नेपालभाषाका साहित्यकार नातिकाजी महर्जनका नेपालभाषाको गीतिसंग्रह सार्वजनिक गरिएको छ । जुगल डंगोलको संगीत र राजेन्द्र डंगोलको स्वर रहेको गीतिसंग्रह ‘ह्याउँसिन्हः’ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा ज्यापु महागुथि नेपाःका अध्यक्ष एवम् लोककवि राजभाइ जकःमिले विमोचित गीत तथा म्यूजिक भिडियोको उच्च प्रशंसा गर्दै गीत, संगीतको जन्म रचनाबाट हुने भए पनि यसलाई जनमानसमा पुर्याउन संगीतकार र गायकको अहम् भूमिका हुने बताए ।
न्हुछेबहादुर डंगोलले गीतकार नातिकाजी महर्जनको पहिलो गीत आफूले संगीतबद्ध गरेर थँबहीको नासःद्यःकहाँ प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
सार्वजनिक गरिएको ‘ह्याउँसिन्हः’ गीतिसंग्रहमा ‘चकना ए चकना’, ‘म्हुतुसी लिप्स्टिक बुलाः’ , ‘बांला आपालं तिनातःगु’ मा जुगल डंगोलको संगीत तथा संगीत संयोजन छ भने ‘अय्लाः छ धात्थें’मा गायक डंगोलको संगीत र शिव शाहीको संगीत संयोजन छ । ‘म्हुतुसी लिप्स्टिक बुलाः’मा गायिका निशा देसारले गायक डंगोललाई साथ दिएकी छिन् ।
सोही कार्यक्रममा गायक तथा सञ्चारकर्मी राजेन्द्र डंगोलको रचनाहरुको संग्रह ‘झुमिं यंगु समाज’ पनि सार्वजनिक गरिएको थियो ।