बनेपाको इतिहास खोजतलास गर्दा बनेपालाई विभिन्न समयमा विभिन्न नामाकरण गरिएको पाइन्छ । अहिले पनि यसलाई बनेपा, भोँत, बन्दिकापुर आदि भन्ने गरिन्छ । यसमध्येको औपचारिक नामचाहिँ बनेपा हो, नेवारहरु भोँट भन्दछन्, धार्मिक कृयाहरुमा बन्दिकापुर भन्ने गरिन्छ । प्राचीन शिलापत्र, ताम्रपत्र र अन्य कागजपत्रहरुमा यस ठाउँको नाम फरक–फरक भनिने पाइएको छ ।
भनिन्छ, बनेपाको स्थापना राजा आनन्ददेवले गरेका थिए । यिनले बनेपालगायत अन्य आसपासका ६ वटा गाउँहरुको पनि स्थापना गरेका थिए । बनेपालगायत वरिपरि सातवटा गाउँहरु छन्, जसलाई सातगाउँ भनिन्छ । यी सातगाउँको केन्द्रविन्दु बनेपा थियो र भौगोलिक दृष्टिकोणले अहिले पनि केन्द्रविन्दु नै छ । कुनै पनि समयमा देश, गाउँ, टोलको नाउँ आर्थिक, सामाजिक, भौगोलिक, ऐतिहासिक, राजनीतिक, धार्मिक आदि कारणहरुले प्रभावित भई परिवर्तन भइरहेको हुन्छ । व्यापारको केन्द्र भएकोले यस ठाउँलाई कुनै जमानामा वणिकापुर (वणिकापुरी) भनियो । बनेपा बस्तीको स्थापना गर्दा त्यसबेला बनेपा पस्ने र निस्कने ८ वटा ढोका र प्रत्येक ढोकामा गणेशको मूर्ति स्थापना गरी सँगसँगै पोखरी सत्तलहरु बनाइएको थियो । बनेपाको लायकू क्षेत्रको पश्चिमपट्टी म सानो छँदा ढोकाको अवशेष र जीर्णोद्दारसमेत गरेको देखेको थिएँ । हाल कहिँ पनि ढोकाको अवशेष देखिँदैन । यसरी ८/८ वटा ढोका र ढोका नजिकै गणेश, पोखरी र सत्तलहरुको निर्माणको कुरा सुन्दा यसलाई विनायकपुर भनिएको पनि सुहाउँदो नै भन्नु मनासिव देखिन्छ ।
सुनिन्छ, बनेपा चारैतिर पहाडले घेरिएको दक्षिणको मोहडाको बस्ती भएकोले धार्मिक दृष्टिकोणले राम्रो छैन रे । यसलाई गुणयुक्त बनाउन यसका कुलक्षणहरु पन्साएर शुद्ध पार्नको लागि यस बस्तीको चारैतिर पर्खाल लगाई मूल नाकाहरुमा गणेशको स्थापना गरिएको थियो । गणेशको नजिक पोखरी र सत्तलहरुको निर्माण गरिँदा पोखरीमा नुहाइधुवाई गरी गणेशको दर्शन र पूजापाठ गरिन्थ्यो, सतलहरुमा प्रत्येक वर्ष चतुरमास भजन गरिन्थ्यो । अचेल पनि कहिँकहिँ भजन गरेको पाइन्छ । अरु बेलामा ओत लाग्ने, शितल ताप्ने, यात्रीलाई बास बस्ने, टोलबासीहरु जमघट थलोको नाम सतल थियो । बनेपाभित्र पस्दा र बाहिर जाँदा नाकाहरुमा रहेका गणेशको दर्शनबाट सिद्धि पाइन्छ भन्ने जनविश्वास अहिले पनि पाइन्छ । बस्तीको सुरक्षाको लागि चारैतिर पर्खाल बनाइएको थियो । स्थानीय बोलीचालीको भाषामा यस्तो पर्खाललाई ‘गड’ भनिन्छ । पर्खालभित्रको बस्तीलाई वास्तविक बनेपा भनिने चलन थियो । हालको बनेपा भन्नाले नगरपालिका अन्तर्गत क्षेत्रका विकासे बस्तीलाई समेत जनाउँछ । सुरक्षाको लागि बनाइएको त्यस पुरानो पर्खालको अवशेष कहीँकहीँ अझै पनि पाइन्छ ।
बनेपामा पाइएका स्थापना कालका ८ गणेश, ८ ढोका, ८ पोखरी, ८ सतलहरुमध्ये ७/७ वटा गणेश, पोखरी र सत्तलहरुचाहिँ पर्खालभित्र पर्दछन् । पश्चिमपट्टीको घाट गणेश समेतको पोखरी र सतलहरु पर्खाल बाहिर पर्दछन् । यो घाट गणेश अरु भन्दा मुख्य र महत्वपूर्ण थियो भन्ने सुनिन्छ । यसको आफ्नै विशेषता छ । यस्तै अरु गणेशहरुका विशेषताहरु र औचित्यबारे खोजतलास गर्नुपर्ने देखिन्छ । हालको भौतिक विवरण तथा विशेषता निम्न अनुुसार छन् :
१. कोला गणेश
यो गणेशको ३ फुटको प्रस्तर मूर्ति हो । दायाँबायाँ सिंहको प्रस्तर मूर्तिहरु छन् । पूजा गर्दा बजाउन केही घण्टाहरु झुण्ड्याइएका छन् । यस गणेशको मन्दिर छैन । यसको बसोबास पाटीमा छ । पाटीको पछिल्लो जीर्णोद्धार नगरपालिकाको सहयोग र टोलबासीको सहयोगमा भएको देखिन्छ । यहाँ टोलवासीको गुठी पूजाहरु हुने गर्दछन् । टोलबासीहरु आफूखुसी भक्तिभावस्वरुप दैनिक पूजा गर्दछन् । यो गणेश वडा नं. ५ मा पर्छ ।
यस गणेशको छेउमा भजन गर्ने सत्तल थियो भन्ने सुनिन्छ । अहिले गणेशको पाटी नजिक त्यस्तो सत्तलको अवशेष पनि बाँकी छैन । एकसय मिटर जति पर एउटा सत्तल पाइन्छ । त्यहाँ भजन गर्ने चलन छ न त्यही गणेशको सत्तल हो कि ?
यस गणेशको नजिकै एउटा पोखरी पाइन्छ । यसलाई ‘चटनं पुखु’ भनिन्छ । बनेपा नगरपालिकाले यस पोखरीको जीर्णोद्धार गरेको छ । यो पोखरी माछा पाल्न योग्य छ । कुलो नै यस पोखरीको श्रोत र निकास भएको देखिन्छ । बनेपाको पश्चिमपट्टी पुलबजार जाने बाटो यहीं हो ।
२. तुकम्पो गणेश
यस गणेशको भव्य दुईतले मन्दिर वडा नंं. ६ मा अवस्थित छ । यस मन्दिरभित्रको गणेशको नाउँमा शीला देखिन्छ । देवलको दायाँबायाँ दुइटा छुचुन्द्राहरुका मूर्तिहरु पाइन्छन् । यस मन्दिरमा रहेको ढलोटको गजुर ३०/३५ वर्ष अगावै चोरी भएको थियो । अहिले सानो गजुर कामचलाउको लागि राखिएको देखिन्छ । मन्दिरको ढोकाको दायाँबायाँ ढुंगाको सिंहका मूर्तिहरु छन् । यसै मन्दिरको छेउमा बुद्धको चैत्य बनाइएको पाइन्छ । यस गणेशको विशेषता के छ भने यहाँँका अरु सातैवटा गणेशहरुको जात्रा हुँदैन । यस गणेशको हरेक वर्ष विजयादशमीको टीकाको दिन रथ जात्रा हुन्छ । जात्राको लागि धातुको आकर्षक मूर्ति पाइन्छ । यहाँका मानिसहरु हराएका मालसामान पाउन यहाँको गणेशलाई पैसा चढाउने भाकल गर्दछन्, हराएको माल पाएमा पैसा चढाउँछन्, मनको इच्छा पूरा भएमा पनि गणेशलाई लड्डू चढाउन आउँछन् र चाडपर्वहरुमा पूजा गर्न आउनेहरुको घुइँचो नै हुन्छ । यो मन्दिर बनेपादेखि दक्षिणतिर लाग्ने ढोकामा छ ।
यस गणेशको छेउमा भजन गर्ने लामो सत्तल पाइन्छ । यस सत्तल जीर्णोद्धारको पखाईमा छ ।
यसको पोखरी थियो । सुरुमा जुनसुकै उद्देश्यले पोखरीको निर्माण गरिए तापनि हाल सो पोखरीको जग्गामा चैतन्य माध्यमिक विद्यालय बनेको छ । पोखरीको संकेत पनि देखिँदैन ।
३. कोबाहाल गणेश
यहाँका गणेश मन्दिरहरुमध्ये सबभन्दा ठूलो दुईतले भव्य मन्दिर यिनै गणेशको हो । मन्दिरको ढोकाको दायाँबायाँ प्रस्तर सिंहका दुईवटा मूर्तिहरु छन् । मन्दिरभित्र गणेशको नाउँमा शिला गाडिएको रुपमा पाइन्छ । यसै मन्दिरको पछाडिपट्टी बुद्ध भगवान्को चैत्य पाइन्छ । नेपालमा देखिएका धार्मिक सहिष्णुताको परिणाम हिन्दू–बौद्ध धर्मावलम्बीहरु गणेश र बुद्धको प्रतिमाहरुलाई विना भेद्भाव एकैसाथ पूजा गर्दछन् । मन्दिर दक्षिणतर्फ फर्किएको छ । २०४३ सालमा बनेपा नगरपालिका र स्थानीय जनताको सहयोगमा जीर्णोद्धार गरिएको रहेछ । किंवदन्ती अनुसार यस गणेशलाई हैजाको मामा पनि भनिन्छ । पौराणिककालमा बनेपाको पर्खालभित्र हैजा पस्न खोज्दा यो गणेशबाहेक अरु गणेशहरुले भित्र पस्ने ढोका बन्द गरे । मामाको साइनो लगाएर हैजा यसै गणेशको ढोकाबाट पसेका थिए रे । हैजाको महामारी भएको बेला हैजालाई खुशी पार्न यिनको मामा पर्ने यस गणेशलाई पूजा चढाउन आउनेहरुको घुइँचो हुन्छ रे ।
यस मन्दिरको अगाडि भजन गर्ने सत्तल पाइन्छ । अचेल जीर्ण अवस्थाको छ, यसले पनि जीर्णोद्धारको समय पर्खिरहेको छ । यस मन्दिरको दक्षिणपट्टी एउटा पोखरी छ यो पोखरी सरस्वती प्राथमिक विद्यालय अगाडि छ । बनेपा नगरपालिकाको आर्थिक अनुदानमा यस पोखरीको जीर्णोद्धार भएको देखिन्छ ।
४. ध्वाखा गणेश
वकुटोलमा एउटा सानु गणेशको मन्दिर छ । यसलाई स्थानीय जनताहरु ध्वाखा गणेश भन्दछन् । यस मन्दिरभित्र गणेशको प्रस्तर सुन्दर मूर्ति छ । साँच्चै भन्ने हो भने यो गणेशको मन्दिर दोबाटोमा छ । यो मन्दिर अरु मन्दिरहरुजस्तै दक्षिणतिर फर्किएको छ । यही दक्षिणको बाटोबाट चारदोबाटो जाने बाटो पर्दछ । यही मन्दिरकै छेउबाट चण्डेश्वरी जाने बाटो पूर्वतिर छ भने पूर्वतिरै भीमसेनस्थान जाने बाटो पनि यही हो । यहाँ कुनै जमानामा बनेपाभित्र पस्ने ढोका थियो । त्यसैले यस गणेशलाई ध्वाखा गणेश भनिएको हो । हुन त सुनिए अनुसार बनेपाको ८ वटा गणेशको स्थापना गर्दा सबै मन्दिरको वरिपरि एक–एकवटा सतल, पोखरी र ढोकाहरु पनि बनाइएका थिए भन्ने कुराको प्रमाणस्वरुप ढोका भत्की अवशेष समेत नपाइए तापनि गणेशको नामसँग ध्वाखा जोडिएकोबाट प्रमाणित गर्न सकिन्छ । ध्वाखाको अर्थ हो ढोका । अक्षय तृतीयामा यहाँ इही जग्गे गर्दा ढुसीको (पहिलो दिन) दिन इही पूजाको सिलसिलामा यस गणेशलाई एउटा बोका बलि दिने गरिन्छ ।
यस गणेशस्थानको पूर्वपट्टी एउटा ठूलो पोखरी छ । अरु गणेशस्थानको पोखरी ३/४ वटा लोप भए तापनि यस ध्वाखा गणेशको पोखरी अद्यापि पाइन्छ । पोखरीको समय–समयमा मर्मत गरे तापनि फेरि मर्मत गर्नुपर्ने देखिन्छ ।
यहाँको भजन गर्ने सत्तल पहिलो थियो रे । अहिले सत्तलको अवशेष पनि पाइन्न । सडक फराकिलो पार्दा अथवा पोखरीको मर्मत गर्दा अथवा अरु कुनै कारणवश सत्तलको अस्तित्व गुमेको हुन सक्तछ ।
५. काँथु गणेश
बनेपाको काँथु टोलमा स्थापना गरिएका यी गणेशलाई काँथु गणेश भनिन्छ । यस मन्दिरमा गणेशको नाउँमा आकारविहीन ढुङ्गो गाडिएको पाइन्छ, मूर्ति नै यही हो, यहाँको मन्दिर सानो छ, दक्षिणतर्फ मोहडा छ । यो मन्दिर पनि दोबाटोमा छ । धगाल, घोकेचौर, तीनधारा र शाहीटोल चारैतर्फ जाने चौबाटो यहीं पर्दछ ।
यस मन्दिरको पूर्वपट्टी एउटा पानी विनाको पोखरी पाइन्छ । पानीको अभाव र संरक्षणको अभावमा पोखरी नाममात्रको हुन गएको छ । पोखरीको छेउमा द रेयुकाइको भवन निर्माण हुँदैछ ।
यस गणेशको छेउमा एउटा सत्तल छ । सुनिन्छ, यस सतलमा चतुरमास भजन गरिन्थ्यो । अहिले यस सतललाई एउटा सार्वजनिक पुस्तकालयको रुपमा परिणत गरिएको छ ।
६. ख्यो गणेश
थाछुटोल भन्नाले वडा नं. ४ हो । यहाँको गणेशको सानो आश्रमस्थल देवल छ । यसलाई थाछु गणेश भनिन्छ । स्थानीय मानिसहरु ख्यो गणेश भन्दा रहेछन् । चौर वा खुल्ला ठाउँलाई नेपालभाषामा ख्यो भनिन्छ । त्यस्तै चौरमा बसिरहेको गणेशलाई ख्यो गणेश भनिएको हो । यस गणेशको मूर्ति कुँदिएको छ, गणेशको अगाडि दायाँबायाँ सिंहका दुईवटा प्रस्तर मूर्तिहरु छन् । स्थानीय जनता र नगरपालिकाको अनुदानमा गणेशस्थानको जीर्णोद्धार गरिएको सुनिन्छ । यस गणेशको दक्षिणपट्टी पोखरी छ, पानी छैन । यस पोखरी पनि जीर्णोद्धारको दिन पर्खिरहेको छ । यसको वरिपरि सत्तल देखिँदैन । यहाँबाट उत्तरतर्फ मगरगाउँ जाने बाटो पर्दछ ।
७. प्वाक: गणेश
नेवारहरु खाल्डोलाई प्वाक: भन्दछन् । प्वाक: गणेशको मतलव खाल्डोमा बसिरहेको गणेश भन्ने बुझिन्छ । पहिला–पहिला खाल्डोमा बस्दै आए तापनि अचेल यस गणेशको आश्रम समथरमा छ, यसको प्रस्तर मूर्ति देखिँदैन । खुल्ला ठाउँमा सामान्य ढुंगा प्रतिमाको रुपमा स्थापना गरिराखेको पाइन्छ । एउटा घण्टा पाइन्छ । मन्दिर छैन । यहाँका मानिसहरु ठूला भोजको लागि रक्सी बनाउन यस गणेशलाई पूजा गर्दछन् । गणेशकै प्रसाद स्वरुप राम्रो गुणस्तरको रक्सी पार्न सकिन्छ । यस गणेशको विशेषता यही हो ।
यस गणेशको वरिपरि पोखरी हुनुपर्ने हो, अचेल पाइँदैन । सायद पोखरी देशकाल परिस्थितिअनुसार लोप भएको हुन सक्दछ । यस्तै यहाँको सत्तलको पनि अवशेषको संकेत समेत देखिन्न । यस टोलमा अचेल चतुरमास भजन हुँदैन । जमानामा थियो होला । यो उतिको चल्ने बाटो नभए तापनि भण्डारी गाउँतिर जाने बाटो यही हो ।
८. घाट गणेश
यो गणेश वडा नं. ५ मा छ । यहाँबाट पश्चिमतिर पुलबजार जाने मूलबाटो पर्दछ । यसैको पछाडि नाला जाने बाटो छ । बनेपाका संरक्षक मानिएका ८ वटा गणेशहरुमा सातवटा पर्खालभित्र छन् भने यो घाट गणेश पर्खालबाहिर छ । सुनिए अनुसार अरु गणेशहरुभन्दा यिनी मुख्य र ठूला छन् । यसलाई स्थानीय भाषामा तलापुखु गणेश पनि भनिन्छ । बनेपामा वर्षेनी ल्याइने नवदुर्गाको नाच (जात्रा) यहीँबाट सुरु हुन्छ । यहाँ गणेशको दुई फुटको प्रस्तर मूर्ति छ, दुईवटा घण्टाहरु छन्, चारतिर दियो बाल्न पालाहरु छन् । यस गणेशलाई दसैंको चाडमा फूलपातिको दिन सरकारी पूजा गरी एउटा राँगो बलि दिएपछि अरु गैह्र जनताले पर्खालभित्र फूलपातिको दिन राँगो काट्न पाइने व्यवस्था थियो । गणेश मन्दिर र जगतिको मर्मत नगरपालिका र स्थानीय जन सहयोगबाट भएको छ ।
यस घाट गणेशको अगाडि ठूलो पोखरी छ, यसलाई तलापुखु पनि भनिन्छ । पोखरीमा ३ वटा घाटहरु थिए । पोखरीको मर्मत जनसहयोगले भएको छ । यसको संरक्षण दछुटोल कन्यापूजा गुठीले गरेको छ । यहाँ माछा पाल्ने पनि गरिन्छ ।
यस गणेशको वरिपरि अहिले सतलको अवशेष पनि भेटिँदैन । सायद जमानामै सतल भत्किएको हुनुपर्छ । लायकूको ढोकाबाहिरको यो गणेश छेउकै बाटोबाट पश्चिमपट्टी काठमाडौं जाने मूलबाटो यही हो ।
बनेपाको संरक्षकको रुपमा स्थापना गरिएका मूल ढोकाका यी आठवटा गणेशहरुबाहेक सार्वजनिक पूजा गरिने गरेका गणेशहरुको सङ्ख्या एकसय पुग्छ । टोलवासीहरु आफ्ना–आफ्नो नियमित पूजा गर्दछन् । ठूला–ठूला चाडपर्वहरुमा गणेशको विशेष पूजा पनि गरिन्छ । प्रत्येक साल भाद्र कृष्ण चौथीका दिन यहाँ गणेशको पूजाको ठूलो आयोजना हुन्छ । यस पूजाको आयोजक बनेपा कोलाटोलका लक्ष्यश्वर महादेवको भजनियाँहरु हुन्छन् । चारघण्टासम्म हिँडेर बनेपाका सबै गणेशहरुलाई यथास्थानमा गई पूजा गरी सहभागीहरुले स्वारी, मालपुवा, सेल, विस्कुट, तलासी, लड्डु, पेडा, पैसा, फलफूल, चकलेट आदि चढाउँछन् । यसरी पूजा चढाउन जाँदा बाजागाजासहित लावालस्कर नै जान्छन् । भक्तिभाव भएका मानिसहरुले गणेशको स्थापना अझै गर्दै गएका छन् । यी पूजाहरुमा बनेपाको संरक्षक आठवटा गणेशहरुको पनि ससम्मान पूजा हुन्छन् । यस्तै भाद्र शुक्ल चौथीमा गणेश चौथी पर्व सबै घरमा मान्छन् । मंगल चौथीका दिन गणेशस्थानमा पूजा गर्न आउने घुइँचो नै हुन्छ । यसरी गणेशको अति सम्मान साथ पूजा गरिने हुँदा प्राचीन समयमा यस बस्तीलाई विनायकपुर भनिएको उपयुक्त नै थियो ।
दक्षिण मोहडाको बस्ती – बनेपाको भौतिक पक्षलाई लिएर यस्तो चर्चा पनि सुनिन्छ । बनेपा अष्ट गणेशको मूल नाकाहरुमा स्थापना नगरेको भए कुलक्षणको बस्ती हुने थियो । यस बस्तीको स्थापना गर्दा संस्थापकले बुद्धि पुर्याएर गणेशहरुको पनि स्थापना गरेको भन्ने सुनिन्छ । एक पटक एकजना महात्मा घुम्दै फिर्दै बनेपा आएछ, कुलक्षणको बस्ती भनी बनेपाको पर्खालभित्र बास समेत नबसी घोकेचौरमा बास बसेछ । राती बिउँझदा महात्माले पाँचवटा टाउका भएका एउटा नागले बनेपालाई झलमल पारी संरक्षण दिइरहेको देखेछ । मूल नाकाहरुमा गणेशको स्थापना गरिएकोले मात्र यस बस्तीको लक्षण भएको गुह्य कुरा महात्माले पत्ता लगाए भन्ने जनश्रुति पाइन्छ ।
पूजा भनेको भक्तिभावले गर्ने हो । पूजा गरिने देवताको प्रकृतिअनुसार मात्र पूजा हुनुपर्ने हो । गणेशको टाउको हात्तीको टाउकोको प्रतीक हो । हात्ती शाकाहारी प्राणी हो । तसर्थ गणेश पनि शाहाकारी नै हुनुपर्ने हो । मैले सुने अनुसार तराई क्षेत्रमा र विहार प्रान्तमा गणेशको पूजा गर्दा पूर्ण शाकाहारी हुन्छ । तर बनेपालगायत पहाडी भेगमा र उपत्यकामा गणेशको पूजा गर्दा राँगो, बोका, हाँस, भाले, अण्डा, नैवेद्य आदि बलि दिने गर्दछन् । यसको वास्तविक ज्ञान थाहा नपाएर हो कि ? अथवा के ले हो ? यसबारे यथार्थ पूजाको सामग्री र विधि शाकाहारी वा मांसहारी के हो ? विद्वान्जनले प्रकाशमा ल्याउनु आवश्यक छ । परम्परा भनेर धर्मका नाउँमा पाप त कमाइरहेका छैनौं हामीले ?
तस्बिरहरु : गोपाल बैद्य, गौत्तम शाक्य तथा भुवन भोछिभोयाको फेसबुकवाट