१. परिचय
नानीलाई सुताउन आमाले गाउने गीत वा त्यसको लयलाई नुवा:प्मा भनिन्छ । जब आमाले नानी कोक्रोमा हालेर हल्लाउँन थाल्छ त्यतिखेर आमाको हृदयबाट ‘आ… ओ…. नानी’ भन्ने स्वतस्फूर्त मधुर ध्वनी गुञ्जिन्छ । आमाको यस्तो मधुर स्वरलहरीले बच्चालाई थाहै नपाई गहिरो निन्द्रामा पुर्याउँछ । भनिन्छ, यसरी गाउने नुवा:प्मा आमाको दुधपछि ममताको सबैभन्दा मीठो भाव हो । यसले आमा र बच्चाको सम्बन्ध प्रगाढ बनाउनुका साथै राम्रो दिमागी विकास पनि गराउँछ । आमाको नुवा:प्मा सुनेर बच्चाले आफुत्रिको डर र खतराप्रतिको रक्षाको भावना विकसित हुन्छ । यस्तो नुवा:प्मा गीतले बच्चालाई सुत्न प्रेरित गर्नका साथै आमासंगै भएको पनि महसुस गराउँछ । अमेरिकाको मियामीस्थित फ्रस्ट स्कुल अफ म्युजिकका अनुसन्धानकर्ताहरुका अनुसार यस्तो गीतले आमाको स्वास्थ्यलाई पनि फाईदा गर्छ । आमाको तनाव कम गर्नका साथै सकारात्मक सोचाइको समेत विकास हुने बताएका छन् । आमाको नुवा:प्मामा एक किसिमको जादु हुन्छ, जसले बच्चालाई मन्त्रमुग्ध बनाउँछ । र, परम आनन्दका साथै सपनाको बेग्लै लोकमा पुर्याउँछ ।
२. मुन्धुममा नुवा:प्मा
मुन्धुम लिम्बू जातिको दर्शनशास्त्र हो । हाक्पारे, पालाम, माङघ र नुवा:प्मा जस्ता लोकसाहित्यको मूल स्रोत मुन्धुमलाई मानिन्छ । सर्वप्रथम नुवा:प्माको व्युत्पत्ति र इतिहास खोज्न मुन्धुममा पुग्नुपर्छ । मुन्धुमविद अर्जुनबाबु माबुहाङका अनुसार मुन्धुममा मुजिङना खेयङनाले आफ्नो पुत्र सुसुवेन लालावेन अर्थात् सावायुक्पुङगेम्बालाई फकाउँदै नुवा:प्मा गाएको बताउँछन् । त्यस्तै सुब्बा, (२०७४, पाना, १०८) ले मानवको सृष्टि हुनु अघि पहाड–पहाड एक आपसमा जुधे । आमा ढुङगा, बाबु ढुङगा एकअर्कामा ठेलमठेल गरे (मालुङ पालुङ अ:क्तेसी) आँधीबेहरी आयो । भूमरी चल्यो । त्यही भूमरी बतासको गर्भबाट एक नवजात शिसु मुजिङना खेयङनाको जन्म भयो । मजिङना खेयङना सालबसाल मस्त तरुणी भईं । उसलाई एउटा थाङबेन (तन्नेरी) चाहियो । नाँच्दै, गाउँदै सुसेली मार्दे ऊ कहिले थिक्लुङ (चुच्चो ढुङगा) माथि कहिले दुवै खुट्टा फारेर, कहिले घुँडा खुम्चाएर बस्थि । चुच्चे ढुङगामाथि टाङ फारेर बस्दा एक दिन तेमेन् वरङ (समुद्र) बाट हावा आएर उसको योनीभित्र पस्यो । त्यही हावाबाट आएको वीर्यविजबाट ऊ गर्भवति भई । उसले एउटा शिसु जन्मायो । उसको याङदाङ फोङमा (न्वारन) भयो । उसको नाम सुसुवेङ लालावेङ भयो । उसलाई थोक्फेत्ला (गुराँस), सिमिक्ला (देवनिगालो), पमिक्ला (घुँडे मालिङगो), नुमिक्ला (मालिङगो) का पातहरु थाङना बनाएर कोक्रोमा राखी हल्लायो । ऊ रुन्चे थियो । आमाले फकाउँदै, फुल्याउँदै, खेलाउँदै, लोलाउँदै, गीत गाउँदै उसलाई सुताउने गथ्र्यो । तर पनि ऊ निदाउँदैनथ्यो । झनै अचाक्लि रुन्थ्यो । मुजिङना खेयङनालाई विरक्त लाग्न थालिसकेको थियो । एकदिन सपनामा उसले तागेरा निङवाभूमाङबाट गीत गाउँदै कोक्रो हल्लाउँदै शिसुलाई सुताउने गीत फेला पारि । गीत सुनेपछि बच्चा मस्तले निदायो । मुन्धुमी शिशु गीत गाएर बचालाई सुताउने परम्परा पनि सुरु भयो भनेका छन् । त्यस्तै च्याबु्रङविद् ऐत खजुम (कुराकानी) अनुसार वर्तमान ताप्लेजुङको के?वापाङवादेनमा पाजाकेवा तेन्तुम्याहाङ र वरुप्लि वदन्नामाको पुत्र लाफियङबालाई सुताउनका लागि नुवा:प्मा गाएको बताउँछन् ।मुन्धुमका स्रोत मानिने फेदाङमा, साम्बा, येवा र तुम्याहाङहरु पनि मुन्धुमी पात्रहरुबाट नै नुवा:प्मा गीत प्रारम्भ भएको बताउँछन् । यसरी उपर्युत भनाईहरुले मुन्धुममा नुवा:प्मा साम्लो भएको कुरा प्रस्ट्याउँछ । मुन्धुमको उर्वरभूमि हाल ताप्लेजुङ जिल्लाको मेवाखोला र मौवाखोलातिरको ठाउँलाई मानिएको छ । र, मुन्धुममा मुजिङना खेयङनाको पहिलो बायु पुत्र सुसुवेन लालावेन नै हो । यी आख्यान र दसि प्रमाणहरुले नुवा:प्माको सुरुवात मुजिङना खेयङनाले आफ्नो पुत्र सुसुवेन लालावेनलाई फकाउँदा सुनाएको हो भन्न सकिन्छ । मुन्धुममा मजिना खेयङनाभन्दा अगाडि कुनै मानवको कथा नै भेटिन्दैन । सुसवेन लालावेन सानो नानी छँदा रोयो होला र पक्कै आमा मुजिङना खेयङनाले फकाए होला । आमाले आफ्नो सानो बच्चा रुँदा स्वभाविक रुपमा फकाउँछ नै यो सर्वजनिन कुरा हो । यसरी आख्यान, पात्र र परिबेशले पनि नुवाप्माको प्रारम्भ सृष्टिको पहिलो मानिस मुजिना खेयङनाले आफ्नो पहिलो बायुपुत्र सुसुवेन लालावेनलाई फकाउँदा नै नुवाप्मा गाएको थियो भन्न सकिन्छ ।
३. नुवा:प्मा गायन
याक्थुङ समुदायमा मानिसको जन्मपूर्व नै नुवा:प्मा गायन सुरु हुन्छ । बच्चा गर्वमा रहेको बेलामा रक्षाको लागि ‘साप्पोक चोमेन्’ (कोख पूजा) अनुष्ठान गरिन्छ । अनुष्ठान गर्दा फेदाङमाले गर्भवतिलाई माङ (देवता) संग बलशक्ति मागिदिन्छ । साप्पोक चोमेन् पूजा गर्दा फेदाङमाले गाउने माङघको केही गीतांस हेरौं
सिगि खेखुङ ।।
सोसाम खेखुङ ।।
माता खेखुङ ।।
इमेत् खेखुङ ।।
लाप्साङ लाला ।।
येप्सुङ धाङग ।।
यक्पुङ लाग ।।
इना येप्सुङ ।।
इप्लुङ गेन्ग ।।
मियङ सिरे ।।
मेन्ताएरो ।।
लेत्छाम् फुङसाम् ।।
मेन्दाएरो ।।
युक्ना खेखुङ ।।
पेली खेखुङ ।।
ता?जेङ् खेखुङ ।।
नेपाली भावानुवाद–
यसरी साप्पो:क चोमेन गर्दा गाइने थुप्रै किसिमका नुवाप्मा गीतहरु छन् । याक्थुङ पेन्युक (लिम्बू छन्द) मा यसलाई नुवाप्मा पेन्युक नामाकरण गरिएको छ । जस अनुसार फूङफेक्वा सहित प्रति श्लोक ६ अक्षरले निर्मित हुन्छ । यसको एउटा उदाहरण हेरौं
आओ मामु आओ
वान्ने याङदाङवाओ ।।
मामु हाप्लो थेई
केम्मा आतान् पेई ।।
इप्सो मामु इप्सो
सेम्माङ् नुबा माक्तो ।।
मिङसो यम्बा फोक्खे
खासाम ्ताङबा पोखे ।।
स्वात्लो मामु स्वात्लो
माम्मा तारो आल्लो ।। (तावा, २०५८, ३९–४०)
दैनन्दिन बच्चा पनि हुर्कदैं जान्छ । बामे सर्दे जान्छ । फकाउने शैली पनि फरक हुँदै जान्छ । उदाहरणको लागि यसरी फकाउन थालिन्छ ।
थैया मामु थैया
केम्बा आल्लो तैया
सेबङ मामु सेबङ
केम्बा ताआङ केबङ ।।
तिक्वा खेक्वा ताम्बाक्चा
मामु कुम्बा या:राक्चा
आम्बि मामु आम्बि
केम्बा ताबि मेम्बि ।।
पोबो मामु पोबो
हेने हारा पोगो ।।
नाम्मिन पिन्दा फिरिङलिङ
मामु पोगा सिगिङगिङ
युङसिङ मामु युङसिङ
आल्ल मामु उ:सिङ ।।
चन्दे मामु चन्दे
नाना कना कन्दे ।।
इङवान कासा थिङसिङल
वाइन पेरो चिङसिङल
चो चो मामु चो चो
आल्लो केम्बा होप्लो ।।
ताते मामु ताते
केम्बा ताबि पाते
पेरेवाइन पेरेद्या
मामु कुम्बा केरेद्या ।। (लिङदम, २०५५ : ५१–५२)
नानीलाई कोक्रोमा हालेर हल्लाउँदै सुताउँदाको अवस्थामा यसरी गाइन्छ ।
नाम्ओतिरे मिक्सिम्सिम् मिक्सिम्सिम्
आल्लग नाम्ओती इम्लोइम् इम्लोइम्
लाम्बाक खुम्बाक् सगि सुम्बाक्
नाम्ओतिरे नुन्नुथुङ पलिलिलि लिम् पलिलिलि लिम्
आल्लग नाम्ओती इम्लोइम् इम्लोइम्
थैया मामु थैया मामु केम्बा फेन्ल वैया
नाम्ओतिरे याङदाङ वान्दुम फिर्लिलिल फिर्लिलिलि फिङ
आल्लग नाम्ओति इम्लोइम इम्लोइम
इत्तुङ पातुङ केल्ल मेत्तुम्
नाम्ओतिरे मिक्सिम मेत्तुम्
कुनुनुनु इम कुनुनु इम
आल्लग नाम्ओती इम्लो इम इम्लो इम
मुन्धाङ खेसे खेम्सिङ लाबान् एत्ल येम्सिङ
नाम्ओतिरे सेम्माङ माक्तु
पनुननुु हिम पनुनुनु हिम
आल्लग नाम्ओति इम्लोइम इम्लोइम ।। (काईला २०५५ : ४८–४९)
४. नुवा:प्माको अवस्था
अहिले याक्थुङ समुदायमा नुवा:प्मा डुब्न लागेको घाम जस्तै भएको छ । बृद्घ–बृद्घाहरुमा मात्र अलिअलि बाँचेको छ । नयाँ पुस्ताका तरुण–तरुणीहरुले त यसको सुगन्ध पनि थाहा पाएका छैनन् । जब याक्थुङ समुदायमा आपनो भाषा बोल्न छाड्दै लगे तब नुवा:प्माले पनि ओंठबाट सुस्तरि कुलेलम ठोक्दै गयो । अहिलेका सबै पुस्ताले लिम्बू भाषा बुझ्दैनन्, बोल्दैनन् । लिम्बू भाषाबाट नानीहरुलाई बोलाउनुभन्दा बरु अंगेजी भाषाबाट बोलाउँछन् । नाम पनि अंग्रेजी र चाइनिज भाषामा राखिदिन्छन् । नानीहरुलाई नुवा:प्मा गाएर फकाउनुको साटो मोबाइलमा भिडियोहरु देखाएर फकाउँछन् । नानीहरुलाई कोक्रोमा हालेर हल्लाउने चलन पनि हराउँदै गएको छ । बरु, धाईआमाको प्रचलन पो बढ्दो अवस्थामा छ त । शायद अबको नयाँ पिंडिहरुलाई कोक्रो भन्दा अनौठो मान्नेछन् । कोक्रो र नुवा:प्माको कुरा पनि एउटा मिठो दन्त्यकथा जस्तो मात्र हुनेछ । सूचना र प्रविधिको असामान्य विकासले धेरै कुरामा नाफा र घाटा पनि पुर्याएको छ । अहिले आमा र बच्चा पनि एक्लै–एक्लै आफ्नो दुनियाँमा रमाउन थालेका देखिन्छन् । बच्चाहरु मोबाईलमा नर्सरी र्याम र आमाहरु भिडियो कल र टिकटक केमा हराइरहेका भेटिन्छन् । यसरी समय बद्लिंदै जाँदा धेरै कुराहरु परिवर्तन हुँदै गएको छ । हाम्रो मौलिक मूल्य मान्यताहरु हराउँदै गएको छ । गाउँखाने कथा र दन्त्यकथाहरु पनि प्राय: लोप भइसकेका छन् । यसरी गाउँबाट लोककविता, लोकगाथा, लोककथा र लोकगीतहरु हराउँदै गएर पो होकि फेदाङमाहरु भन्छन् अचेल गाउँमा देवताहरु रिसाएका छन् ।
५. निष्कर्ष
मानिसको जीवनमा गीतको अत्यन्तै ठूलो महत्व छ । अनुसन्धानकर्ताहरुले गीतले बच्चाको दिमागको भागलाई एकैसाथ उत्प्रेरित गर्नुका साथै बौद्घिक र भावनात्मक विकास पनि गराउँछ भनेका छन् । चिकित्सकहरुले यसलाई साँगीतिक शिक्षा पनि भन्ने गरेका छन् । बालच्चाहरुको स्वास्थ्य र सुन्दर जीवनको लागि गीतको सर्वोपरी महत्व छ । हामीले पनि गाउँघरमा आमाको काखमा सुनेको पहिलो गीतसंगीत नै नुवा:प्मा हो । नुवा:प्मा गीतमा केवल आमाको कोमल शब्दगुच्छा मात्र हुँदैन, त्यहाँ त आफ्नो सन्तानप्रतिको न्यानो ममता पनि गुम्फिएको हुन्छ । आफ्नो बच्चाको सुन्दर भविष्यप्रतिको चाहना पनि व्यक्तिएको हुन्छ । यस्तो मार्मिक गीतहरु सुनेर अबोध बच्चा मात्र होइन चराचरुङगी र किटपतङ्कहरु पनि भावुक हुन्छन् होला ।
फिदिम, पान्थर
सन्दर्भ सामग्री
सुब्बा, धनहाङ २०७४, लिम्बू लोकवार्ता, हाङमा लाबुङ र अनु गुरुङ
तावा, भवानी २०५८, याक्थुङ पेन्युखा, रुपनारायण लाओती
काईला, बैरागी २०५५, आनी पान कक्षा–१ को पाठ्यपुस्तक पृ.४८–४९
लिङदम, डिल्लि २०५५, आनी पान कक्षा–१ को पाठ्यपुस्तक पृ.५१–५२
केरुङ, सागर २०७५, सक्सा नु पेन्युक, पान्थर : याक्थुङ प्रज्ञा प्रतिष्ठान
तुम्बाहाङ, गोबिन्दबहादुर २०६८, लिम्बू जातिको चिनारी, काठमाडौं : आदिबासी जनजाति प्रतिष्ठान
लाओती, येहाङ २०६२, आदिबासी लिम्बू जातिको संक्षिप्त परिचय, दिलबहादुर लाओती