साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’ सार्वजनिक भएको छ। उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुङ्गेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्व सचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रूपमा विमोचन गरेका छन्। ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको छ । उनीहरूका दुःख, पिर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ।
कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताए । ‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघच्याएपछि उपन्यास नलेखी बस्न सकिनँ’ उनले भने। मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन्। साङ्ग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ उनको तेस्रो उपन्यास हो। उनी बौद्ध दर्शनका अध्येता हुन्।