दैवी प्रकोप न्यूनीकरण चेतना सम्बन्धी गोष्ठी थियो रसुवामा तीन दिने । मित्र समाजशास्त्री राजन शाक्यको आग्रहमा गएँ । विभिन्न कार्यालयमा पत्राचार गयौं सहभागीका लागि । बीचको अन्तरालमा अनि एक काज दो पन्थ भैं स्याफ्रुवेसी घुम्यौं । चिलिमे जलविद्युत योजना अवलोकन ग¥यौं । त्यति मात्र होइन गोष्ठी अलि पछि हुनाले गोसाइकुण्ड पनि पुग्यौं । फर्केर गोष्ठी सिध्याएर राजधानी आइयो । घरमा पुग्दा त १० दिन बितिसकेछ छोडेको । यति लामो दिन घर बाहिर भएको थिएन पहिले ।
छानामाथि कौसीमा गएँ । एउटा गमलामा विशेषखालको ‘क्याक्टस’ विरुवा थियो । पानी नदिएर सुकेको भन्ठानेको त विरुवा गायव रहेछ । विशेष जातको पानी उति नचाहिने भएकोले मर्नु त नपर्ने जस्तो लागेको थियो तर गायव भएपछि त के भनूँ, कसलाई सोधूँ । घरपरिवारलाई सोधें कसैले बताउन सकेनन् । यो विरुवासँग मेरो विशेष लगाव थियो । लाहुरे सन्तराम घलेकै नियति उसको क्याक्टसले नबेहोरोस् भनेर सतर्क थिएँ । सधैं पानी दिन्थें । तर आपूm नहुँदा लामो यात्रामा जाँदा भन्न पनि पाइनँ । सोधखोज पनि गरिएनछ । वैशाखमा पानीको दुःख मानिसलाई त हुन्छ विरुवाको के वास्ता ?
वर्षै अघिको हो यो विरुवा । अझ यो भन्दा अघिकै कथादेखि सुरु गरुँ । जतिखेर आत्मादाइ (समाजसेवी तथा वरिष्ठ इन्जिनियर) मस्र्याङ्गदी जल विद्युत आयोजनाका प्रमुख हुनुहुन्थ्यो, म कालिञ्चोक युवा क्लबको अध्यक्ष थिएँ । उहाँ भन्नुहुन्थ्यो —म छउन्जेल क्लबको सबै सदस्य लिएर आउनू । जलविद्युत आयोजना पनि हेर्नू खैरेनी उक्लेर मनकामना मन्दिरको दर्शन पनि गर्नू । तर संयोग वा दुर्योग कस्तो प¥यो भने हरेक पलको छलफलमा समूह मिलेर जाने सुयोग्य सबैको मिलेन । कहिले कसको नमिल्ने कहिले कसको अनुकूल नपर्ने । अन्ततः आत्मा दाइ हुन्जेल न जलविद्युत आयोजना हेर्न गइयो न मनकामना भगवती दर्शन गर्न उक्लियो । २०४८ सालमा तत्कालीन गिरिजा बावुको सरकारले कर्मचारीतन्त्र नयाँ गर्ने नाममा जसरी पुरानो वर्ग सखाप ग¥यो त्यसले कतिपय अनुभवी विज्ञहरुलाई पनि लखेट्यो । आत्मा दाइ पनि त्यही घटनामा परेर सरकारी जागीरबाट अवकास पाउनुभयो । अब हामीलाई खैरेनी जान तताउने भलाद्मी भएन । ‘मनकामना माई’ ले नबोलाएको ठान्यौं ।
तर हैनः उद्योगपति निर्माण व्यवसायी लक्ष्मणबाबु श्रेष्ठको पहलमा कुरिनटारबाट मनकामनामाई जाने केबुलकार बनेपछि यो माइस्थान दुर्गम भएन ।
कुनै बेला न्याय नपाए गोरखा जानू विद्या हराए काशी जानू भनिन्थ्यो । तत्कालीन गोरखाका राजा रामशाह न्यायी विवेकी राजा थिए । राजाकी रानी लीलावती नै ‘दैवी’ शक्ति सम्पन्न महारानी रहिछिन् । रानीको रहस्य एउटा बूढो थापामगरलाई मात्र थाहा रहेछ । राजा रामशाह मरेपछि ‘म तिम्रै वरपर शिला भएर प्रकट हुनेछु । मेरो सेवा तिमीले नै गर्नू ।’ भनी राती सती गइन् । केही वर्षपछि सोही मगरको कफेक गाउँमा खेत जोत्नलाग्दा हलोको फाली एउटा ठूलो ढुङ्गामा अड्कियो । फाली निकाल्दा ढुङ्गा चोट लागेको ठाउँबाट रगत बगेको देखेर किसानहरु डराए । तर त्यसै राती त्यो बूढो थापामगरलाई सपना भयो –‘म काली हुँ । तिमीलाई दिएको बचन पूरा गर्न आएको छु ।’
भोलिपल्ट उसले सबैलाई भेला गरायो र काली स्थापना गरी पूजा आराधना शुरु ग¥यो । भक्तजनको मनोकामना पूरा गरि दिने हुनाले मनकामना माई भनिन थालियो । थापामगर बूढाका सन्तानहरु त्यस मन्दिरका पूजारी छन् । यो कथा त बुवाबाट पनि सुनेको हुँ । उहाँ हिँडेर जानु भएको रहेछ २०२७ सालमा ।
मुक्तिकुवेर मास्के (हाल स्वर्गाीय) आफ्नो बिहे र सन्तान मनकामनाको देन ठान्नु हुन्थ्यो ।
सिंचाइ विभागमा रहँदा नै लक्ष्मणबावु श्रेष्ठसँग मेरो परिचय भएथ्यो । अन्ततः २०५४ सालमा हाम्रो ठूलो समूह तैयार भयो । अधिकांशतः मेरा नातेदार, बुबा (स्व. कमलप्रसाद प्रधान), माइली सानीमा (स्व. गंगालक्ष्मी), सानी सानीमा (स्व. जाम्ववती मास्के), सानुबुवा (स्व. कृष्णबहादुर मास्के), ज्वाइँ (रामेश्वर कर्माचार्य), बैनी (जानकी कर्माचार्य), बैनी (मेनुका ताल्चाभडेल), भाञ्जाहरु (असीम, आभास, गुञ्जन, गौरव), छोराहरु (शालीन, अश्मन), भतिजा (आस्था), भतिजी (इन्दु) र बैनीको सासु (भीमकुमारी कर्माचार्य) सबै गर्दा १९÷२० जना पुगेपछि लक्ष्मण बाबुलाई टिकटमा छुट दिन फोन गरें । फ्याक्स गरी नाम पठाएँ । कुरिनटारमा व्यवस्था हुने आश्वासन पाएँ ।
बोका दुईवटा बली पूजाको लागि र अरु पकाउने तुल्याउने सामान लिई गयौं । कुरिनटार पुगेपछि म, भतिजा आस्था, छोरा शालीन पछिल्लो समूहमा जाने निधो ग¥यौं किनकि पहिले बस्ने व्यवस्था पनि गर्नु पर्दथ्यो । बाटोनेरको एउटा खुला पाटी फेला परियो । नजिक पानी भएकोले सामान ओसारेको त एकजना जड्याहा आई बिठ्याइँ गर्न लाग्यो । २०÷३० रुपया दिएर फकाउन खोजेको त झन् त्यहीं सुत्न थाल्यो । भएन भनेर अलि पर गाडी लगी म ओर्ली खोज्न थालेँ, ‘स्पिंग रिभर हिल साइड’ साइन बोर्ड देखें । कुनै बेला जापानी मित्रसँग आई यहाँ खाना पनि खाइएकोले आँटै गरेर गएँ । होटेलवाला भेटी सम्झाएँ : पहिले खाना खान आएको छुँ । आज चाहिं खान हैन ठाउँ दिनु प¥यो । जलउत्पन्न प्रकोप नियन्त्रण केन्द्रबाट आएर खाएको भनेपछि उनले शुरुमा अन्काए पनि पछि राम्रै व्यवहार दर्शाएर भने –‘ठाउँ त छ तर भीरमै पर्दछ होस् गर्न पर्ला ।’ नभन्दै क्यै तल खुल्ला चउरमा झुपडी थियो झुपडी तल चाहिँ भीर कटान गरेथ्यो गल्छी नदीले । ‘यो कटान रोक्न पाए हुन्थ्यो’ उनको कुराको आशय बुझेपछि मैले पनि आफ्नो अफिसबाट प्राविधिज्ञलाई भनिदिने आशा देखाएँ । अनि गाडी ल्याई सामान ओराल्यौँ — ग्याँस, ग्याँस चुल्हो, भाडा कुँडा, नपुगे उनैले नै दिने र चाहिए त्यतै सोफादार कोठामा बस्न पनि भने ।
अब हाम्रो समूह पनि मनकामना उक्लियो । अष्ट्रियाको डोप्ल्याएर कम्पनीसँग सम्झौता गरी तैयार गरिएको यो केवुलकार दार्जलिङ्ग र नैनीतालको भन्दा लामो छ ।
त्रिशुली नदीको परिदर्शन गर्दै बिस्तारै उकालिँदा कान बन्द हुँदो रहेछ उचाईले । हामीले २०% छुट मात्र होइन ५ सीट ‘स्पेशल’ (निःशुल्क) पायौं । माथि पुग्दा हाम्रो समूह पंक्तिबद्ध भइ सकेकोरहेनछ । हामी पनि भीडमा मिसियौं । जनै पूर्णिमाको दिन हुनाले पारिपेटीमा हातमा पुरोहितबाट रक्षा बन्धन लाउनेहरु पनि थिए । दुई तले मन्दिरमा फोटो तुरुन्त खिचेर बनाइदिने पनि थिए । शशी र मैले पनि एउटा बनायौं । बली पूजा चाहिँ मन्दिरको उत्तर भागमा गर्नुपर्दो रहेछ ।
पूजाआजा सकेर चिया खाई केवुलकारबाट तल आएपछि पहिले बसेको स्प्रिङ्ग रिभर साइड हिलको कटेरोमा गइयो । पिकनिक भैंm कसैले तरकारी केलाउन कसैले मासु काट्न कसैले के गर्न लागे । म चाहिँ लाहुरे घले दाइसँग गफिन लागे । ब्रिटिस आर्मीमा काम गरिसकेका लाहुरे रहेछन् उनी । पहाड घर स्याङ्जा रहेछ । पेन्सन पाकेपछि यहाँ आई यो रिसोर्ट खोली दिन गुजार्ने मेलो मेसो गरेका रहेछन् ।
सोफासँगै एउटा गमलामा नकली विरुवा ‘हरियो’ देखे छामी हेरेंं सक्कली रहेछ । यो उनले आर्मीमा छँदा नै मलायाबाट ल्याएको रे । क्याक्टस जातिको भए पनि काँडा लाग्दैन रै । चुँडाएर पोको पारी मलाई दिए गमलामा सार्नू सर्छ भनि ।
खान त खायौं हाम्रो वनभोज र मनकामना माईको पूजा तर अतिथि सत्कार पूरा घले दाइले गरे ।
मसँग क्याक्टस पनि आयो घले दाइको चिनो । रोपियो हुर्कियो पनि । मेरो अफिसको २ जना प्राविधिज्ञ भुवन घिमिरे र नारायण पौडेलले हिउँदमा गई घले दाइलाई सल्लाह दिई अफिस र निजी सहभागितामा नदी कटानको व्यवस्था पनि गरिदिए ।
काठमाडौं आउँदा घले दाइ मेरो अफिस आउँथे । बाटो पर्दा म त्यो रिसोर्ट पस्दथे । भन्थे –‘अब गाह्रो भयो । माओवादी पनि खान आउँछन्, फौजी पनि । एउटालाई ख्वाए अर्कोको तारो हुने ।’ ‘म त फौजी मान्छे भए पनि व्यापारी न हुँ । भोका आए भोजन ख्वाउनै प¥यो ।’
पछिल्लो पटक मनकामना गएँ । फर्कदा रिसोर्ट छिरेँ । घले दाइ थिएन । भाउजु थिइन् । भनिन् ‘उहाँ हराएको एक महिना भयो ।’ ‘कसप्रति शंका लाग्छ त भाउजू’ मैले घाउ कोट्याएँ ।
‘खै के भनू बाबु, सबैका लागि उहाँ आफ्नै मान्छे हुनुहुन्थ्यो ।’ भाउजूका आँखामा आँसु मात्र थियो । मैले पनि बोल्न सकिनँ ।
त्यसपछि पनि त्रिशुली र गल्छीमा थुप्रै पानी बग्यो । जनयुद्ध सकेर गणतन्त्र आयो । घले दाइ कहाँ छन् ? उनी दुवै सूचिमा छैनन् न राज्यले वेपत्ता पारेकोमा न जनताको लागि लडेको भन्नेहरुमा ।
मसँग पनि केही छैन । क्याक्टस थियो त्यो पनि हरायो ।