पारिजातको मैले सारै थोरै सङ्गत गर्न पाएको छु । तर, उहाँबाट धेरै प्रभावित हुनेहरूमध्ये म पनि पर्छु कि जस्तो लाग्छ । उहाँबाट सबभन्दा बढी प्रभावित म उहाँको दरो मनोबल देखेर भएको छु । शारीरिक रूपबाट सधैं अस्वस्थ वा विरामी भएर रहनुपर्यो अथवा आर्थिक संकटमा परेर अत्यन्त अप्ठ्याराहरू बेहोरिरहनुपर्यो भने मानिसले मन थाम्न अतिनै गाह्रो हुन्छ । तर, यी मध्ये एक किसिमको मात्र होइन, दुवैथरी अप्ठ्याराहरू बेहोर्नुपर्दा पनि पारिजात कति विचलित नभई आफ्नो विचारमा दृढ रहनु सक्नुभएको देख्ता मलाई उहाँको मुरी मुरी प्रशंसा गर्न मन लाग्छ ।
पारिजातलाई भेट्ने, उहाँसँग सँगै बस्ने मौका उस्तो नपाएको भए पनि उहाँका विषयमा कुराकानी सुन्ने र गर्ने अवसर चाहिं प्राय पाउने गरेकै छु भन्नुपर्छ । यो एक–डेढ महिनाभित्रनै अनेक जनासितको भेटमा पारिजात सम्वन्धी प्रसङ्ग चल्यो । जनकप्रसाद हुमागाईंले ‘पारिजातका विषयमा लेख लेख्ने गरेको छु’ भनेर सुनाउनुहुँदा मलाई पनि यो लेख लेख्ने चटारो लाग्यो । नत्र त उहाँको विषयमा लेख्छु भन्दाभन्दै महिनौं बितिसकेको पत्तै भएन । मुरारी अर्यालसँगको भेटमा पारिजातका कृतिहरू प्रकाशित गरी उहाँलाई लेखकत्व जोरिदिएर सघाउ पुर्याउने प्रयत्न भइरहेको कुरा सुनाउनुभयो । शशी वि. शाहसँग भेट हुँदा उहाँले पनि पारिजातको राम्रै मूल्याङ्कन गरिरहनुभएको जस्तो लाग्यो ।
पोहर माघमा दाङमा राप्ती साहित्य परिषद्ले आयोजना गरेको दुईदिने साहित्य समारोहमा भाग लिन काठमाडौंबाट रमेश विकल, मोदनाथ प्रश्रित, धु्रवचन्द्र गौतम र धु्रव सापकोटा सहित पारिजात पनि पुग्नुभएको थियो । हरिहर खनालसँग म पनि चितवनबाट त्यहाँ गएको थिएँ । हामी पाहुना साथीहरू न्यू राप्ती सुपर लजमा राखिएका थियौं । त्यसबेला पारिजातलाई तलमाथि गराउनुपर्दा धेरैजसो कृष्ण सेन ‘इच्छुक’ले आफ्नो पिठ्यूँमा बोक्ने गर्नुभएको थियो । कहिलेकाहीं हरिहर खनालले पनि यसमा पालो दिनुहुन्थ्यो । म चाहिँ सानो जिउडालको हुँदा रहर भएर पनि उहाँलाई बोक्न सक्दिनथेँ । तैपनि कहिलेकाहीं उहाँको हात समातेर डोर्याउनु पर्दा र कहिले उहाँको झोला बोक्नुपर्दा सघाउन खोज्थेँ ।
पोहर असोजमा काठमाडौंमा प्रगतिशील लेखक संघको सम्मेलन हुँदा मैले पारिजातलाई प्रलेसको अध्यक्ष हुनुहोस् भनेर अनुरोध गरेँ । तर उहाँले मान्नुभएन र ‘प्रलेसभित्रका हामी सबैथरी साथीहरूले तपाईलाई नै अध्यक्ष बनाउने ठहर गरिसकेका छौं । यो निधोलाई अब नफेरौं । तपाईं नै हुनुहोस्’ भन्ने कुरामा बल गर्नुभयो ।
पोहर जेठमा मलाई २०४७ सालको कृष्णमणि पुरस्कार प्रदान गरिएको थियो । स्रष्टा प्रकाशनको आयोजनामा खगेन्द्र संग्रौलाको सभापतित्वमा प्रज्ञा भवनमा वितरण समारोह भएको थियो । त्यसबेला दाहिनेपट्टि पारिजातलाई तथा देबे्रपट्टि शोभा गौतमलाई र मलाई माझमा राखेर अरू अनेक साथीहरू समेत भएको फोटो खिचिएको थियो । उहाँहरूसँगै बसेर त्यसरी फोटो खिच्न पाएकोमा म पनि दङ्ग पर्ने गरेको छु ।
विगत जनआन्दोलनको बेलामा म भूमिगत अवस्थामा नै थिएँ । रमेश विकल, आनन्ददेव भट्ट र पारिजातले मसँग फोनबाट कुरा गर्नुभयो । त्यसबेला प्रज्ञा प्रतिष्ठानमा प्रगतिशील पक्षको पनि सदस्य रहनुपर्छ भन्ने विचारबाट उहाँहरूले मेरो नाउँ प्रस्तावित गर्न चाहनुभएको रहेछ । मैले आफ्नो नाउँ दिन मानिन तापनि बाहिर आएपछि उहाँहरूसित सल्लाह गरेर नै काम गर्ने गरुँला भन्ने वचन दिएँ । बाहिर आएपछि पारिजातलाई नै भेट्न गएँ – उहाँकी बहिनी सुकन्याको घरमा, म्हैपीमा हरिगोविन्द लुईंटेलसँग । सवारीसाधनले वियाँलो गरिदिंदा म दिएको समय भन्दा अलि ढिलो मात्र पुग्न सकेँ । उहाँलाई कुराउनु पर्दा मलाई खल्लो लागेको थियो । उहाँ उत्सुकता साथ पर्खिरहनुभएको रहेछ । हार्दिक वातावरणमा धेरैबेर कुराकानी हुन पायो । उहाँसँग मेरो त्यति लामो कुरा त्यसभन्दा पहिले कहिल्यै भएको थिएन । मलाई पारिजातको आर्थिक अवस्था राम्रो छैन भन्ने थाहा थियो । त्यसैले उहाँका रचनाहरू अनुवाद गरेर विदेशतिर पनि पठाउनु बेस होला कि भन्ने राय प्रकट गरेँ । उहाँले आफ्ना कथाहरू जापानी भाषामा निस्किसकेको र पारिश्रमिक पनि पाएको कुरा सुनाउनु भयो । यो कुरा थाहा पाएर निकै खुसी लाग्यो । मैले आफ्नो निम्ति सल्लाह माग्दा उहाँले मेरो अप्रकाशित रचनाहरू प्रकाशित गराउने कामलाई नै प्राथमिकता दिन वेश होला भन्नुभयो । उहाँको त्यो सल्लाह पनि मलाई चित्त बुझ्यो र त्यसको निमित्त सकेको प्रयास गरिरहेकै छु ।
२०४२ सालको बैसाखमा ‘नेपाली साहित्य’ त्रैमासिकले काठमाडौंमा ‘नेपाली साहित्यमा श्यामप्रसाद’ बारे विचार गोष्ठीको आयोजना गरेको थियो । सिद्धिचरण श्रेष्ठको सभापतित्वमा भएको त्यस गोष्ठीमा पारिजात पनि पुग्नुभएको थियो । त्यस गोष्ठीका कुराहरू समेत पारेर उहाँले लगत्तै मेरो विषयमा एउटा लेख लेख्नुभयो ‘तपाईं जहाँ हुनुहुन्छ हामी समक्ष आउनुहोला’ (‘युगधारा’ साप्ताहिकm २०४२ बैसाख ३१) । त्यसमा उहाँले लेख्नुभए अनुसार उहाँ आई.ए.की. छात्रा छँदा एकदिन एलेन राणा (अब स्वर्गीय) सँग शशीकला शर्मालाई भेट्न जाँदा उहाँसँग भेट नभएर मसँग मात्र भेट भएको रहेछ । मलाई चाहिँ के लागेको थियो भने म मदन पुरस्कार प्राप्त कालमा सामग्रीहरू खोज्न जाँदा श्रीदर्बारको आँगनमा कमल दीक्षितको रोहबरमा उहाँसँग पहिलो भेट भएको हो । त्यसबेला उहाँ पाटनको मदन मेमोरियल गल्र्स स्कुलकी शिक्षिका हुनुहुन्थ्यो र स्कुल सम्बन्धी कुनै कामले कमल दीक्षितसँग भेट गर्न त्यहाँ जानुभएको थियो । (उक्त लेखको आखिरमा पारिजातले ‘यदि कुनै महानुभावले उहाँलाई भेट्नुभयो भने नजिकको जनचौकीमा बुझाइदिनु हुन मेरो अनुरोध …’ भनेर पनि लेख्नुभएको छ । मैले चाहिं नेपालमा अहिलेसम्म सरकारी चौकीहरू मात्र देखेको, जनचौकी चाहिं नदेखेको हुँदा उहाँले प्रयोग गर्नुभएको ‘जनचौकी’ को अर्थ आजसम्म पनि बुझ्न सकेको छैन ।)
२०३७ मा ‘नव आलोक’ त्रैमासिकमा मेरो एउटा निबन्ध प्रकाशित भएको थियो – कृष्ण अर्याल नाउँबाट । त्यस निबन्धको एक ठाउँमा मैले यसरी लेखेको छु ‘जीउ राम्ररी नचली सधैंजसो ओछेन पर्नुपरे पनि उपन्यास, कथा, कविता, लेख र समालोचनाहरू लेखी नाउँ चलेको साहित्यकार हुनेहरू पनि छन् । तिनका रचना पढी स्वाद लिनसम्म नसक्ने सद्दे भइखाएकाहरू पनि छन् ।’ यी वाक्यहरू लेख्दा मैले आफ्नो मनमा पारिजातलाई नै खेलाइरहेको थिएँ ।
आजको पच्चीस वर्षभन्दा पहिलेको कुरा हो । पारिजात पुतलीसडक (रामशाह पथ) तिर डेरा गरेर बस्नुभएको थियो । उहाँ ओछेन पर्नुभएको थाहा पाएपछि मलाई पीर लाग्यो । हुनत त्यसबेला उहाँ प्रगतिवादी शिविरमा लाग्नुभएको थिएन । तैपनि प्रतिभावान् व्यक्ति हुनुभएकोले देश र जनताको लागि कुनै दिन काम लागि हाल्नुहोला कि भन्ने मेरो मनमा आइरहन्थ्यो । अनि उहाँलाई निराशाको भावनाले पलायनवादी नतुल्याओस् भन्ने अभिप्रायबाट विश्वविख्यात सोभियत साहित्यकार निकालाई ओस्त्रोभस्कीबारे आफ्नो लेख प्रकाशित भएको सोभियतभूमि पत्रिका उहाँकहाँ पठाएको थिएँ । किनभने ओस्त्रोभस्कीका रचना र जीवनीबारे थाहा पाउने मानिस जीवनमा हम्मेसी निराश हुन सक्दैनन् भन्ने मेरो धारणा रही आएको छ । त्यसबेला पारिजात यतिसारो मनोबलकी हुनुहोला भन्ने र अत्यन्त अध्ययनशील हुनुहुन्छ भन्ने पनि मलाई पटक्कै पत्तो थिएन ।
प्रगतिवादी शिविरमा लामो समयसम्म लागिसकेकाहरू पनि कति जना बरालिएर बिग्रेर गएका छन् । तर, पारिजातले भने जीवनका अनेक घुम्तीहरू पार गर्दै बर्सौं अघिदेखि अब प्रगतिवादतर्फ नै महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ । यसमा उहाँको धेरै धेरै सह्रनी किन नगर्ने ? आजीवन वहाँ यसैगरी दृढ अडान साथ यही शिविरमा लागिरहन सक्नुहोस् भनी हामी सहर्ष हार्दिक शुभकामना प्रकट गर्छौं ।
– १९९२ अगस्ट, वीरगञ्ज