म अन्धकारमा डुबेँ
रात्रि–निशाचरहरूले आएर मलाई
अचानक घेरे
अहिले म नजरबन्दमा छु ।
म पर्खालभित्र छु
कङ्क्रिटको अग्लो पर्खालभित्र
मलाई निषेध गरिएको छ
आफन्तजनहरूसित भेट्न
मायाका कुराहरू गर्न
कडा सुरक्षा–व्यवस्थाको फलामे बारभित्र
कसैसित बोल्न प्रतिबन्ध गरिएको छ
म कुनै जुलुसमा
सडक–प्रदर्शनमा
विरोध सभामा
सहभागी हुन पाउँदिनँ
मलाई हताश तुल्याउन
निराश बनाउन
अपनाइएको छ अनेकौँ जुक्ति
यातना, पीडा, आतङ्क र दमनको
(शारीरिक र मानसिक दुवै)
एक्लो छु म
नितान्त एक्लो
मेरा वरिपरि कोही छैनन्
मेरा हितैषी र शुभेच्छुकहरू
धम्की, त्रास र लगातारको पीडाबाहेक
अपमानित, क्षुद्र व्यवहारबाहेक
स्वतन्त्रताको रङ्ग कस्तो हुन्छ ?
म अनुभूत गर्न चाहन्छु
अबन्धित मुक्त जीवनको आकाश
कस्तो हुन्छ ?
म अनुभूत गर्न चाहन्छु
मानवीय संसर्गको आनन्द, मिठास
म पुनः एक चोटि बोध गर्न चाहन्छु
मुक्तिको आकाङ्क्षा मैले
त्यागिसकेको छैन
स्वतन्त्रताको चाहना
मारिसकेको छैन
त्यो भरभराउँदो छ मभित्र
आगोको फिलिङ्गोसरह
मेरो चेतन, अचेतन मनभित्र ।