विद्यालयका सुरुआति दिनहरु कम्ता रमाइला थिएनन् हरिप्रसादका ! आमाले नियमित रुपमा कहिले बोक्दै, कहिले हात समाएर ताते ताते गराउँदै ठूलो चौतारामुनिको विद्यालयसम्म छाड्न र लिन जाने हर्षका नियमितताहरुमा बितेका थिए, आमा छोराका ती दिनहरु । बालकका अघि पछि लाग्दै सुलुलु बितेका आमाका रमाइला यामहरु उनको कल्पनाको स्वप्निल संसार थियो, भविष्यको मीठो सुगन्ध थियो र त्यसैले दिएको थियो, बाँच्ने जीवनको ऊर्जा पनि ।
ती दिनहरुमा आमाका कम्ता काम थिएनन्, चटारोले दिने सधै असारको पन्ध्रजस्तो हतारोमा तिनले बाँच्नु परेको थियो । दुई–दुई दुहुना भैंसी, हलगोरु, ८–१० बाख्रा पाठाहरु, दशपाथि बीऊलाग्ने अब्बल खेतमा सदाबहार लाग्ने बाली र खेतालाहरुलाई खाजापातको जिम्मेवारीमा पनि उनी कहिल्यै चुक्दिन थिइन् । यी सबै भ्याएर पनि उनलाई हरिप्रसादको सुसुर्को नै प्यारो थियो । घरखेत, बाख्रापाठा हलीगोठाला, घाँसपात सबैको गरिभ्याएर पनि उनी छोरालाई लिन पुर्याउन आफैं पुग्थिन्, चौताराछेउको विद्यालयसम्म ।
चौडा निधार, उज्यालो वर्ण, टम्म मिलेका दाँतका पङ्क्ति, मिजासिलो, मधुरवाणीको बालक पनि रहरलाग्दो र आमाकै जस्तो रुप लावण्यले धनी थियो । छरछिमेक र इष्टमित्रहरुमाझ त्यो बालक दृष्टान्तकै पात्र थियो । सबैले भन्ने गर्थे छोरा त यिनले पाएकै हुन् नि । सन्तान हुनु त हरिप्रसादजस्तो । सबैले यसो भनिदिंदा आमाको मन फुलेर सयपत्रीजस्तो नाच्दथ्यो, अहिलेका सारा दु:खका पहाडहरु बिर्सन्थिन् । सबैको प्रशंसा र आँखाको नानी बनेको बालकलाई एकान्तमा अनेकबार काखमा लिएर छातीमा टाँसेरै सबै थकाइ बिर्सन्थिन् उनी । बालक आमाको मायामा निथ्रुक्क भिजेर निदाइदिन्थ्यो, आमाका आँखाहरु अनायसै अज्ञात खुशी, आशा, निराशा कुन्नि के के हो दिलभरी भएर पोखिन्थे । उनको आँसु किन बग्थे उनैलाई पत्तो हुँदैनथ्यो । कहिले कहिले त छातीमा निधाएको त्यही बालक उठेर मसिना हातहरुले आमाका चिसा आँखा पुछ्न थाल्थ्यो त्यतिबेला तिनको आँसु झनै किन हो कुन्नि नथामिइकन बगिरहन्थ्यो बगिरहन्थ्यो ।
यस्तो लाग्थ्यो कि संसारका सबै भाषाहरु मान्छेका मनका संवेदना हर्ष, पीडा, दु:ख, सन्तुष्टि, असन्तुष्टिहरु ओकल्न समर्थ छैनन् । सबै उमेर र सबै कुनाका मान्छेले जान्ने र बुझ्ने एउटै भाषा आँसु हो जसले बगाउन सक्छ पीर व्यथाहरु । ती अबोध दुई प्राणीले आँसु बगाएर गरेका बात बडो विचित्र जस्तो लाग्थ्यो जहाँ पत्थर भए पनि पग्लन्थ्यो र भगवान भएपनि आँसुले भिज्थे सायद ।
मनका कुहरदेखि कति कति दिनका भन्न नसकेर जमेका मातृ हृदयका उकुसमुकुसहरु पखालिएपछि मन छ्याङ्ग हुन्थ्यो र आमा अनेक ऊर्जा बोकेर घर व्यवहारमा मेशिन भएर खट्थिन् ।
कामकै चटारोहरुको बीच बीचमा पनि हरिप्रसादलाई उनी भन्ने गर्थिन् —“बाबु छोरा धेरै पढ्नु पर्छ है, मेरो हरि हाकिम बन्नुपर्छ ।”
हरिप्रसाद उमेरको उकालो दिन दिन चढ्दै गयो । जति जति उमेरको उचाइ बढ्दै जान्थ्यो आमाको हाकिमी सपनाको शब्दांश दोहोरिंदै जान्थ्यो । हरिप्रसादलाई आमाको सपनाले निकै प्रेरणा दिएको थियो ।
तिनताका आमाको पाखुरामा बल प्रशस्त भरिएजस्तो लाग्दथ्यो । सबै थोक एक्लै गर्थिन्, भातभान्सा, गोठभकारो, पानी पँधेरो, घाँस सोतर, मेलापात, गोडमेल सबै उनले नै भ्याउनुपथ्र्यो । समय अडिंदैन यो एकनाश रहँदैन पनि, बिस्तारै सबैथोक बदलिंदै जान्छ । समयको बेगसँगै हरिप्रसादले विद्यालयको शिक्षा पूरा गर्यो । आमाले मनभरि सपनाका कोसेलीहरु पोको पारेर सहर पठाइन्, उसले पनि आमाका आशीष पोल्टाभर थाप्दै मन लगाएर पढ्यो । राजधानीको त्रिचन्द्र कलेजको परिसरभर उसले जताततै आमाका स्नेहालु हातहरुको स्पर्श र प्रेमिल वचनहरु सुनेजस्तो भान हुन्थ्यो । वात्सल्यको तिर्खा र आशीर्वादको प्रेरणाले उसको स्नातक पनि सकियो । त्यसपछि भने उसलाई जतिबेला पनि आमाको “बाबु पढेर ठूलो हाकिम बन्नू” यस वाक्यले निकै लखेट्न थाल्यो । दिन रात बिर्सेर ऊ लोकसेवाको तयारीमा जुट्यो ।
हरिप्रसादले त्यस वर्ष बागबजारको लोक सेवा तयारी कक्षामा पनि निकै मेहनतले पढ्यो, खरिदारदेखि अधिकृतसम्मका सबै परीक्षा दियो । उसको स्नातक सकिएको त्यो बर्ष निकै व्यस्तता र उग्र तयारीमै बित्यो । हुलाकसेवा देखि राजश्व, परराष्ट्रसम्मका सबै समूहमा परीक्षा दिएको हरिप्रसादलाई सामान्य प्रशासन सेवाको अधिकृत परीक्षामा भने नाम निस्कन्छ भन्ने निकै विश्वास थियो । सबै किसिमका परीक्षा सकेरमात्र ऊ आमाको सम्झनामा विभोर भएर घर फर्कियो ।
घर पुगेर पनि उसमा बेचैनी उस्तै थियो । प्रत्येक बुधवार, विहीबारको गोरखापत्र खोज्न गाउँ विकास समितिको कार्यालयसम्म जान्थ्यो, नभए सदरमुकाममै पुगेर परीक्षाफल हेथ्र्यो । दिनचर्या आशालु भएर बिताएको थियो त्यतिबेला ।
२०५५ साल भाद्र बुधबारको गोरखापत्र हात पर्नासाथ उसले पहिला राशीफल पढ्यो । त्यहाँ बिद्यामा सफलता देखेपछि कता कता उसको मनमा खुम्चिएको खुशी एक्कासी छरिएजस्तो भयो र हतार हतार बीचको पृष्ठमा पल्टाएर लोकसेवाको सूचना पढ्न थाल्यो । सामान्य प्रशासन सेवाको अधिकृत परीक्षाको नतिजा नं. तीनमा लेखिएको हरिप्रसाद पढ्न उसलाई निकै बल पर्यो, दोहोर्याइ तेहेर्याइ पढेपछिमात्र उसको धित मर्यो र खुशीको विष्फोटक उमंगले झण्डै चिच्याएको थियो ।
उसले थाहा नै पाएन कि कतिबेला गएर नजिकैको मिठाइ पसलमा लड्डु किन्यो र आमालाई नसोधिकन मुखमा हालिदियो । आमाले अनुमानै गर्न सकिनन् कि छोरा आज यतिविघ्न खुशी किन भैरहेछ । एकोहोरो भएर छोराको अनुहार पढिरहेकी आमालाई बिचार गर्ने मौकै नदिइ उसले भन्यो —“थाहा छ आमा अब तिम्रो छोरा तिमीले भनेजस्तै हाकिम भयो ।”
अब फेरि आँसु झार्ने पालो आमाको थियो । सन्तानको सफलतामा आमाको जति सन्तुष्टि सायद कसैलाई पनि हुँदैन । आमाले गोठमा गोबर सोहरेकै हातले छोरालाई छातीमा टाँसिन् र निधारमा अमूल्य चुम्बनले लाखौंलाख आशीष खन्याइन् ।
हरिप्रसाद त्यसैदिन सहर गयो र केहीदिनमा खाइलाग्दो अड्डाको हाकिम पनि भयो । हाकिम भएपछि सहरका लोभलाग्दा नानीहरुको छड्के आँखाहरुले हरिप्रसादलाई निकै लखेट्न थाले निकै समय तर्सियो, भाग्यो र छलिरह्यो तर कतिञ्जेल ? आखिर ऊ पनि त मान्छे थियो । बिस्तारै बिस्तारै पछि लाग्ने केहीजोर आँखाहरुबाट एउटा छानेर जीवन बिताउने निर्णयमा पुग्यो । आमालाई समेत झिकाइ पशुपतिमा सानो विधि पुर्याएर आफ्नो विद्यार्थी कोठामै भिœयायो । आमा गाउँमै फर्किइन् ।
यतिञ्जेल हरिप्रसाद आमाको थियो, आमासँग हरिप्रसादप्रति कुनै अपेक्षा थिएन । कुनै महत्वाकांक्षा थिएन, आमाको त मात्र आशीर्वाद थियो । अब त हरिप्रसाद आमाको भन्दा ज्यादा श्रीमतीको श्रीमान् थियो । त्यसैले उसका आवश्यकताहरु दिन दिन सगरमाथा जस्तै चुलिन्थे । कोठाको जीवन साँगुरो भएर फ्ल्याट लिनुपर्यो, मोटरसाइकल, स्कुटर, घर घडेरीका अनेक गृहपुराणले उसको आमाको आँसु सिञ्चित रसिलो छाती बिस्तार बिस्तार पत्थर बन्दै थियो र अफिसका फाइलहरुमा कताबाट लामोहात गर्न सकिन्छ ? कताबाट आफ्ना असिमित महत्वाकांक्षाहरुमा मलम लगाउन सकिन्छ भन्ने चिन्तनहरुमा ज्यादा केन्द्रित हुनथाल्यो । एकपछि अर्को गर्दै आवश्यकताहरु पनि थपिन्थे र पूरा हुने उपायहरु पनि निस्किरहन्थे ।
यसैबीच समयले निकै कोल्टे फेरिसकेको थियो, उसको पहाड घर र आमाको बीचमा पनि निकै निकै दरारहरु परिसकेका थिए ।
बानेश्वरमा उसको नयाँ घरमा सर्ने पूजाआजाको कार्यक्रम थियो । आज कसोकसो आमालाई पनि निकै कर गरेर उसले झिकाएको थियो । सहरमा उसको शान सौकत र रवाफ देखेर आमा पक्कै खुशी हुन्छिन् भन्ने उसले ठानेको थियो तर आमा त्यहाँ आएदेखि नै किन किन उदास र निराश देखिथिन् । किन किन उनलाई त्यो आफ्नै छोरा हरिप्रसाद हो र ? हो र ? जस्तोमात्र लागिरह्यो । भित्र धुमधामले शंखघण्टाको साथमा गृहप्रबेशको मूहुर्त भैरहेको थियो । पूजाकक्षमा अगणित धनराशीको बीचमा लक्ष्मीको विशाल मूर्ति थियो ।
अकस्मात् दृश्य बदलियो, सादा पोशाकमा केही अपरिचत मान्छेहरुको जुलुश देखापरे, हेर्दाहेर्दै पूजाकक्षमा वेदीहरु खान्तलासीमा परे, पण्डितहरु र आफन्तहरुले बरामदी मुचुल्कामा सहीछाप गरे । हरिप्रसादको हातमा हतकडी थियो । एउटा शोकमग्न जस्तो देखिने जुलुश सेतो घर कम्पाउण्डबाट बाहिरिएको दृश्यले आमाको आँखामा ठूँगिरह्यो । जुलुशको पछिल्लो मान्छेलाई आमाका आँखाले ठम्याउन खोजे, आज आमाका आँखा किन किन सुख्खा भइरहे, आँसु बगेनन् । अनुत्तरित प्रश्नले आमालाई लखेट्न थाल्यो जुलुशको पछिल्लो मान्छे मेरै छोरा हो र !