तेश्रो विश्व खाद्य सम्मेलन अफ्रिकी मुलुक मालीमा हुँदै थियो । हामी १३ जना किसान संघका केन्द्रीय सदस्य माली जाने लिष्टमा छानिएका थियौ । मालीको सम्मेलन समाप्त भएपछि एक दिने कार्यक्रम इथोपियामा थियो । यही मुलुकको एउटा कृषि फर्म हेर्नु थियो । यहीँबाट दिल्लीको लागि जहाज समात्नु पनि थियो । मालीको कार्यक्रम सकेर फर्कने क्रममा हामी इथोपियाको राजधानी अदिस अवावा ओर्लियौ ।
इथोपियाको राजधानी अदिस अवावा उत्रँदा विहानको त्यस्तै सात बज्न लागेको थियो । जहाजबाट उत्रेर बाहिर निस्कन लाग्दा हामीलाई लिन त्यहाँका किसान क्षेत्रमा काम गर्ने दुई व्यक्ति उभिरहेका रहेछन् । सामान्य परिचय गरे, हाम्रा टोलीका कर्ताधर्ता प्रेम दंगालले । हामी प्रत्येकले हात मिलायौ । साझा भाषा हाम्रो अंग्रेजी थियो । नेपाली भाषा उनीहरु नजान्ने, इथोपियाई भाषा हामी नजाने थियौं ।
विमानबाट उत्रिएपछि यात्रीहरुको केही क्षण त विशेष दौडधूप पनि रह्यो । झण्डै तीनसय यात्रीहरुलाई बोकेर आएको जहाजमा यात्री उत्रन पनि निकै गा¥हो । एउट मात्र भ¥याङ्ग भएकोले पर्खनु पथ्र्यो ।
हाम्रो यात्रा दलका सदस्यमध्ये प्रेम दंगाल र म भियतनामी छापामार जस्ता थियौ । हाम्रो काँधमा झुण्डयाउने सामान्य झोला बाहेक केही सामान थिएन । अरु साथीका विशेष सुटकेश र व्याग थिए । त्यो सामान प्राप्त गर्न प्लेट फर्ममा पर्खनु अनिवार्य हुन्थ्यो ।
हवाइमैदानबाट बाहिरिँदा रातभरको निद्रा कचल्टिएका आँखाले खासै बाहिरी दृष्य नजर लगाउन चाहेन, सकेन । बस्ने होटेल कतिखेर पुग्ने भन्ने मात्र चिन्ता रह्यो । विहानको मौसम सफा आकाश, व्यस्त सडक, होचा कदका मानिसहरु सडकमा देखिएका थिए । सडकमा हिँड्नेहरु रित्तै थिए धेरैजसो ।
हाम्रो टोलीलाई लिन आएका व्यक्तिले हाम्रो अगुवाई गरे । हामी एउटा साधारण गाडीमा आफ्ना सामान सहित चढ्यौ । सडकमा पातलो गाडी दौडेका देखिएका थिए । त्यस्तै दश मिनेट जतिको गुडाई पछि, हामी चढेको बस एउटा गतिलो होटेल अगाडि रोकियो । हामीलाई ओर्लने आदेश भयो । हामी विस्तारै बसबाट ओर्लियौ । सामान बोकेर होटेलमा प्रवेश ग¥यौ । एकजना पातलो कलकलाउँदो व्यक्ति निलो पोशाकमा गेटमा उभिएको थियो । त्यसले अनुशासित भएर गेट खोल्यो । हामी भित्र छिर्न भ्यायौ । दोश्रो तलामा चढ्यौ । देवे्रतिरका चारवटा कोठामा सामान राख्यौ । हात गोडा धोयौ । कसैले आफ्नो मानवीय नित्यकर्म गर्न भ्याए ।
कोठा प्रवेश गरेको पाँच मिनेटपछि एकजना पातलो होचो, लुम्रे जुम्रे कपडा शरीरमा उनेको व्यक्ति आएर एक एक प्रति कागजका टुक्रा हातमा थमाए । रातो रङ्गको छाप लागेको थियो । लेखेको अक्षर बुझिने थिएन । नास्ताको लागि चीट रहेछ । तलाको दाहिने भागमा खाने सामग्री सजाइराखेको रहेछ । एउटा समूहले भर्खर खाएर निस्केजस्तो लाग्यो । हाम्रो प्रवेश भयो । सेता टोपी लगाएका निराश अनुहार बनाएका दुब्ला पातला तीन जना थिए त्यहाँ ।
पुलाऊ, रोटी तरकारी, गोरुको मासु, मिठाई आदि खाद्यान्न सामग्री तयार थिए । देवीप्रसाद वराल र म सँगै थियौं । उनी मांशीय वस्तुका ज्यादै लोभी थिए । प्रत्येक सामग्रीको नाम नजिकै एउटा काठमा सेता अक्षरले लेखेर राखिएको थियो । देवी वरालले मासुको चम्चा समाउन मात्र आँटेका थिए, मैले अत्तालिंदै उनलाई यो त गोरुको मासु हो, ब्बाइलर कुखुरा होइन भनेर जानकारी गराएँ । देवीजी झस्किए । चम्चा भाँडामा राखिदिए । हामी नजिकै उभिएका गणेशबहादुर खत्रीले ठट्यौली पारामा भने –“थोरै गोरुको मासु लिन दिएर, चाखेर हेर्नुपथ्र्यो नि ।” पोखरलेले बुद्धि पु¥याएनन् भनेर हाँसे खित्का छाडेर । पछिल्लो हातमा प्लेट र थाल लिएर उभिएका रामचन्द्र अधिकारीले उत्तरसिएर कडा शब्दमा भने –“मासु खानेले जुन पशुको मासु खाए पनि हुन्छ । केही फरक पर्दैन । अर्काे कुरा कम्युनिष्ट पार्टीको सदस्य र नेता बन्ने अनि गोरुको मासु खान हिचकिचाउने व्यक्ति कम्युनिष्ट हुन्छ त ?” भन्दै खितिति हाँसे । खानेकुरा लिन लहरमा बसेका अन्य सबै साथीहरु हाँसे मात्र, कुनै प्रतिक्रिया जनाएनन् । तर मलाई भने रामचन्द्रको कुरा सुन्ने बित्तिकै शीर दर्द भएर आयो । उकुसमुकुस भएँ । रिसले चुर हुँदै भने त्यसो हो भने कम्युनिष्ट हुन् पहिला भैसी र गाईको आम्रो खाएर सदस्यता लिन प¥यो । त्यसपछि काममा लाग्नु प¥यो नत्र त कम्युनिष्ट नै भइएन होइन ? खानेपिउने लाउने कुरा त उ प्रत्येक व्यक्तिको स्वभाव र इच्छामा निर्भर गर्छ । कसैलाई तातो मनपर्छ, कसैलाई चिसो । कोही छिट्टै रिसाउने हुन्छन् । कसैको नरिसाउने बानी हुन्छ । घाम पार्टीमा लाग्नेहरु सबै मांसहारी पाडा भैसी खाएर नै लागेका होलान् ? अबदेखि यस्तो कर्तुत नगर्नु ।
केही क्षणको तर्क वितर्क र खानपान पछि हामी कोठामा गयौं । देवी बराललाई सुमसुम्याएर मायालु पाराले मैले भने –“झण्डै आज गोरुको मासु मुखमा हाल्न पुगेको हगी ?”
“हो, तपाईले जोगाइदिनु भो नत्र त मुखमा पर्ने बित्तिकै छाद्ने थिएँ होला । मेरा कुल पूर्खा नै नरकमा पर्ने थिए”– देवी वरालले आफ्नो स्पष्टीकरण दिए । आफ्नो परम्परा त्याग्न नसक्ने व्यक्तिले समाज रुपान्तरण गर्न सक्तैन, परिवर्तनमुखी हुँ भन्नु ढोङ्ग दिनु मात्र हो – रामचन्द्रले हाँस्तै प्रतिक्रिया दिए ।
सुँगुर, गोरु, गाई, घोडाको मासु खाने देशमा गरिव धनी मानिस छैनन् त सामाजिक असमानता छैन त ? विकासका गति तीव्र भएका छन् त ? ती देशका जनता असमानता र विभेदको शिकार भएका छैनन् ? – यिनै प्रश्नहरु गणेशबहादुरले राखे । कसैले पनि ओठे जवाफ फर्काएनन् ।
बहसबाट छुटकारा पाउने उद्देश्यले म एउटा विछ्यौनामा गएर पल्टिएँ । नरम तकिया रहेछ । आँखालाई लोलाउने प्रयत्नमा लागेँ । तर आँखाले लोलाउन स्वीकार गरेनन् । इथोपियाको भूमिमा बसेर यो देशको बारेमा केही सोच्न मन लाग्योे ।
यो मुलुकको जनसंख्या कति होला ? कुन भाषा बोलिंदो हो । यहाँ अंग्रेजी भाषाले त पेलेकै होला ? यहाँको सिक्का, मुद्रा कस्तो होला ? हाम्रो नेपाली मुद्राको अनुपातमा कति मूल्य बराबरको होला ? पहाड तराई कुन क्षेत्र बढी होला ? कुन जातिको बाहुल्यता होला ? यहाँका मानिस आत्मशान्तिको लागि कुन धर्मप्रति आस्था राख्ता हुन् ? यिनै र यस्तै प्रश्नहरु मेरा दिमागमा सलबलाए । कसलाई सोध्ने ? यहाँको हेर्न लायक पर्यटकीय क्षेत्र कति होला ? औद्योगिक शहर कति होलान् ? कुन दिशातिर जानु पर्ला ठूला शहर र पर्यटकीय क्षेत्र हेर्न ?
आफ्नै मुलुकमा बसेर यदाकदा बीबीसी रेडियो सुन्दा इथोपियाको गरिवी र दरिद्रताबारे चर्चा सुनिन्थ्यो । इथोपियाबारे सामान्य जानकारी भुगोल पढेर लिएको थिएँ । गरिव अफ्रिकी मुलुक भनेर । विश्वका सम्पन्न मानिएका, गनिएका मुलुक भनेका युरोप, अमेरिका, अष्टे«लिया हुन् भने एशिया सम्पन्न र विपन्नताको बीचको मुलुक हो । तर अफ्रिकी मुलुक भनेका दरिद्र शोषित पीडित मुलुक हुन् भन्ने धारणा दिमागमा पालेको थिएँ ।
इथोपिया विश्व मानचित्रमा पुरानो मुलुक हो । तर साम्राज्यवादी शोषणका कारण यहाँका जनता गरिवीका दिन झेल्दै थिए, छन् । शिक्षा, स्वास्थ्य, यातायातमा पछि परेको छ । साम्राज्यवादीको चलखेलकै कारण केही वर्ष पहिला इथोपियाको एक भाग क्षेत्र इरट्रिया अलग भएको थियो भन्ने समाचार पनि कतै पढेको जस्तो लाग्छ ।
केही इथोपियन भाषा र साना अंग्रेजी अक्षरमा पहाड तराई नदी र देशका चर्चित ठाउँ देखाइएको सानो नक्सा कोठाको एक छेउमा टाँगेको रहेछ । विछ्यौनाबाट उठेर गएर आँखा केन्द्रित गर्दै हेर्न खोजे । आँखाले कामै गरेन । तर पनि इथोपियाका छिमेकी मुलुकको नाम भने डायरीमा लेख्न सफल भए ।
दक्षिणमा केन्या, पूर्वमा सोमालिया, उत्तरमा सुडान, लाल सागर यमन आदि देशको बीचमा रहेछ इथोपिया । भूगोलको दृष्टिले फराकिलो चौकोण मिलेको देश लाग्यो इथोपिया ।
हाम्रो टोली नेताले हामीलाई निर्देशन गरेका थिए । हाम्रो अगुवा बाटो देखाउने व्यक्ति होटेलमा आइसकेको थिए । तल गाडी तयार गरिएको थियो । लगाएका लुगामा नै हामी सामान कोठामा राखेर बाहिरियौ । सिँढीबाट तल झ¥यौ । नजिकैको एउटा कृषि फाराम हेर्न जाने कार्यक्रम थियो । लगभग तीन घण्टाको बाटो जाते आते भनिएको थियो । बाटो कस्तो होला भन्ने चिन्ताले सताएको थियो । मेरो शरीरमा त्यत्तिको फूर्तिपना थिएन । आलस्यताले सताएको थियो ।
प्रथम त मालीबाट जहाजमा आउँदा, निद्रा परेन । जोडिएको सीटमा बस्ने व्यक्ति आफ्नो साथी परेन । दारीवाल इण्डोनेशियाको एउटा भुसतीघ्रे मुस्लिम थियो । म निदाएको समयमा गोजीका पैसा उडाई देला भन्ने त्रासले रातभर कामेँ । राम्ररी निदाउन सकिनँ । दोश्रो नेपालबाट माली जाँदा, एक प्रकारको त्रास थियो । गर्मी मुलुक जादै छु, कथम कदाचित बाटोमा या कार्यक्रमस्थलसम्म विरामी परे भने म साथीहरुका निम्ति घाँडो हुनेछु भनेर सतर्क भएको थिएँ । तर यता फर्कंदा त विरामी नै भए पनि सुँ सुँ सुँ गर्दै घर भनौ काठमाडौं आइ पुगिन्छ भनेर जहाजमा पैसा तिर्न नपर्ने प्राप्त सामग्री अझ खाद्यवस्तु पिउने चबाउने थपि थपि खाएको थिएँ । यिनै सब कारणले मेरो शरीर त्यति फूर्तिलो थिएन । नेपालीहरु भन्छन् त्यसै पाए चुक पिउन पनि पछि पर्दैन ।
होटेलबाट झरेर गाडी चढ्न लाग्दा फराकिलो सडकमा उभिन पाइयो । झट्ट आँखा घुमाएर चारैतिर हेरेँ । पहिला नजर उत्तरतर्फ मोडिए छन् । नजिकै होचो पर्वत रहेछ, हाम्रो चुरे अथवा शिवलिव पर्वत जस्तै । फागुन महिना त्यति रुखो त होइन । तर वर्षा कम भएर हो कि, पर्वत सिङरिङ देखिएको थियो । विरालो दौडेको देखिने । त्यस्ता गतिला घाँसिला गाछी पनि देखिएन । सडक व्यस्त थियो । होचा कदका कलकलाउँदा मानिसहरु देखिन्थे सडकमा । कुर्था पाइजामा पातलो पेण्ट सर्ट लगाएका थिए । महिलाहरुको संख्या सडकमा पातलो देखिन्थ्यो । गाडीले दक्षिण दिशातिरको सडक नाप्न थाल्यो । झ्यालबाट चियाएर शहरलाई नियाल्ने प्रयत्न गरँे । तर अर्कातिर पुनः चित्त बुझाए । तीन घण्टा घुमेर त आउनै पर्छ, त्यसपछि यो शहर त छोटो समय घुम्न पाइ हालिन्छ भन्ने लाग्यो र गाडी चाकाचुली खेल्दै अगाडी बढ्दै थियो ।
मानव मस्तिष्कले सम्पूर्ण शरीरलाई सञ्चालन गरेको हुन्छ । मानव मन चञ्चल भइरहन्छ । आफ्नो मुलुकबाट यति टाढा आइएको छ । यस ठाउँमा पुन आउन सम्भव छैन । धन्य किसान संघले यति पनि गरी दियो । समाजमा भन्न सकियो, युरोपिय मुलुक जान नपाए पनि अफ्रिकी मुलुकको भ्रमण त गरेको छु नी मेरा लागि । आत्मगौरव नै लाग्यो ।
यदाकदा मलाई माइतीघर फिल्मको एउटा गीत जसलाई भारतीय गायक मन्नाडेले गाएका थिए “जीवनलाई जीत होइन, हारले स्वागत गरी” भन्ने मजवुन मेरा दिमागमा सलबलाउने गथ्र्यो ।
सडक त्यति व्यस्त नभएर हो कि घुमाउरो सडक भएर हो, गाडीले सडक छिचोलेर दक्षिणको ग्रामीण र प्राकृतिक दृष्टिले मनोरम स्थानतिर लम्कियो । कच्ची सडक थियो । पश्चिम कञ्चनपुर जिल्लाका खेम सुवेदी यात्रा दलका परम मित्र थिए । ठट्टा मजाक पनि हुने गर्र्दथे । यात्रा दलका साथीमध्ये गणेशबहादुर, खेम सुवेदी र मैले शीरको टोपी सुत्ने समय र स्नान गरेको समय बाहेक कत्तिखेर पनि खोलेका थिएनौ । उवडखावड बाटोमा गाडीले थचारिने गर्दथ्यो । शरीर त्यसै शिथिल हुने । बाटो नदी किनारै किनार थियो । सडकमा गदाहा, उँट, डो¥याउँदै ल्याएको देखियो । गदा या कच्चड बलिया देखिन्थे । तर उँट दुब्ला देखिन्थे । खेम सुवेदी र म ऊँट देखेपछि मजाक गर्दै देवी वराललाई जिस्क्याउने गथ्र्यौं । बरालजी जस्तो मजाक पनि पचाउँदथे, सेता दाँत देखाएर मुसुक्क हाँस्तथे । उनको जवाफ त्यही हसाई हुन्थ्यो ।
इथोपियाको एउटा कृषि फर्म हेर्न जाँदा तरहरा, झुम्काका कृषि फर्मको याद आयो । तुलनात्मक अध्ययन गर्नुपर्ने तर, ०२१÷०२२ साल तिर, आफ्नै जिल्लाको कटारी बजारमा ऊँटले सामान ओसारेको आफू पनि ऊँटमा चढेको, ऊँटको दूध उभिएर दुहेको देखेको, उँटको दुध खानु हुँदैन जात जान्छ भनेर बावुले सम्झाएको । तीनबोरा नुन पिठ्यूँमा लादेर त्यैमाथि चार जनासम्म मानिस ऊँटमा चढेको । ऊँट ओरालो झर्न पर्दा, भनौ ओरालो बाटो आउँदा ऊँटको माउतेलाई आफैलै समातेको सम्झना भयो । नूनको बोरा बोकेर उरालो झरेको उँटलाई माउतेले भन्ने गर्दथ्यो ‘धीरे धीरे धीरे’ । कटारी बजारमा त्यसवेला ०२१÷०२२ तिर ट्रक गुड्ने बाटो थिएन । घोडा र ऊँटले नुन, मट्टितेल र अन्य सामग्री ओसार्ने गर्दथे । यताबाट प्राप्त सिनकौली पात, अन्न फलफुल तोरी, फिलुङ्गो, दाल दलिलो, नासपाती, निबुवा, कुनै पनि तरिकाले तराईका बजार लाने गर्दथे । ऊँट र गधाहरुले सामान ओसारपसार गरेको दृश्यले मलाई आज भन्दा ४० वर्षको अघिको नेपाल जस्तै रहेछ कि इथोपिया जस्तो लाग्यो । तर यो देशबारे राम्रो जानकारी भने मलाई थिएन । जानकारी पाउने र लिने उत्सुकता थियो । देवी वरालले हास्तै भने –‘ऊँटको मुत त दवाई हुन्छ रे ।’ एकजना साथीले मजाक गर्दै देवीलाई भन्यो –‘बाबुको वर्ष दिनमा गरिने श्राद्धमा पिण्डदानमा प्रयोग गर्न बोतलमा थापेर लैजाऊ ।’ हामी सबै गलल्ल हाँस्यौ । ती दुईजना इथोपियाई व्यक्ति पनि हाँसे, कुराको चुरो नै नबुझिकन ।
हामीभन्दा पहिला अन्य दुई देशका किसान संघसँग जोडिएका टोलीहरु त्यो कृषि फाराम हेर्न गएका रहेछन् । उनीहरु फर्कने र हामी जाने बाटोमा क्रस भयौं । ती निर्देशकले हात हल्लाए । ती इथोपियारीहरु गमक्क परेर बसेका थिए । तिनीहरुले केही खास्सखुस्स कुरा अंग्रेजीमा प्रेम दंगालसँग गरे । हामीले अरु सदस्यसँग हात मात्र मिलाएका थियौ ।
हामी हिँडेको सडक नदी किनारै किनार खनिएको रहेछ । त्यो नदीलाई प्रारम्ममा मैले आफ्नै पैतृक थलो रुपाटारको यारी खोलासँग तुलना गर्न खोजेँ । तर कताकता नमिले जस्तो भयो । यारी खोला फाँटमा पानी नाम मात्रको हुने गर्दथ्यो । त्यस्तै पछि आफु हाल बसोबास गरेको त्रियुगा उपत्यकामा बग्ने त्रियुगा नदी जस्तो पो हो कि भने, तर त्योसँग झन् तुलना नै गर्न नमिल्ने लाग्यो । यारी खोला सुनकोशीमा मिसिएर बिलिन हुने र त्रियुगा खोला सप्तकोशीमा मिसिएर मिलिन हुने गर्दछ ।
खोटाङ्ग जिल्लाको रावा खोलासँग दाँज्न खोजें । त्योसँग पनि नमिल्ने देखेँ । अन्तिममा कमला नदी जो दोलखाको कुनै सानो जरुवा पानीबाट प्रारम्भ भएर भारतको जयनगर शहर हुँदै गंगा नदीमा विलिन हुन्छ । ठ्याक्कै कमला नदीसँग मिल्ने रहेछ त्यो नदी । त्यसले बगाएर ल्याएका ढुङ्गा पनि कमला नदीका जस्तै साना देखिन्थे । पानी पनि त्यति नै ठूलो बीच बीचमा दह जमेको देखिने । हरियो पानी र साना बाटुला ढुङ्गा देखिन्थे ।
अनौठो लाग्दो जंगल पार गरियो । कहीँ ठूला उब्जाऊ फाँट, खेतजस्तै । ती विशाल फाँट हेर्दा मलाई अचम्म लाग्यो । इथोपियामा किन मानिस गरीव र हरीप छन् त ? खेती गर्न न जानेर, मागी खाने बानी परेर कि अल्छे भएर या खेती गर्ने दक्षता सीप नभएर हामीलाई कुन फारम देखाउन लादैछन् त ? भन्ने चिन्ताले सतायो ।
खेम सुवेदी र देवी वराललाई मैले ती पटाङ्गिनी चौरी देखाउँदै भने –‘यो नदीको पानी र यी वाझा चौ्ररीको सदुपयोग गर्न नसक्ने यी इथोपियायी जनता त विकामे अल्छे छन् क्यार हगी।’
हो, मेरो त यतातिर ध्यानै थिएन । तपाईले ठिक तर्क गर्नु भो भनेर हँसाए खेमले । हामी यात्रा दलका सदस्यहरुमा शुद्ध किसान त ……… पोखरेल नै हो र त कृषिसँग जोडिएका विषयमा उसको दिमागले छापा मार्छ, गणेश खत्रीले भने । सबैको आँखा मेरा शरीर नियाल्नतिर लागे । बुझेर की नबुझेर ती इथोपियाई व्यक्तिले पनि मलाई हेरे । निकै टिठ्याएर म मौन भएर वसे पनि मेरा आँखा बाहिर नै रमण गर्दै थिए ।
ती बाटामा देखिएका पटाङ्गिनी चौरी र नजिकै बगिरहेको विशाल आकारको नदी हेर्दा यहाँको राज्यव्यवस्था र जनताहरुलाई कृषि व्यवसाय गर्न प्रोत्साहित गरेको छैन र नै जनता मागी खान वानी परेका रहेछन् भन्ने लाग्योे ।
हामी हेर्न गएको कृषि फर्म कस्तो चाहिँ होला भन्ने उत्सुकता खुल्दुली भइरह्यो । अदिस अवावाबाट हिँडेको त्यस्तै पौने दुई घण्टामा हामी प्रवेश गर्ने द्वारमा नै तीनवटी महिला र पाँच पुरुष हाम्रो बाटो हेर्दै स्वागतार्थ बसेका रहेछन् । ओँठ फर्केका हामीलाई देखे पछि के बोले भाषा नजानेकाले केही बुझिएन । ती बोल्ने महिलाहरु भने प्रफुल्लित अनुहारमा थिए । पुरुषहरुले हामीसँग हात मिलाए । हाम्रो अगुवाई गर्दै फर्मतर्फ हिँडाए । कृषि फर्म हेर्दा मलाई बैराग लाग्यो । अरु साथीहरुले कसरी बुझे जानकारी भएन । देवी बराल र खेमलाई मैले उत्तिखेर भने, इथोपिया नामको विश्व मानचित्रमा अंकित देशका वासिन्दा यो एकाइसौ शताब्दीमा पनि दास र दरिद्र रहेछन् भन्ने लाग्यो । यहाँको कानुन नियम बनाउने व्यक्ति र विधायिकालाई मानौ जनताको जीवन र देशको भूगोल नै थाहा छैन ।
हाम्रो देश विपरित दिशामा अवस्थित भए पनि गहुँका बाला झुल्दो थिए । अरु वालीमा, रामझिगनी एक बित्ताको भएका थिए । क्यारी बनाएर रोपेको प्याजका विरुवामा पानी पटाएको थिएन । लसुनका विरुवा किक्रिक्क थिए । लगभग तीस विघा जति जमिनमा थियो होला । फाँटमा कर्मचारी कति थिए, जानकारी प्राप्त गर्न सकिएन । सागसब्जी त्यहाँको स्थानीय उपज लगाउन जमिन जोडतोड गरिंदै थियो । राज्यले लगानी लगाए अनुसार काम नभएको हो कि, राज्यले लगानी नै लगाउन कन्जुस्याई गरेको हो मैले बुझ्न सकिनँ । बलैले हामी त्यहाँ तीस मिनेट बस्यौ । फर्मको मैदानमा केही पोलिथिन पाइपहरु थुपारिएका थिए । हाते कल जो हाम्रो तराईतिर प्रयोग गरिन्छ त्यहाँ कतै देखिएन । पानीका साना साना पाइपहरु खेतमा जोडिराखेका थिए । गहँु, धान दाउनी गर्ने खलो सिमेन्टेड गरेको थियो । माटोले पाउनु पर्ने खादा मल र विकसित वीउ विजन र उचित सिचाई नपाएर हो कि, माटै खराव हो या उचितै मौसम अनुसारको मिहनेत नपुगेको हो, बुझ्न सकिएन । नजानेले सोध्ने पनि कसरी भन्ने भयो । चासो पनि राखिएन ।
एक जमानमा हाम्रा गाउँघरतिर भन्ने गर्दथे “मुखियाको काम, कहिले जाला घाम ।” मुखियाको वेठी खाई मेटी आदि उखान ती कृषि फर्ममा काम गर्ने कर्मचारीलाई ठ्याक्कै मिल्ने रहेछ । केहीक्षण हामी देवी वराल र खेम सुवेदीसँग हिड्यौ यहाँको टिका टिप्पणी गर्दै ।
अदिस अवावा फर्कंदा बाटोमा त्यै गाडीमा चढेर, उही सीटमा आइयो । आँखा तिनै चौरीमा पुगे । काम गरेर नखाने अनिकाले र अल्छे देश रहेछ इथोपियामा भन्ने लाग्यो ।
यो देशबाट पनि कमाउन युवा युवतीहरु विदेशिएका होलान् भन्ने सोचे । हाम्रो देशका युवाहरुले सडकमा निस्केर राज्य सरकारलाई भने “हामी श्रम वेच्न तयार छौँ” । हाम्रो श्रम किन, हामीलाई श्रम बेचे वापत गुजारा गर्न थोरै रकम देउ । तर राज्यले सुनेन, श्रम किन्न सकेन । श्रम बेच्न हाम्रा देशका युवाहरु विदेशिएका छन् । यो इथोपियामा पनि यस्तै होला भन्ने अर्थ लगाएँ । अरुलाई भन्ने मौका पर्खिनँ ।
बाटोमा आउँदा एउटा सानो बजारमा गाडी रोकियो । केही महिलाहरु पाकेका केरा विक्री गर्दै थिए । यहाँको सस्तो फल केरा रहेछ जस्तो लाग्यो ।
एकजना व्यक्तिले बताए – केराको पिठो किन्छौ ? अचम्म लाग्यो केराको पिठो भन्दा । त्यहाँको भाषा जान्नेले यसबारे यथार्थ बुझेर हामीलाई बताए । केरा त त्यस मुलुकमा प्रशस्त पाइन्छ, लगाइन्छ । केराको गानु, पात गाभो काँचो कोसा आदिलाई कुटेर सुकाएर केही अन्य अनाजको हालेर पिठो बनाइन्छ र त्यसको रोटी र पानी डल्ला बनाएर खाइन्छ । अझ कुनै दलिय सामग्रीमा साना डल्ला हालेर उमालेर खाइन्छ । यहाँ त्यस्तो सामाग्री बनाएर खाने चलन छ भनेर बताए । पत्यार नलागे पनि टाउको हल्लाइयो ।
त्यो सानो बजारमा हामी केही क्षण बस्यौं । केरा किनेर खायौं । डलर भजाउन निकै कठिन प¥यो । हामीलाई कृषिमा लैजाने व्यक्तिले नै व्यवस्था मिलायो । पछि फिर्ता गर्ने शर्तमा । त्यो सानो बजारबाट देव्रेतिर उकालो लागेपछि । एउटा निकै बाक्लो गाउँ रहेछ । साना झुप्रा घर देखिएका थिए । त्यै बजारबाट २०÷३० लिटरका जर्किनमा लगभग १४÷१५ जना महिला पानी बोकेर उकालिंदै थिए । पानी बोकेर उकालिएका महिलाहरुको ताती देखियो । इथोपियाका ग्रामीण इलाका खानेपानी, स्वास्थ्य उपचार, शिक्षा र खानपानको व्यवस्था उचित रुपमा हुन नसकेका कारण दरिद्र जीवन विताउन यहाँका जनता वाध्य छन् भन्ने पो दर्शियो ।
लगभग दिनको १२ बजेतिर हामी बसेको होटेल आइपुग्यौ । खाना खाएर अदिसअवावा शहर घुम्न निस्कियौ । होटेलमा खानपानमा वफे सिष्टम भए पनि विहान खाजा खाँदा देखिएको गोरुको मासुका चोक्टाले दिनभरी थुकथुकी लागिरह्यो । दीङदिङ लागेर मुखबाट उलुक उलुक पानी आइरह्यो । मालीमा बसुन्जेल पनि यस्तै भएको थियो । त्यै प्रक्रिया यहाँ पनि दोहोरियो । सबै साथीहरु त्यस दिन दिक्दार थिए । अप्ठ्यारो बाटो गाडीमा हतारले गइयो र हतारले नै आइयो । शरीर शिथिल भएको थियो । सडकको धुलोले रुघा लगाएको थियो ।
साँझको ५ बजे हामीले विमानस्थल छिर्नु थियो । झण्डै ४ घण्टा समय इथोपियाको राजधानी अदिसअवावा शहरमा घुम्ने मौका प्राप्त भयो हामीलाई । हामी १३ जनामध्ये चारजना महिला थिए । बहिनी रामकुमारी झाँक्री पेन्ट शर्टमा थिइन । उनी आकर्षणको केन्द्र हुन् सकिनन् । तर हाम्रा अन्य तीनजना पाका महिला सीता पौडेल, माया के.सी. र अर्काे एकजना काठमाडौ निवासी शाक्य थरकी महिला थिइन् । उनीहरुले सारी चोलो लगाएका थिए । शहरमा हिड्ने जो कोही महिला र पुरुषको नजर ती हाम्रा महिलाले लगाएको पोशाकमा केन्द्रित भएको थियो । हामी टोली बनाएर डुल्यौ । सर्वप्रथम बसपार्क गयौ । देवी, खेम र मेरो एक टोली थियो । बसपार्क हेर्दा निकै ठूलो विशाल आकारको देखियो । ठूला बसभन्दा मझौला खाले बस धेरै थिए । मानिसहरुको भीड प्रशस्त थियो । शहर भरीको जति चोक, सडक हामी घुम्यौ भेटिएका मानिसहरु कोही पनि अग्ला र गोरा थिएनन् । होचा र कल्साउँदा भेटिए । भवनहरु विशाल आकारका थिए । साना टहरे घर पनि उत्तिकै थिए । त्यस शहरमा पाँचतले सम्म घर छ भन्दथे । विशाल आकारका आलीशान भवनका बीच साना भुइँघरहरु पनि छन्, कुनै गरिव व्यक्तिका होलान् । गरिव मुलुकको विशेषता नै यस्तै रहेछ जस्तो लाग्यो ।
सडक फराकिला नै थिए । शहरमा हिड्दै गरेका मानिसहरुको गरिवी देख्ता ती घरहरु विदेशीले बनाइदिएका हुन् कि भन्ने शंका गर्ने ठाउँ थियो । रेल्वे लाइन पनि हेरियो । शहरबाट केही पर दक्षिण दिशा जानुपर्दो रहेछ, स्टेशन पुग्न । रेलले धुवाँ उडाएको त देखियो । तर प्लेटफर्ममा चाहीँ पुग्न सकिएन ।
अन्तर्राष्ट्रिय बालबालिका र महिलाहरुको हितका निम्ति गठित संस्था युनिसेफको कार्यालय देखियो । कहालीलाग्दो गरिवीले गाँजेको भोका नाङ्गा मान्छेको ताँती । माग्ने उस्तै । हाम्रो देशमा प्रचलनमा ल्याइएको सिलवरे बटुका हातमा लिएर माग्न हिँडेका, केटाकेटी सडकमा थुप्रै देखिएका थिए ।
हाम्रा लागि चाखलाग्दो नौलो दृश्य चाहिँ के देखियो भने घुँडासम्म मैला सस्ता कपडा लगाएका १५÷२० वर्षका तरुणी केटीहरु कोही काँधमा र कोहि काखमा नानी चेपेका, कोही रित्तै सामान्य सस्ता कपडाले छाति छोपेका केटीहरु सडकमा देखिए । त्यहाँ उनीहरु ओन डलर ! ओन डलर ! ओन डलर ! भन्दै हात पसार्दै सडकमा हिडेका व्यक्तिसँग माग्दै हिडेका देखियो । ती केटीहरु दुब्ला पातला, कुपोषणलेग्रस्त – दयालाग्दा देखिन्थे ।
मेरो मनमा लाग्यो – विश्वका कुनै पनि देशमा समानता छैन, अन्याय छ । शोषण छ । माक्र्सवादी दर्शनमा आधारित भएर गठन भएका कम्युनिष्ट पार्टीहरुले जतिसुकै समानताका नारा दिए पनि ती नारा खोक्रा मात्र भए र छन् । असान्दर्भिक । शोषणको चपेटामा जनता नपरेको मुुलुक कुनै छैन भन्नेजस्तो लाग्यो मलाई ।
बालबालिकाहरु प्रत्येक साल कुपोषणले कति प्रतिशत मृत्युवरण गर्दा हुन् ? उमेर पुगेका महिलाहरु पेट पाल्नको निम्ति खुल्ला यौन प्रदर्शन गर्दै शहरलाई कुरुप पारेका छन् । प्रतिवर्ष खतरनाक रोग एड्स लागेर कति महिला रपुरुषले मृत्युवरण गर्दा हुन् ? अन्तर्राष्ट्रिय मञ्चमा सरकारका प्रतिनिधि के जवाफ दिँदा हुन् ? यो देशको साक्षरता कति प्रतिशत होला ? गरिवी त ४०% भन्दा बढी होला । मेरो एकदिनको बुझाईमा ७÷८ प्रतिशत मान्छे त खान नपाएर भात भात भन्दै मर्दा हुन् भन्ने अन्दाज लगाएँ ।
हाम्रो मुलुकमा सामान्य यौन धन्दामा लागेका वादी जातिका महिलाको कारण हामी अपमान महसुस गर्दछौ र यी वादी जातिका महिलालाई त्यसले गलत र घृणित कष्टकर स्थितिबाट मुक्त गर्न राज्य र नागरिक समाज कठोर मिहनेतपूर्वक लागेका छन् । तर यो मुलुकको राज्यव्यवस्था यस्तो कुरुप र घृणित कामलाई प्रोत्साहन गर्दैछ कि जस्तो लाग्दोे छ । मैले साथीहरुलाई भने यहाँका होटेल त शायद यिनै वेश्यावृति गर्ने महिलाले भरिएका होलान् ! यो देश त खतम रहेछ । विशाल चौर बाझै छ । कुनै उपकरणमार्फत उब्जनी गरेको देखिदैन । गरिवीले जनता थिलथिलो छन् । भोकै मर्दैछन् । यसको निपटारा गर्न राज्य सक्षम छैन भन्ने देखियो ।
फागुन महिनाका दिन । दिन लम्विने क्रममा थिए । हामी विपरीत गोलाद्र्धमा भए पनि दिन उस्तै उस्तै लागे । सूर्य अस्ताचलमा थिए । पश्चिमी किनारतिर सडक व्यस्तै थियो । इथोपियाको राजधानी अदिस अवावाले मेरो मानसिकतामा खासै आकर्षण दिन सकेन । मेरो मूल्यांकनमा यो भोका नाङ्गा र दरिद्रहरुको मुुलुक रहेछ जस्तो लाग्यो । त्यस्तै यहाँका जनता अल्छे रहेछन् जस्तो भान भयो ।
हामी विमानस्थलमा छिर्दा ठीक ४ बजेर तीस मिनेट गएको थियो । चीनका लागि उड्ने जहाज चढ्न पोका पन्तुरा, झिटीझाम्टा चेपेर टिकट हातमा लिएर यात्रीहरु दौडदै थिए । हाम्रो जहाज आउन पनि ढिलै भयो । विमानस्थलमा हामी घुम्दै थियौ । बोर्डिङ पास भर्ने काम बाँकी थियो । घुम्दै गर्दा ५÷६ जना नेपाली युवा भेटिए । जो अनुहारले प्रष्ट चिनिन्थ्यो । किसान पोशाकमा नयाँपन झल्कन्थ्यो । पैसा कमाएर मातिएका जस्ता लाग्दथे । हामी अखिल नेपाल किसान संघका नेताहरु विदेश घुमेर आएका र यो इथोपियाको एउटा ग्रामीण क्षेत्रको कृषि फर्मको निरीक्षण गर्न गएका थियौं । यो दरिद्र मुलुकको जनताको मायालाग्दो अनुहार अविकसित अवस्था र कुरुप दृश्यलाई हेरेर दिक्क लागेको थियौ ।
हामी यात्रा दलका व्यक्तिसँग परिचय साट्ने हिसाबले ती नेपाली युवाहरु आकर्षित हुँदै हामी उभिएका स्थानमा आए । एयरपोर्टमा धेरै काला जातिका मानिसहरु देखिन्थे । केही दारीवाल मुसलमानहरु जो त्यहाँको उपस्थितिमा अशोभानीय र अग्ला भएर उभिएका थिए । ती कुन देशका थिए सोधपुछ गर्ने हिम्मत हामीलाई भएन । उनीहरुको उचाई र शरीरमा लगाएको पोशाकतिर ध्यान नजाने शायद कोही व्यक्ति नै हुँदैन होला जस्तो लाग्यो । सबैजसोले सुकिला कुर्था पाइजामा लगाएका थिए । आकर्षक जुत्ता भिरेका थिए ।
नेपाली युवाहरुसँग परिचय गर्ने क्रममा पूर्व – इलाम र पश्चिम धादिङका समेत युवा रहेछन् । विभिन्न पेशामा संलग्न अझै खास गरेर व्यापार गर्दा रहेछन् । दिल्ली र आदिस अवावा उनीहरुका लागि पानी पँधेरो जस्तै रहेछ । लगभग तीन वर्ष जति भएको रहेछ ती व्यक्ति यहाँ बसेको । नुवाकोटका एकजना ज्यान परेका तामाङ भाई थिए । धादिङका वुर्लाकोटी थरका व्यक्ति थिए । इलामका गुरुङ युवा थिए । धनकुटाका एकजना वस्ती थरका व्यक्ति थिए । सम्पत्ति कमाउने सवालमा को कति सिपालु छ थाहा भएन । तर मौखिक कुराकानी हुँदा अदिस अवावाबारे र अझ इथोपिया मुुलुकको बारेमा विशेष जानकारी भने ती धनकुटे भाइलाई रहेछ ।
उनले यो देशका ठूला शहरहरुको नाम सुनाए । पर्यटकीय क्षेत्रको नाम बताए । गरिवी र असमानताबारे जानकारी गराए । इथोपिया धेरै लामो इतिहास भएको मुलुक हो भनेर ज्ञान दिए ।
विश्वमा मानव जातिको इतिहास यहाँबाट फैलिएको भन्ने थाहा पायौं । प्रथम मानवको आकृति यही छ । अझै पनि सुरक्षित रहेका थाहा पाइयो ।
हामी नेपाली टोलीका सबै सदस्यलाई ती युवाहरुले मिठो कफि पिलाए । फोटो खिचे । वातचितकै दौरानमा पत्याउन पनि सकिने वा पत्याउन पनि नसकिने, नौलो भनौ या पुरानो भनौ अनुसन्धानमूलक तथ्यगत कुरा सुनाए । यो एउटा खोज र अनुसन्धानमुलक कुरा थियो । आजसम्म कतै कुनै दैनिक, साप्ताहिक, मासिक पत्रिका र साहित्य र इतिहासका पुस्तकमा पढेको र कसैको मुखबाट सुनेको कुरा थिएन । किसान संघको यात्राले थुप्रै कुरा थाहा भयो । यो मेरा लागि नितान्त नौलो र खोजमूलक र अचम्मित घटना सुनाए ति नेपाली साथीहरुले ।
ती धनकुटेली साथीले हाँस्तै उसले देखेको नाङ्गो वस्तीको वारेमा भन्न प्रारम्भ ग¥यो । उसका अरु साथीहरुले आँखाको भाकाले न भन त्यो फोहोरी कुराहरु रोक्न खोज्दै थिए । इलामका साथी भन्न दिन मानिरहेको थिएन ।
इथोपियाको एउटा ग्रामीण क्षेत्रमा भुरसी भन्ने कालो जाति छ रे । त्यो जातिका बालक उमेर पुगेका र वूढा महिला पुरुष नाङ्गै बस्तछन् रे । महिलाहरुले गुप्ताङ्ग मात्र छोप्ने धरो वेर्छन रे । माथिका स्तन खुल्ला राख्तछन् रे । पुरुषहरु पुरा शरीर नाङ्गै बस्तछन् रे । कस्तो अचम्म । अरु देशका पर्यटकहरु त्यै दृश्य हेर्न पैसा तिरेर टिकट काटेर बाक्लै त्यहाँ जान्छ रे, भनेर सुनाए । ती नाङ्गा मानिसहरु घरमा बस्दा मात्र नाङ्गै बस्ने होइन, हाट बजार पनि जान्छ रे भन्ने कुरा सुनेपछि हामी पेट मिचिमिचि हास्यौँ ।
तपाईहरु त्यहाँ जानु भो त ? मेरो प्रश्न थियो । उनीहरुले प्रफुल्ल मुद्रामा भने – एकपल्ट होइन, पाँचौ पटक गइयो । तपाईहरुलाई के ढाँट्नु । हामी सबै हाँस्यौ । हाम्रो इथोपियाको यात्रा राजकीय साहित्यिक भएको भए यात्राको समय लम्ब्याएर हामी पनि जाने थियौ होला त्यहाँ । तर अफशोच हामी किसान संघसँग जोडिएका यात्री भएकाले कृषि फर्म मात्र हेर्न पायौ । त्यै साँझ हामी दिल्लीतिर रमाना हुनु थियो । हाम्रो टोलीका प्रत्येक सदस्यलाई त्यो नौलो प्रकृतिको उपहारको रुपमा रहेको ठाउँ हेर्न उत्सुकता भने थियो । तर उत्सुकता नै मात्र रह्यो पूरा भएन । कानले सुन्यौ मात्र ।