यत्ति राम्रो शहरलाई
मान्छेहरूले कुरूप बनाए ।
चुरोट सल्कायो
बट्टा फुत्त सडकमा फाल्यो
चुरोट तान्यो
अनि ठुटो पनि फुत्त सडकमा फाल्यो
चिया सुक्र्यायो
गिलास फुत्त सडकमा फाल्यो
सुर्ती चपायो
अनि प्लास्टिक पनि फुत्त सडकमा फाल्यो
चटपटे खायो
कागज फुत्त सडकमा फाल्यो
चाउचाउ खायो
अनि खोल पनि फुत्त सडकमा फाल्यो
खैनी खायो
बट्टा फुत्त सडकमा फाल्यो
बदाम खायो
अनि बोक्रा पनि फुत्त सडकमा फाल्यो
यत्ति राम्रो शहरलाई
मान्छेहरूले कुरूप बनाए ।
खाजा खायो
प्लेट फुत्त सडकमा फाल्यो
पानी घुडक्यायो
अनि बोतल पनि फुत्त सडकमा फाल्यो
चकलेट खायो
खोल फुत्त सडकमा फाल्यो
भुजा खायो
अनि थुङ्गा पनि फुत्त सडकमा फाल्यो
सुन्तला छोडायो
बोक्रा फुत्त सडकमा फाल्यो
पानीपुरी खायो
अनि दुना पनि फुत्त सडकमा फाल्यो
कोक खायो
सिसी फुत्त सडकमा फाल्यो
रेडबुल खायो
अनि बट्टा पनि फुत्त सडकमा फाल्यो
यत्ति सुन्दर शहरलाई
मान्छेहरूले कुरूप बनाए ।
एक दिन हामी
चुरोटका बट्टा र चुरोटका ठुटा
पानीका बोतल र कोकका सिसी
चियाका गिलास
सुर्तीका प्लास्टिक
चाउचाउ र चकलेटका खोल
चटपटेका कागज
खैनी र रेलबुलका बट्टा
खाजाका प्लेट
भुजाका थुङ्गा
बदाम र सुन्तलाका बोक्रा
र पानीपुरीका दुनाले
घाँटीसम्म पुरिन्छौँ
र गुहार ! गुहार !! भनेर
बेस्करी चिच्च्याउँछौँ
साँच्चै त्यतिबेला
हामीलाई बचाउन को आउँछ होला ?
Graphics by Suresh L Yonjan,