कवि/कलाकार रमेश श्रेष्ठसँगका सम्बन्ध र साक्षात्कारका धमिलिँदै गइरहेका धूमिल तर स्मरणीय सम्झनाहरु यतिबेला मेरा स्मृति–विम्बमा आइरहेछन् । उहाँसँगै अर्का कलाकार मित्र श्रीजनकुमार राजभण्डारी । राजभण्डारी र म एकताका घुमन्ते बनेर कास्की र लम्जुङका केही ग्रामीण बस्तीतिर पुगेका थियौँ । घुमिसकेर पोखरा फर्किदा पहिलो साँझ बुद्धि गुरुङको आतिथ्यताले तृप्त भयौँ ।
अर्को दिन रमेशजीसँग हामी उहाँ कै घरमा भेटियौँ । खानपान र गफगाफका बोली–व्यवहारले हामी तीनैजना निकै रमायौँ । त्यहाँ त्यसबखत भेटवार्ता, भलाकुसारीहरु धेरै भए । चित्रकलाका कुरा, कविता र यात्राका कुरा भए । उहाँले आफ्नो निवासमा नयाँ/पुराना सिर्जनाका क्यानभासहरु देखाएर तिनको रचना गर्भ समेत सुनाउनुभयो ।
हामी त्यो दिन र साँझ उहाँको समिपमा आनन्दित भयौँ । अर्को बिहान उहाँले ‘रेडियो अन्नपूर्ण’मा हाम्रो यात्रामाथि कुराकानी गर्नुभयो । हामीले त्यसबेला घलेगाउँबाट पसगाउँ, अर्मले थियाकोट चहार्दै आएका थियौँ । रेडियो संवादमा तिनै कुराको बेलिबिस्तार लगाउन पाएर रमाइलो अनुभूति गर्न पाइएको थियो । उहाँसँगको यो भेटले उहाँको मित्रवत् व्यवहारलाई नजिकबाट आत्मसात् गर्न पाएर हामी काठमाडौँ फर्किदा सम्म पनि गदगद् भइरह्यौँ ।
वि.सं. २०७३ साल भाद्र महिनाको अन्तिम साता ‘रङहरुको गीत’ शीर्षकमा कवि तथा कलाकार रमेश श्रेष्ठको एकल चित्रकला प्रदर्शनी राजधानीमा सुरु भएको थियो ।
वि.सं. २०५२ सालमै पहिलो एकल चित्रकला प्रदर्शनी उहाँको जन्मथलो पोखरामा सम्पन्न भइसकेको छ । उहाँको दोस्रो प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्मा भएको थियो । सोही प्रदर्शनीमै उहाँको पुस्तकाकार प्रकाशन ‘रङहरुको गीत’ पनि छ । जहाँ उहाँले बनाएका चित्रसँगै तिनलाई विम्बित गर्ने सुन्दर काव्यात्मक सिर्जनाहरु पनि समेटिएको देख्न र पढ्न सकिन्छ ।
नेपाली कविताको क्षेत्रमा ‘बिम्बकवि’का रुपमा परिचय बनाएका श्रेष्ठका कला अमूर्त झैं लाग्छन् । तर ती चित्र खासमा मूर्त शैलीका हुन् । अर्धमूर्त आयतनमा आकृतिबद्ध भएका सिर्जनाहरु हुन् । उहाँका कलामा जीवनका पीडाजन्य पलहरु उद्घाटित भएका हुन्छन् । तिनले माया र प्रेमका आग्रह–अनुनय गरिरहेका हुन्छन् । विकासको होडमा दौडिरहेको आजको निष्ठुरी समय र समाजमा तिनकाप्रति मानवीय मन मर्दै गइरहेकामा कलाकर्मी संवेदनशील भएको अनुभव गर्न सकिन्छ ।
त्यसैगरी उहाँका अन्य कलाहरुले शान्तिको सन्देश, वर्तमान बेथिति, प्रेम, प्रकृति र समाजका अनेकौ बिम्बहरु प्रतिविम्बित गरिरहेको अनुभव दर्शकले गर्न सक्छन् । मूलत: उहाँ एक्रेलिक र पानीरङका माध्यमबाट जीवन र प्रकृतिलाई कलामा उतार्ने चित्रकार हुनुहुन्छ ।
यसै प्रसङ्गमा उहाँको भनाइ छ – ‘पहिले मलाई प्रकृतिका विविध दृश्यहरुले प्रभाव पार्थे । पछि बिस्तारै मैले प्रकृतिसँगसँगै समयलाई क्यानभासमा पोत्ने प्रयास गर्न थालें । म कलामार्फत् जीवनका गीतहरु गाउँदैछु । क्यानभासमा म भित्रको मान्छे बोलेको छ ।’
कवि रमेशका चित्रमा रङ्हरुको काव्यात्मक मिठास युक्त संयोजन स्वत: नै दृष्टिगोचर हुन्छ । एउटा कुशल कविको मनले अनुभूत गरेका भाव–विम्बहरुलाई रङहरुका माध्यमबाट स्वरुप दिनु सायद अझ सजिलो र प्रभावकारी होला । शब्दहरुको जोड–घटाउमा अनुभूतिहरुको आकाश र आकार निर्माण गर्ने क्षमताका शिल्पीका लागि तिनै अनुभूतिहरुलाई रङको भाषामा उतार्नु अनौठो कर्म नहोला । तर आमदर्शकका लागि भने रङ, रेखाका उतार–चढावहरुको विम्ब–विधानले गजबकै भाव–सम्प्रेषण गर्छ । र, उहाँका मूर्त अनि अर्धमूर्त चित्रहरुले एकछिन घोत्लिन बाध्य बनाउँछन् ।
अन्तत: ती घोत्ल्याँइहरुमा जीवन, प्रेम र प्रकृति सन्निकट सुस्केरा, स्वर र प्रेमिल स्पन्दनका आरोह–अवरोहहरु झङ्कृत भइरहेका हुन्छन् । कविता जस्तै हरेक चित्रले छुट्टै कथा र व्यथा बोकेका, बोलेका हुन्छन् । त्यहाँ प्रेम, उल्लास, उमङ्ग, उत्साहसँगै सुन्दर प्राकृतिक वातावरण आदि चरित्रहरुको चित्रण हुन्छ । समग्रमा रङहरुका माध्यमबाट जीवनको गीत गाउँदै चित्रकलाको सुन्दरतामा आफूलाई स्थापित गराउन पनि कलाकार रमेश श्रेष्ठले सफलता पाउनु भएको छ ।
प्रदर्शनीको शीर्षक ‘रङहरुको गीत’मा हिंसाले जकडिएको समाजमा शान्तिको गीत अनुगुञ्जित छ । आपसी माया र ममताको हार्दिकतामा सुकोमल प्रेमफूल मुस्कुराएर फुलेको छ । यसरी एक्रेलिक र जलरङ माध्यमका चित्रहरु गतिमयमा आह्वानमा आल्हादित भावना सञ्चार गर्न अग्रसर हुन्छन् । चित्रहरु चित्ताकर्षक लाग्छन् । किन कि चित्रमा रङहरुको बेग्लै प्रवाह छ । चित्रमा रङहरु आपसी मित्रतामा सन्तुलित स्वरुप देखाउँदै निराशाका विरुद्ध आशाको उज्यालो ज्योतितिर उन्मुख छन् ।
ती चित्रमाथि कवितासमेत लेखेर कलाकारले कविता र चित्रको एक प्रगाढ सम्बन्धलाई नवीकृत गरिदिएर पुस्तक नै प्रकाशित छ । प्रदर्शनीमा उहाँका ५४ वटा कलाकृतिहरुको बिक्री मूल्य बीस हजारदेखि एक लाख रुपैयाँसम्म रहेको थियो ।
वि.सं. २०२३ सालमा पोखरा १ को बगरमा जन्मनुभएका उहाँको बुबाआमाको नाम गोपालध्वज र चन्द्रकुमारी श्रेष्ठ हो । पितापूर्खाको घर पोखरा ३ तेर्सापट्टी भएर पनि मावली बगरमा बस्दै आएका कलाकार श्रेष्ठका परिवारजन पुस्तौँदेखि पोखराका स्थानीय व्यापारी वासिन्दा हुन् ।
पोखरेली चित्रकार रमेश श्रेष्ठ २०४० सालदेखि व्यावसायिक कलायात्रामा अद्यापि निमग्न समर्पित सर्जक हुनुहुन्छ । उहाँले सयौँ चित्र बनाइसक्नुभएको छ । सयौँ पुस्तकका आवरण चित्र रचनामा पनि उहाँ सीपक्षमताले सार्वजनिक हुने मौका पाएका छन् । कविता र चित्रकलालाई समानान्तर रुपमा लिएर हिँडिरहनुभएका सर्जकका बाह्रवटा कविताकृति प्रकाशित भइसकेका छन् । तिनमा नपोतिएका रङहरु, चराहरुको पहाड, आमा नदीहरु, बुद्ध विम्ब अक्षर विम्ब, इन द नेम अफ बुद्ध, घाँस उखेलिरहेकी केटी, रोदी रोएको देशमा, कविता र साँझ, अक्षरको खेत, चोक र तमसुक, कविताको उज्यालो हुन् । अग्निनृत्य काव्य रहेको छ ।
‘रङहरुको गीत’ प्रदर्शनीको उद्घाटन पूर्व प्रधानमन्त्री केपी ओलीबाट भएको थियो । त्यस अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिद्वय किरण मानन्धर र रागिनी उपाध्याय, उप–कुलपति शारदा चित्रकारका साथै सिर्जना कलेज अफ फाइन आर्टस्का प्रिन्सिपल कृष्ण मानन्धरले कलाकार श्रेष्ठको कामको प्रशंसा गर्नुभएको थियो ।
यसरी आफ्ना अग्रजहरुबाट प्राप्त प्रेमलाई कलाकार स्वयम्ले कसरी लिनुभएको छ ?
‘अग्रजहरुको पे्रमले हरेक सर्जकहरुको यात्रामा उर्जा र उत्साह थप्ने गर्छ । म अनभूत गर्दछु मेरा सिर्जनात्मक उडानका लागि यी प्रेम र प्रेरणाहरु नयाँ प्वाँख भएर पलाएका छन् । हरेक नयाँ पुस्ताबाट अग्रजहरु नयाँ बाटो निर्माण भएको देख्ने उत्कण्ठा राख्ने गर्दछन् । म यही निर्माणको यात्रामा छु ।’
रमेश श्रेष्ठ आफ्ना कला र कविता सिर्जनाबारे भन्नुहुन्छ– ‘शब्द, एउटा संसार हो । र, रङ अर्कै संसार । एउटामा भाषा, विम्ब र आवाजहरुको बाहुल्य हुन्छ भने अर्काेमा अमूर्त रङ्गीन थोपाहरु चल्मलाउँछन् । यी फरक–फरक संसारलाई एउटै रेशामा उन्न सक्षम छन् ।’
पोखराका स्थायी बासिन्दा श्रेष्ठले आफ्नो लेखन ‘मान्छे’ र ‘माटो’को प्रेमलाई ‘कविता’ बनाउँदै आउनुभएको झन्डै चार दशक व्यतीत भइसकेको छ ।
कविता बाहेक उहाँको अर्काे संसार सायदै होला । कविता संसारमा हराउने उहाँले चित्रकारितालाई पनि कवितालाई जस्तै प्रेम गर्दै आइरहनु भएको छ । उहाँलाई आफू कलाकार वा कवि केही पनि नबनेको भए के हुन्थ्यो होला जस्तो लाग्छ ?
उहाँ भन्नुहुन्छ –‘म राम्रो गायक वा म्युजिसियन हुन्थे होला । यद्यपि फुर्सदमा म थोरै थोरै गिटार बजाउन र गीत गाउन रुचाउँछु । फोटोग्राफी त मेरो सोख नै हो आज पनि गरिरहन्छु ।’
उहाँको लामो कविता ‘चोक र तमसुक’ प्रकाशित भयो । त्यस्तै लामो कविता ‘अग्निनृत्य’ पनि । यी कविताबारे उहाँ भन्नुहुन्छ –‘चोक र तमसुक अलि अगाडि प्रकाशन भएको कृति हो । मेरो पछिल्लो कृति साझा प्रकाशनले प्रकाशनमा ल्याएको अग्निनृत्यलाई म लामो कविता भन्दै थिएँ । भूमिका लेख्ने बेलामा आदरणीय अग्रज मोदनाथ प्रश्रितले महाकाव्य भन्नुभयो । यस काव्यकृतिमा मैले मानिस गर्भाधान हुँदादेखि जन्म, जीवन र मृत्युसम्मका समयमा आगोको नृत्यको महिमालाई मैले कवितामार्फत् राख्ने यत्न गरेको छु । ब्रह्माण्ड काखमा हामी बाँचेको पृथ्वीमा आगोको प्रेम र प्रेमिल नृत्यलाई आफ्नै हैसियतमा बुन्ने प्रयत्न गरेको छु ।’
प्रकृतिले दिएको अनुपम उपहार जो अनुभूतिको सर्वोच्चतामा सङ्गीतमय हुन्छ । जीवन कोलाज हो रङहरुको अवतार र सपनाहरुको । कविता उज्यालो हो जीवन त्यसको ऊर्जा हो भन्ने मान्यता उहाँको छ । त्यस्तै राजनितिलाई उहाँ सभ्यताको परिचययुक्त कला हो भन्दै त्यसले एकता र सर्वभौमिकताको वकालत गर्ने बताउनुहुन्छ ।
कलाक्षेत्रमा कहिलेदेखि कसरी लाग्नुभयो ?
‘मेरो मामा बाजे संस्कृतिकर्मी जगतबहादुर राजभण्डारी परम्परागत चित्र पनि कोर्नुहुन्थ्यो । म सानो छँदा चित्रहरु कोरेर मलाई देखाउनुहुन्थ्यो, त्यसैको प्रभावले मैले पनि स्कुले जीवनदेखि नै चित्रमा रमाउन थालेँ । पछि गएर प्रसिद्ध कलाकार दुर्गा बराल मेरो प्रेरणाको सोत हुनुभयो । आजसम्म म उहाँकै समीपमा छु ।’
बाल्यकाल सम्झदै भन्नुहुन्छ –‘चित्र बनाउने फुटवल खेल्न रुचाउने म अलि चञ्चल स्वभावको थिएँ ।’
‘राष्ट्रिय प्रकृति संरक्षण कोष – अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना’ मा जागिर खाँदै सिर्जनामा नयाँपन उहाँको सिर्जनात्मक समर्पण पनि हो । लेखकको सन्तुष्टि उसको सिर्जनशीलताको उज्यालोमा प्रतिविम्बित हुन्छ भन्ने उहाँको धारणा छ । म जीवनको प्रत्येक पल उज्यालो कृति भएर जन्मन चाहने आफ्नो प्रतिबद्धता उहाँ दोहोर्याउनुहुन्छ ।
आफू र समयलाई नढाँटिकन निरन्तर साधना गर्नुपर्ने बताउँदै कवि/कलाकार रमेश श्रेष्ठ भन्नुहुन्छ –
‘कलाको हरेक विधाले साधनाको गहिराइ खोज्छ । साधनाले उचाइको सर्वाेच्चता प्रदान गर्छ । एकथरि मानिसहरु शक्ति, टिकडम र चाकडीको सहारामा मात्र बाँच्ने अभिप्सा पाल्ने गर्छन् म त्यसको खिलाफमा सधैँ छु । वास्तविक सर्जक सिर्जनात्मक आरोहणमा विश्वास गर्छन् त्यो समय नै उसको सिर्जनात्मक पुरस्कार हो ।’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त भएपछि उहाँले चित्रकला विभागको जिम्मेवारी पनि पाउनुभएको थियो । विभागको जिम्मेवारी पाएपछि उहाँले के सोच्नुभएको थियो र नेपाली चित्रकला विकासका लागि के–के कामहरु गर्नुभयो ?
‘वास्तवमा नाफाको चित्रकला विभागले नेपाली कलाको श्रीबृद्धिका लागि धेरै कुरा गर्न सक्छ । तर त्यसका लागि उचित वातावरण र बजेटको व्यवस्था छैन । एकेडेमीको टिम निर्माण गर्दा सम्बन्धित विधामा कुशल र सक्षम व्यक्तिहरुको चयन धेरै महत्वपूर्ण हुन्छ त्यो अहिले आएर झनै देखिएन । सबै कुरा राजधानीमा केन्द्रिकृत भएको बेला मोफसलको कला विकासमा काम गर्ने प्रयत्न प्रतिकूल बातावरणमा पनि जसोतसो हुँदै थियो, कार्यकाल नै सकियो, नयाँ टिमको सम्बन्धितबाट त्यो मृगतृष्णा मेटिने छनक नै देखिनँ ।’
कलाकार रमेश आफूलाई चित्रकार कि कवि के ठान्नुहुन्छ ? उहाँ भन्नुहुन्छ –‘दुवै हूँ । प्रकृतिले मलाई यी दुवै सिर्जशीलताको उपासना गर्ने प्रिय अवसर प्रदान गरेको छ । एकै जुनिमा मलाई कवि र कलाकार बनाउने प्रकृतिको म मुक्तकण्ठले प्रशंसा र बन्दना गर्दछु । आफ्नो सिर्जना चित्र र कविता यी दुवै विधामा उतार्न मलाई उत्तिकै मज्जा र रमाइलो लाग्छ । अब त कवितामा निहित चित्र र चित्रमा निहित कविताको लती (एडिक्ट) भइसकेको छु ।’
उहाँले दुई फरक विधा कविता र चित्रलाई सराबरी अविच्छिन्न अभिव्यक्त गर्दै आइरहनुभएको छ । यी विधागत भिन्नतालाई उहाँ यसरी परिभाषित गर्नुहुन्छ –‘मैले धेरै ठाउँमा भनेको छु पेटका कारण चित्रलाई र प्रितका कारण मैले कवितालाई अँगालेको हुँ । अन्तिमसम्म पनि मेरो धारणा बद्लिएमा म स्वयम्लाई निको लाग्दैन सायद । अब त यी दुवै जीवनको अभिन्न पक्ष भइसकेका छन् । जस्तै एउटा अनुहारको दुई आँखा हुन् कला र कविता मेरो लागि, यीविना म आफ्नो जीवन सारहीन ठान्दछु । मलाई नेपाली कविता साहित्यले ‘विम्बकवि’ भनेर सम्बोधन गरेको छ । वास्तवमा नवीन बिम्बको सिर्जना गर्नु मेरो जीवनको अभिप्सा हो, इच्छाको पराकाष्ठा हो । समयले माया गरेर सम्बोधन गरिदिएको छ । म यसमै खुसी छु ।’
नेपाली कविताको इतिहासमा पहिलोपटक टिकटमा एकल कविता वाचन कार्यक्रम आफूले थालनी गरेको विगत बताउँदै सो कार्यक्रम वि.सं. २०६२ जेठ २२ गते पोखरामा गरेको सम्झना पनि सुनाउन भुल्नुहुन्न । उहाँका अनुसार सो टिकट पाँच सय रुपियाँको थियो ।
कविता सुख र दु:ख दुवै अनुभूति र भ्रमको उपस्थिति हुन् भन्ने मान्यता उहाँको छ । आफ्ना कलाकृतिको विषय, शैली र माध्यमबारे उहाँ भन्नुहुन्छ–‘सुरुमा मैले पानीरङको माध्मबाट कामको थालनी गरेको हुँ । पानीरङमा काम गर्न मलाई निक्कै मन पर्छ । म जस्तै अन्य कलाकारहरुका कारणले नै पोखरा पानीरङको शहर भनेर चिनिएको हो । पछि एक्रेलिक रङको माध्यमबाट काम गरेँ यो माध्यम पनि मलाई मनपर्यो । यिनै माध्यमहरुबाट आजसम्म काम गर्दै आइरहेको छु । मभित्रको कलाकारले कला मृत र स्थिर भएको देख्न रुचाउँदैन । रङ र रेखाहरुको नृत्यमग्न उत्सवको आकार हो कला । यसले जीवनको अनेक पक्षको वन्दना गाउँछ । थकाइका बेला आनन्दमय विश्राम र मौनताका बेला ऊर्जामय सक्रियताको निमन्त्रण गर्छ । गहिराइ नभएको आँखा र भावमय रङहरुको नृत्य नभएको चित्रको पनि के कुरा गर्नु र खै ।’