तिम्रो नाममा लेखिएका चिठ्ठीहरु पठाउनलाई
हुलाकघरहरु हराउँदै गएसँगै
आजभोलि —
रनभूल्लमा छन् मेरा भावनाका उडानहरु
आफै न्यास्रिन थालेका छन् बन्द खामभित्र
सन्चो बिसन्चोका भलाकुसारी ।
सहरका प्रत्येक चोक अनि गल्ली चहार्दा पनि
नभेटिएपछि एउटै पत्रमञ्जूषा
आजित म —
फर्किएर चुपचाप
खसाल्छु सबै चिठीहरु
जतनसाथ आफ्नै हृदयको सुरक्षित पोष्टबक्समा
जहाँ —
तिमीले डेरा जमाएर ताल्चा मारिगएको पनि
वर्षौँ भइसकेको छ ।