आँबुखैरेनी स्रस्टा समाजले चितवनका कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार-२०७८ बाट सम्मान गरेको छ ।
शुक्रबार आँबुखैरेनीमा आयोजित एक कार्यक्रममाझ प्रमुख अतिथि वरिष्ठ साहित्यकार काजी रोशनले कवि पौडेललाई दोसल्ला ओढाएर नगद १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेका हुन् ।
तीसको दशकदेखि कवितामा आफ्नो अलग पहिचान र विशिष्टता हासिल गरेका र विभिन्न साहित्यिक कृति र पत्रिकाहरूको सम्पादन, प्रकाशनमार्फत निरन्तर साहित्यिक सेवाको योगदानको मूल्यांकन गर्दै कवि पौडेललाई सम्मान गरिएको समाजका अध्यक्ष अनिल श्रेष्ठले बताए । सम्मानित पौडेल त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुख छन् । पौडेलका अन्तिमेत्थम् (२०४९), नरमेध (२०५६) र शीतनिद्रा (२०७३)लगायतका कृति प्रकाशित छन् ।