सफल उघोग व्यवसायी भएर पनि साहित्यमा केही न केही लेखिरहन र केही गरिरहन रुचाउने घनश्याम राजकर्णिकार यात्रावृत्तको साहित्यिक क्षितिजमा उल्लेख गर्नुपर्ने एउटा नाम हो । धेरै मान्छेहरु आफ्नो सम्पन्नतामा मख्ख पर्छन्, भौतिक प्रवलतामा आफूलाई संभ्रान्त सम्झिरहन्छन् र जीवन–जगत्मा आफ्नो उदयलाई सार्थक र सफल भयो भनी मस्त हुन्छन् । तर थोरै मात्र मान्छेहरु भौतिक सुख–सयललाई एकातिर पन्छाएर बुद्ध जस्तै सानो बुद्ध हुन निकै कठिनतम प्रयास गर्छन् । समाजमा केही गरेर वा साहित्यिक चिन्तनहरु लिपिवद्ध गरेर अथवा केही गर्नेलाई केही न केही सहयोग गरेर बाँच्न खोज्नेहरु जो जस्तै हुन् केही नगर्ने लोभीहरुभन्दा निकै महान् छन् । उनीहरुलाई हामीले रुचाइदिनुपर्छ । राजकर्णिकारको नाम पनि यस्तै केही गर्ने, सोच्ने र लेख्ने कोटीमा अवश्य पर्दछ ।
घनश्याम राजकर्णिकारका निबन्धहरु, यात्रा–वृत्तान्तहरु निकै रोचक र बोधगम्य छन् । सरल ढङ्गले आफ्ना अनुभूति पोख्न सिपालु उनले आफ्नो यात्रा साहित्यमा विदेशको वर्णन रमाइलो ढङ्गले पोखेका छन् । यिनका निबन्ध तथा संस्मरणहरुमा जिज्ञासापूर्ण भावसंयोग, भावपूर्ण तार्किकता, रोचक विषयवस्तुको प्रस्तुति र जीवन्तता पाइन्छ । भाषा सरल हुनु, शैलीमा रमणीयता रहनु, अभिव्यक्तिमा गहनता लुक्नु नै उनको लेखनशैलीको विशेषता हो भन्नुपर्दछ । यात्रा–क्रममा देखे–भोगेका, पाए–बटुलेका अनुभव, छाप तथा भाव–भावनाहरु नै उनका संस्मरणात्मक निबन्धहरु हुन् । यस्तै खालका निबन्ध र संस्मरण लेख्न रुचाउने राजकर्णिकारका हालसम्म प्रकाशित कृतिहरुमा केही चिन्तन केही मन्थन (कथा, एकाङ्की, यात्रा संस्मरण, प्रेरणा साहित्य, आर्थिक (लेखसङ्ग्रह–२०३५), विदेशको यात्रा स्वदेशको सम्झना (नियात्रा–२०३७), देश प्रदेशको भ्रमण : केही संस्मरण (यात्रा विवरण–२०४५), सम्झनाको लहरमा लहरिँदै जाँदा (संस्मरण–२०५२), पवित्र सम्झना आमाको (संस्मरण, २०५५) बौद्ध तीर्थयात्रा : नालन्दादेखि लुम्बिनीसम्म (नियात्रा–२०६०), गजराज राजकर्णिकारको वंशावली (अनुसन्धान–२०६१), अनुभव र अभिव्यक्तिमा घनश्याम राजकर्णिकार (अन्तर्वार्ता–२०६२), बुद्ध ज्योतिका केही रश्मि (निबन्धसङ्ग्रह–२०६४), यात्रा अमेरिकाको माया नेपालको (नियात्रा–२०६९) छन् । साथै बुद्ध सम्बन्धमा विद्वान् लेखकहरुका लेख–रचना सङ्ग्रह गरी उनले बुद्धको सम्झना कल्याणको कामना नामक पुस्तकको २०३९ सालमा सम्पादन पनि गरेका छन् ।वि.सं. १९९८ माघ ३ गते पिता कृष्णबहादुर राजकर्णिकार र माता प्राणमायाको कोखबाट जन्मेका घनश्यामले अर्थशास्त्रमा एम.ए. उत्तीर्ण गर्नुका साथै केही वर्ष पश्चिम जर्मनीमा रही जर्मन भाषा सिकी व्यावहारिक शिक्षामा उच्च शिक्षा पनि प्राप्त गरेका थिए । उद्योग–व्यवसायमा संलग्न भई सेवा पुर्याइसकेपछि उनले युरोपका थुप्रै देशहरुमा र एसियाका जापान, कोरिया, थाइल्याण्ड, हङकङको भ्रमण गरिसकेका छन् ।
वि.सं. २०४२ सालमा रत्नश्री स्वर्णपदक प्राप्त गरिसकेका राजकर्णिकारले पछिल्लोपल्ट थुप्रै साहित्यिक संघ–संस्थाबाट पुरस्कृत र सम्मानित भएका छन् । महाकवि देवकोटा पुरस्कार र समी साहित्य साधना सम्मानले यिनी २०७१ र २०७३ मा सम्मानित हुनाका साथै रु. १ लाख रकम पुरस्कार पनि प्राप्त गरेका छन् । उनले साहित्यको उद्देश्य सम्बन्धमा आफ्नो विचार यसरी व्यक्त गरेका छन् –‘साहित्यको लक्ष्य शाश्वतलाई अँगाली जीवनको रमाइलो तथा अन्धकार दुवै पक्षप्रति सजक भई समाजलाई अन्धकारबाट उज्यालोतिर लग्नु हो । यसैले उसको कार्य कुनै सीमित पक्ष, सीमित वाद तथा सीमित सिद्धान्तमा केन्द्रित भएको देखिँदैन । साहित्य–सिर्जना गर्नु भनेको संकीर्णताको घेराबाट फुत्केर स्वच्छन्द तरिकाले जीवन–जगत्का विभिन्न पक्षमा विचरण गरी आफ्नो केही सन्देश विचारधारा वा दृष्टिकोण प्रस्तुत गर्नु हो । उद्योग व्यवसायमा संलग्न भई साहित्य सिर्जना र सेवामा आफूले सक्दो योगदान पुर्याउँदै आएका घनश्याम राजकर्णिकार साहित्यमा नयाँ किसिमको सिर्जना र क्रियाकलाप चाहिन्छ भन्छन् । विशेषगरी निबन्ध, यात्रा–वर्णन, संस्मरण पढ्न र लेख्न रुचाउने घनश्याम राजकर्णिकारका लागि नेपाली निबन्धकारहरुमा कमलमणि दीक्षित, मदनमणि दीक्षित, माधवलाल कर्माचार्य, डा. तारानाथ शर्मा, कृष्णचन्द्रसिंह प्रधान, गोविन्द भट्ट आदि आफूलाई मनपर्ने बताउँछन् । उनलाई मनपर्ने दिवंगत स्रष्टाहरुमा बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, लीलाध्वज थापा हुन् । केदारमान व्यथित र दिनेश अधिकारीका कविताहरु मन पराउने घनश्यामले नेपाली रामायण खूब चाख राखेर अध्ययन गरेको कुरो बताउने गर्छन् ।
आफूले प्रत्यक्ष देखेभोगेका कथा अनुभूत गरेका कुराहरुलाई सरल तथा यथार्थपरक रुपमा पाठकसमक्ष प्रस्तुत गर्न साहित्य सिर्जना गर्ने राजकर्णिकार सिधा स्वभावका, थोरै मात्र बोल्न रुचाउने व्यक्तित्वमा पर्छन् । घनश्याम राजकर्णिकारले साहित्यको परिभाषामा आफ्नो विचार यसरी व्यक्त गरेका छन् –‘जनसाधारणका लागि उनीहरुलाई नै दृष्टिगत गरी लेखिने दु:ख, सुखका बोधहरुलाई कलात्मक तरिकाले अभिव्यक्ति दिने माध्यम साहित्य हो ।’ उक्त भनाइले घनश्याम राजकर्णिकारको साहित्यिक चिन्तन ठम्याउन सजिलो पर्छ । देखेका, भोगेका क्रमहरु समेट्दै लग्ने चिन्तनले नै उनलाई साहित्यकार बनायो । घनश्यामका यात्रावृत्तान्तहरुमा पनि शिल्प र कलाको समन्वय विषयवस्तुमा हुँदै गएको पाइन्छ । कुनै पनि लेखकले समाज र देशलाई कल्पनाको संसारमा पाठकलाई नडोर्याएर वास्तविक जीवनसँग साक्षात्कार गराइदिनुपर्छ । यही कटु सत्यलाई उनले आफ्नो यात्रा साहित्यमा समेट्न खोजेका छन् । यी नै उनका आफ्नो मौलिक पहिचान र विशेषता पनि हुन् । यात्रा साहित्यका एउटा सुपरिचित नाम घनश्याम राजकर्णिकारले प्रेम भनेको पवित्र आत्माबाट स्फुरण हुने स्वच्छ भावनाको अभिव्यक्ति हो भनेर प्रेमको परिभाषा गरेका छन् । प्रेमलाई स्वच्छ भावनाको अभिव्यक्ति बनाउन नसकेसम्म मान्छेहरु महान् हुनै सक्दैन । मान्छेको आधार भनेको प्रेम हो । प्रेमलाई जीवन्तता प्रदान गरिदिनुपर्छं भन्ने उनको आशयले उनको उदारता र महानता स्फूरण हुन्छ । प्रेमलाई मान्छेले हुर्काउनु पर्छ । प्रेमलाई सदासयतामा झुल्न दिनुपर्छ । प्रेमकै पर्यायवाची रुप हो मान्छे भन्न रुचाउने उनले मान्छेको परिभाषामा यसरी अथ्र्याए –‘सृष्टिको निकै उच्चतम प्रादुर्भावको रुप हो मान्छे ।’ मान्छेकै खोजीमा मान्छेहरु लाग्छन् । उनी पनि सही मान्छेको खोजीमा तल्लीन छन् । मान्छेलाई सुन्दर, सौन्दर्यपूर्ण, सत्यवादी र मान्छेकै लागि बनाइदिनुपर्छ भन्ने उनी साहित्यिक, सामाजिक, औद्योगिक सबै क्षेत्रमा रचनात्मक योगदान दिने इच्छा व्यक्त गर्छन् । समाज र देशको लागि केही भलाई नहुने कार्य गर्नुहुन्न भन्ने राजकर्णिकार अहिलेभन्दा बलियो ढङ्गले समाज, देश र जनताकै लागि पनि केही गर्न सकोस् – मान्छेकै भलाइका लागि उनको यात्रा निरन्तर बढिरहोस् ।