तपाईंको साहित्य–लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
कक्षा ६ मा पढ्थेँ । स्कुलबाट मुखपत्र निकाल्ने भनी कविता आह्वान गरियो । मैले आमा शीर्षकको कविता लेखेँ । त्यो छापियो । अनि लेख्थेँ, भाग लिन्थेँ । त्यो मेरो गाउँको स्कुल थियो । ९ र १० पढ्न म सदरमुकाम तानसेन गएँ । नयाँ ठाउँ, नयाँ शिक्षकहरू । मैले त्यहाँ लेख्न, भाग लिन केही गर्न सकिनँ । सङ्कोच लाग्थ्यो । अनि एसएलसी दिएर परीक्षाफल आउँदासम्म खूब लेखेँ । ती अहिले एउटा पनि छैनन् ,।
साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र कोबाट प्राप्त गर्नुभयो ?
मेरी आमाबाटै हो । उहाँ मेरी आमा मात्र नभएर शिक्षक पनि हो, गुरु पनि हो । उहाँले म उहाँको गर्भमै छँदा एउटा हिन्दी उपन्यास पढ्नुभएको रहेछ । त्यसमा दुई नारीपात्र ज्यादै सशक्त थिए रे । एक नीलम, अर्की आरती । त्यसैबाट हामी दिदीबहिनीको नामसमेत जुराउनुभएको रे । मैले लेख्दा ऊ ज्यादै खुसी हुने । अनि मेरो दाजु उहाँको अर्को प्रेरणा ।
साहित्यसेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
जति गर्न सकेकी छु त्यसबाट सन्तुष्ट छु । तर अझ्ै धेरै गर्न बाँकी छ, लेख्न बाँकी छ ।
नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
छ नि । योगदान छ, ठूलो छ । हामीले पुरुष साहित्यकारसँगै गर्वले नाम लिने ठाउँ छ । नाम लिने नाम छन् । तर अग्रसारिताका सम्बन्धमा कस्तो अग्रसारिता हुने ? समय हाँक्ने महिला स्रष्टा वा अरू कुनै अग्रसारिता ?
“साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रूपमा जनसमक्ष पु¥याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यका साथ प्रस्तुत गरिन्छ ।” यस भनाइप्रति तपाईंको के धारणा छ ?
साहित्य–सिर्जना गर्नुको विभिन्न ध्येय हुन्छ, उद्देश्य हुन्छ । साहित्य कहिले बन्दुक बन्नुपर्छ, कहिल बुद्ध मात्र बनिदिँदा हुन्छ । हिजोलाई हेर्ने हो भने कहिले वीररस लेख्नुप¥यो, कहिले भक्तिरसमा, कहिले शृङ्गारिक भावधारामा । त्यसैले साहित्य सधैं यस्तै हुन्छ, यस्तै लेखिनुपर्ने भन्ने होइन । हो, विचारको सुन्दर उद्घाटन गर्ने माध्यम साहित्य हो । त्यसैले त भाषण र साहित्य–सिर्जना फरक कुरा हो ध्येय एउटै भए पनि ।
हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
केही प्रतिष्ठानले साहित्यिक क्रियाकलापलाई थप गति दिन सघाएका छन् । सबैलाई नभनौं तर कुनै झेलाका प्रतिष्ठान पनि छन् । यसबारे के बोलूँ म ?
तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
स्वदेशीमा देवकोटा, बीपी, पारिजात, रिमाल, भूपी धेरै हुनुहुन्छ । जीवित साहित्यकारहरू पनि थुप्रै छन् । विदेशीको हकमा मेरो एक नम्बरको कमजोर पक्ष भन्नु नै विदेशी साहित्यकारहरूलाई त्यति पढेकी छैन, जहाँबाट मनपर्ने रोज्न सकूँ । तर मैले पढेकोमा माक्र्स, प्रेमचन्द, गोर्की, सेक्सपियर आदि ।
तपाईंलाई सधैं सम्झ्ना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झ्र्को नमानीकन उल्लेख गरिदिनुहोस् !
प्रज्ञाबाट राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत हुँदा नै हो । दिउँसो कविता वाचन भयो । छानिएको कविताको लिस्टमा मेरो नाम हेरेँ, थिएन । नीलम त थियो तर थर, ठाउँ, गाउँ अर्कै । म बसेर कविता सुन्दै थिएँ । एकपछि अर्को कविता पाठ हुँदै गए । नीलमको पनि नाम आयो, गयो । पढ्न कोही गएनन् । म कविताहरू सुन्थेँ र सोच्थेँ – यी वाचनभित्र मेरो पनि पर्नुपर्ने हो । यिनीहरूभन्दा नराम्रो त पक्कै थिएन । कसरी परेन, छानिएन ? सुन्दै जाँदा नमीठो लाग्दै गयो । प्रश्न त्यही रह्यो – किन छानिएन मेरो ? पुनः नीलमको नाम बोलाइयो । त्यहाँ पाठ गर्न कोही नगएपछि उद्घोषकले कविता पाठ गर्न सुरु गर्नुभयो । शीर्षक मेरै छ – बन्दी पानी । ओहो कस्तो संयोग ? पाँच–सात लाइन उहाँले पढेपछि मलाई लाग्यो यो कविता मेरै हो । अनि उठेर ठूलो स्वरमा भनेँ – त्यो कविता मेरो हो । म यहाँ छु । पछि मलाई वाचन गर्न दिइयो । मेरै हस्तलिखित कविता थियो । वाचन गरिसकेर सिटमा आउँदा मलाई एक्लै हाँसो लाग्यो । अनि पुरस्कारको घोषणा पनि त्यस्तै भयो ।
तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
पहिलो रचना माथि नै भनिसकेकी छु । आमा शीर्षकको कविता, किसान मा.वि. झ्डेवा पाल्पाको मुखपत्र किसानमा । मनपर्ने कुरा, डा. डी.पी. भण्डारीले ठीक यही सोध्नुभएको थियो । हवन कथाभित्रको कुन कथा मलाई मनपर्छ ? मैले जवाफ दिन सकिनँ । अहिले भन्दा हवानको हवन मनपर्छ ।
यसबाहेक तपाईंको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
मन लागेको कुरामा धेरैलाई अपाच्य भएको कुरा पैसा कवि, पैसा साहित्यकार हावी भएका छन् यसो हेर्दा । एकदिन कविता राम्रो लेख्ने कवि मित्रले भन्नुभयो यो पैसाको भेल नराम्ररी आयो नि ! मैले भनेकी थिएँ भेल भेल हो । त्यसको अस्तित्व कतिञ्जेल रहन्छ र ?