा, पाठ गरिने यो दिन, अनायास खुशियालीमा परिणत भैदिन्छ । योे दिनमा भोज मात्र नभैदिएको भए कति भावपूर्ण एवं हृदयस्पर्शी भै दिन्थ्यो होला ! समयको पाङग्रो घुमिरहँदा आफ्ना एकजना मित्रले केही दिनअघि आफैलाई लक्ष्य गरेर भनेको एउटा थप कथन पनि हरिचा अर्थात् हरिमानको स्मृतिपटमा उत्रन लाग्छ– ‘भोज त नेवार समाजको मुख्य दिन चर्या जस्तै भैसकेको छ, जन्मेदेखि मरेपर्यन्तका प्रत्येक संस्कारमा भोजकै प्राधान्यता छ, कुन हर्ष, कुन विस्मात् सबै भोजद्वारा रङ्गिएका हुन्छन्, एउटा चाड आयो कि भोजै छ । अर्को आयो फेरि भोज । भोजै भोजको रितिथिति । यो भोज पनि गजबको छ, न त यसको भाषा छ, न परिभाषा नै ।’ मित्रकै उक्तिलाई सम्झँदै हरिचा यताउता विस्तार विस्तारै टहलिन थाल्छ ।