वसन्त दाइको साथ र सहचार्यले मेरो जीवनमा धेरै ठूलो अर्थ राख्दछ ‘एउटा मान्छेको मायाले कति …’ गीतका भावहरुझैं उहाँको असीमित प्रेमको वर्षा ममा भएको म अनुभूत गरिरहेको हुन्छु ।
थोरै पूर्वस्मृतिमा हेलिन चाहें म । मैले वि.सं २०२८ सालमा तेह्रथुमकै स्कुलबाट एसएलसी दिएँ । त्यो आफैमा एउटा बलियो र महत्वपूर्ण खुड्किलो थियो, जीवनयात्राको । परीक्षापछि नतिजाको पर्खाई रह्यो । त्यसको नतिजा २०२९ सालमा आयो । र, यहींबाट मेरो बाटो पनि अर्को मोडमा मोडिन गयो । अर्थात्, उच्च शिक्षा अध्ययनका लागि म त्यस उप्रान्त राजधानीतर्फ लागें । म अर्को उचाईतिर उक्लिएँ ।
काठमाडौंमा मेरा काकाका छोराहरु बस्नुहुन्थ्यो । दाइहरुको बसोबास क्षेत्रपाटीमा थियो । त्यसबखत बाहिरबाट नेपाल (त्यसबेला काठमाडौंलाई नेपाल भनिन्थ्यो) भित्रिएका व्यक्ति शहर बजारमै बस्न रुचाउथँें । सम्भवतः त्यसै कारण पनि दाइहरु ईश्वरमान श्रेष्ठ, विश्वेश्वरमान श्रेष्ठ र वसन्तमान श्रेष्ठ नयाँसडकदेखि नजिक रहेको क्षेत्रपाटीमा डेरा लिएर बस्नुभएको थियो । त्यसो त काठमाडौंमा मेरो मामाघर पनि थियो । तथापि, म केही समय मामाघर नबसेर दाइहरुसँग नै बसें । काठमाडौं झरेपछि क्षेत्रपाटीमा बस्नु भएका मेरा दाइहरुले मलाई पहिलोपल्ट काठमाडौं घुमाउनु भयो, विशेषगरि वसन्त दाइले । किनभने वसन्तदाइ मभन्दा एक डेढ वर्षमात्र जेठो हुनुहुन्थ्यो । अर्थात एक किसिमले हामी समवयी थियौं ।
हाम्रो बाजेको नाम लोकमान श्रेष्ठ हो । उहाँका सात छोरा र एक छोरी मध्ये एकका छोरा वसन्त दाइहरु र एकका छोरा म हुँ । म माहिलोको कान्छो छोरा र उहाँ छैंठौ काकाको जेठो छोरो । केही वर्ष जेठो वसन्तदाइ मेरा दाजु भए पनि हामीबीच तेह्रथुम हुँदादेखि नै हिमचिम थियो । सायद यो उमेरको धेरै लामो ग्याप नभएकोले गर्दा पनि होस् । काठमाडौं आएको भोलिपल्ट वसन्तदाइले पहिलो दिन नै नयाँसडक लानुभयो । उहाँले क्षेत्रपाटीबाट किल्लागल, भेडासिंह, असन, इन्द्रचोक, मासंगल्ली हुँदै न्युरोड पिपलबोट पु¥याउनु भयो ।
म यति आल्हादित भएँ, त्यसको बयान म गर्न सक्दिन पाँच दशक पूर्वको त्यो प्रसङ्ग !
एक त मैले सधंै सुनिरहेको ठाउँ, तर मेरा लागि नितान्त नयाँ र नौलो ठाउँ । त्यसमाथि काठमाडौंको पुरानो बजार र तिनका गल्लीहरुको जोड र मोड । शायद रमाउने उमेर थियो मेरो । म औधि रमाएँ । आज पनि ती दृश्यहरु मेरो मानसपटलमा तरोताजा रहेको म पाउँछु ।
काठमाडांैका गल्लीहरु हुँदै म दाइसँग न्युरोडगेट आईपुगें । अत्यन्तै खुशी लाग्यो । न्युरोड गेटमै रहेछ गुँदपाक पसल । त्यहाँको गुँदपाक आज पनि प्रसिद्ध छ । त्यो समयमा झन् कस्तो होला ! काठमाडौंबाट मानिस बाहिर जान प¥यो कि कोसेली भनेको गुँदपाक नै हुन्थ्यो । त्यही लग्दथे । काठमाडौंको प्रिय कोशेली जो थियो त्यो ।
त्यही स्वादिष्ट गँुदपाक वसन्तदाइले मलाई खुवाउनु भयो । त्यसपछि मलाई घुमाउँदै रञ्जना सिनेमा हलछेउ लिएर जानुभयो । रञ्जना सिनेमा हलको प्रसिद्धिका बीच अर्को प्रसिद्ध पसल त्यहीं थियो, आरसी ममचा सेन्टर । यो यति प्रसिद्ध थियो कि न्युरोड पुगेका अधिकांश मानिस त्यहाँ मःम खान पुग्थे ।
वसन्तदाइ र मैले त्यहाँ मःम खायौं । वसन्तदाईले गर्दा मेरो जिब्रोले एउटा नौलो स्वाद पाएको थियो । मैले मेरो जीवनमै जानेर खाएको ममचा त्यही नै पहिलो पटक थियो । पछि काठमाडौंमा रहदै बस्दै जाँदा म एक्लै भए पनि अथवा साथीभाईसँग भए पनि आरसी मःम खान थालें । यसरी ममसँग मेरो प्रेम बस्यो भन्न सकिन्छ ।
मैले रञ्जना हलमै पहिलो पटक सिनेमा पनि हेरें । वसन्तदाइले सिनेमा देखाउनु भएको थियो एकदिन । यी सबै घटना प्रसंगहरु आज पनि मेरो मानसमा, स्मृतिमा जस्ताको तस्तै छ । थोरै पनि धमिलिएको छैन । स्वाभाविक हो, वसन्तदाईसँगको संगत पनि ताजा नै रहनु ।
वसन्तदाइले वि.सं. २०२६ सालमा एसएलसी दिनुभयो । उप्रान्त उहाँ काठमाडौं आउनु भयो । मैले २०२८ सालमा एसएलसी दिएँ । र नतिजा आइसकेपछि काठमाडौंतिर हिंडेको हुँ ।
केही दिन वसन्त दाइहरुसँगै क्षेत्रपाटीमा बसेपछि म मामाघरतिर लागें । मेरो मामाघर काठमाडौं नै भएकोले मेरो बसोबास त्यहीं भयो र कलेजको पढाई सुरु गरें ।
कालान्तरमा उच्च शिक्षा अध्ययनकै क्रममा भारततिर गएँ । वसन्तदाइ भने काठमाडौंमै रहेर पढाई सिध्याउनतिर लाग्नुभयो ।
केही वर्षको अन्तरालपछि म आफ्नो काम गर्न थालें । वसन्तदाइ पनि आफ्नो काममा लाग्नुभयो । हामी दुईको जीवनयात्रा यसरी नै आफ्नै गतिमा अगाडि बढिरह्यो ।अन्ततः हामी दुवै काठमाडौंमै बसोबास गर्न थाल्यौं । तर अवस्था जेजस्तो भए पनि, तेह्रथुम होस् वा राजधानी, साहित्यप्रतिको अनुरागमा रत्ति पनि कमी आएन । हामी दुवै साहित्यकर्ममा लछप्पै भिजी रह्यौं । राजधानी बसाईकै क्रममा वसन्तदाइले पूर्वेली धुन नामको साहित्यिक पत्रिकाको प्रकाशन थाल्नुभयो । त्यतिखेर क्रान्तिकारी, परिवर्तनकारी कवि लेखकहरुको समूह ठूलो थियो । त्यसमा उहाँको पनि विशेष भूमिका थियो । कतिपय समयमा वसन्तदाइले यस्ता समूहहरुमा नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नु भएको थियो । अर्थात काठमाडौंमा पनि वसन्तदाइको साहित्यिक क्रियाशीलता निरन्तर रहिरह्यो । जबकी उहाँले तेह्रथुममै हुँदा साहित्यिक पत्रिकाको काम गर्न थाल्नुभएको थियो ।
मलाई सम्झना छ, तेह्रथुमकै स्कुलमा सात आठ कक्षामा पढ्दा वसन्त दाई र मैले तीनजुरे हस्तलिखित साहित्यिक पत्रिका प्रकाशन गरेका थियौं । यस पत्रिकामा हामी संयुक्त सम्पादक थियौं । हस्तलिखित रुपमै भए पनि आकारका हिसावले मोटो पत्रिका थियो तीनजुरे । बिडम्बना, स्थानीय पुस्तकालयमा रहेको उक्त इतिहास २०५९ सालको म्याङलुङ्ग बजारमा लागेको अग्निकाण्डले ध्वस्त भयो । त्यो अग्नि ताण्डवमा त्यहाँको श्रीकृष्ण पुस्तकालय पनि प¥यो र सारा सामग्री डढेर सखाप भयो । त्यसैमा हस्तलिखित पत्रिका तीनजुरेको अङ्क पनि जल्यो ।
यसरी स्कुले जीवनमै तीनजुरेको सम्पादन गरिसकेका वसन्तदाइले त्यसपछि पनि विभिन्न साहित्यिक पत्रिकाहरुको प्रकाशन गरिरहनु भयो । पत्रिका निकालिरहनु पर्छ, लेखिरहनुपर्छ भन्ने अवधारणा उहाँमा बलियोसँग बसेको थियो । त्यसैले त साहित्य र साहित्यिक पत्रकारिता उहाँको जीवनको एक अंग नै बनेको थियो ।
तेह्रथुममा हुँदा अरु पत्रिकाहरु पनि प्रकाशनमा आएको थियो । जे होस्, तेह्रथुम म्याङ्गलुङ्गका विद्यार्थीहरुलाई साहित्यमा लाग्न उत्प्रेरणा दिने स्रोतहरु प्रशस्त नै थियो । कतिपय शिक्षक र विद्यार्थीहरु निरन्तर साहित्यिक क्रियाकलापमा लागेका थिए । यहाँ वसन्तदाइको योगदानलाई नजरअन्दाज गर्न सकिदैन नै ।
वसन्तदाइको साहित्यिक सोच र सक्रियताले उहाँलाई काठमाडौंमा पनि व्यस्त बनाएको थियो । त्यसैले कविता लेखन, साहित्यिक संगठन विस्तार र साहित्यिक पत्रिकाको प्रकाशनमा कुनै कमी आउन दिनुभएन । तर गएको तीस वर्षअघि वसन्तदाइ अमेरिकातिर लाग्नुभयो । सात समुन्द्रपारीको पाताल प्रवास । तर, त्यहाँ पनि दाइको रुचि र सक्रियता अलिकति पनि कम भएन । झन् झाँगिएर गयो । उहाँमा साहित्य सिर्जना गर्ने, साहित्यिक संगठन गर्ने दृष्टिकोणमा कुनै परिवर्तन आएको थिएन । अमेरिकामा पनि आफ्नो मूल बिधा कविता लेखनलाई निरन्तरता दिइरहनु भयो । निबन्धहरु पनि लेखिरहनु भयो ।
वसन्तदाइ एक कुशल संगठक हुनुहुन्थ्यो, त्यसको परिणति उहाँ नेपाल हुँदा नै देखिएको थियो । जसरी नेपालमा संगठन बिस्तारमा उहाँ सक्रिय हुनुहुन्थ्यो, त्यसैगरी अमेरिकामा पनि साहित्यिक संगठन गर्दै सर्जकहरुलाई एउटा घेरामा गोलबद्ध गर्दै जानुभयो । अमेरिकाजस्तो व्यस्त देशमा पनि उहाँले नेपाली भाषा साहित्यमा समर्पित साहित्यकारहरुलाई एक ठाउँमा ल्याउन भिडेरै लाग्नुभयो ।
वास्तवमा, वसन्तदाइले लेख्नु भन्दाबढी सर्जकहरुलाई एक ठाउँमा ल्याउने कामलाई बढी महत्व दिनुभयो । सामूहिक नेतृत्व दिँदै संगठनमा लाग्न हरेकलाई हमेसा प्रेरित गर्ने उहाँको प्रवृत्ति थियो । आजसम्म उहाँको यो प्रवृत्ति कायमै छ । यसैक्रममा प्रारम्भतिरै उहाँ अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय अध्यक्ष पनि हुनुभएको थियो । सन् १९९८ तिर होला । त्यस संस्थाका माध्यमबाट उहाँले थुप्रै साहित्यिक कार्यक्रमहरु पनि गर्नुभएको थियो । उहाँ आफै पनि सर्जकहरुलाई गोलबद्ध गर्ने सोचका साथ अगाडि बढिरहने व्यक्ति भएकाले उहाँको नेतृत्वमा विविध क्रियाकलाप हुनु अस्वाभाविक थिएन ।
सन् २००० सालमा अमेरिकाको एटलान्टा शहरमा एएनए, आन्मा र नासियाको संयुक्त रुपमा वाईटुके ९थ्द्दप्० महाधिवेशन भएको थियो । त्यस अधिवेशनमा भाग लिन नेपालबाट पनि केही सर्जकहरु अमेरिका जानुभएको थियो । पाँच जना साहित्यकार थिए । जसमा डा. तारानाथ शर्मा, डा. अरुण सायमी, रमेश खकुरेल, गोविन्द गिरी प्रेरणा र म पनि थिएँ । त्यस साहित्यिक कार्यक्रम सञ्चालनको जिम्मा वसन्तदाइले मलाई दिनु भएको थियो । मेरा लागि यो अवसर पनि थियो । त्यसैबखत अमेरिकामा बसेर सिर्जना गर्ने धेरै साहित्यकारहरुसँग परिचित हुने मौका मलाई मिलेको थियो ।
सो अधिवेशनमा “अन्तराष्ट्रिय नेपाली कविता महोत्सव” नामक अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न भएको थियो । संसारभरका सात सय कविहरुले भाग लिएको सो कविता प्रतियोगितामा मन्जुल, क्षेत्रप्रताप अधिकारी जस्ता सर्जक पुरस्कृत हुनुभएको थियो । र, पुरस्कारको राशि पाँच सय र दुई सय डलरको थियो । सम्भवतः डलरमा पुरस्कार समर्पण यो पहिलो पटक थियो । भन्नुको तात्पर्य, वसन्तदाइ नेपाली भाषा साहित्यको उन्नयनका लागि उत्तिकै दत्तचित्त हुनुहुन्थ्यो, जुन क्रियाशीलता नेपालमा थियो । दाइको यो क्रियाशीलता अति प्रशंसनीय छ भनिरहँदा अतिरञ्जना नहोला ।
सन् १९८३ सालमा स्थापना भएको “एएनए” संस्था अमेरिकामा धेरै लोकप्रिय संस्था मान्निन्छ । वसन्तदाइले संस्थाको कार्यकारी सदस्य सन् १९९५ मा लिनुभयो । सो संस्थाद्वारा नेपाली साहित्यको विकासमा “ईन टच” साहित्यिक पत्रिकाको पनि प्रकाशन गर्नुभयो । सन् २०१० मा सोहि संस्था अन्तर्गत “नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका” गठन भयो र उहाँ संस्थापक अध्यक्ष भएर कार्यभार सम्भाल्नु भयो । प्रतिष्ठानले नेपाल र अमेरिकामा अनेकानेक साहित्यिक कार्यक्रमहरुको आयोजना गरेको थियो । त्यस अन्तराष्ट्रिय नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको सम्पर्क कार्यालय नेपालमा पनि थियो । हामी नजिकका कतिपय साथीहरु सो संस्थामा आबद्ध पनि भएका थियौं ।
त्यसबेला सो प्रतिष्ठानले अन्तराष्ट्रिय कविता महोत्सवको आयोजना गर्ने गर्दथ्यो । कविता महोत्सवका पुरस्कारको रकम एकहजार डलर, पाँच सय डलर र तीन सय डलरको थियो । सन् २०१२ देखि धेरै वर्षसम्म पहिलो पुरस्कारको राशि वसन्तदाइले आफ्नै बुबा आमाको नाममा प्रायोजन पनि गर्नुभएको थियो । सम्भवतः कविता लेखेर सबैभन्दा ठूलो राशिको पुरस्कार यही नै थियो । प्रतिष्ठानको यो कार्यक्रम धेरै ठाउँमा भएको थियो । एउटा कार्यक्रम त राष्ट्रपति भवनमै भएको थियो । राष्ट्रपति हुनुहुन्थ्यो डा. रामवरण यादब ।
यसरी साहित्यिक संगठन र त्यसको परिचालनमा वसन्तदाइको गतिशीलता र योगदान विशिष्ट रहेको थियो । संगठन निर्माणका क्षेत्रमा वसन्तदाइ अत्यन्तै मुखरित हुनुभएको मैले जहिल्यै अनुभव गरेको छु । यसरी संगठन विस्तार गरिनुपर्छ भनेर हामीलाई पनि सधंै सिकाउनु भएको छ ।
एउटा प्रसङ्ग सम्झना आउँछ, सन् २०१२ मा वाशिंगटन डिसीमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अन्य कार्यक्रमका साथै “अन्तराष्ट्रिय नेपाली साहित्य महिला सम्मेलन”को आयोजना गरेको थियो । नेपालबाट पद्मावती सिंह, चन्द्रकला नेवा, ललिता दोषी र रुकु कार्की लगायतका थुप्रै महिला साहित्यकारको जमघट भएको म सम्झन्छु । सो कार्यक्रममा मैले पनि भाग लिने मौका पाएको थिएँ ।
त्यो कार्यक्रम आफैमा एक सफल कार्यक्रम थियो । जहाँ महिला साहित्यकार तथा साहित्यका विविध विषयमा विहङ्गम छलफल भएको थियो । त्यसै अवसरमा प्रतिष्ठानले सम्पादक विमल भौकाजीको सम्पादनमा नारी–स्रष्टा चिन्तना र सिर्जना साहित्यिक समालोचनासङ्ग्रह पनि प्रकाशित गरेको थियो ।
वसन्तमानदाइको साहित्यिक सक्रियताका बारेमा जति नै चर्चा गरे पनि कम हुन्छ । गएको वर्ष काठमाडौं आउँदा उहाँका केही कृतिहरु सार्वजनिक गरिए । जसमा उहाँको एउटा संस्मरणात्मक पुस्तक अँगालोभरिको अनुभूति थियो भने अर्को आफ्ना पिताजीको सम्झना र पिताजीले म्याङ्गलुङ्ग क्षेत्रको विकासमा दिनुभएको योगदानबारे उल्लेख गरिएको छ । पुस्तक हो नारायणमान श्रेष्ठ ः ईतिवृत ।
वसन्तदाइको पिताजीको चर्चा यहाँ सान्दर्भिक होला । दाइका पिताजी पूर्वान्चलको पुरानो स्कुल श्री सिंह बाहिनी हाइस्कुलको संस्थापक हेडमास्टर भएर लामो समय सेवा गर्नुभयो एक कुशल शिक्षक एवं प्राचार्यको रुपमा । वि.सं. २००४ सालमा उक्त स्कुलको स्थापना हाम्रा बाजे लोकमान श्रेष्ठले गर्नुभएको थियो । जहाँ हाम्रो काका नारायणमान श्रेष्ठले संस्थापक हेडमास्टर भएर लामो सेवा गर्दै काकाले आफूलाई सामाजिक सेवामा पनि पूर्णता सहभागिता जनाउनु भयो । म्याङ्गलुङ्गको स्थानीय विकास निर्माण तथा अन्य विकास कार्यमा उहाँको सक्रियता रहेको थियो । ठेक्कापट्टामा पनि उहाँ संलग्न हुनुभएको थियो । यथार्थमा वसन्तदाइका पिताजी, हाम्रा काका त्यस क्षेत्रका लागि प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो ।
वसन्तदाइको जीवन आफ्नै किसिमबाट अगाडि बढ्यो । साहित्यिक संवेदनशीलता उहाँमा भरिएको थियो । साहित्यिक कृयाकलाप उहाँको कर्म थियो । कर्मका लागि हुनुपर्ने लगनशीलताको कमी उहाँमा हुने कुरै भएन । त्यसैले अमेरिका पुगेपछि पनि उहाँको साहित्यिक र सांगठनिक कर्मको गति उस्तै रह्यो । अमेरिकामा उहाँको वसाई औसतमा धेरै राम्रो थियो । तथापि, उहाँले आर्थिक उपार्जनलाई मात्रै आफ्नो अभिष्ट बनाउनु भएन । उहाँले नेपालीभाषा, साहित्य, कला, संस्कृतिको उत्थानमा पनि केही गर्न सकिन्छ भन्ने दृष्टिकोणलाई महत्व दिनु भयो । र, सोहीअनुरुप विविध काम गर्दै जानुभयो । जसको परिणति हो उहाँको आजको साहित्यिक गतिशीलता । वसन्तदाइको अमूल्य योगदान छ नेपाली भाषा साहित्यको उन्नयनमा ।
अमेरिकामा रहेको उहाँको निजी पुस्तकालय देखेर म दङ्ग पर्छु । त्यति राम्रो र ठूलो पुस्तकालय छ उहाँको । अर्को कुरो, भर्जिनिया जाने र वसन्तदाइसँग संगत नगर्ने नेपाली साहित्यकार सायद कमै होलान् । उहाँको घरमा अतिथि भएर जाने थुप्रै नेपाली साहित्यकारहरु हुनुहुन्छ ।
यतिखेर यो आलेख लेख्दै गर्दा वसन्तदाइ नेपालमै हुनुहुन्छ । दाइ वर्षेनी मातृभूमि टेक्नुहुन्छ । पाठकका लागि केही साहित्यिक खुराक दिनुहुन्छ । दाइको यो साहित्यिक समर्पणप्रति नतमस्तक छु म । उहाँको सम्मानमा केही गरौँ भन्ने सोचिरहेको छु । एपेक नेपाल त्यसका लागि तयारी गरिरहेको छ ।
उहाँको एउटा नयाँ कृतिको पनि तयारी हँुदैछ । विदेशमा बसेर पनि नेपाली कविता र साहित्यको योगदानमा उहाँलाई हामीले एपेक सम्मानबाट सम्मान पनि गरेका थियौं । त्यस्तै साहित्यिक पत्रकार संघबाट पनि उहाँ केही समय अघि पुरस्कृत हुनुभएको छ । उहाँले अरु पनि पुरस्कारहरु पाउनु भएको छ । पुरस्कार पाउनु नपाउनु यो ठूलो कुरो होइन । ठूलो हो उहाँको योगदान । जुन उहाँले देश बाहिर रहेर पनि नेपाली भाषा साहित्यको उत्थानका लागि गर्नुभएको छ । आज पनि उहाँ नेपाली भाषा साहित्यमा सक्रिय स्रष्टाहरुलाई गोलबद्ध गर्न तत्पर हुनुहुन्छ । यो योगदानलाई उहाँको नामसँग छुट्याउन नै सकिँदैन । केही मानिस विदेशमा गएर आर्थिक रुपमा सम्पन्न भएपछि लेखक हैसियतले माथि आउने प्रयासमा लागेको नदेखिएको होइन । तिनले आफूलाई लेखकका रुपमा स्थापित गर्न अनेक गर्दै आएको पाइन्छ । तर वसन्तदाइ जहाँ रहनु होस्, उहाँको स्वभाव, कार्यशैली, गतिमा कुनै परिवर्तन भेटिन्न । नेपालमा हुँदा पनि उहाँ कविता लेख्नुहुन्थ्यो र साहित्यिक पत्रकारिता गर्नुहुन्थ्यो । अमेरिकामा पनि उहाँको यही दिनचर्या रह्यो । अझ अमेरिका प्रवासमा गएपछि उहाँको यो सक्रियता झनै बढेर गएको मेरो अनुभव छ । व्यस्तताको पर्याय मानिने अमेरिकामा पनि उहाँको कलमले, साहित्यिक कर्मले विश्राम लिएको छैन ।
वसन्तदाइको कवित्वकाबारे थोरै कुरा अझ आवश्यक छ । उहाँ विद्रोही स्वभावको कवि हुनुहुन्थ्यो । परिवर्तनको पक्षमा उहाँको कलम सधैं अगाडि बढिरहेको मैले पाएको छु । मुलुकलाई माया गर्नुपर्छ भन्ने उहाँको चेतनामा कुनै परिवर्तन आएको छैन । उहाँको लेखनमा स्पष्ट झल्किन्छ । स्कुले जीवनकालमा कविगोष्ठी गर्ने, पुस्तकालय प्रवद्र्धनका लागि भिडेर लाग्ने र राजधानीबाट साहित्यिक कार्यक्रम लिएर गएका समूहहरुलाई वसन्तदाइ र हामीले तेह्रथुममा निरन्तर सहयोग गरेका थियौं । राल्फालीलाई सहयोग गरेको आज पनि मेरो स्मृतिमा छ ।
वसन्तदाइ हामीभन्दा अग्रज हुनुहुन्थ्यो । उहाँको पछाडि लाग्दा पनि हामीले केही सिक्न पाउँथ्यौ । जान्न पाउँथ्यौ । उहाँका पिताजीबाट पनि हामीलाई बारम्बार मार्गदर्शन मिल्दै आएको थियो । अझ भनौ, दाइको घर हाम्रा निम्ति अध्ययनको एउटा विहङ्गम थलो थियो ।
वसन्तदाइको लेखनका विषयमा जति चर्चा गरे पनि कम हुन्छ । बस् यति मात्र भनौ, हाम्रो औंला समाएर साहित्यमा डो¥याउने वसन्तदाइको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना !!!