शान्तिका अग्रदूत जसलाई भनिन्छ –
जन्मन त त्यही देशमा जन्मेको हो ऊ पनि
कि बुद्धको महाप्रस्थानसँगै
शान्तिले पनि महाप्रस्थान गरेको हो
यो माटाको सामीप्यबाट
उसले बुझ्न सकेको छैन ।
स्वयम्भूका आँखाहरुले के देख्छन् होला आजकल ?
धेरै पटक नि:शुल्क सोचिहेरेको हो उसले
यी मन्दिर, गुम्बा, विहार,
यी गिर्जाघर, गुरुद्वारा, यी मस्जिद
यी नामनामका देवता
यी कोटिकोटि देवता के गर्दै छन् आज बन्द ढोकाहरूभित्र ?
यो पनि नि:शुल्क नै सोचेको हो उसले
(सशुल्क सोच्नुपर्ने भए पक्कै विचार गर्दै हो ऊ)
र, यही सोचको भारीले थिचेर थिलथिलो बनाएपछि
आज ऊ शान्तिको खोजीमा निस्केको छ ।
उसले हेर्यो लुम्बिनीको धुलाम्मे शान्ति
र, देख्यो चुपचाप सकष्ट सास फेरिरहेका बुद्धावतारहरू
जो सकसले उम्कन खोजिरहेछन् त्यहाँबाट
उसलाई यस्तै लाग्यो
प्राकृतिक शान्तिका लागि त हिमालमा पो जानुपर्छ
हो, गयो ऊ
हिमालको स्निग्घताभित्र
फोहोरका डङ्गुरले चिहाइरहको देख्यो ।
थुप्रै–थुप्रै देवालयहरु पुग्यो ऊ
गुम्बा, विहार, गिर्जाघर, गुरुद्वारा
सबैतिर पुग्यो ऊ ठूल्ठूला आशाहरू बोकेर
र रित्तै फर्कियो ऊ त्योभन्दा ठूला निराशाहरू लिएर ।
तर, ऊ स्वयम्भू गएन
बौद्ध पनि गएन
पशुपति पनि गएन
किन गएन ?
त्योचाहिँ थाहा भएन ।
बरु बाटोमा हल्ला गर्दै
किताबको भारी बोकेर स्कुल हिँडेका
साना केटाकेटीको झुन्डबीच
उसले अलिकति शान्तिको अनुभव गर्यो ।
दिनभरिको परिश्रमको थकानले क्लान्त भएर
साँझपख चर्को स्वरले कराउँदै रक्सी खाइरहेका
कामदारहरूको होहल्लामा उसले अलिकति शान्ति पायो ।
र, अलिकति शान्ति पायो
स्कुल जान रहर गरेर रोइरहेकी छोरीलाई
घाँस काट्न जा भनेर गाली गरिरहेकी
एउटी आमाको विवशता ।
वास्तविक शान्तिको अनुभूति उसले त्यहाँ पनि गर्यो
जहाँ एक जना थकित पति
आफ्नी पत्नीलाई स्तरीय गालीका लबजहरूले
सुशोभित गर्दै थियो
भात पकाउनुको साटो किन मकै भुटेको भनेर ।
र, त्यसै दिन उसलाई
बुद्धत्व प्राप्त भएको बोध भयो ।