गण्डकी प्रदेशमा पर्ने पर्वत जिल्ला भौगोलिक दृष्टिले सानो भए पनि पौराणिक र ऐतिहासिक महत्व जनाउने भूगोल हो । यस जिल्लामा प्राचीन समयदेखि प्रचलित बनेको महोदधिको लोककथा, शिव र पार्वतीको वासस्थान जनाउने कालञ्जर क्षेत्रसँग सम्बन्धित अनेक लोकगाथा प्रयोगमा रहेको पाइन्छ । यस जिल्लामा इतिहास, धर्मग्रन्थ, पुराण, ज्योतिष आदि विषयका हस्तलिखित ग्रन्थहरु प्राप्त भएको र राजा मलेबमका पालादेखि नेपाली साहित्यको लेखन प्रारम्भ भएको पाइन्छ । नेपाली साहित्यको आधुनिककाल प्रारम्भ भएको समयदेखि पर्वत जिल्लाका सर्जकहरुले कृति प्रकाशन गर्न थालेको हुनाले साहित्यका सबै विधामा यस जिल्लाको योगदान रहेको छ ।)
पर्वत जिल्लाको भौगोलिक परिचय
गण्डकी प्रदेशअन्तर्गत पर्ने पर्वत जिल्ला पूर्वमा कास्की र स्याङ्जा, पश्चिममा बागलुङ र म्याग्दीको केही भाग, उत्तरमा म्याग्दी र दक्षिणमा स्याङ्जा र गुल्मीको केही भागसँग जोडिएको ५३६.८६ वर्ग किमिमा फैलिएको भूभाग हो । यस जिल्लामा दुई नगरपालिका र पाँचवटा गाउँपालिका रहेका छन् । समुद्र सतहदेखि ४५० मिटर उचाइ भएको सेतीवेणी र ३३०९ मिटर उचाइ भएको कालञ्जरको धुरी पर्छन् । समशीतोष्ण हावापानी पाइने यो जिल्ला समथर, भिरालो पहाडी बनोटमा आधारित छ (भुषाल (सम्पा.),२०५८ः२) । समग्रमा मानवका लागि बसोबास गर्न योग्य भएको भौगोलिक स्वरुप यस जिल्लाको पहिचान हो ।
पर्वत जिल्लामा मानव बसोबासको पौराणिक तथा ऐतिहासिक तथ्य
यस जिल्लामा प्राचीन इतिहास झल्काउने गरी पौराणिक समयमा उल्लेख भएका अनेकन् टाकुराहरु छन्, जसलाई पर्वतमालाका रुपमा लिइएको छ । श्रीमद्भागवत महापुराण पञ्चम स्कन्ध, अध्याय सोह्र, श्लोक छब्बीसमा कमलको चारैतिर जसरी पातहरुले मूलभागलाई घेरेका हुन्छन् । त्यस्तैगरी मेरु पर्वतको चारैतिर कुरङ्ग, कुरर, कुसुम्भ, बैकङ्क, त्रिकूट, शिशिर, पतङ्ग, रुचक, निषध, शिनीवास, कपिल, शङ्ख, वैदूर्य, जारुधि, हंस, ऋषभ, नाग, कालञ्जर, र नारद गरी बीस पर्वतले शिववासभूमि बनेको मेरुलाई घेरेका छन् । यसअन्तर्गत कालञ्जर पर्वत पौराणिक इतिहास प्रमाणित गर्ने सन्दर्भ बनेको छ । यस जिल्लामा शिव र पार्वतीको बसोबास भएको उल्लेख गरिएको हुनाले जलजला क्षेत्रको भूगोललाई शिवपुरी क्षेत्र भनिएको छ (पौड्याल, २०७६ ः ७) । मानिएको पातीखोलाको शिर भएको ठाउँमा लेस्पार, क्याङ, शालिजा, तारे, थावन, देउराली, देउपुर आदि ठाउँमा बसोबास गर्ने मानिसहरुले वर्तमान समयसम्म पनि शिवपुरी स्वीकार गरिएको ठाउँबाट घाँस, दाउरा, खर, काठजस्ता सामग्री ल्याउँदैनन् । निश्चित सीमाङ्कन गरिएको ठाउँबाट वनपैदावार नल्याउने काम कहिलेदेखि भएको हो ? भन्ने विषयमा यस क्षेत्रका मानिसहरु जानकार छैनन् । शिवपुरी क्षेत्र मानिएको परिवेशमा बसोबास गर्ने मानिसहरुको सामूहिक स्वीकारोक्ति के रहेको छ भने उहिले देवताका पालादेखि यसलाई तपोभूमि मानिएको छ । तपोभूमिबाट वन्य उत्पादनका वस्तु ल्याउन नहुने परम्परादेखि चलन चलिआएको हो । यसलाई हामीले पनि मानेका छौं (पौड्याल, २०७६ ः ९) । यसैले काठमाडौंमा खेतबारीमा कामका लागि शिवको वाहन गोरु (नन्दी) को उपयोग गरिएको छैन भने शिवपुरी क्षेत्रमा शिवको तपस्या स्थल मानिएको हुनाले तपस्यारत शिवको ध्यानभङ्ग नगर्न जङ्गलको उपयोग गरिएको छैन । शिवको तपस्यास्थल मानिएको प्राचीनता जनाउने पवित्र स्थान पर्वत जिल्लामा पर्छ ।
आनन्द बमले वि.सं. १४९३ मा शिलान्यास गरेको पर्वत राज्य उनका नाति डिम्ब बमका पालामा प्रशस्त विस्तार गरियो । चार हजार पर्वत भनेर चिनिने आनन्द बमको राज्य डिम्बबमका पालामा बीस हजार पर्वत भनिन थालियो । डिम्ब बमका नाति प्रतापीनारायणले बीस हजार पर्वत राज्य आफ्ना तीन भाई छोराहरुलाई कास्की, गल्कोट र पर्वतमा अंशबन्डा गरिदिए । बाँकी रहेको भूखण्डलाई सोह्र हजार पर्वत भनियो (बानियाँ, २०६२ ः ६—७) । पर्वत जिल्लाको पाङ, ज्ञादी, कुश्मा, बिहादी, राम्जा, फलेवास, लुङ्खु, त्रिवेणी, सेतीवेणी आदि ठाउँमा उपलब्ध भएका सामग्री प्राचीन सामग्री मानव बसोबास जनाउने सन्दर्भ हुन् । यस जिल्लामा ज्योतिष, कर्मकाण्ड, विभिन्न पुराण, वेद, उपनिषद्, तान्त्रिक विधि, सप्तशती चण्डी, श्राद्ध, विवाह, ग्रहशान्ति, वाशिष्ठी विवाह पद्धति, शान्तिकाध्याय, आदि अनेकौं व्यवहारोपयोगी, समाजोपयोगी विषयका प्राचीन हस्तलिखित ग्रन्थहरु प्राप्त भएका छन् । पर्वत जिल्लामा पर्ने पाङ गाउँबाट गणेशपुराणको पाण्डुलिपि झिकाइ गणेशपुराण लगाउँदा…” (ढकाल, २०६६ ः २५) उल्लेख गरिएको हुनाले मानव बसोबास भएको प्राचीनता जनाउँछ । पर्वत जिल्लाको पाङमा प्राप्त ११३५ को जातकाभरणम् ज्योतिषसँग सम्बन्धित ग्रन्थ गुरुकुल शिक्षा लिनेदिने क्रममा लेखिएको मानव बसोबासलाई जनाउने प्राचीन उदाहण हो ।
पर्वत जिल्लामा नेपाली साहित्यको प्रारम्भ
वि.सं. १५९० मा प्रतापीनारायण पर्वत राज्यमा राजा भएको पाइन्छ । यिनका तीन भाइ छोरामध्ये जेठा छोरा जितारीलाई गल्कोट, माहिलो छोरा राज बमलाई पर्वत र कान्छो छोरालाई कास्की राज्य दिएको पाइन्छ । राजा राज बमको पाँच पुस्तापछि वि.सं. १७४३ तिर मलेबम पर्वत राज्यमा राजा भएको पाइन्छ । मले बमका छोरा शाह बमले वि.सं. १७९१ देखि १८१५ सम्म राज्य चलाएका थिए (सूचना विभाग, २०३१ ः ४३) । मले बम साहित्य र कालाप्रेमी राजा भएको हुनाले पर्वत जिल्लाको नेपाली साहित्यको इतिहास यिनकै पालाबाट अगाडि बढेको पाइन्छ । यसै समयमा प्रेमनिधि पन्तले मलेबम महात्म्य लेखेको र यिनले प्रायश्चित्त प्रदीप (१७८०) नृपश्लोकी (१९९०तिर) लेखन गरी पर्वत जिल्लामा लिखित नेपाली साहित्यको इतिहास प्रारम्भ गराएका हुन् ।
पर्वत जिल्लामा प्राचीन समयदेखि बसोबास भएको हुनाले यस भूगोलमा शिव र पार्वतीको जीवन प्रसङ्ग जनाउने महोदधिको लोककथा निकै प्रसिद्ध छ । यस अतिरिक्त अन्य कथाहरु, लोकगाथाहरु, लोकगीत, उखान टुक्का आदि हुँदै नेपाली साहित्यको आधुनिककालमा यो जिल्लाको प्रवेश भएको पाइन्छ । १९९४ मा शारदा पत्रिकामा गोमा उपाध्यायले जलन शीर्षकको कविता प्रकाशन गरी आधुनिक युगमा कविताका माध्यमबाट प्रवेश गराएको पाइन्छ भने कृष्णबम मल्लले शारदा १९९६ मा बच्ची शीर्षकको कथा प्रकाशन गरी कथासाहित्यलाई जोडेका हुन् । कृति प्रकाशनका दृष्टिले मोहनबहादुर मल्लले उजेलीछामा (२००८) उपन्यास र पागल दुनियाँ (२००८) मा नाटक प्रकाशित गरेका थिए । मल्लले स्वदेश परिचय (२०१०) मा निबन्धसङ्ग्रह प्रकाशित गरेका थिए । कृष्णबम मल्लले २००९ मा गुरुजीको मलामी कथासङ्ग्रह प्रकाशन गरेका थिए । भवानीशङ्कर उपाध्यायले २०१२ मा सन्तमनोरञ्जनी कवितासङ्ग्रह प्रकाशित गरेका थिए । समग्रमा आधुनिक नेपाली साहित्यको मूल प्रवाहमा लेखन र प्रकाशनका दृष्टिले पर्वत जिल्ला यसै समयदेखि जोडिएको हो ।
पर्वत जिल्लाका साहित्यकार र प्रकाशित सिर्जनाहरु
१) अविनाश श्रेष्ठ (२०१२) ले समवेदना औसमवेदना (२०३८) परेवा सेता र काला (२०४१) अनुभूति यात्रामा (२०४७), हेरौंयस सहरलाई(२०५४) आदि कवितासङ्ग्रह प्रकाशन गरेका छन् । २) इन्द्रकुमार ‘विकल्प’(२०१८) ले सम्झनाका डोबहरु (२०४४), मनका खुसीहरु कवितासङ्ग्रह (२०५२), दुई आत्माको मिलन उपन्यास (२०५६), भुल्काहरु मुक्तकसङ्ग्रह (२०५८), सर्वदलीय घर लघुकथासङ्ग्रह (२०६०), लालीगुराँस फुल्ने मन गजलसङ्ग्रह (२०६२), बैंसका रहरहरु कथासङ्ग्रह (२०६३), निस्तो सम्झौता कथासङ्ग्रह (२०६४), जिगीषा (२०७१) हाइकुसङ्ग्रह र मनका रङ्गहरु मुक्तकसङ्ग्रह (२०७५) सम्पादनतर्फ धौलागिरि स्पन्दन (२०५९), साहित्यपथका यात्रीहरु (२०६३), बाल सुसेली (२०५८) आदि कृतिहरु प्रकाशन गरेका छन् । ३) इन्द्रमान खत्री (२०२२) ले मनको तृष्णा गजलसङ्ग्रह (२०६७), समय हाइकुसङ्ग्रह(२०७०) प्रकाशन गरेका छन् ।४) ईश्वर सत्य (२०३७) विवेक महावाणी कवितासङ्ग्रह (२०७४) मा प्रकाशित गरेका छन् । ५) उद्योगबहादुर श्रेष्ठ (२००५) ले यात्रा स्वदेश र विदेशको, अनुभूति शिक्षा र संस्कृतिको निबन्धसङ्ग्रह प्रकाशन गरेका छन् । ६) ऋषिकेश तिवारी (२०१०) ले सामाजिक उद्यमशीलता विचारपरक निबन्धहरुको संगालो (२०७२) प्रकाशित गरेका छन् । ७) कपिलमणि रेग्मी (२००५) ले सङ्घर्ष उपन्यास (२०४८) प्रकाशित गरेका छन् । ८) कालीभक्त पन्त (१९६४) ले किसान गीता काव्यसङ्ग्रह (२०१२) हाम्रो राष्ट्रिय कर्तव्य दर्शन संस्कृति (२०२७), हाम्रो सांस्कृतिक इतिहास (२०२८), हाम्रा गीत सुधारको बाटो (२०३३) छूतभेद र कर्तव्य संस्कृति (२०३८), शुम्भवध नाटक (२०५०) प्रकाशित गरेका छन् । ९) कुलप्रसाद उपाध्याय (सुवेदी) (२०११)ले विकीर्ण भावना (२०७४) कवितासङ्ग्रह प्रकाशन गरेका छन् । १०) कुलबहादुर सुनुवार (२०३५) केवल तिम्रो यादमा गजलसङ्ग्रह (२०६४) प्रकाशन गरेका छन् ।
११) कुसुमाकर न्यौपाने (२०१७) ले कास्की जिल्लामा प्रचलित लोकगीतमा वृक्ष, वनस्पति र वन (२०४९), गोपीचन लोकनाटक (२०६५), लोकरामायण (२०६५),नेपाली लोकगीत (२०६८) आदि कृति प्रकाशन गरेका छन् । १२) कृष्णप्रसाद पराजुली ‘शिशु’ (२०१७) ले रातो आँसु (२०६०), खण्डकाव्य, शिशुकाकविता (२०६२) कवितासङ्ग्रह, व्याकरण सोपान (२०६३) खण्डकाव्य, तुलसी पत्र (२०६४) खण्डकाव्य, प्रकाशन गरेका छन् । १३) कृष्णप्रसाद सुवेदी (२०४८) ले समयका चोटहरु (२०६९) गजलसङ्ग्रह प्रकाशन गरेका छन् । १४) कृष्णबम मल्ल (१९७८) ले गुरुजीको मलामी (२००९), देवता (२०१८), श्री ५ रामशाहको न्याय (२०४१) कथासङ्ग्रहहरु प्रकाशित गरेका छन् । १५) कृष्णराज पौडेल(२०३८) इन्द्रकुमार विकल्पः व्यक्तित्व र कृतित्व समालोचनासङ्ग्रह (२०६८) प्रकाशित गरेका छन् । १६) कृष्णादेवी शर्मा (श्रेष्ठ) (२००९) ले सुनाखरी र लालीगुराँसको देश कवितासङ्ग्रह (२०५७), नारायणहिटी पर्व तीजगीतसँगालो (२०५८), अत्याचारी घर तीजगीत सँगालो (२०५९), घरभेटी भाउजू कथासङ्ग्रह (२०५९), प्रजातन्त्रमा प्रश्नचिह्न तीजगीत सँगालो (२०६०), स्मृतिको एक झिल्को खण्डकाव्य (२०६२), निर्झरिणी गजलसङ्ग्रह (२०६२), सृष्टिसौगात कवितासङ्ग्रह (२०६५), क्रान्तिकारी विश्वेश्वर महाकाव्य (२०६९), जूनमा चुहेको त्रास गजलसङ्ग्रह (२०७१), आधा आकाश सामाजिक उपन्यास (२०७२) प्रकाशन गरेको पाइन्छ । १७) केदारनाथदासको जन्म (२०१९) ले रामायण (२०६०) अनुवादका साथै श्रीसीताराम स्तुति (२०६२) नामक भजनसङ्ग्रहसमेत प्रकाशन गरेका छन् ।१८)केशवप्रसाद रेग्मी (२०३९)ले वसन्त सार खण्डकाव्य (२०६६), बालकेलि खण्डकाव्य (२०७५) जस्ता काव्य लेखेका छन् । १९) केदारनाथ पौडेले बुद्धपुकार नामक कवितासङ्ग्रह प्रकाशन गरेका छन् । २०) खड्गप्रसाद श्रेष्ठ (२०१८) ले आमा कवितासङ्ग्रह (२०६६), नारी कवितात्मक गीतसङ्ग्रह (२०७३) प्रकाशित गरेका छन् ।
२१) खुमनारायण पौडेल (२०२१) ले अन्तिमेत्थम् (२०४९), नरमेध (२०५६), शीतनिद्रा (२०६२) कवितासङ्ग्रहहरु प्रकाशन गरेका छन् । २२) खेमनाथ शर्मा पौडेल (१९९५) ले यात्रासंस्मरण (२०५२), हलीकी च्याम्थरी, (२०५६) खण्डकाव्य, आफ्नै पिसाब आफ्नै औषधि (२०५८), आमा (२०५९) शोककाव्य, प्रकाशित भएका छन् । २३) गङ्गा आचार्य (२०२८) ले आस्थाको आँचल मुक्तकसङ्ग्रह (२०७५) र छाउपडीका देवता (२०७६) लघुकथा सङ्ग्रह (२०७६) प्रकाशन गरेको पाइन्छ । २४) गजाधर सुवेदी (१९९३) ले जीवनका बाटाहरु र (२०७३) र चोखो जल कथासङ्ग्रह (२०७५) प्रकाशन गरेका छन् । २५) गणेशकुमार जि.सी. २००३१) ले अग्नियात्रा कवितासङ्ग्रह (२०६४), सीमान्त अक्षरहरु कवितासङ्ग्रह संयुक्त सिर्जना (२०६८) सङ्ग्रह प्रकाशन गरेका छन् । २६) गणेश हमाल राज (२०४७) ले केवल तिम्रो यादमा गजलसङ्ग्रह (२०६४) प्रकाशन गरेका छन् । २७) गुणराज शर्मा पौड्याल (२०२४) ले एक थुँगा गुराँस (२०७६) प्रकाशित गरेका छन् । २८) गोपालप्रसाद भुषाल (२०३३) ले कुशुम खण्डकाव्य (२०६२) प्रकाशित गरेका छन् । २९) गोमादेवी उपाध्याय (१९८२) ले जलन कवितासङ्ग्रह (२०३७), साहित्यिक फूलबारीका फूलहरु समालोचना (२०३७), बाँच्ने रहर कवितासङ्ग्रह (२०३९), कार्यशील महिलाको भूमिका निबन्धसङ्ग्रह (२०३९), मातृव्यथा कवितासङ्ग्रह (२०४१), इन्दु खण्डकाव्य (२०४२), कवि म.वि.वि. शाहका काव्य प्रवृत्ति समालोचना (२०४२), तिरस्कृत आत्मा खण्डकाव्य (२०४३), नेपाल र भारतका केही नारी प्रतिभा ः नारी परिचय जीवनीसङ्ग्रह (२०४४), केही अनुसन्धानात्मक अभिव्यक्ति समालोचना (२०४५), अञ्जु (२०४६), पौराणिक नारी परिचय जीवनीसङ्ग्रह(२०४८), चार नारी हस्ताक्षरहरु समालोचना (२०४९), मानव धर्म र आस्था कवितासङ्ग्रह (२०५०), चाँदनी शाहको काव्यसंसार समालोचना (२०५१), मानव धर्म र आस्था कवितात्मक भजनसङ्ग्रह (२०५१) रचनाहरु प्रकाशित गरेको पाइन्छ । ३०) गोविन्द पहाडी (२०३०) मृत्युञ्जय संस्मरणात्मक निबन्धहरुको सँगालो (२०७०) प्रकाशित गरेका छन् ।
३१) गोविन्दप्रसाद भुषाल (२००५)ले आमा कथासङ्ग्रह (२०६३), हिमाल कवितासङ्ग्रह (२०७४) प्रकाशन गरी नेपाली साहित्यमा आफ्नो पहिचान बनाएका छन् । ३२) गोविन्दबहादुर नेपाली (२०३२) ले साथी !म मरेको छैन (२०६४) कवितासङ्ग्रह प्रकाशन गरेका छन् । ३३) घनश्याम उपाध्याय (१९८२) ले सङ्कीर्तनभक्ति शास्त्रीय भजनसङ्ग्रह (२०४८) प्रकाशित गरेका छन् । ३४) चन्द्रप्रकाश मल्ल (२००९) ले उपयुक्त कठिनाइ सामाजिक उपन्यास (२०६०) प्रकाशित गरेका छन् । ३५) चूडामणि शर्माले नेपालको प्रजातान्त्रिक इतिहास (२०१७–२०३६) (२०६७) कृति प्रकाशित गरेका छन् । ३६) छविलाल सुवेदी (२०१३) ले माटोको सन्देश निबन्धसङ्ग्रह (२०५९), माटोको मन निबन्धसङ्ग्रह (२०६१), ब्रह्माण्ड राजनीति (२०७३) निबन्धसङ्ग्रह प्रकाशन गरेका छन् । ३७) छायादत्त न्यौपाने बगर(२०२२) ले भाषा ः सिकाइ, सीप र सिर्जना (२०५३), बालदिवस कथासङ्ग्रह (२०६२), कदर नभएपछि निबन्धसङ्ग्रह (२०६४), बादलको रेसाहरु निबन्धसङ्ग्रह (२०६४), वाङ्मयका कुरा समालोचना (२०६९), बालदिवस सचित्र बालकथासङ्ग्रह, (२०६२, २०६५ र २०७१),केही असल मानिसहरु,बालकका लागि जीवनीसङ्ग्रह (२०६२), बाटोबताउने नाति, सचित्र बालकथासङ्ग्रह (२०६३, २०६६ र २०७०), गुराँस झुल्दै छ, सचित्र बालदोहोरी गीतसङ्ग्रह (२०६३, २०६८र २०७०), बालदिवस, सचित्र बालएकाङ्कीसङ्ग्रह (२०६३), कति राम्रो क, सचित्र बालगीतसङ्ग्रह (२०६३), आईंपाडीले दूध खायो, सचित्र बालउपन्यास (२०६४, २०६८, २०७० र २०७३), हजुरबाको गाउँ, सचित्र बालनिबन्धसङ्ग्रह (२०६४, २०७० र २०७२), पुतलीको बिहे सचित्र बालकवितासङ्ग्रह (२०६५ र २०७०), टुर्रटुर्र कराउँछ, सचित्र बालकाव्य (२०६६, २०७० र २०७४), मुनीपाठी करायो, सचित्र बालकाव्य (२०६५), साथीभाइको कथा, सचित्र बालकथासङ्ग्रह (२०६७), भ्यागुताको बिहे यो, सचित्र बालकाव्य (२०६७), परर ताली, सचित्र बालनिबन्धसङ्ग्रह (२०६७,२०७२), मोटरसाइकलको बिहे, सचित्र बालनाटकसङ्ग्रह (२०६७, २०६९,२०७१ र २०७३), डाँफे चरी, फरक शैलीको सचित्र बालकथासङ्ग्रह (२०६७ र २०७२), हाम्रा कुरा, नयाँ विषय र शैलीमा सचित्र बालसंवादसङ्ग्रह (२०६७, २०७२ र २०७३), उस्तै उस्तै छेपारो जस्तै, सचित्र बालनिबन्धसङ्ग्रह (२०६८), म खेल्छु, सचित्र बालकाव्य (२०६९), धर्ती मुस्कुराउँछ, सचित्र किशोर कविताहरु (२०७०), केरै केरा सचित्र बालकाव्य (२०७०, २०७२ र २०७४), बाफसँग पानी, सचित्र बालकविताहरु (२०७०), प्वाँप्वाँभ्वाँभ्वाँ, सचित्र बालकविताहरु (२०७०), बाँसै बाँस सचित्र निबन्ध (२०७४), टिनिमिनी घुन्न सचित्र किशोर कविताहरु (२०७५) कमिला सचित्र बालकविताहरु (२०७५) हामी साथी साथी सचित्र बालकविताहरु (२०७५) खेल्दै पढ्दै पढ्दै खेल्दै (२०७६) नेपाल सचित्र बालकाव्य (२०७६) प्रकाशित छन् । ३८) जगन्नाथ रेग्मी (२०३५) अन्तरङ्गकातरङ्गहरु कवितासङ्ग्रह (२०६४), चारुचित्र कवितासङ्ग्रह (२०६७) धवलागिरि खण्डकाव्य (२०७०), कालञ्जर क्षेत्र र गलेश्वर धाम पौराणिक विमर्श (२०७६) आदि कृतिहरु प्रकाशित गरेका छन् । ३९) जयदेव पौड्याल (१९७८) ले गोरखाख्यायिका महाकाव्य (२०३३), तत्वबोध दार्शनिक चेतना भएको पुस्तक (२०३७) लेखेका छन् ।४०) जीवन पौडेल (२०२१) ले विश्वशान्तिको स्थापना (२०५५) नामक कवितासङ्ग्रह प्रकाशन गरेका छन् ।
४१) जुग फगामीले आभास गजलसङ्ग्रह (२०६७) प्रकाशन गरेका छन् । ४२) झलक गुरुङले कुहिरोभित्र लघुकथासङ्ग्रह प्रकाशित गरेका छन् । ४३) टङ्कप्रसाद सुवेदी (२००८) ले हाम्रो नियति (२०७२) गीतिकाव्य प्रकाशन गरेका छन् । ४४) टी.एन. भट्ट (२०२९) सूर्यपुत्र कवितासङ्ग्रह (२०७५), डेडशुक्रवीर उपन्यास (२०७६) प्रकाशित गरेका छन् । ४५) टीकाराम उपाध्याय, अर्याल (१९९९) ले श्री ५ महेन्द्रको वाराणसी शुभागमन र यात्राको अन्तिम चरण पटनाको भव्य बिदाईको एक झलक (सन् १९६६), नेपालको इतिहासमा शाहवंशको देन एक ऐतिहासिक विवेचना (२०३३), संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाको सक्रिय योगदान (२०४२), भावनाका तरङ्गहरु कवितासङ्ग्रह (२०५९), गीताज्ञान एवम् जीवनसार (२०६०), जीवनदर्शन (२०६५), तीर्थयात्रा अनुभव र अनुभूति (२०६७) प्रकाशन गरेका छन् । ४६) टीकाराम शर्मा पौडेल (२०१७) ले दीपक (२०४५) खण्डकाव्य र प्रणयवियोग (२०४५) खण्डकाव्य प्रकाशन गरेका छन् ।४७) टुकनाथ रेग्मी (२०१९) ले सिर्जनाका धुनहरु कवितासङ्ग्रह (२०४८), बेलूराम खण्डकाव्य (२०६८) प्रकाशित गरेका छन् । ४८) डिल्लीराम शर्मा (२०२३) ले पहाडको झरना गजलसञ्चयन (२०६७) प्रकाशन गरेका छन् । ४९) तेजप्रसाद गौचन (२०००) ले थकाली—नेपाली—अङ्ग्रेजी शब्दकोश (२०६१) प्रकाशित गरेका छन् । ५०) थानेश्वर गौडेल (२०३८) गरीबको व्यथा (२०५९) खण्डकाव्य प्रकाशन गरेका छन् ।
५१) दण्डपाणि शर्मा (२००२) ले टुसा (२०२३) गीतिकाव्य प्रकाशन गरेका छन् । ५२) दयाराम रिजाल (२०००) ले धौलागिरिकोकोपिलो (२०२७) प्रकाशन गरेका छन् । ५३) द्रोणराज उपाध्याय (२००६)ले त्रिवेणी कवितासङ्ग्रह (२०७३) प्रकाशन गरेका छन् । ५४) नरहरि उपाध्याय गौतम (२०२१) ले नाटककार बालकृष्ण समको जीवनी र व्यक्तित्व जीवनीपरक समालोचना (२०६६), गीताविमर्श समालोचना (२०६६), पूर्वीय काव्य चिन्तन सैद्धान्तिक समालोचना (२०६९), पूर्वीयसमालोचना साहित्यको अध्ययन समालोचना (२०६९), अभिनव समालोचना भाग १ (२०६९), अभिनव समालोचना भाग २ (२०६९), नाटक विमर्श समालोचना (२०६९), नाटक समालोचना भाग १ (२०६९), नाटकसमालोचना भाग २ (२०६९) प्रकाशित गरेका छन् । ५५) नारायणप्रसाद उपाध्याय अर्याल (१९८३) ले गिरिवर धारण (२०२०) खण्डकाव्य, त्रिजन्मा (२०५५) महाकाव्य, अनमोल (२०५९) कवितासङ्ग्रह, अर्यालकुलकाव्य (२०६२), द्वादश जोतिर्लिङ्ग (२०६३) महाकाव्य, काफल पाक्यो कवितासङ्ग्रह (२०६३), भ्रमर गीत कवितासङ्ग्रह (२०६३), दुई थोपा आँसु कवितासङ्ग्रह (२०६३), जन्मभूमिका लागि कवितासङ्ग्रह (२०६३), सम्झना कवितासङ्ग्रह (२०६४), वासुदेव (२०६६) कृतिहरु प्रकाशित गरेका छन् । ५६) नारायणप्रसाद जोशी (१९७९) ले जोशीले तोखा पुखुजोशीको वंशावली (२०४२), प्रजातान्त्रिक योद्धाको आत्मकथा जीवनीपरक लेखन (२०५२), तपोभूमि सांस्कृतिक निबन्धसङ्ग्रह (२०५३) कृतिहरु प्रकाशित गरेका छन् । ५७) नारायणप्रसाद पौडेल (२०१६) ले श्रद्धाञ्जली शोककाव्य (२०५४), सनातन धर्मपरिचय (२०५५), सर्वफलप्रद सर्वोत्तम सरल धर्म (२०६०) प्रकाशन गरेका छन् । ५८) पूर्णबहादुर कार्की प्रतीक्षा (२०३६)ले भोका बिरालाहरु कवितासङ्ग्रह (२०५६) प्रकाशन गरेका छन् ।५९) प्रेम गौतम (जी. शिशिर)ले नङले कोतरिएको दाग (२०६३) उपन्यास प्रकाशित गरेका छन् । ६०) प्रेमनिधि पन्तले मल्लादर्श, शब्दार्थ चिन्तामणि (प्रतिलिपि समय शाके १८१७), काम्यकर्मकमला, नैमित्तिककर्मकमला, जगत्प्रेमोदय (रचनाकाल शाके १६६३), त्रैलोक्य विजयकवचम् (प्रतिलिपि समय सं.१८९७), रित्यप्रयोगरत्नाकर, प्रदीपप्रकाश (रचनाकाल शाके १६४८), भक्तितरङ्गिणी, काम्यदीपदान पद्धति, प्रायश्चित्त प्रदीप (रचनाकाल शाके १६४५), घृतदान पद्धति, श्राद्धकर्मविधि (प्रतिलिपि समय सं. १८४७), पृथ्वीप्रेमोदय (रचनाकाल शाके १६५९), नृपश्लोकी, कुमारशक्ति (प्रतिलिपि समय १८८२), शब्दप्रकाश, सुदर्शनाख्याटीका, जैमिनीसूत्र टीका, शक्तिसंगमतन्त्र टीका, नित्यप्रयोग रत्नाकर, कार्तविर्य घृतदान पद्धति (तान्त्रिक कर्मकाण्ड), कुमार शक्ति, पृथ्वी प्रेमोदन, श्राद्धकर्म विधि आदि ग्रन्थहरु पनि लेखेको पाइन्छ । उनका रचनाहरुमध्ये पनि मल्लादर्श र प्रायश्चित्त प्रदीप (शाके १६४५) उत्कृष्ट रचना मानिएका छन् ।
६१) पे्रमप्रसाद शर्मा (२००८) ले प्रेम र प्रेमिका (२०३२) खण्डकाव्य प्रकाशन गरेका छन् । ६२) प्रेमसिंह सुवेदी (१९८१) ले तीजको मैदानमा बहिनीको आँसु गीतिकविता (२०११), १६ मिनट कवितासङ्ग्रह (२०३०), हामी कसैको दैलो अघि उभिने संस्मरण (२०३३), नेपाली ठाकुरवादी र गुहाटीको संस्मरण (२०३५), असामका पशुपालन र दुग्धव्यवसायी वर्गको ऐतिहासिक वृत्तान्त संस्मरण (२०३५) कृति प्रकाशित गरेका छन् ।६३)बलराम उपाध्यायरेग्मी (२०१५) ले स्वयं ज्योतिषी (२०४१), नेपाली कविता कुसुम (२०४१) सिद्धार्थ (२०४२), खण्डकाव्य, किसान(२०४२) खण्डकाव्य, कविता कुञ्ज (२०४२), मेरो जेलयात्रा (२०४२), पर्दाभित्रको जिन्दगी नाटक (२०४३) कृतिहरु प्रकाशन गरेका छन् । ६४) बाबुराम गिरी(२०२७) ले अन्धो प्रेम रोमान्टिक उपन्यास (२०५४), एक रात उपन्यास (२०५५), चर्चित नेपाली लोकगीत गीतसङ्ग्रह (२०५५), राजकुमारी डायना जीवनी (२०५६) कृतिहरु प्रकाशित गरेका छन् । ६५) बाबुराम लामिछाने (२००९) ले प्रतिद्वन्द्वीको खोजी कवितासङ्ग्रह (२०५३), हातभन्दा पर कथासङ्ग्रह (२०६०) कृतिहरु प्रकाशित गरेका छन् ।६६) बाबुराम शील (२०३८) ले बिदाइ नाटक (२०५८) प्रकाशित गरेका छन् । ६७) बालाकृष्ण अधिकारी (२०३६)ले नेपाली साहित्येतिहास लेखन ः सर्वेक्षण र विश्लेषण समालोचना (२०६६), नेपाली साहित्यको इतिहास लेखनका आधार (२०७६) प्रकाशन गरेका छन् । ६८) भरत विवश पौडेल (२०३८) ले ओझेलको सुवास (२०५८) सीमान्त अक्षरहरु (२०६८) संयुक्त कवितासङ्ग्रह प्रकाशन गरेका छन् । ६९) भवानी शङ्कर उपाध्याय(१९६२) ले सन्तमनोरञ्जनी (२०१२) नीति ज्ञान (२०२६) आदि कवितासङ्ग्रह र गौरी शङ्कर गुटिका प्रकाशित गरेका छन् । ७०) भविलाल लामिछाने (२००७) ले शब्द हुन् यी मेरा (२०४०), अनागत (२०४४), असमाप्त पाइलाहरु (२०५२), कसका लागि कथासङ्ग्रह (२०५७), शीर्षकहीन मुक्तकसङ्ग्रह (२०५९), एउटा घर यस्तो कवितासङ्ग्रह (२०६२), बादलपारिको देश कवितासङ्ग्रह (२०६२), भविलाल लामिछानेका दुइटा जन्म गजलसङ्ग्रह (२०६३), गजल गजलसङ्ग्रह (२०६७), सागरवारि सागरपारि कवितासङ्ग्रह (२०६७), आकण्ठ कवितासङ्ग्रह (२०७०), पूर्वाञ्चलीय नेपाली नाटक (२०७१) रचनाहरु प्रकाशित भएका छन् ।
७१) भेषराज रिजाल (२०२७) ले बालुवाको मुठ्ठी (२०५७), देश सधैू रुने छैन (२०५९) कवितासङ्ग्रह प्रकाशन गरेका छन् । ७२) मञ्जु गुरुङ (२०३९) ले हृदयका अक्षरहरु (२०५९) नामक कवितासङ्ग्रह प्रकाशन भएको छ । ७३) मीना लामिछाने (२०४३) नेपाली कथाको विकासमा कालीको सुसेली पत्रिकाको योगदान (२०७६) समालोचनासङ्ग्रह प्रकाशित गरेको पाइन्छ । ७४) मदन सापकोटा ‘घायल’ ले जिन्दगी गजलसङ्ग्रह प्रकाशन गरेका छन् ।७५) महेश्वर पन्त (२०२४) ले झझल्को गीतसङ्ग्रह, बिर्सनेको यादमा गीतसङ्ग्रह, हराएको मान्छे गजलसङ्ग्रह, ओझेलमा परेको जून गीतसङ्ग्रह, मुन्द्री कथासङ्ग्रह (२०७३) प्रकाशित गरेका छन् । ७६) मिलनबिछोड कार्की (२०४७) ले बिछोडका चोटहरु गजलसङ्ग्रह (२०६३), प्रतीक्षित नयनहरु गजलसङ्ग्रह (२०६४) प्रकाशन गरेका छन् । ७७) मुरलीधर शर्मा पौडेल (२००२) ले श्रद्धाञ्जली कवितासङ्ग्रह (२०५५), पौडेलकुलस्मृति बंशावली (२०५७), मातृस्मृति शोककाव्य (२०६१), एउटा झझल्को ःसहिद गोविन्दनाथ स्मृतिकाव्य (२०६४) प्रकाशन गरेका छन् । ७८) मोहनबहादुर मल्ल(१९६८) ले उजेली छामा उपन्यास (२००८), पागल दुनियाँ नाटक(२००८), मायारानी उपन्यास (२००९), पञ्चायत उपन्यास(२०१०), त्रिफला कथासङ्ग्रह (२०१०), स्वदेश परिचय विचारपरक लेखनिबन्धहरुको संगालो (२०१०), समयकोहुरी उपन्यास (२०१५), भुमरी उपन्यास (२०१६), बाइसे चौबिसे इतिहास (२०३२), सिंजा इतिहासकोडोरेटो इतिहास (२०३४), बहादुर नजर उपन्यास (२०३६), जेली उपन्यास (२०३९), रामछाया उपन्यास (२०६२) कृतिहरु प्रकाशित गरेका छन् ।७९) यज्ञप्रसाद सुवेदी(कविगुरु) (१९९५) ले भूमि सुधार प्रथम चरणको सवाई (२०२२), कल्पनासङ्ग्रह भाग–१, (२०२४), कल्पना सङ्ग्रह भाग–२, (२०२७), रामायण लोकभजनमाला (२०५६), कल्पना, (२०५७), उदाहरण माला, (२०५७) गोरुजात्रा व्यङ्ग्य (२०५७), पर्वत जिल्लाको ठूलीपोखरीको चिनारी (२०५७) कृति प्रकाशित गरेका छन् ।८०) यादवप्रसाद शर्मा (२०२६) ले पौरस्त्य दर्शन र नेपाली साहित्य (२०७५) समालोचना प्रकाशन गरेका छन् । ८१) रत्नराज पाण्डेय (२०१३) ले नेपालमा वैयक्तिकस्वतन्त्रता लेखहरुको संगालो (२०४३) प्रकाशित गरेका छन् ।८२) रमेश परियारले समयचक्र कथासङ्ग्रह (२०६८) प्रकाशित गरेका छन् ।८३) राजेन्द्र पहाडी (२०३०) ले महिलाविरुद्ध हिंसा–एक सामाजिक अध्ययन (२०६६), शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन समालोचना (२०६७), पर्वत साहित्य सङ्गम ः सङ्क्षिप्त सिंहावलोकन (२०६७), सामाजिक सर्वेक्षणका लागि आधारभूत तरिकाहरु (२०६७), सर्वदलीय घरको समाजशास्त्रीय नालीबेली समालोचना (२०६८), नेपालमा समाजशास्त्र र मानवशास्त्रको परिचय (२०६८) सहलेखन, नेपालको शान्ति प्रक्रियामा स्थानीय शान्ति समिति तथा अन्य सरोकारवालाको भूमिका (२०६८), नेपालमा महिला हिंसा (२०६९), बोल्नेको पीठो बिक्छ(२०६९), शिक्षामा सुशासन (२०६९), बियाड हाइकुसङ्ग्रह (२०७०), विद्यालय क्षेत्र सुधार योजना र शिक्षामा नागरिक सहभागिता (२०७१) कृतिहरु प्रकाशित गरेका छन् । ८४) रामचन्द्र रोदन सुदीप आँसुले पुनर्मिलन उपन्यास (२०६३) प्रकाशित गरेको पाइन्छ । ८५) राम पुन राज (२०४०) ले सँगालिएकाअक्षरहरु कवितासङ्ग्रह (२०६२) कृति प्रकाशन गरेका छन् । ८६) रामेश्वरी पन्त (२०२५) ले घाउ चह¥याई नै रह्यो कथासङ्ग्रह (२०६७) प्रकाशन गरेको पाइन्छ । ८७) रेणुका जी.सी. ‘ज्वलन’ (२०४५) ज्वलनका अभिव्यक्तिहरु (२०६२) गजलसङ्ग्रह प्रकाशन गरेको पाइन्छ । ८८) लेखनाथ शर्मा पौड्याल (२०१०) ले भावना (२०७१), चूडामणि भजनसङ्ग्रह (२०७३), गौरी शंकर गीतमञ्जरी(२०७४) प्रकाशन गरेका छन् । ८९) लोकनाथ भुषाल(घायलश्री) (२०२९) ले विगतको परिवेशभित्र गोजिका कवितासङ्ग्रह (२०५७), नवी–नमुना खण्डकाव्य (२०५८), बैरागी चेली गीतसङ्ग्रह (२०५९), तिमी र म गीतगजलसङ्ग्रह (२०६३), कविता लघु उपन्यास (२०६३), पूर्वी कथासङ्ग्रह (२०७३) प्रकाशन गरेका छन् । ९०) विक्रमबहादुर खत्री (२०४०)ले पुष्पाञ्जली उपन्यास (२०६०), जेल जिन्दगी गजलसङ्ग्रह (२०६४) प्रकाशन गरेका छन् । ९१) विष्णु अदिप्तले बालकथा कथासङ्ग्रह प्रकाशित गरेका छन् । ९२) विष्णुप्रसाद शर्मापराजुली (२०१६) ले तिब्बत यात्रा नियात्रासङ्ग्रह (२०७२), डोल्पो विश्वको जीवित सङ्ग्रहालय नियात्रासङ्ग्रह (२०७४) प्रकाशित गरेका छन् । ९३) विष्णु शर्मा निर्दोषी (२०५२) ले नयन गजलसङ्ग्रह (२०७१) प्रकाशन गरेको पाइन्छ ।९४) वैकुण्ठप्रसाद भुषाल (२०२९) ले हिमचुलीको देश कवितासङ्ग्रह (२०६१) प्रकाशन गरेका छन् । ९५) शान्तिनारायणश्रेष्ठको जन्म (१९९६)ले गुप्तेश्वर(२०२७) खण्डकाव्य, झंकार गीतसङ्ग्रह (२०५६), स्पन्दन गीतसङ्ग्रह (२०५६), विसङ्गति मुक्तकसङ्ग्रह (२०५७), बैूसका सुसेली गीतसङ्ग्रह (२०५७), बाडुल्की गीतसङ्ग्रह(२०५७), गीतसङ्ग्रह रहेका छन् । स्मृतिका लहरहरु (२०६०), शोककाव्य, अनुभूति गजलसङ्ग्रह (२०६०), अवतरण हाइकुसङ्ग्रह (२०६१), अनावरण ताङ्कासङ्ग्रह (२०६२), संस्मरण नियात्रा (२०६२), अजम्बरी माया गजलसङ्ग्रह (२०६३), अन्तध्र्वनि चोकासङ्ग्रह (२०६४), खाटा बस्न नसकेका घाउहरु मुक्तकसङ्ग्रह (२०६६), अपेक्षा सेदोकासङ्ग्रह (२०६७), भावावेश मुक्तकसङ्ग्रह (२०६८) आदि रचनाहरु प्रकाशित भएका छन् । ९६) शङ्कर लामिछाने (२०२९) ले प्रेमकथा उपन्यास प्रकाशित गरेका छन् । ९७) शिवप्रसाद शर्मा (२०२९) ले नेपाली साहित्यको विकासमा कालीको सुसेलीका कथाहरुको योगदान समालोचनासङ्ग्रह (२०६९) प्रकाशित गरेको पाइन्छ ।९८) शिव सुवेदी (२०५५) ले परिवेश मुक्तकसङ्ग्रह (२०७१) प्रकाशन गरेका छन् । ९९) शेरबहादुर गुरुङ (१९८६) ले आमाको बिलौना कवितासङ्ग्रह (२०३८), बुद्धवन्दना र व्याख्या आख्यान (२०५४), शिवलिङ्गको महत्व र प्राचीन यौनमनोविज्ञान लेखपरक निबन्ध (२०५८) कृतिहरु प्रकाशित गरेका छन् । १००) शोभाकान्त गौडेल (२००८) ले म ढुङ्गो कसरी बनूँ (२०६१) कवितासङ्ग्रह, कालीगण्डकीकाकिनारहरु (२०६७) निबन्धसङ्ग्रह प्रकाशन गरेका छन् ।
१०१)श्यामानन्द पौडेल (१९९०) ले पर्वत लहरी (२०२९) लहरी काव्य, शान्तिक्षेत्र नेपालकोराष्ट्रिय मञ्जरी (२०४१) कवितासङ्ग्रह गीता लहरी (२०४९) भावकाव्य, करुणामयी नारी (२०५६) नारीप्रधान रचना प्रकाशन गरेका छन् ।१०२) षडानन्द पौड्याल (२०२१) ले परिवेश कथासङ्ग्रह (२०६१), बाउको बिहे हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०६२) देवव्रतको नेपालयात्रा कवितासङ्ग्रह (२०७२), मोहनबहादुर मल्लका उपन्यासमा सामाजिक यथार्थवाद समालोचना (२०७२), समय—सन्दर्भ लघुकथासङ्ग्रह (२०७३) ईश्वरी ज्ञवालीको जीवन–सन्दर्भ जीवनीपरक समालोचना (२०७४), परिज्ञान समालोचनासङ्ग्रह (२०७४), समालोचनाको परिधि समालोचना (२०७५), काजी रोशनको काव्य–साधना समालोचना (२०७५), नेपाली साहित्यको आलोक समालोचना (२०७६) आधुनिक नेपाली कथामा सामाजिक सम्बन्ध (२०७६) समालोचना प्रकाशित गरेका छन् ।१०३) सङ्गीता आभास (२०४०) ले किन दुख्छ मन अझै गजलसङ्ग्रह (२०६४) प्रकाशित गरेको पाइन्छ । १०४) सङ्गीता सुवेदीे पर्खाइका पलहरु गजलसङ्ग्रह (२०७१) प्रकाशित गरेको पाइन्छ । १०५) सदानन्द रिजाल अभागी (२००३) ले आफ्नै व्यथाहरु कवितासङ्ग्रह (२०५७), बुढो जवानी कवितासङ्ग्रह (२०५८), पश्चात्तापको आँसु कथासङ्ग्रह (२०५८), जीवनलीला (२०५८) खण्डकाव्य, कोपिला उपन्यास (२०५९), तीन युग एक कथा, महाकाव्य (२०६०), काठमाडौं देहरादुन नियात्रा (२०६०), म र मेराहरु जीवनी (२०६०), अग्निज्वाला महाकाव्य (२०६१), नियति उपन्यास (२०६१), तन्देरी हजुरबा उपन्यास (२०६१), माटो र बिरुवाले भोक लाग्योभन्छन् कृषिकाव्य (२०६१), मोहनी मीठो म्वाइँ कवितासङ्ग्रह (२०६२), परिवर्तन कथासङ्ग्रह (२०६३), भुटानी शरणार्थीको कथा–व्यथा लेख निबन्धको संगालो (२०६३), सम्भोग समाधि गजलसङ्ग्रह (२०६४), बुढौतिका रहरहरु गजलसङ्ग्रह (२०६४), गजल गुटिका गजलसङ्ग्रह (२०६५), अभागीकागजलहरु गजलसङ्ग्रह (२०६६), अभागीका मुक्तकहरु मुक्तकसङ्ग्रह (२०६८), यात्री उपन्यास (२०६९), सृष्टिमा अभागीको दृष्टि समालोचना(२०६९) कृतिहरु प्रकाशित रहेका छन् । १०६) सरस्वती शर्मा ‘जिज्ञासु’ (२०२५) ले नारीको आह्वान (२०६०), गीतसङ्ग्रह, हुस्सुभित्रकोघाम (२०६२) गजलसङ्ग्रह प्रकाशन गरेको पाइन्छ । १०७) साधना प्रतीक्षा (२०२९) रगतका दुई रङ कथासङ्ग्रह (२०५३), आकाश कथासङ्ग्रह (२०६२), व्यावहारिक समालोचना ः विविध रुप समालोचना (२०७१) नारी समस्याका आलोकमा रिमालका नाटक (२०७४) समालोचना, लैङ्गिकसमालोचना सिद्धान्त र प्रयोग (२०७५) समालोचना, नारीवादी सैद्धान्तिक मान्यता र नाट्यसमालोचना (२०७५) समालोचना प्रकाशित गरेको पाइन्छ । १०८) सिन्धु गौतम (२०४४) शब्दमृत्यु र सपनाको हत्या(सह –कवितासङ्ग्रह २०६७), कर्कलाको शीत लघुकथासङ्ग्रह (२०६८) प्रकाशित गरेको पाइन्छ । १०९) सुदीप क्षत्री निर्दोषीले तिम्रो नासो उपन्यास (२०६३) प्रकाशित गरेका छन् । ११०) सुन्दरप्रसाद जोशीबादल (२००३) ले २००७ सालको सशस्त्र क्रान्ति, पर्वत कुश्माका प्रजातान्त्रिक योद्धाहरु, यात्रा निबन्ध, संस्मरण र मेरोसुन्दर कुसुम कवितासङ्ग्रह (२०७३) कृतिहरु प्रकाशन गरेका छन् ।
१११) हरिहर पोख्रेल (२०२)ले युवायुवतीलाई लघुकथासङ्ग्रह (२०४५), मुक्तकसङ्ग्रह (२०४९) प्रकाशन गरेका छन् । ११२) हीराबहादुर जि.सी. (२०२१) रगतको होली (२०६४) र घर छोड्दाको रात (२०६७) खण्डकाव्य प्रकाशित गरेका छन् । ११३) हीरामणि शर्मा पौड्याल (१९९९) ले समालोचनाको बाटोमा (२०४१), बोटे भाषाको अध्ययन (२०४२), कुमाल भाषाको अध्ययन (२०४३), केही अनुकरणात्मक तथा पारिभाषिक शब्दको परिचय (२ं०४३), पर्वती भाषाको स्वरुप रसंरचना (२०४४), परिक्रमा समालोचनासङ्ग्रह (२०४४), रचना ः विवेचना समालोचनासङ्ग्रह (२०४६), साहित्यिक विवेचना समालोचनासङ्ग्रह (२०४६) आदि कृतिहरु प्रकाशित गरेका छन् । ११४) शिवशङ्कर न्यौपाने न्यौपानेका मुक्तकहरु (२००७७) लिएर आएका छन् । उनी मुक्तक सृजनामा २०४५ सालदेखि निरन्तर संलग्न रहेको र यस सङ्ग्रहमा विशेषगरी सृजना लेख्न थालिएको समयदेखि २०५७ सम्म रचना गरिएका मुक्तकहरुको उपस्थिति अधिक रहेको स्वीकारोक्ति सर्जकको रहेको पाइन्छ । यिनले सामाजिक जीवनको पहिचान गरी त्यसबाट प्रकट हुने सत्य मुक्तक सृजनामा स्थापना गरेका छन् । मानव जीवनका सत्य उजागर गर्न मनलाई केन्द्रमा राखेर सिर्जना गरेका यिनका सृजनामा व्यावहारिक जीवनका यथार्थ, मनोविनोद, जीवन विषयक सत्य, सामाजिक, सांस्कृतिक सम्बन्धबाट निर्माण भएका अन्तरङ्ग, शिक्षा, ज्ञान, उपदेश, जीवन भोगाइका प्रतिबिम्ब प्रकट भएको पाइन्छ । विवेच्य वस्तुसत्य न्यौपानेका मुक्तकहरुबाट प्रकट हुने सार पक्ष हो ।
पर्वत जिल्लामा साहित्यिक पत्र–पत्रिकाको गतिविधि
यस जिल्लामा सर्वप्रथम आँकुरो (२०१८) हस्तलिखित पत्रिका प्रकाशित भएको पाइन्छ । शान्तिनारायण श्रेष्ठद्वारा सम्पादन गरिएको यस पत्रिकाबाट पर्वत जिल्लामा साहित्यिक पत्र–पत्रिकाको थालनी भएको पाइन्छ । झर्ना (२०२०) को सम्पादन श्यामानन्द पौडेलले गरेका थिए । यो पत्रिका महेन्द्र शिखरी मा.वि.बाट प्रकाशित भएको थियो । पर्वत माला (२०२२) मोहनबहादुर मल्लको सम्पादकत्वमा प्रकाशित भएको साहित्यिक पत्रिका हो । पालुवा (२०२३), प्रतिभा (२०२३) हीरामणि शर्मा पौड्यालको सम्पादकत्वमा प्रकाशित भएको भवानी विद्यापीठको मुखपत्र थियो । इच्छाको फूल (२०३४) टीकाबहादुर प्रसाईंको सम्पादकत्वमा महेन्द्र शिखरी मा.वि.बाट प्रकाशित भएको थियो । गङ्गा (२०३७) असीम आजादले सम्पादन गरी प्रकाशित गरेको पत्रिका हो । नारायण मा.वि. बाट कुशुम (२०३७) प्रकाशित भएको पाइन्छ भने प्रतिभा (नयाँ) (२०३८) इन्द्रकुमार विकल्पले सम्पादन गरी पर्वत युवा क्लबबाट प्रकाशित भएको छ । कालीको सुसेली(२०५४) सालदेखि त्रैमासिक रुपमा पर्वत साहित्य सङ्गमबाट इन्द्रकुमार विकल्पको संपादकत्वमा निरन्तर प्रकाशित भएको छ । यो साहित्यिक पत्रिकाले ६९ अङ्क पार गरेको छ । सगुन (२०५४) शान्तिनारायण श्रेष्ठको सम्पादकत्वमा प्रकाशित भएको छ । पर्वत वस्तुगत विवरण (२०५४÷२०५८), पर्वत (२०५५), पर्वत विकास दर्पण (२०५५) प्रकाशित भएका छन् । ज्योतिष जागरण (२०५५) बलराम उपाध्याय रेग्मीको सम्पादनमा प्रकाशित भएको पाइन्छ । विकल्प र इन्द्रमान खत्रीको सम्पादनमा बाल सुसेली (२०५७) प्रकाशित छ । नव माधुरी (२०५८) सरस्वती शर्मा जिज्ञासुको सम्पादनमा त्रैमासिक रुपमा निरन्तर प्रकाशित भएको छ र यस पत्रिकाले ४३ अङ्क पार गरेको छ । राजेन्द्र पहाडीको सम्पादकत्वमा समुदाय र सिर्जना निरन्तर प्रकाशित भएको पाइन्छ ।
जनजागृत उच्च मा.वि. तिलाहारबाट जागरण, काँडाबीचको फूल, चेतना, फूलका थुँगा, आकृति प्रकाशित भएको पाइन्छ । नारायण उच्च मा.वि.का विद्यार्थीहरुको सहभागितामा जागरण, फोडिएको पत्थर, पर्वत माला, पर्वत जेसिस र कर्मचारी मिलन केन्द्रबाट पनि पर्वत माला पत्रिका प्रकाशित भएको छ । मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानबाट कालञ्जर (२०६१) षड्मासिक साहित्यिक पत्रिका लीलानाथ असन्तोषीको सम्पादकत्वमा प्रकाशित भएको पाइन्छ । यस्तै पर्वत आह्वान, गण्डकीका छालहरु, समर्पण, नव सौगात, जीवन उचैको सम्पादकत्वमा संमिश्रण, आर.के अदीप्त गिरीको सम्पादत्वमा ऋतुरङ्ग, तारानाथ सुवेदीको सम्पादकत्वमा भावदीप, सुसेलीका आवजहरु, पहाडी गोरेटो, साहित्य क्षितिज, नवराज उत्साहीको सम्पादकत्वमा नवरस, राजेश गिरीको सम्पादकत्वमा नवरश्मी,गुञ्जन, सूर्योदय, मोदी मौदान, नवदीपन, नवदीप, गुप्तेश्वर, भन्ज्याङ, शान्ति सन्देश, चौतारी, सितल चौतारी, नवसिर्जना, साहित्य प्रवाह, बाबुराम शीलको सम्पादकत्वमा शीतल आदि पत्रिका प्रकाशित भएका छन् । यस जिल्लाका अनेक विद्यालयहरुको स्वर्ण महोत्सव मनाउने सिलसिलामा साहित्यि पत्रिकाका रुपमा स्मारिका प्रकाशित गरेको पाइन्छ । पाङ धैरेनी उच्च मा.वि.को स्वर्ण महोत्सवका अवसरमा षडानन्द पौड्यालको सम्पादकत्वमा स्वर्ण स्मारिका (२०६६) प्रकाशित भएको छ ।
पर्वत जिल्लाको संस्थागत साहित्यिक गतिविधि
पर्वत जिल्लामा निरन्तर क्रियाशील रहेका शैक्षिक संस्थाहरुले विद्यार्थीहरुमा साहित्यिक भाव जागृत गराउने निरन्तर रुपमा गर्ने अतिरिक्ति क्रियाकलापका अतिरिक्त वार्षिकोत्सव वा स्वर्ण महोत्सवका अवसरमा सम्पन्न गर्ने साहित्यिक गतिविधिका अतिरिक्त साहित्यिक संस्थाका माध्यमबाट अनेक क्रियाकलाप भएका छन् । पर्वत साहित्य सङ्गम, माधुरी साहित्य प्रतिष्ठान, गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालय, मोती पुस्तकालय, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान आदिका माध्यमबाट साहित्यकारहरुका पुस्तक प्रकाशन गर्ने, साहित्यिक प्रतिभाहरुलाई पुरस्कृत गर्ने, साहित्यकारहरुको जन्म जयन्ती मनाउने, कृति विमोचन तथा विमर्श गर्ने, नव प्रतिभाहरुलाई साहित्यप्रति जागरुक गराउन सहयोगी भूमिका खेल्ने काम भएको पाइन्छ । संस्थाको पहिचानका लागि साहित्यिक पत्रिका प्रकाशन गर्ने र नेपाली साहित्यको श्रीवृद्धिमा सहयोगी हुने काममा पर्वत जिल्लाको संस्थागत गतिविधि जोडिएको छ ।
कृति प्रकाशन नगरेका तर साहित्य सिर्जनामा समर्पित पर्वतेली प्रतिभाहरु
अन्जान बाबु, किशोर सापकोटा, केदारनाथ पौडेल, गोपाल आचार्य, गोविन्द अधिकारी, जगन्नाथ लम्साल, दीपक पूर्वरङ्ग, नवराज रिदम, नारायण पौड्याल, निर्मला रेग्मी, प्रतीक्षा अधिकारी, प्रेम कल्पित, प्रेमप्रसाद रेग्मी, बलराम श्रेष्ठ, मानवदेव क्षत्री, रघुनाथ आचार्य, राजु पौडेल, रामप्रसाद आचार्य पहाडी, लक्ष्मीप्रसाद शर्मा पौडेल, विकल गुरुङ, शिवशङ्कर न्यौपाने, संगति श्रोता, सरोज पन्त, सविना पौडेल, सुभन्तनाथ सुवेदी आदि अनेकौं प्रतिभा रहेको पाइन्छ ।
निष्कर्ष
समग्रमा पर्वत जिल्लामा ११३ जना साहित्यकारहरुले साहित्यिक कृति प्रकाशित गरेका छन् । नेपाली साहित्यका कृतिहरुको सङ्ख्या कविता, गीत, गजल र मुक्तकसङ्ग्रह १४९ वटा रहेको पाइन्छ । कथासङ्ग्रह ३३ वटा रहेका छन् भने उपन्यासहरु २४ वटा रहेका छन् । २६ वटा निबन्धसङ्ग्रह पाइएका छन् भने ८ वटा नाटक प्रकाशित भएका छन् । महाकाव्य ८, खण्डकाव्य ३४ वटा प्रकाशित भएको पाइन्छ । साहित्यका विधा मिश्रण गरी लेखिएका र इतिहास, धर्म, संस्कृतिका विषयमा केन्द्रित रहेका कृतिहरुको सङ्ख्या ६४ वटा रहेको पाइन्छ । नेपाली साहित्यका विधालाई केन्द्रमा राखेर लेखिएका समालोचनासङ्ग्रहहरु ५८ वटा रहेका छन् । सोलोडोलोमा ११३ जना साहित्यकारहरुले जम्मा ४०४ वटा साहित्यिक कृतिहरु प्रकाशित गरेको पाइन्छ ।
अन्त्यमा, पत्रिकाको आफ्नै सीमा भएको हुनाले साहित्य सिर्जनामा संलग्न सबैको नाम लिन असम्भव भएको छ भने मेरो ज्ञानको सीमाका कारण कुनै साहित्यकारका नाम र तिनका कृतिलाई समावेश गर्न सकेको रहेनछु भने अन्य अवसरमा तिनलाई समावेश गर्ने वचनबद्धता व्यक्त गर्छु ।
सन्दर्भ विवरण
–ढकाल, वेणीमाधव श्रीगणेशपुराणम्. काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार, २०६६ ।
–पौड्याल, षडानन्द धवलागिरिको नेपाली साहित्य. पर्वत ः पर्वत साहित्य सङ्गम, २०७६ ।
–बानियाँ, चन्द्रप्रकाश ऐतिहासिक पर्वत राज्य. म्याग्दी. म्याग्दी पुस्तकालय, २०६२ ।
–भुषाल, टीकाराम पर्वत जिल्ला वस्तुगत विवरण. पर्वत ः जिल्ला विकास समिति, २०५८ ।
–मेचीदेखि महाकाली भाग—३.श्री ५ को सरकार. सूचना विभाग २०३१ ।
–रेग्मी, जगन्नाथ कालञ्जर क्षेत्र र गलेश्वर धाम (पौराणिक विमर्श). पर्वत ः जलजला गाउँपालिकाको कार्यालय, २०७६ ।
–सुवेदी, सुभन्तनाथ “पर्वत जिल्लाका साहित्यकार र कृतिहरु” कालीको सुसेली. समसामयिक सङ्कलन— ५, २०५६, पृष्ठ ३२–३४ ।