सरकारले ’जनवादी’ गायक जेबी टुहुरे लाई ’जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले टुहुरे लाई जनगायकको उपाधि दिने निर्णय गरेको हो ।
प्रगतिशील, जनवादी, क्रान्तिकारी गायकका रूपमा परिचित जेबी टुहुरेको २०७८ साल भदौ १० गते ७८ वर्षको उमेरमा निधन भएको थियो । २००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जेबी टुहुरेले न्याय समानता र परिवर्तनको पक्षमा उभिँदै जनमत निर्माणका लागि आफ्नो आवाज दिए । उनको वास्तविक नाम जुठबहादुर खड्गी हो। बुवाको निधनपछि आफूलाई टुहुरो सम्झेर आफ्नो नामको पछाडि टुहुरे राख्न थालेका हुन् । त्यस पछि उनलाई उनी टुहुरेकै नामैले चिनिए ।
उनी कम्युनिस्ट आन्दोलनलाई गीतको माध्यमद्वारा अगाडि बढाउने सर्जक भनेर चिनिन्छन्। पञ्चायतकाल देखि नै कम्युनिष्ट पार्टीमा लागेर उनले कैयन गीत गाए, बुढापाका र महिलाहरूलाई कम्युनिस्ट आन्दोलनमा आकर्षित गराए।
प्रतिबन्धित अवस्थामा गायक बनेका उनले समाज परिवर्तनका लागि विविध थरी गीत गाए। रेडियो नेपालमा त्यस बेला उनका गीत प्रसारण हुँदैनथे । तर जनजनमा उनले मन जितिसकेका थिए। गरिब, विपन्न परिवारका मानिसहरू जेबी टुहुरेका गीत सुन्न पाए दङ्ग पर्थे।
‘आमा दिदी बहिनी हो
कति बस्छौ दासी भै
सुखको सधैँ प्यासी बनेर’
यो गीत टुहुरेको सबैभन्दा लोकप्रिय गीत हो । २०४६ साल अघि यो गीत कोठा कोठामा गाइन्थ्यो । महिलाहरु पन्छी झैं उड्नु पर्छ, शोषणमा बस्नु हुन्न , आफ्नै परिचय बनाउनु पर्छ भन्ने पक्षमा उनका गीतहरू हुन्थे ।
बसाइँ हिँडेको ताँतीले
बस्नेको मन रुवाउँदछ
लाखौँको लागि उजाड छ यो देश
मुठ्ठी भरलाई त स्वर्ग छ!
लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई स्वर्ग छ।
गीतले ग्रामीण समुदायमा बसोबास गर्ने, कुटो कोदालो चलाई जीवन निर्वाह गर्ने, भारी बोक्ने, एक ठाउँबाट अर्को ठाउँमा गाँस, बास र कपासका लागि बसाइँ सर्ने, छोराछोरी हुर्काउन र पढाउन साहुको ऋण काढ्नुपर्नेजस्ता दर्दान्त कथा बोकेको पाइन्छ । जेबी टुहुरेले गाएका गीतमा समाज परिवर्तनका अलावा मानवीय संवेदना प्रशस्तै बोकेको पाइन्छ।
नेपाली समाजको विकास नहुनुको कारण जातीय भेदभाव पनि हो । यसैलाइ लक्षित गरेर उनले गाएको गीत हो । उनलाई लाग्थ्यो, दलित बस्तीका छोराछोरीमाथि अन्याय, अत्याचार र शोषण कथित उपल्लो जातिले गर्न नछोड्ने प्रचलन नहटेसम्म कुरीतिलाई मिल्काउन सकिँदैन।
पानी चल्दैन रे तर रगत चल्दछ
कहिलेसम्म यस्तो ढोँगी जगत् चल्दछ।