संस्कृतिलाई सारमा भन्नुपर्दा मानिसहरूले जीवन निर्वाहका क्रममा अपनाउने मूल्य मान्यता अर्थात् आचरण पद्धति नै संस्कृति हो । यो सरल र सहज हुुनुपर्छ । संस्कृतिका दुई पाटा अभौतिक र भौतिक छन् । मानिसका रीतिरिवाज, धर्म, आचरण, बोलीचाली, व्यवहार आदि अभौतिक संस्कृतिभित्र पर्छन् भने भौतिक पूर्वाधारहरू अर्थात् प्रविधिजन्य निर्मित कुराहरू भौतिक संस्कृति अन्तर्गत पर्छन् । अभौतिक संस्कृति मनोभावनासँग सम्बन्धित भएको हुँदा अदृश्य हुन्छ र व्यवहारले मात्र दर्शाउँछ भने भौतिक संस्कृति दृश्यात्मक हुने हुँदा देखेर अनुभूत गर्न सकिन्छ । विकासका क्रममा रूपान्तरित समयसँगै दुवैखाले संस्कृतिहरू पनि रूपान्तरण हुँदै जान्छन् ।
विश्वकै परिवेशलाई विचार्दा मानिसको उत्पत्ति सँगसँगै संस्कृति पनि गाँसिएर आएको हो । प्रामाणिक रूपमा भने विश्वकै आदि ग्रन्थ ऋग्वेदलाई मानिएको छ । यसमा वैदिक, किराँत, असुर र रक्ष समुदाय भएको र तिनीहरूका भिन्नभिन्न संस्कृति रहेको उल्लेख पाइन्छ । कामका आधारमा गरिएको उक्त वर्गीकरण भिन्न संस्कृति र प्रकृति देखिए पनि एकआपसमा छोइछिटो गरेको भने पाइँदैन तर पनि भिन्न संस्कृतिले एकअर्काप्रति सशंकित हुनु स्वभाविक थियो । यो सम्भाव्य अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गरेर देवरूपी पार्वतीले किराँतरूपी शिवसँग बिहे गरी समन्वयकारी भूमिका निर्वाह गर्न विवेक पुर्याएको हो भन्ने लाग्छ । त्यसबेला सबै मानिस भगवान्का लागि बराबर हुन् भन्ने आध्यात्मिक भाव विकसित भएको पाइन्छ । वैदिकहरूले मन्त्र, किराँतहरूले तन्त्र, असुर र रक्ष समुदायको यान्त्रिक विद्या थियो । यिनीहरूले एकआपसमा संज्ञान र प्रविधिलाई मिलाएर जीविकोपार्जन गरेका थिए ।
त्यस बेलाको समाजमा संज्ञान विधाको प्रबलता थियो भने यो समय प्रविधियुक्त समय हो । प्रविधिमा निर्भर र दक्ष भएकाहरूलाई विभेदकारी आँखाले हेर्न थालेपछि नै विद्रोह उब्जिएको पनि हो । यसै सन्दर्भमा फ्रान्सको पुनर्जागरणले सांस्कृतिक रूपान्तरणमा उलटपुलट ल्याइदियो र पनि अझै जातीय लैङ्गिक विभेदका आधारमा लज्जास्पद कुराहरू उठाइरहनु परेको छ ।
पौराणिक ग्रन्थहरूले चतुर्युगको व्याख्या गर्दै सत्य, त्रेता, द्वापर र कलियुग भनी समयलाई वर्गीकरण गरेका छन् । सत्ययुगका नायक रुद्र (शिव), त्रेता युगका राम, द्वापर युगका कृष्ण र कलियुगका राजा र प्रजा भनी अथ्र्याएको पाइन्छ । पौराणिक ग्रन्थहरूले लोकतान्त्रिक गणतन्त्रको व्याख्या गरेको देखिएन । सत्ययुग जङ्गली युगकै अवस्था रहेछ भन्ने कुरा शिवको गोत्र, लवाइ र खुवाइले देखाउँछ । शिवलाई किराँतरूपी भनिए पनि मन्त्रजपद्वारा विभिन्न रूप धारण गरेको उल्लेख पाइन्छ । समयक्रममा समाजमा वर्चस्व कायम गर्नेहरूले कुटनीतिक तरिकाले आफ्नो स्वार्थ पूरा गर्न मानिसबीच विभेदी रेखाहरू कोरेकै कारण जातीय र लैङ्गिक विभेद उत्पन्न गरियो र जैविक तत्वको विविधतामाथि बेवास्ता गरियो । काम र व्यवहारिक जिम्मेवारीलाई सीमाङ्कन गरेर विभेद गर्नु भनेको जघन्य अपराधिक काम थियो । यिनै विभेदी सीमाका आधारमा अभौतिक संस्कृतिले फैलिएर जरा गाड्ने मौका पायो । अहिले हामीलाई हजारौँहजार वर्षदेखि गढेका विकृतिजन्य संस्कृतिको जरा पनि उखेलेर फाल्न हम्मेहम्मे परिरहेछ ।
प्राय: विश्वका जुनसुकै धर्म संस्कारभित्र पनि विभेदी रेखाहरू धेरथोर कोरिएकै देखिन्छ । त्यसमा बढी मात्रामा महिलाहरू अझ भनौँ दलित महिलाहरू पिल्सिएका हुन्छन् । विशेष गरेर धर्म संस्कृतिको जगेर्ना गर्ने काममा महिलाहरूको उल्लेख्य भूमिका रहेको देखिन्छ । कतिपय पुरुषहरू पनि महिलाहरूद्वारा धर्म संस्कारलाई बढावा दिइएकोमा मक्ख देखिन्छन् । विश्वमा प्रचलित धर्म संस्कारभित्र पसेर सूक्ष्म विश्लेषण गर्ने हो भने महिला र दलित पीडाका स्वरहरू उस्तै प्रकृतिका हुन्छन् । बरु त पूर्वीय संस्कृति गहन रूपमा बुझेर व्यवहार गर्न सके अन्यको दाँजोमा उपयुक्त ठहथ्र्यो । स्वार्थले गर्दा मात्र पूर्वीय संस्कृतिभित्र विकृतिले मौलाउने अवसर पाएको हो । हाम्रा कतिपय शास्त्रहरूमा वैज्ञानिक पूर्वाधारको रूपमा रहेका कुराहरू विश्लेषण गर्न बाँकी नै छ । यिनको खोजी गरेर विकृतिजन्य कुराहरूलाई निरुत्साहित गर्नुपर्ने जिम्मेवारी सचेत व्यक्तिहरूको काँधमा आएको छ । कतिपय राम्रा कुराहरूसँगै नराम्रा कुराहरू पनि गाँसिएर आएका छन् । उसै पनि एक समयमा ठीक ठानिएका कुराहरू अर्को समयमा बेठीक ठहर्न सक्छन् । समय गतिवान् भएकाले संस्कृति पनि रूपान्तरित हुँदै गतिशील भएर समाजलाई गतिशील बनाउन उद्यत देखिन्छ । यो नै विकासको लक्षण हो । एक एक र अनेक मिलेर नै समाज सुदृढ हुने हो । समाज जातिजाति, समुदाय र समूहको एकतामा निर्मित हुने हुँदा विविधताभित्रको एकता महत्वपूर्ण मानिन्छ । विविधताभित्रको एकता नेपालको सार्वभौमिकताको पहिचान हो । सकारात्मक सांस्कृतिक रूपान्तरणले नेपाली पहिचानलाई अझ सुदृढ बनाउँदै लगेको छ ।
फ्रान्सको पुनर्जागरण कालदेखि युरोपियन मुलुकहरूमा क्रमश: सांस्कृतिक जागरण हुँदै आएको पाइन्छ । जसको प्रभाव एसिया महाद्विपमा पनि पर्यो । हामीले चाहिँ जरा बिर्सिएर टुप्पाको पालुवा हेर्दै साँस्कृतिक रूपान्तरण गर्न खोज्यौँ तर जरामा लागेका कीरा मार्नतिर ध्यान पुर्याएनौँ । फलस्वरूप कतिपय संस्कृतिभित्रका विकृतिलाई अझसम्म पनि अवलम्बन गर्न बाध्य हुँदै छौँ । विकृति हो भनेर जान्दाजान्दै पनि पालना गर्नैपर्ने बाध्यताले सुदृढ समाजको स्थापना नहुने हुँदा नेपालको संविधान २०७२ ले सांस्कृतिक रूपान्तरण गर्न सकिने केही आधारहरू दिएको छ । धर्मनिरपेक्षता र छोरीलाई अंश यसैमध्येको प्रतिनिधिमूलक उदाहरण हो ।
समाजमा विभिन्न किसिमका हिंसाहरू घट्ने गर्छन् । तिनीहरू भौतिक र मनोवैज्ञानिक तवरले हुने गर्दछन् । भौतिक हिंसाभन्दा मनोवैज्ञानिक हिंसा खतरनाक हुन्छ । सूक्ष्म किसिमले अध्ययन गर्ने हो भने नेपाली समाजमा मनोवैज्ञानिक हिंसा जकडिएर बसेको देखिन्छ । विदेशी दातृ संस्थाहरूको सहयोगमा आइएनजीओ र एनजीओका नाममा महिला र बालबालिका लगायत अन्य हिंसा विरुद्धका आवाजहरू उठ्न थालेका छन् तर पनि तिनीहरूले सोचेअनुरूप जनस्तर उकास्न सकिरहेको अवस्था छैन । हिंसाका केही क्षेत्रमा भने क्रमश: सकारात्मक प्रभाव पर्न थालेको आभास पाउन थालिएको छ ।
अहिलेको हाम्रो समस्या भनेको कानुन प्रभावकारी ढङ्गले कार्यान्वयन नहुनु हो । हिंसाहरू निर्मुल गर्न गाउँदेखि सहरसम्मका युवादेखि वृद्ध पुरुषहरूले महिलाहरूको पनि आत्मसम्मान गर्न सिक्नुपर्छ । सामाजिक रूपान्तरणको प्रक्रियालाई सफल बनाउन पुरुषहरूको महत्वपूर्ण भूमिका रहन्छ । रूपान्तरणका लागि महिलाहरू पनि त्यत्तिकै सचेत र सक्रिय हुनुपर्छ । राज्य भनेको समाजको प्रतिनिधित्व गर्ने प्रमुख अङ्ग हो । जसले जनतातिर फर्किएर विचार गर्नुपर्ने हुन्छ । यसका साथै आफ्नो स्वाभिमान र मर्यादाका लागि आ–आफू नै जागरुक हुनु आवश्यक छ । उदाहरणस्वरूप महिलाहरूको मुक्तिका लागि महिलाहरू नै, दलितहरूको मुक्तिका लागि दलितहरू नै र किसान मजदूरहरूका लागि किसान मजदूरहरूले नै अग्रणी भूमिका निर्वाह गर्नुपर्छ । लोकजीवनमा प्रचलित मान्यता, परम्परा र व्यवहारहरू अमूर्त सांस्कृतिक सम्पदाहरू हुन् । शास्त्रीय मान्यताहरूलाई पनि लोकले आ–आफ्नै ढङ्गले पालना गरेको पाइन्छ । अधिकांश मान्छेले आस्था र बाध्यताले गर्दा धर्म र संस्कृतिलाई धानेको पाइन्छ । आस्थाका पछाडि अमानवीय भावना गाँसिनुपर्छ भने बाध्यता चेतनशील व्यक्तिहरूका निम्ति त्याज्य हुनुपर्छ । बाध्यता यस अर्थमा भनिएको हो जसमा लैङ्गिक जातीय र वर्गीय असमानताका साथै अन्धविश्वासयुक्त कुराहरू जकडिएर रहेका हुन्छन् । मनगढन्ते प्रचलनहरू सम्भ्रान्तका लागि अनुकूलित भए पनि गरिब जनताका लागि घातक हुन्छन् । यसर्थ मानव उन्मुक्तिका लागि संस्कृतिलाई पुलका रूपमा जोड्ने प्रयास गरिनु आवश्यक छ । उन्मुक्तिका लागि प्रयासहरू भइरहेका पनि छन् । महिला हिंसाविरुद्ध १६ दिने राष्ट्रिय अभियान चलाइएको छ । महिला अधिकारसँग सम्बन्धित अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय दिवसहरूको आयोजना गरिएको छ । दलित उन्मुक्तिका लागि दलित आयोग र प्रतिष्ठानहरू गठन भएका छन् । जनजातिहरूका लागि पनि कानुनी व्यवस्था गरिएको छ । गाउँगाउँमा लैङ्गिक, जातीय, वर्गीय विभेदबारे बहस हुन थालेको छ । नेपालको संविधान २०७२ ले समानताका लागि विभिन्न कोणबाट कानुनी व्यवस्था गर्नुले पुष्टि हुन्छ कि संस्कृतिभित्रका विकृतिलाई सचेत व्यक्तिहरूले अभियानका रूपमा कार्यक्रमहरू सञ्चालन गरेर त्याग्ने र त्याग्न उत्प्रेरित गराउने कुराबाट पछि हट्न मिल्दैन ।
नागरिक चेतना र सरकारी तत्परताको सन्तुलन मिल्यो भने मात्र उद्देश्यमूलक काम पूरा हुन सक्छन् । अनि मात्र सोचेको समाज स्थापना हुनेछ । विभिन्न विभेदका सन्दर्भमा भन्नुपर्दा नैतिक दृष्टिले अनैतिक काम हो, धार्मिक दृष्टिले कुकर्म हो र समाज विज्ञानका दृष्टिले अस्वाभाविक काम हो । समाज विज्ञानका दृष्टिले विभेदलाई केलाउँदा किन विभेद भयो र रोक्न के गर्नुपर्छ भन्नेबारे स्पष्ट पारिन्छ भने अपराधशास्त्रले किन अपराध हुन्छ भनी केलाउँछ र निराकरणतिर लैजान्छ । यी कुराहरूलाई मध्यनजर गर्दा उत्पन्न समस्याहरूको प्रचारप्रसार त भएकै छ तर आशातित समाधान भने हुन सकिरहेको छैन । झट्ट हेर्दा भौतिक संस्कृति द्रूत गतिमा विस्तार भइरहेको छ यसले मानव कल्याणकारी भूमिका निर्वाह पनि गरेको छ तर यसको तुलनामा आत्मिक संस्कृति समयोचित परिमार्जित भएर मानव भावना समेट्न समर्थ भएको देखिँदैन । आत्मिक संस्कृतिले परम्पराका नाममा कुण्ठित संकुचित घेराबाट बाहिर निस्कन नसक्नु भनेको चेतनास्तर उक्सिने उचित वातावरण नपाउनु हो ।
धर्म निरपेक्षतालाई आधार बनाएर नेपालको संविधान २०७२ ले संस्कृतिलाई सुदृढ बनाउन गरेका व्यवस्थामध्ये सामाजिक सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिबारे सातवटा बुँदामा चर्चा गरिएको छ । त्यसमा एक र पाँचले नै आवश्यकीय कुराको उठान गरेका छन् । महिला हकसम्बन्धी छ वटा बुँदा छन् जसमा तीन नम्बर बुँदाले सारांश पक्रिएको छ । बालबालिकाको हकसम्बन्धी दशवटा बुँदा छन् । नं. ६ ले यिनीहरूमध्ये महत्वपूर्ण कुरा समेटेको छ । दलितको हकसम्बन्धी सात बुँदा उल्लेखित छन् । नं. तीनअनुसार दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न कानुन बमोजिम विशेष व्यवस्था गरिने छ भनिएको छ ।
कानुनी व्यवस्था भएपछि विकृतिजन्य कुसंस्कारलाई पाखा लगाउन सहज हुन्छ । नेपालमा अव्यवस्थित सबै जातजातिका संस्कृतिभित्रका विकृतिलाई पन्छाएर सहिष्णुताका आधारमा प्राचीनता र आधुनिकतालाई सम्मिलन गर्दै सुसंस्कार बसाउन सक्यौँ भने नेपाली पहिचानले विश्वलाई उदाहरणीय नयाँ पाठ सिकाउने छ भन्ने कुरामा मेरो पूर्णविश्वास छ । यसतिर सबैको ध्यान जानुपर्छ र समानताको बिगुल फुक्नैपर्छ ।