भन्नेहरु भन्छन् – the script does not belong to its author: सोच्नेहरु सोच्छन् – If I choose to put myself in the place of God, and say that the world is my creation nothing can prove to me that I am mistaken .
गत वर्ष रमेश र म अन्नपूर्ण वेशक्याम्पको यात्रामा गएका थियौं, कविता लेख्दै लेख्दै, कविता सुनाउँदै सुनाउँदै । साथमा अन्य कवि–कवयित्रीहरु पनि थिए । निकटतम दूरीमा – धवल हिमालहरुको अनुपम सौन्दर्यहरुले आल्हादित हुँदै मैले पृथ्वीको त्यो सानो प्रदेशलाई नाम दिन चाहें – साँग्रिला उपत्यका ! अहंकार हो, नाम दिन मन लाग्छ – आफैलाई, अरुलाई । त, ४२०० मिटर अग्लाइमा अवस्थित साँग्रिला उपत्यका ! हाम्रो कविता भयो, हामी कवि भयौं । भोलिपल्ट मानवीय वाध्यता– हामी आफूलाई त्यही छोडेर फर्कियौं ।
यही बीच रमेशको कुचीले होइन, कलमले चराहरुको पहाड ठड्याएछन् । अहिले म त्यही पहाडी शब्दप्रदेशको यात्रा गर्दैछु र नाम दिंदैछु – ‘प्राकृत बिम्बहरुको पागल नदी !’
म बुझ्छु – पहाड भनेको नदी होइन, नदी भनेको पहाड होइन । तर नदी र पहाडबीच के सम्बन्ध छैन ?
विना सृष्टिकर्ता ब्रह्माण्डको सृष्टि हुनसक्छ, कविताको सृष्टि हुनसक्तैन । कुरा गरौं सृष्टिकर्ता रमेशको । उनी स्वयम्भू ब्रह्मा हुन्, आफूले आफूलाई जन्माउने ! म उनलाई उनको वचपनदेखि नै चिन्छु । एक परिवार विघटनको क्रूर, अप्राकृतिक नङ्ग्राहरुले रगताम्य हुने गरी प्रत्येक क्षण कोतरिएर पनि ऐ्य्या भन्न नसकिने – भने पनि कसैले नसुनिदिने रमेशको बालककाल, साना–साना जिजीविषाका लागि ठूलाठूला आत्माभिमानका वामनावतार पयरमुनि थिचिन अभिशापित रमेशको किशोरावस्था – र जीवनको छोटो समयमा लामो जीवानानुभवले खारिएको सृजनशील रमेशको बूढ्यौली होइन बैंसालु वर्तमान – म सबै संघटनाहरुको साक्षी बक्न तयार छु । अभावहरुमा सृजित रमेशको दुर्दमनीय महत्वाकांक्षाका प्राप्तिहरु हुन् – कुचीका रङहरु, कलमका शब्दहरु ।
स्मृति – अहंकारहरु कोलाजमय छन् । बालक रमेश, किशोर रमेश, युवक रमेश – कोलाजमय लागिरहेछन् यद्यपि मलाई थाहा छ, गुर्यनिकाका छायाँमन्तिर पग्लेका साल्भाडोर डालीका घडीहरुभन्दा धेरै अगाडि बढिसकेको छ – हकिन्सको समयको छोटो इतिहास ! हुनसक्छ, समय बलवान हुन समयको निर्वलता हो !
कोलाज, कोलाज, कोलाज
रमेशका विविध उमेरका विविध चित्र–प्रक्षेपण ! बालक रमेशः म उनलाई टोलको गाईजात्रा नाचमा नाच्दै गरेको देख्थें । किशोर रमेशः म उनलाई बाह्र भैरव नाचमा नाच्दै गरेको देख्थें । उनलाई अभिनयमा पनि रुचि थियो । म उनलाई आफ्नै नाटकको पूर्वाभ्यासहरुमा आए – गएको भेट्थें । उनी अक्सर आफ्ना कविताहरु मलाई देखाउँथे र मेरो मन्तव्यमा प्रशंसा भन्दा बढी आलोचना सुन्न इच्छुक हुन्थे । उनको रुचि चित्रकलामा पनि थियो । उनलाई म दुर्गा बरालसित रङ र रेखाहरु संयोजन गर्ने कला सिक्दै गरेको भेट्थें । उनी केही बन्न चाहन्थे किनभने उनी अग्रजहरुसित सिक्न जान्दथे । रमेश भनेको अदम्य उत्साह, लगन र लक्ष्यनिष्ट आकांक्षाहरुका त्रिवेणी – संगम हुन् । रमेश जीवनका बहुद्देश्य आरोही हुन् । रमेश यादृच्छा – सिसिपसका पुराकथाहरुमा निरुद्देश्य ढुङ्गा गुल्टिंदैन । रमेश यादृच्छा – फलेषु कदाचन, जीवनको विसङ्गत महाभारत लड्दैन । संभवतः सृजनात्मक चस्का नपरेको भए रमेशका आग्नेय विद्रोह र Death Instinct ले मितेरी साइनो लाएर भट्टीपसलहरुमा झ्वाईंखट्टे खाइपिइरहन्थे । त्यो प्राप्तिको यात्रा नभएर समाप्तिको यात्रा हुनसक्थ्यो । धेरै–धेरै दुर्भाग्यहरु बीच एउटा सौभाग्य – रमेशले जिजीविषा र विजीविषका लागि कुुची र कलम छान्ने एक उपयुक्त सृजनात्मक पोखरेली वातावरण पाए । यसर्थ स्वयम्भू – Self bornman – रमेशको जीवनका संघर्ष एक विशुद्ध पोखरेली जीवन संघर्ष भएको छ । क्लोनिङ (Clowning) को युगमा डार्विनको जीवन संघर्ष – प्राकृतिक चयनपद्धतिले होइन, आधुनीतन सृजावृत्तिले ः रमेश बेग्लै मनोवैज्ञानिक अध्ययनका जैविक भावसम्वेदना हुन् ! रमेश – तिमी मेरो भाइ, तिमी मेरो साथी तिम्रो प्राप्तिको यात्रा हानीकारक नहोस् है !
अब कविता, कविता र उही कविताको कुरा । कविता के हो ? कविता बाघचाल हो । कविता के हो ? कविता भावचाल हो । कविता केही पनि होइन त्यसैले सबैथोक हो, कविता सबैथोक होइन त्यसैले केही कुरा हो । यस्तो लाग्छ कविता भनेको विविध समयका विविध प्रतीत हुन् । अहिले – नढाँटी भन्छु – मलाई लाग्दैछ ः कविता एक जिबरिश हो ।
जिबरिश, जिबरिश, जिबरिश
कविता फ्रायडमात्र, एडगरमात्र, जुङमात्र कहाँ हो र ? ए बट्रेण्ड रशेलको POWER कविता छ ? कि निर्वासित छ प्लेटोको REPUBLIC मा झैं ?
कविता POWER हो ? के समानता छ कविता र थर्माेडायनामिक्समा ? के विभिन्नता छ कविता र फ्रेड होयलद्वारा परिकल्पित विग् ब्याङ्गमा (Big Bang) ? विश्वको सबभन्दा महान महाकाव्य ‘विग् ब्याङ्कग’ हो तर यसका रचयिता फ्रेड होयल होइनन् ।
दुई शब्द ः रमेशका केही रचनात्मक आग्रह रहेछन् । कविता विश्वासको दरिलो पुल हो । ठीकै छ, कविता प्रेम हो । ठीकै छ, कविता प्रिय फूल हो । ठीकै छ, कविता थप्पड हो । ठीकै छ, कविता आवेश हो । ठीकै छ, कविता सुन्दर चित्र हो । ठीकै छ । ए यो विराट ब्रह्माण्डमा बेठीक के छ र कवितामा के छैन ?
कवि चराहरु
देशप्रेमका कविताहरु
कोरिरहन्छन्
सडकदेखि सदनसम्म
चराहरुको पहाडमा,
रमेशको प्रिय विषय देश हो । त्यसैले होला चराहरुको पहाडमा देशै–देश छ । प्राकृत बिम्बहरुको पागल नदी – के मैले बेठीक भनें ? के यो देशमा पागलहरु पागल छन् ? के यो देशमा सद्दे अपागलहरु अपागल छन् ? रमेशको चराहरुको पहाडमा जूनको बैंसालु नदी बग्छ, चराहरु आफूभित्रको आकाश ओडेर पहाडमुनि निदाइरहन्छन् । चराहरुको पहाडमा पीडायात्रा हुँदा आँगनलाई विधवा बनाएर जून सबेरै भाग्छ । चराहरुको पहाडले मान्छे हुनुको झण्डा बोक्दा माटोमा सूर्यकिरणहरु बग्न थाल्छन्, त्यहाँ हुने अहम् सम्वत्सर मा पग्लन नसकेका हिउँका डल्लाहरु फोर्दै, बुद्ध मरेको घोषणा हुन्छ, स्वप्न विद्रोह हुन्छ सारङ्गीको मृत्यु हुन्छ खुकुरीको आत्मकथा हुन्छ आगो हुन्छ मनका बेलगाम घोडाहरु हुन्छन्, अकर्मण्य जिजीविषाहरु हुन्छन् । चराहरुको पहाडमा बाढीझैं बग्ने सपनाहरु छन्, कवि र पृथ्वीका पत्थरहरु रोइरहेका हुन्छन् । सेतीका अनगिन्ती सुसाइहरुमा पोखराका सूर्याेदयलाई मुटुको किला सम्झदै÷ उज्यालोसँग प्रित लाउँदैनन् बोक्सीहरु । चराहरुको पहाडमा घाम नुहाउँदै गरेको पानी÷गाग्री भरेर ल्याउने चमेलीको व्यथा छ जीतको सूर्य तिम्रै पोल्टाबाट उदाउनुपर्छ अब – साहिँली मुखिनीको कथा छ । नाम्लोले डामिएको बैसालु थाप्लोमा÷ ढाक्रेको गीतसँगै फूलमायाहरु मुग्लान पसेको पीडा छ । चराहरुको पहाडभित्र रमेशको मृत्युपत्र पनि छ – जो–जससित सम्बन्धित छ । फूलहरु शीतहरुसँग जस्तै …। त्यहाँ सरुभक्तको आत्महत्या पनि छ – शून्य शून्य शब्दहरुको खेती गर्दै ।
मेरो मृत्युमा
एउटा अभाव
मसँग रहनेछ दुख्दै,
अर्काे अभाव
म मरे पछि पनि
बाँचिरहनेछ मेरो कवितामा
– मृत्युपत्र–२
सागर बन्न नसकेका दुब्ला नदीहरु
बगरभरि अनशन बसिरहेछन् ।
– जिजीविषा हराएको साँझ
बादलहरु पहाडजस्तै
यात्रा हराएर निदाइरहन्छन् एकान्तमा ।
– मैनबत्ती
तर ..
पागल नदीहरुमा
अन्धा सूर्यहरु
बगिरहेको देखें
– स्वप्न विद्रोह
चराहरुको पहाडमा रमेशका प्राकृत बिम्बहरु सरल छन् तर कताकतै जटील र अस्पष्ट पनि बनेका छन् । सायद यो सेतीको प्रवाह हो – कहिले लुक्छ, कहिले फुक्छ । बिम्बहरु पागल बनून तर दुर्घटित नबनुन् !
चालिसको दशकमा पोखरेली कविहरुको कविता सङ्गालो सारस्वत सम्पादन गर्दा रमेश मेरो छनोटमा परेका एक आसा थिए, अहिले उनी सशक्त विश्वास बनिसकेका छन् । मेरो दृष्टिमा रमेश चालिसको दशकका एक नवः बिम्बसन्धाता गहन भाव संवेदनशील कवि हुन् । राष्ट्रिय कवि प्रतिभाहरुको नयाँपङ्तिमा रमेशको प्राप्ति उल्लेख्य छ ।
रमेश, सिर्जनशीलताको यात्रा प्राप्तिको यात्रा मात्रै होइन, उत्सर्गको यात्रा पनि हो । म अब नयाँ आशा गर्छु । तिमी मलाई नयाँ विश्वास देऊ ।