मैले एउटा सपना देखेँ । त्यही सपना तपाईंलाई सुनाइरहेकी छु । यस्तो सपना मैले कहिल्यै देखेकी थिइनँ र अहिले पनि किन त्यस्तो सपना देखेँ, त्यसको मेरो जीवनसँग के तादात्म्य छ र त्यो सपना देख्नुको औचित्य के हो मलाई थाहा छैन । त्यो सपनाले मलाई आन्दोलित तुल्याइरहेछ, कसलाई भनूँ र कहाँ पोखूँ जस्तो भएर तपाईंलाई सुनाइरहेकी छु । सपनामा मैले जस्तो घटना देखेँ त्यस सम्बन्धमा मैले केही सोच्ने गरेकै छैन, सोचेर पनि के फाइदा र, होइन त ? अरूका लागि त्यो सपना खास कुनै महत्वको लाग्ने छैन । मलाई पनि त्यति महत्वपूर्ण लागेको छैन । तर अचम्म के कुरामा छ भने त्यो सपनाले मेरो पिछा छाडिरहेको छैन, पटक्कै बिर्सन सकिरहेकी छैन । के थियो त्यो सपनाभित्र ? सपना कस्तो थियो –
दिनदिनै बस चढेर म कतै जान्थेँ, कहाँ जान्थेँ त्यो चाहिँ थाहा छैन र कहिल्यै टुङ्गोमा पुगिनँ पनि । कहीँ जान भनेर हिँड्थेँ, बसपार्कमा पुग्थेँ । त्यहाँ केही घटना हुन्थ्यो । सपनामै कैयौं दिन, महिना बित्थे तर कहिल्यै घरमा आइपुगेको पनि थाहा छैन । सधैं प्रायः उस्तै समयमा त्यहाँ पुग्थेँ । अर्को शब्दमा भन्नुपर्दा मेरो सपनाको परिवेश त्यही बसपार्क नै थियो । अनायास एक दिन माग्नेहरूको पङ्क्तिमा मेरो आँखा परे । दुई पङ्क्तिमा आफ्ना अगाडि माग्नका लागि केही कपडा (प्रायः सेता) फैलाएर माग्नेहरू बसिरहेका हुन्थे । तीमध्ये एउटा सिङ्गो परिवार पनि त्यहाँ थियो । त्यस परिवारमा करीब वर्ष दिनको एउटा बच्चो र उसका आमाबाबु गरी तीनजना थिए । तिनीहरूले नै बढी मात्रामा मलाई आकर्षित गरे । दिनहुँ म पैसा दिन्थेँ । त्यस बालकका दुवै ओठ नीला थिए, रङ्ग नै पोतिएजस्ता । ती नीला ओँठ, नीला आँेठमाथिका केही बोलूँ बोलूँजस्ता आँखा; तिनले मलाई तान्न थाले । अनायास मुस्कान साटिन पुग्यो, बालककी आमासँग । कैयौं दिनसम्म लगातार यसरी नै मुस्कानको आदानप्रदान भई नै रह्यो ।
एकदिन अचानक तीमध्येको एउटा माग्ने बिछ्याएको कपडामा म बसेकी हुन्छु । त्यो नीला ओठ हुने बच्चो मेरो काखमा थियो । त्यस बच्चाका मातापितासँग मेरो आत्मीय सम्बन्ध गाँसिइसकेको थियो । जुन कपडामा म बसेकी थिएँ त्यो एउटी १७÷१८ वर्षकी केटीको कपडा थियो । म त्यहाँ बसेपछि त्यो केटी उठी, उसले मागेका ५÷७ वटा पैसा मतिर फ्याँकिदिई र अलि पर गएर बसी । मैले त्यसलाई हेरेँ, लुगा माग्नेको स्तरभन्दा माथिकै थियो, नाडीमा घडी पनि बाँधेकी थिई । त्यो माग्ने हुनुपर्ने केटीजस्तो मलाई लागेन र जिज्ञासु आँखाले नीला ओँठ हुने बच्चाका आमाबाबुतिर हेरेँ । उनीहरूले रहस्यमय मुस्कुराहट मतिर फ्याँके । म बेसरी अल्मलिएँ । त्यो केटी मेरो निम्ति रहस्यमय बन्न पुगी । उसका बारेमा अनेक कल्पना गर्न थालेँ, तर कुनै टुङ्गोमा पुग्न सकिनँ ।
यही क्रममा हेर्दाहेर्दै त्यो बच्चो ४÷५ वर्षको भयो । म उसँग खेल्थेँ, ऊ मसँग चियाको प्रस्ताव राख्थ्यो, म उसलाई चिया खुवाउँथे । आफूले सँगै लगेर त बिरलै खुवाउँथेँ । म पैसा दिन्थेँ, उ आफैं चिया पिएर आउँथ्यो । प्रत्येक दिन मसँग नभेटी ऊ सन्तोष मान्दैनथ्यो र मलाई पनि प्रायः त्यस्तै हुन्थ्यो । उसको र मेरो बीचमा समन्वयको विन्दु कहाँ थियो ! त्यो मलाई थाहा थिएन । म सधैं गएर त्यही रहस्यमयी केटीले माग्नेलाई बिछ्याएको कपडामा बस्थेँ । ऊ सधैं फन्किएर अलिपर गएर, बस्थ्यो । त्यस्तैमा एक दिन मेरो एकजना साथी पुलिस लिएर आए । नामचाहिँ नभनूँ, घर उनको जनकपुरतिर हो । नेता किसिमका मानिस थिए र छन् पनि । त्यस दिन उनले मलाई साम्नेबाट देखेका थिएनन् । उनी मेरा ती मित्रहरूलाई गाली गर्न थाले । त्यहाँबाट उठीबास गराउन चाहन्थे । उनका गालीहरू साह्रै तल्लो स्तरका थिए । नीला ओँठ हुने बच्चाकी आमाको चरित्रमाथि टिप्पणी गर्न थाले । मैले सहन सकिनँ । उनीसँग विवाद गर्न थालेँ । उनी आफ्नै ढिपीमा अडिए । अन्तमा मैले यसो भनेँ –‘…. जी तपाईंलाई यिनको जिन्दगीसँग खेलबाड किन गर्नुप¥यो ? प्रतिद्वन्द्वी छान्दा आफूसमानको छान्नुपर्छ । यिनले तपाईंलाई के गरे ? म आजभन्दा पहिले तपाईंलाई श्रद्धा गर्थेँ । तर यति नीच मानिसलाई मैले किन त्यति उच्च दृष्टिले हेरिछु भनेर पछुतो लागेको छ ।’
मेरो कथनको उनले कुनै प्रत्युत्तर दिएनन् ।
अर्को दिन त्यो बच्चालगायत त्यहाँ कोही पनि थिएनन् । एक दिन सुनेँ, असिना र पानीबाट बच्न त्यो परिवार कुनै थोत्रो पाटीमा ओत लाग्न गएको थियो, त्यो पाटी भत्केर सबै मरे अरे । मलाई कसो–कसो यो दैवी प्रकोप लागेन, सब उनै साथीको षड्यन्त्रजस्तो लाग्यो । लाग्यो मात्र होइन म विश्वस्त पनि भएँ । मलाई निकै दुःख लाग्यो बढ्दो समयको अन्तरालमा यो घटना अलि–अलि गरेर बिलाएर गयो । मैले यो घटना र यी पात्रहरूलाई प्रायः भुलिसकेकी थिएँ ।
एक दिन, साँझ परिसकेको थियो । म कुनै गल्लीको बाटो भएर घर फर्किरहेको थिएँ । बाटो सुनसान थियो अचानक मेरो हातबाट ब्याग खोसियो । म हतप्रभ भएँ । भाग्न पनि सकिनँ, चिच्याउन पनि सकिनँ, तर अचानक त्यही खोस्ने मानिसले नै ब्याग मतिर बढायो र सुस्तरी भन्यो –‘दिदी ! चिया खुवाउनु हुन्न ? पैसा दिनुस्, म आफैं खाएर आउँछु ।’
बोलीको शैली कता–कता परिचित भएजस्तो लाग्यो । त्यसैबेला एक धर्सो उज्यालो उसको अनुहारमा आएर अडियो – दुइटा नीला ओँठहरू, अझै पनि केही बोलूँ–बोलूँ जस्ता आँखाहरू चम्किरहेका थिए । अचानक मेरो मनमा एउटा जिज्ञासा ब्युँझियो – ‘के ऊ अझै जीवित छ ?’ मेरो मौनता तोड्दै उसले भन्यो –‘दिदी ! साँझ परेपछि गल्लीबाट हिँड्ने नगर्नु होला । तपाईंसँग मेरो कहीँ कतै फेरि भेट हुनेछ, भेट गर्नेछु ।’
यति भनेर ऊ फटाफट हिंड्यो । म झल्याँस्स ब्युँझिएँ । बिहान छ्याङ्ग उज्यालो भइसकेको रहेछ ।
सपना पनि कहीँ यस्तो हुन्छ ! सिङ्गो उपन्यास जस्तो ! मैले उसलाई किन रोकिनँ ! किन उसका बारेमा केही पनि सोधिनँ ! के त्यो नीला ओँठ हुने केटो चोर भएछ ? किन यस्तो हुन गयो ? मैले चिन्नुअघि नै ऊ किन भागेन ? उसले मेरा अगाडि आफूलाई किन यसरी प्रष्ट रूपमा व्यक्त ग¥यो ? के म उसको हुलिया पुलिसलाई बताएर उसलाई पक्डाउन सक्तिनथेँ ? तर म यसो गर्दिनँ । मलाई उसको माया लाग्छ । किन लाग्छ ? मैलाई थाहा छैन । ऊ कसरी बाँच्यो ? कसरी हुर्कियो, कसरी यस्तो बन्यो ? उसले यस्तो बन्नुपर्ने हो कि होइन ? त्यो पनि यकीन गरेर भन्न सक्तिनँ । तर उसले मसँग भेट गर्ने कुरा बताएको छ । जेहोस्, अर्को पटक भेट हुँदा म यसरी लाटिएर बस्दिनँ । एउटा युगको यथार्थ बोकेको त्यस इतिहासलाई म यसरी अँध्यारोभित्र हराउन दिन्नँ । म सब खोतलखातल पारेर सबलाई भनिदिन्छु । यो मेरो सपना होइन विपनाको चाहना हो ।
कैयन् प्रश्नहरूजस्तै यो प्रश्न पनि अनुत्तरित नै छ कि हामी त्यसरी सडकका माग्नेहरूका बच्चालाई सपनामा जस्तै काखमा राख्न सक्छौं त ? तिनको जीवनको माधुरीले हामीलाई त्यसरी नै तान्ला त ? म यसको आदर्श होइन यथार्थ उत्तर दिन्छु – म त्यस्ता बच्चालाई छुन्नँ, मलाई घिन लाग्छ । तपाईं भन्नुहोला – सडकको त्यो बालक सृष्टिको भूल हो, अभिशाप हो । छ कुनै उत्तर तपाईंसँग