आज म पहिलो पटक कुनै एउटा चलचित्रको समीक्षा लेख्ने प्रयत्न गर्दै छु । त्यो चलचित्र हो ”ऐना झ्यालको पुतली” ।सायद यो समीक्षा लेख्नु मेरो लागि चुनौती नै हो भन्दा फरक नपर्ला । यही साताको सोमबार त्यही ऐना झ्यालको पुतली फिल्मको प्रिमियर सो हेरेर फर्किँदै थिए । मन भने एक प्रकारको आनन्द र सन्तोषले भरिएको थियो । अझ भनौँ मन भरी आनन्द नै आनन्द फैलिरहेको थियो । हुन त हरेकका रुचिका विषयवस्तु फरक फरक हुन्छन् । तथापि सबैले मन पराएका विषय विरलै मान्छेले मन नपराउने हुन्छन् रे । त्यसै श्रेणीको चलचित्र हो ऐना झ्यालको पुतली । खासमा मैले हेर्न चाहेको नेपाली फिल्म यही र यस्तै हो । म हिन्दी सिनेमा हेर्दा आर्ट मुभी हेर्न रुचाउँछु । कुरा केही दिन अघिको हो केदार श्रेष्ठले म्यासेन्जरमा ऐना झ्यालको पुतली हेर्न निम्तो पठाउँदा हत्त न पत्त धन्यवाद सहित आफ्नो सिट बुक गरी हाले ।
फिल्मका निर्देशक सुजित बिडारीको कला कुशलता उनको पहिलो चलचित्र सावित्रीबाट नै एक किसिमको पहिचान थियो । अर्गानिक कलाकारहरुको अभिनयले फिल्मले सविता र जीवन्तता पाएको छ । सायद यही फिल्म पनि अभिनयमा माझिएका कलाकारहरूबाट हुँदो हो त अभिनय जस्तो लाग्ने थियो । ग्रामीण नेपाली जीवनका ससाना जीत, हार, खुसी र दुःखहरूलाई निकै सहज र सरल तरिकाले दर्साउन सक्नुले नै उनलाई कुशल निर्देशन भन्न सकिन्छ । कथाको परिवेशलाई न्याय गरेर जीवन्त अभिनय गर्न सक्ने कलाकार छानेर ल्याउने कास्टिङ डाइरेक्टर केदार श्रेष्ठको कामको तारिफ त शब्दमा बयान गर्न सक्दैन ।
सीमित श्रोत र साधनमा बनाइएको यो चलचित्रमा शारीरिक भन्दा मानसिक द्वन्द्व र पीडा धेरै छ । एउटी नारी चाहे त्यो बालिका होस्, चाहे त्यो आमा या अरू कोही नारी नै किन नहोस् । समाज तथा घरपरिवारको लागी गर्नु पर्ने त्यागले उनको सिङ्गो जीवनलाई कस्तो विक्षिप्त बनाउँछ भन्ने कुरालाई राम्रोसँग अनुभव गर्न सकिन्छ । कति दृश्यहरूमा आफैले भोग्दै छु जस्तो अनुभूतिले आँखा सजल हुन्थ्यो र किलकिलेमा केही अड्किएको भान हुन्थ्यो ।
नेपाली समाजको सही र सटिक चित्रण गरिएको नेपाली चलचित्र ऐना झ्यालको पुतली प्रत्येक दृश्यमा आमा र छोरी अर्थात् नारी पात्रहरूको जिम्मेवारी र त्याग देखाइएको छ । त्यो वास्तविकता नै हो , हाम्रो समाजको ऐना नै हो । दर्शकहरूले नेपाली समाजमा नारीले भोगेका कथा व्यथाको यथार्थ र जीवन्त चित्रणको लागि चलचित्रले सरल संवादहरू तँ र मसँगै काठमाडौँ जाऊँ न, घरमा कोही छैन । म पनि गएँ भने घर कसले हेर्छ ? के गर्छस् त तेरो भाग्य नै छैन् ? यस्तै रहेछ । यी हाम्रो दैनिक जीवनमा प्रयोग हुने संवादहरू हुन तर यस्तै सरल लाग्ने संवादहरूले जीवन कठिन हुने गरेको बताउँछ । ऐना झ्यालको पुतली चलचित्रका केही दृश्य हेर्दा आफ्नै जीवनको कथा जस्तै अनि तपाई कै कथा जस्तै लाग्नेछ । यो चलचित्रमा एक पुरुष पात्र छन् उनको मौनताले मुटु चिरिन्छ परिवारप्रति एक पित्को पनि उत्तरदायित्व भएको देखिन्न सायद उनी डिप्रेसनबाट पीडित हुनु पर्छ भन्ने अनुमान लगाउन सकिन्छ ।
चलचित्रमा दिदी भाइको अथाह प्रेम देखाइएको छ । साथीहरूसँगको आत्मीयता स्कुलको पाले दाइसँगको नजिक पनाले हरेक दर्शकलाई आफ्नै स्कुले जीवनको याद दिलाउँछ । सबै भन्दा मन छुने पाटो एउटी जेहेन्दार छात्राले गरेको त्याग कविता छाप्नको लागी गरेको सङ्घर्ष र अन्त्यमा मुनामा छापिएको कविताको भाव सँगसँगै आफू छोरी हुनुको पीडा बोध मै अर्को जीवनको सुरुवात मौन भएर स्विकार्दै बिदा हुन बाध्य हुन्छिन् ।
यो फिल्मको मुख्य विशेषता भनेको स्थानीय स्वादको भाषा शैलीको संवाद । परिवेशको यथार्थ चित्रण । अझ सन्तानको शिक्षाको लागि न्यून आर्थिक अवस्था भएको मानिसले गरेको सङ्घर्ष र पीडाको कथा हो । नेपाली समाजमा नारीको स्थान र अवस्थालाई पनि उत्तिकै गहन ढङ्गले प्रस्तुत गरिएको छ । त्यसैले भन्न सकिन्छ यो नेपाली आमा दिदीहरूको दैनिक जीवनसँग साइनो गाँसेर आउने दुख दर्द र पीडाको कथा हो । शिक्षाको लागि मरिहत्ते गर्ने केटीको कथा हो । कथा आयामका हिसाबले छोटो भए पनि यसले बोकेको भाव र दिन खोजेको सन्देश धेरे विस्तृत र व्यापक छ । त्यसैले नेपाली माटोको सुगन्ध र स्वाद बोकेको कुनै एउटा फिल्मको नाम भन्नु परेमा निर्धक्क भएर भन्न सकिन्छ ऐना झ्यालको पुतली ।