वोन धर्म
यो तिब्बतका जनजातिहरुको परम्परागत रैथाने धर्म हो । जसलाई बुद्ध धर्मले आफुमा मिसाएर ‘टिबेटन वुद्धिज्म’ भन्ने नयाँ शाखा–धर्मको जन्म नै भयो । ‘वोन धर्म’ले बुद्ध धर्मलाई प्रभावित गर्यो या बुद्ध धर्मले वोन धर्मलाई प्रभावित गर्यो भन्ने दुबै मत सुनिन्छ । वोन धर्मलाई तिब्बती भाषामा ‘व्योन भनि उच्चारण गरिन्छ । यसलाई ‘वोनवाद’ पनि भन्छन् र यो धर्म पालना गर्नेलाई ‘वोन्पो’ या ‘वोन–पो’ भनिन्छन् । केही तथ्यः
स्थापना मिति
यो १६००० वर्ष ईशापूर्व ‘युङदु्रङ वोन’ले (‘वोनपो’हरुको किंवदन्ती अनुसार) सुरु गरेका हुन् । जसलाई १४ औँ सताव्दीमा नयाँ रुप दिइयो । २. मुलुक ः यो तिब्बतमै उत्पत्ति र स्थापित धर्म हो । ३. संस्थापकः भनिन्छ क) यो कसैले स्थापना गरेको होइन । जनताले नै विकास गरेको रैथाने लोक धर्म हो । ख) ‘युङदु्रुङ वोन’ अर्थात ‘तोन्पा शेनरब मिवोचे’ नामक गुरुले स्थापना गरेको हो’ भन्ने दुइमत सुनिन्छ । ३. वोन मार्गी ः एउटा अन्दाज अनुसार तिब्बतमा १ लाख जति यस धर्मका अनुयायी होलान् भनिन्छ ।
इतिहास
वोन धर्मका अनुसन्धाता र वोन धर्मावलम्बी दुबै पक्षले ‘मौलिक र ‘आधुनिक वोन धर्म’ भनेर स्वीकार गरेका छन् । ‘मौलिक वोन धर्म’ भन्नाले तिब्बतका आदिवासी जनजाति समाजमा आदिकालदेखि प्रचलनमा रहेको परम्परागत वोन धर्मलाई बुझिन्छ । जुन ‘प्रकृतिपूजक आत्मवादी’ रहेको छ । अर्थात्, प्रकृतिक शक्ति (घाम, पानी, माटो, हावा, आगो, घरको मुल थाम, भूतप्रेत र पितृ) हरु सबैमा आत्मा छ भनि विश्वास गर्ने र ढोग–आदर–पूजा गर्ने, धामी–झाँक्रीहरुको सहयोगमा आध्यात्मिक व्यवस्थापन विधि अपनाउने तर कुनै आकारयुक्त देवी–देउताको पूजा गर्ने चलन नभएको समाज नै वोन्पो समाज हो । ‘वोन’ भन्ने शव्द सम्भवतया पूजा–कर्मकाण्ड गर्दा ‘धामी–झाँक्री’ले फलाक्ने वा फतुर्ने वा ‘प्रार्थना’ भन्ने अर्थबाट सृजना भएर रहेको हुन सक्छ भनिन्छ ।
मौलिक वोन धर्मको रुप कस्तो थियो ? भनेर ठोकेरै भन्न सकिन्न । किनभने अहिले लिखित रुपमा पाइने जति पनि पुराना कागजात–अभिलेखहरुमा बुद्ध धर्मका आधारमा व्याख्या गरेको कुरा जताततै मिसाइएको र अन्तरघुलित भएर छुट्याउनै मुस्किल रहेको देखिन्छ । यसको राजनैतिक कारण छ । जब बुद्ध धर्माबलम्बीहरुले तिब्बतमा शासन गर्न सुरु गरे तब वोन धर्मलाई पेलेर, दबाएर नष्ट पार्न राज्य स्तरबाटै सक्दो प्रयास गरियो । तथापि वोन धर्म तिब्बतबाट मासिएन बरु झन संगठित भएर आयो । दुःखको कुरा सारा प्राणीको निम्ति शान्तिको कुरा गर्ने ‘वुद्ध’मार्गी तिब्बती शासकहरुले ११ औं शताब्दीमा फेरि वोन धर्मलाई चरम दमन गरे र वोन धर्मलाई वुद्ध धर्मसँग बेस्सरी मिसाइदिएर छुट्याउनै नसकिने बनाइदिए । वोन धर्मावलम्बी गुरुहरु अद्यापि वोन धर्मको दोस्रो चरणमा ‘युङुदु्रङ वोन’को प्रसङ्ग ल्याउँछन्, जसलाई वुद्धिष्टहरु यस कुरालाई ‘होइन’ भनेर सिधै नकार्दछन् । वोन धर्मका गुरुहरुका अनुसार दोस्रो चरणमा बुद्धजस्तै ‘शेनराव मिवोचे’ (१८००० वर्ष अघि) नामक एक अचम्मका गुरु तिब्बत नजिकै झाङझुङ भन्ने ठाउँमा थिए जसले वोन धर्मको स्थापना गरेका हुन् ।
किंवदन्ती अनुसार शेनराव मिवोचे पनि लुम्बिनीका सिद्दार्थजस्तै राजकुमार थिए जसले राजदरवार त्यागे र भिक्षु बने । अध्ययन–ध्यान–तपस्या गरे र निर्वाण प्राप्त गरे । त्यसपछि निर्वाण प्राप्त गर्न सकिने उपायबारे अरुलाई प्रवचन दिन थाले । उनैले मौलिक वोन धर्मलाई ‘युङदु्रुङ (आत्मिक) वोन’मा विकसित गरिदिए । यस अनुसार बुद्ध धर्मभन्दा अघि पनि वोन धर्मलाई नयाँ रुपमा सुधार गरिएको रहेछ भन्ने बुझिन्छ । कतिपय अनुसन्धाताहरुले टिबेटन वुद्ध धर्मको स्वरुपको विकासमा ‘वोन धर्ममा लाओ–त्ज्यु’ र शेनरावको समेत योगदानको कुरा जोडेर ‘वोन धर्म ताओवादबाट आएको’ पनि भन्छन् । आधुनिक अनुसन्धाताहरुले त शैव (हिन्दु) धर्म कास्मीरतिरबाट तिब्बत पसेर वोन धर्मको विकासमा योगदान गरेको छ भनेर दावी गरेको समेत पाइन्छ । कालान्तरमा अहिले आएर ‘नयाँ वोन धर्म’ र टिबेटन वुद्ध धर्म (वोन र वुद्ध धर्म पुरै मिस्सिएको) एउटै हुन थालेको देखिन्छ । यसको कारण १४ औँ शताब्दीमा आएर वोन धर्म गुरुहरुले टिबेटन बुद्ध धर्मको पद्मसम्भवलाई अंगिकार गर्नुले नै हो भनिन्छ ।
त्यसो त नयाँ वोन धर्म पनि युङद्रुङ वोन धर्मभन्दा धेरै भिन्न देखिन्छ । नयाँ वोन धर्म मान्नेहरु वोन धर्मकै विभिन्न चरणगत स्वरुपहरुको निरन्तरता चलिरहेको मान्छन् । अक्सोफर्डको ‘डिक्शनेरी अफ वल्र्ड रिलिजन्स’ अनुसार ‘प्राचीन वोन धर्म र आधुनिक वोन धर्मबीच नगण्य समानता र सम्बन्ध रहेको’ छ ।
धेरैले तिबेटन वुद्ध धर्मले वोन धर्म मिस्साएपछि नयाँ आकार ग्रहण गरेको हो भन्ने गर्छन् तर ‘डिक्शनेरी अफ वल्र्ड रिलिजन्स’का अनुसार त्यो सही होइन । बरु वोन धर्मलाई भारतबाट तिब्बत पुगेको महायान वुद्ध धर्मले ठूलो प्रभाव पारेको देखिन्छ । हालका दलाई लामा पनि यो कुरालाई स्वीकार्छन् । अहिले वोन धर्म पश्चिम तिब्बतको सानो ठाउँमा र दलाई लामासँगै भारतमा बसिरहेकाले मात्र मानेको देखिन्छ । चिनीयाँ जनगणना अनुसार तिब्बतमा १०% (करीब १ लाख) ले वोन धर्म अहिले पनि मानिरहेका छन् । कम्युनिष्ट पार्टीले तिब्बतलाई लिँदासम्म तिब्बत र पश्चिम चीनमा गरेर करीव ३०० वोन गुम्बाहरु कृयाशील थिए भने अहिले २६४ गुम्बा, आनीहरु बस्ने स्थल र आश्रमहरु मात्र कृयाशील रहेका छन् ।
वोन धर्मका आस्था–विश्वासहरु
मौलिक वोन धर्मअनुसार प्रकृतिका ‘आकाश, घाम, जून, बिजुली चम्केको, चट्याङ, पशुपक्षी, विरुवा–बनस्पती आदि सबैमा आत्मा हुन्छ र तिनको पूजा गर्नुपर्छ’ भनि विश्वास गरिन्छ । सुरुसुरुमा र परम्परागत रुपमा वोन धर्मले (विरामी हुँदा वा केही नराम्रो घटना हुँदा वा केही शुभ कार्य थाल्दा) जोखाना हेर्ने, लयात्मक किसिमले मन्त्र फतुरेर कुनै प्रताडितव्यक्तिको रक्षाको निम्ति देउतालाई फकाउने–मनाउने, लयात्मक मन्त्रोच्चारण गर्दै वा कुनै बेला हकार्दै र रिसाएको हावभाव गर्दै झारफुक गरेर खराब आत्मा वा भूतप्रेतलाई प्रताडित व्यक्तिको शरीरबाट या छाँयाबाट भगाएर विरामी निको पार्ने उद्देश्यले मन्साउने–धपाउने, देवी–देउता वा भूतप्रेतलाई अंश दिएर फकाउन वली (रगत) समेत चढाएर दुःख नदिन अनुरोध गर्ने–मन्साउने, अलौकिक शक्ति शरीरमा चढाएर जादु–टुना गरी (मानसिक ?) उपचार गर्ने, आदि गरेको पाइन्छ र पछि आएर धेरै कुराहरु बुद्ध धर्मका संहिताहरुलाई नै अपनाएको देखिन्छ । अहिले आएर वोन धर्म ३ फरक फरक ‘मत’हरुमा बिभक्त रहेको छ – १) ब्रिडोल मतीय वोन जसले जादु–टुना गर्ने काम गर्छन् । २) भिख्यर मतीय वोन जसमा तीन तान्त्रिकहरुले नयाँ सिद्धान्त निकाल्न खोजे तर यिनले पनि जादु–टुनालाई नै अन्तमा अपनाए र, ३) बिस्ग्युर मतीय वोन जुन वोन र बुद्ध धर्मको बीचमा वैचारिक संघर्ष चल्दा जन्मेको ‘मत’ हो यसको सोझो अर्थ (वोन धर्मलाई बचाउन) ‘अनुवाद’ वा ‘व्याख्याता’को काम गर्दै आयो ।
अहिले पनि धेरै तिब्बतीहरु आफुलाई वोन धर्मावलम्बी नै हुँ भनेर आफ्नो पहिचान दिन्छन् । अझै पनि आत्माहरुलाई नियन्त्रण गर्ने भनेर तिब्बतका पर्वतहरुमा विशेष झण्डाहरु फहराइरहेछन् ती वोन धर्मका निशानी चिन्हका झण्डा हुन् । धेरै मन्त्रहरु बुद्ध धर्मबाट लिएर बाचन गरिन्छ । यसरी एक किसिमले वोन र बुद्ध धर्म सह–अस्तित्वमा बाँचेका छन् ।
मौलिक वोन धर्ममा निहित विश्वासका तत्वहरु केलाउँदा ‘कुनै दैवी शक्तिमा विश्वास गर्ने, ब्रह्माण्ड–संसार र जीवजन्तुको रचना ‘असल’ र ‘खराव’ दुई शक्तिबाट भएको भनि विश्वास गरिन्छ । तर, आधुनिक वोन धर्ममा धेरै कुरा बुद्ध धर्मका कुराहरु पसिसकेका छन् जुन ‘निश्वरवादी ’ मतमा आधारित छन् । वोन कर्मकाण्डहरुमा अहिले पनि पूजा गरिन्छ, दैवी शक्तिको प्रतीक (मूर्ति) थापना गरिन्छ, शान्त तथा रिसाहा देवी–देउतालाई ध्यानमा बसेर (तिबेटन वुद्ध धर्म अनुसार) याद–सम्झना गरिन्छ । वोन धर्मले शान्त र रिसाहा देवी–देउता बाहेक ‘ज्ञानी वा दिक्षित ’ र ‘सांसारिक ’ वा ‘पूर्ण दिक्षित नभइसकेका’ देवीदेउताहरु समेत छुट्याएर हेर्दछ । शान्तिपूर्ण देवी–देउताको हकमा ४ अलौकिक परमेश्वर छन् । जस्तैः १) ‘युम’ अर्थात ‘आमा’, २) ‘ल्हा’ अर्थात देवता, ३) ‘सिपा’ अर्थात् सृष्टिकर्ता वा पिता, ४) ‘त्योन्पा’ अर्थात शिक्षक वा गुरु । वोन धर्मका कर्मकाण्डहरु मुख्यतया ‘रिसाहा–संहारक’ या ‘पालक–पोषक’ देवी–देउता (यी दाम) हरुमा केन्द्रित रहेर कार्य सम्पादन गरिन्छ । यी देवी–देउताहरुलाई बडो भयानक रुपवाला भनेर वर्णन गरिएका छन् जसका सहस्र हात–पयरजडित भएको उल्लेख गरिएको छ, डरलाग्दा अनेक हातहतियार हातमा लिएका हुन्छन् र आफ्ना दुश्मनहरुलाई खुट्टाले टेकेर निसहाय अवस्थामा राखेको देखाइन्छ । तिबेटन बुद्ध धर्म अनुसार ‘ध्यान’ गर्नु भनेको १) रिसाहा देवी–देउताहरु मध्ये कसको नियत कस्तो हुन्छ सो बुझ्न, २) सत्य कुराहरु थाहा पाउन, र ३) निर्वाण प्राप्त गर्ने बाटोमा लाग्नको लागि हो ।
वोन धर्मले बुद्ध धर्मको निङमापा अनुसार ९ ‘यान’हरु हुन्छन् जसले ध्यानमा निपूर्णता हासिल गर्न सघाउँछ । ती हुन् – १) भविश्यवाणी गर्नु अर्थात ज्योतिषको बाटो, २) देखिने संसार अर्थात मनोभौतिक ब्रह्माण्डको बाटो, ३) भ्रम निवारण अर्थात नकारात्मक शक्तिहरुलाई धपाउने–मन्साउने बाटो, ४) अस्तित्व अर्थात मृत्यु र अन्तेष्टिको बाटो, ५) समर्थक (चेला) बनाउनु अर्थात दश सिद्धान्तका गतिविधि गर्नु, ६) भिक्षु हुनु अर्थात् गुम्बाको संहिता अनुसार चल्नु, ७) आदि–अन्त्यको ध्वनि अर्थात् निर्वाणको बाटोमा लाग्नु, ८) आदि–अन्त्यको शेन अर्थात् सही तान्त्रिक गुरु तथा अध्यात्ममा लागेर तान्त्रिक गुरुको चेला हुने बाटो, ९) सर्वोच्च सिद्धान्त अर्थात् महान परिपूर्णताको बाटो ।
दैनिक कर्मकाण्डहरु
वोन धर्माबलम्बीले पनि अचेल तिबेटन वुद्ध धर्मका दैनिक कार्मकाण्ड सञ्चालन गरेको पाइन्छ । जस्तैः थाङ्का र मण्डलाको प्रयोग गर्ने, अनेक देवी–देउतालाई सम्झेर ध्यान गरेर निर्वाण प्राप्तिको काममा नित्य लाग्ने, गुम्बाकै कडा संहिताहरु पालन गर्दै गुम्बाकै जीवन यापन गर्ने र मौलिक वोन धर्मबाट आएका ज्योतिष शास्त्र र जडिबुटीले उपचार गर्ने कामलाई निरन्तर कायम गर्ने ।
नेपालमा वोन धर्म
भनिन्छ, वुद्धिष्ट शासकहरुको दमन खप्न नसकेर वोनपोहरु हाल नेपालको माथिल्लो डोल्पातिर आफ्नो अस्तित्व जोगाउन भनी बसाइँ सरेर आएका हुन् । नेपालको डोल्पा क्षेत्रमा वोन धर्मका गुम्बाहरु अहिले पनि आफ्नो परम्परा कायम राखेर सकृय रहेका छन् । जस्तै ः मुस्ताङको क्लु ब्राग गुम्बा, डोल्पा जिल्लाका ग्युङ द्रुङ शुङ ट्शाल गुम्बा, डर रिग्यास टशोग्स ग्लीङ गुम्बा, याङ ड्गोङ गुम्बा, ब्साम ग्लीङ गुम्बा, म्था श्रुङ गुम्बा, स्पुङ मो र स्पु मेर्र मन्दिरहरु, ग्युङ दु्रङ ट्रे स्टन ग्लीङ गुम्बा, श्रीड रग्याल गुम्बा । आदि ।
रुकुमका वोन गुम्बाहरुमा ढोरपाटन गुम्बा, मोन री जुर गसु, मन्दिर आदि । काठमाण्डुमा केही गुम्बाहरु बोन्पो प्रशिक्षण केन्द्रको रुपमै सन्चालित रहेको सुनिन्छ, विस्तृत अध्ययन भएको छैन ।
सांकेतिक टिप्पणी
१. नेपालमा किरात लगायतका जनजातिहरु भाषागत हिसाबले साईनो ः तिबेटन अन्तर्गतको तिबेटो–बर्मन भाषा बोल्ने गरेकोबाट यी जनजातिहरुको भाषाको सम्बन्ध तिब्बत र चीनका भाषाहरुसँग रहेको प्रष्ट बुझ्न सकिन्छ । भाषा मिल्नु भनेको कुनै न कुनै रुपमा एउटै जाति भएको प्रमाण पनि हो । के नेपालका किराँतीहरु वोन्पोबाट किराँती भएका भएका हुन् ? यो सोधकै विषय हो ।
२. नेपालका किरात लगायतका जनजातिहरुको सँस्कार–सँस्कृतिहरुमा निहित सामाजिक संहिताहरुमा तिब्बतको वोन धर्मावलम्बीहरुको सँस्कार–सँस्कृतिहरुसँग समानता देखिन्छ । जस्तै ः झारफुक गरेर रोगीको उपचार गर्ने परम्परा, प्राकृतिक शक्तीहरु–घाम, जून, खोलानाला, बतास, ढुंगा–माटो र पूर्खा (पितृ)लाई पूजा गर्ने परम्परा, कुनै पनि सामाजिक सवालहरु समाजकै गन्यमान्य व्यक्तिहरुले समाजमै छलफल गरेर फैसला गर्ने रैथाने र मौलिक परम्परा, आकाररहित देवी–देउताहरुको पूजा गर्ने परम्परा, भूत–प्रेत–आँखी–डाहीलागे त्यसलाई मन्साएर (व्यवस्थापन गर्ने परम्परा, आदि । यसले पनि वोन्पो र किराँतीहरुमा कुनै न कुनै सम्बन्ध छ भन्ने कुरा इङ््गीत गर्छ । जसको विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ । ‘डेस्क स्टडी’को आधारमा यो छोटो लेख तैयार गर्नुको उद्देश्य तिब्बतको मौलिक वोन धर्म, आधुनिक वोन धर्म, तिबेटन वुद्ध धर्म र नेपालका हिमाल तथा पहाडी क्षेत्रमा बसोबास गर्ने जनजातिहरुको ‘जनेटिक्स’, ‘भाषागत’, ‘सँस्कृतिगत’ सामिप्यताहरुका बारेमा थप रुची बढोस् र अध्ययन अनुसन्धान हुँदै जावोस् भन्ने हो ।