युगको ब्याडमा राखेर
शताब्दी लामो समयसम्म
माया र उत्सर्गको
सामल खर्चेर
तयार गरेको
मेरो कल्पबृक्षको बीउ
बीचबीचमा
फेरेकै हो भाडाहरु
भण्डारन गर्ने
र
सुरक्षित गर्ने
छिप्पिन नपाइकन
भुसुक्कै कुहिएछ
मेरो कल्पबृक्षको बिउ
जतनसाथ हुर्काइयो
फेरि
तीस वर्षे गर्भमा
मेरा नौनारी फतक्कै भए
त्यस अन्तरालमा
तर ढलेन
मेरो विश्वास
गलेन
मेरो आस्था
अग्नीसन्धानको महायज्ञमा
फेरि पुनर्जन्म दिइयो
सबै मिलेर
एउटी सुकुमारी सुन्दरीको
त्यही कल्पबृक्षको
जोगाएको बीउ रोपेर
समय त लामै लिएछ
हुर्कन
कल्पबृक्षको सन्तानले
फेरि किरा लागेछन्
मेरो आस्थाको
त्यो सुकुमारी कलीका
मुनाहरुमा
सद्भाव र जन विश्वासका
तुनाहरुमा
मैले राम्ररी स्याहार्न नसक्दा
फेरि झुसिल्किरा र
गबाराले गालेछन्
मैले धरोहर थेग्न नसक्दा
फेरि आततायी
नङग्राहरुले
चिथोर्न थालेछन्
पुनर्जन्म पाएको
मेरो बगैँचामा पल्लवित
कलीका मुनाहरुमा
धेरैले ज्यान गुमाए
अनि
समर्पण गरे
धेरै कर्मबीरहरुले
आफ्ना आयुहरु
बुद्धिहरु
र पसिनाहरु
लाममा लाम थपियो
गाउँ गाउँबाट उठे
बस्ती बस्तीबाट उठे
हिमाल, पहाड र तराईबाट उठे
छलको साथ पनि भयो
बुद्धि र बलको
अपूर्व मिलन भयो
फलाइयो सञ्जीवनी
मेरो कल्पबृक्षमा
र
नाम राखियो त्यस सञ्जीवनीको
मेरो बाटो
मेरो विश्वास
मेरो लक्ष
अर्थात्
मेरो देशको संविधान
दिनहरु रातमा
फेरिँदैछन्
ज्योति मानिएकाहरु
अँङ्गारमा अनुवाद हुँदैछन्
यो निरन्तर प्रकृया रहेछ
तर हातमा चिराग लिएर
रखवारीमा जुटेको छु म
म त अजेय जनता हुँ
फेरि कहिल्यै ओइलिने छैन
मेरो मुना
मेरो कल्पबृक्षमा फलेको
सञ्जीवनी
मेरो संविधान ।