सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टा सर्जकहरूलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान- २०७८’ प्रदान गरिएको छ। राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा शुक्रबार आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो।
मनबहादुर मुखिया, दीप तुलाधर, दीपा नारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारूङ र अमर बान्तुलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान-२०७८’ प्रदान गरिएको थियो।
एकनारायण भण्डारी, कालीप्रसाद बास्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार-२०७८’ प्रदान गरिएको थियो।
त्यस्तै, देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार-२०७८’ प्रदान गरिएको कार्यक्रममा संगीत गुरू चन्दनकुमार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार-२०७८’, लोक गायिका देवी घर्तीलाई ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ र रविन कार्कीढलीलाई ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार’ दिइएको थियो।
रंगपत्रकार कुबेर गिरी र डब्बु क्षेत्रीलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार- २०७८’ बाट सम्मानित गरिएको थियाे।
कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बास्कोटाले नेपाली संगीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदान रहेको बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरूको भाषा, संस्कृति, गीत, संगीतको एकता नै नेपाली संगीतको राष्ट्रिय स्वरूप भएको बताइन्।
‘नेपालको भौगोलिक विविधताको प्रतिनिधित्व स्वरूप बसोबास गर्ने जातिका आफ्नै मौलिक भाषा, संस्कृति, गीत र संगीत रहेको छ। नेपाली मौलिक गीत संगीतको जगपुस्ताका रूपमा संगीत महर्षि नातिकाजी श्रेष्ठ अग्रणी रहनुभएको छ,’ उनले भनिन्।