मन त फलामकै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ,
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ
कसैले चिमोट्यो
एक कप्टेरो त्यतै टाँसियो,
कसैले एउटा मुस्कान फ्याँक्यो
उसैको पछ्यौरीमा गाँसियो;
जहिले पनि जलेकै छ,
जता पनि ढलेकै छ,
मनको बह कसैसित नकह
कसले बुझ्छ, कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।
वसन्तमा वन फुल्यो—
मन उतै भुल्यो,
बैँसले जाऊँ है भन्न लाग्यो—
पीर झन् ठूलो;
आकाश देख्यो आकाश जत्रै
बतास चल्यो बतासजस्तै,
नौनीजस्तो मेरो मनलाई
जसले पायो उसले छुन्छ;
त्यसैले पनि—
मन त फलामकै भए असल हुन्छ ।