“अँ दिदी ! मैले तपाईंलाई के जानकारी दिएको थिएँ भने तपाईंलाई यहाँ लामो समय राख्ने हाम्रो विचार छैन । तर यसमा तपाईंको सहयोगको आवश्यकता छ । तपाईंले मनु हुमागाईंको कन्ट्याक्ट प्वाइन्ट मात्र भनिदिनुस् । यति सहयोग त तपाईंले नगरी भएन ।”
“मलाई अचम्म लागेको छ कि तपाईंजस्तो माथिल्लो तहको अधिकृतले यस्तो बच्चाहरुले गर्ने प्रश्न गरिरहन तपाईंको कनसाइन्सले कसरी दियो ? कृपया मसित यस्तो खेलवाडको प्रश्न नगर्नुहोला । यस प्रश्नले मलाई हैरान गर्नुसम्म गरिसकेको छ ।”
“होइन दिदी ! मनुलाई नसमाति भएन ।”
“समात्नुस् न । मैले रोकेकी छैन । मलाई किन हैरान गर्नुहुन्छ ?”
“मलाई अचम्म लागेको छ । मनु भन्ने आइमाईलाई समात्न किन यत्रो कसरत गर्दै हुनुहुन्छ ? उनले के गरिन् ? भ्रष्टाचार गरिन् ? पजेरो चढिन् ? करोडौंको महल बनाइन् ? र राष्ट्रको गोप्य कागत विदेशीलाई बेचिन् ? या बन्दुक बोकेर जङ्गलबाट आइन् ? एउटा कुरा म तपाईंहरुसित सोधूँ ?”
“एउटा मात्र किन दस वटा सोध्नुस् ।”
“तपाईंहरु सुन्न सक्नुहुन्छ ।”
“किन नसक्नु ? तपाईं भन्नुस् त ।”
“प्रधानमन्त्री शेरबहादुर देउवाले तपाईं सेनालाई मिसयुज गरेको तपाईंले मान्नुहुन्छ कि मान्नुहुन्न ? सशस्त्र सेना र प्रहरीकै संरक्षणमा मनग्य भ्रष्टाचार गरी मजाले जुँगामा ताउ लगाई मन्त्री–प्रधानमन्त्रीको कुर्सी ओगटी मान सम्मानले सुसज्जित भइरहेका तपाईं मान्नुहुन्छ कि मान्नुहुन्न ? अनि तपाईंहरुले हात पछाडि बाँधी, कालोपट्टीले अन्धकारमा फाली राखेका निर्दोषहरुको स्थानमा ती भ्रष्ट, देश लुटुवा, अत्याचारी मन्त्री, प्रधानमन्त्री र सांसदहरु हुनुपर्ने होइन र ? यस्ता जघन्य अक्षम्य अपराधीहरुको रक्षा सेनाजस्तो मान्य, गौरवशाली राष्ट्रका रक्षकबाट कसरी गराउन सफल भए ? आश्चर्य ! घोर आश्चर्य !! यो कस्तो विडम्बना ?!”
“दिदी ! तपाईंले जुन प्रश्नहरु गर्नुभो, त्यसको जवाफ हामीसँग नभएका होइनन् । छन् जवाफ छन् । तपाईंले दोस्रो चरणको कुरा गर्नुभो ।”
मेरो मन ढुक्क फुल्यो । “दोस्रो चरण ? मतलब ? माओवादीलाई सफाया गरेपछि या उठ्नै नसक्ने पारिसकेपछि, पार्टी नेताहरुका छातीमा बन्दुुक सोझ्याउने कार्यक्रम रहेछ ? मैले भनेँ –“हेर्नुस् भाइ, मैले बुझेसम्म सेना राष्ट्रका रक्षक हुन् । तर मैले नबुझेको कुरा सेनाले प्रजातन्त्र जोगाउने कुरामा सेना कसरी कन्भिन्स भयो ? माओवादी समस्या त हाम्रो आन्तरिक राजनैतिक, सामाजिक, आर्थिक समस्या हो । यी समस्याहरुको समाधान गर्न देशमा कफ्र्यु लगाउनु सेना परिचालित गरिनु आपतकाल लागू गरी जनतालाई मारकाट, धरपकड, छेकथुन आदि गरिनुलाई कसरी मान्यता दिनुभो ? राष्ट्रलाई विदेशीबाट जोगाउन सेना नाकानाकामा बस्नुपर्ने होइन ? भारतीय सेनाले हाम्रो राष्ट्रको छातीमा पाइला टेकेको वर्षौं भइसक्यो । खोइ त हाम्रा सेनाले सीमाहरुको रक्षा गर्न सकेका ? ६० वटाभन्दा बढी हाम्रो नाकाहरु नाघेर भारतीय सेनाहरु अगाडि बढिसके । सेना किन मौन ? तपाईं सेनाले यति ठूलो समस्यालाई कसरी लिनुभएको छ कुन्नि ? तर मेरो दृष्टिमा यो ठीक होइन । सबै काम उल्टो भइरहेका छन् । मेरो त लाजले शिर झुक्नसम्म झुकेको छ । आजको यो भयावह स्थिति अन्धाधुन्ध नरसंहारको नतिजा हो । आजको हृदयविदारक नरसंहार भोग्न, चरमसीमा नाघेको अत्याचार खप्न ज्यानको बाजी ठोकी प्रजातन्त्र ल्याएका होइनौं । सत्ता पिपाशु भ्रष्ट शासक दलले तपाईं सेनाको घोर दुरुपयोग गरेका छन् । यो ठूलो अशुभ हो ।”
म आफ्नै सुरले बक्दै गएँ । कसैले एक शब्द बोलेको मैले सुनिनँ । त्यहाँ मेरो भनाइ सुनिरहेका कोही छन् जस्तो मलाई लागेन । कोही उठेर गएको पनि चाल पाइनँ मैले । एकाएक मेरो बोली बन्द भयो । सोचेँ मेरो कुरा सुन्ने त्यहाँ कोही पनि थिएन । म अलमलमा परी चुप लागिरहेँ । अचानक मलाई आदरले नमस्कार गरेका मान्छेको मोटो स्वर सुनेँ –
“लौ ठीक छ । दिदी ! तपाईंलाई हामीले चाहेर यो अवस्थामा राखेका होइनौं । दोस्रो कुरा तपाईंले हाम्रो लिमिटेसनस् बुझिदिनु प¥यो । तपाईं त यो राष्ट्रको जिउँदो इतिहास हुुनुहुन्छ । तपाईं आजको स्थिति र परिस्थितिबारे हामीलाई सम्झाउनु आवश्यक छैन ।”
“म यो राष्ट्रको जिउँदो इतिहास भएकै कारणले होला तपाईंहरुले मेरो अनुहार कालो नकाबले छोपी मलाई मानसिक यातना दिनुभएको । मेरो घाँटीमा नेमप्लेट झुन्ड्याइ फोटो खिचेको ।”
“मैले भनी हालेँ । हाम्रो लिमिटेसनस् तपाईंले बुझिदिनुप¥यो । के गरुँ ? यहाँको नियम पालना गर्नुपर्छ । कृपया, तपाईंले दुःख नमानिदिनुस् ।”
“मैले दुःख नमान्ने ? मैले ! मैले दुःख मानेर तपाईंहरुलाई फरकै के पर्छ र ? ठीक छ । राज्य तपार्र्ईंहरुकै हातमा छ । प्रजातन्त्र जोगाउने नाममा म ७० वर्ष पुग्न लागेकी एक्ली आइमाईलाई मध्यरातमा सुतिरहेको कोठाबाट समातेर ल्याई, आँखामा पट्टीले बाँधी, तातोपानी समेत खान नदिई, आतंकित अवस्थामा छिँडीमा थन्क्याई राख्नुभएको छ । मैले के अपराध गरेकी थिएँ ? मलाई यति ठूलो सजाय दिन । छ यसको जवाफ तपाईहरुसित ? तैपनि म चुपै लागेर बसिरहेकी छु । बुझ्नुभयो ?”
“त्यो त हामीले मान्यौ । तपाईं बडो शिष्ट र अनुशासनप्रेमी हुनुहुन्छ । तपाईंसित हामी ज्यादै प्रभावित छौं । हामीले तपार्ईंको ठूलो कदर पनि त गरेका छौं । तपाईंलाई आजभोलि नै छाड्ने हाम्रो विचार छ । खोइ ? तपाईं नै यहाँबाट छिटो जान चाहनुभएको जस्तो लागेन । नत्र तपाईंले कम से कम एउटा कुरामा त मद्दत गरिदिनु पर्ने हो ।”
“३ महिनासम्म मनु हुमागाईंलाई तपाईंको घरमा भाडा लिएर राखेको हो भनेर सकारी दिनुस् । बस् …।”
“फेरि त्यही कुरा । कस्तो जबर्जस्ती ? जसलाई मैले चिनेकै छैन, त्यसलाई ३ महिना मैले आफ्नो घरमा राखेकै हुँ भनेर मैले सकार्नु पर्ने ? मैले नबुझेको कुरा, एकछिनका लागि मान्नुस् मैले उनलाई ३ महिना मेरो घरमा राखेकी हुँ भनेर सकारेँ रे । यसबाट के प्रजातन्त्र जोगाउन सकिन्छ ? के उनी प्रचण्ड र बाबुराम भट्टराईभन्दा माथिकी हुन् ? ती आइमाईलाई किन त्यस्तो महत्व र प्राथमिकता दिनुभएको ? यो अति नै भएन र ? कृपया, मलाई यो विषयमा ह्यारेस नगर्नुहोस् । मलाई उनको बारेमा एक शब्द सुन्नु पनि छैन र भन्नु पनि छैन । तपाईंहरुले जे सजाय दिनुभए पनि म तयार छु ।”
“त्यसो भनेर तपाईंले कहाँ सुख पाउनुहुन्छ र ?”
“माफ गर्नुहोला । मैले सुख पाउनु खोज्नु ? आश्चर्य ! मेरो जीवनको अन्तिम सयम यही तपार्ईंहरुका पञ्जाभित्र बिताउन तयार भई बसिरहेकी छु । मलाई यहाँबाट बचेर जानु छैन । बुझ्नु भो ?”
मैले आफ्नो रिस आफ्नो दुःख र आफ्नो जोशलाई राम्ररी दबाउन सकिनँ । मेरो सास फुल्नसम्म फुलिरहेको थियो । आँखाबाट धुँवा निस्किरहेको थियो । मेरो इतिहास, मेरो आँखामा बिझ्ने गरी बस्न आएको थियो । छिनछिनमा नेमप्लेट छातीमा झुन्ड्याई डी.एस.पी. कार्यालयको कौसीमा आफू उभिइरहेको देखिरहेकी थिएँ मैले । सर्पले जत्तिकै मैलै फ्वाँफ्वाँ गरी स्वास फेरिरहेकी थिएँ । अनि लुरुक्क परेको स्वरले भने उनले –“दिदी ! तपाईंजस्तो प्रजातन्त्रका लागि लड्दै आउनुभएकाले त्यसो भन्न मिलेन । हेर्नुस् । राष्ट्र कतिको भयावह अवस्थामा छ ? तपाईंले थाहा पाउनुभएको छ । अझै समय छ । तपाईंले राम्ररी सोच्नुस् । देश त खत्तम हुने भयो नि ।”
“मलाई बटरिङ्ग नगर्नुस् । मबाट केही पनि पाउन सक्नुहुन्न । मलाई ठूलो पीर थियो मेरो आत्मकथाको अन्त्य कसरी र कहाँ हुनेछ ? बल्ल मलाई आनन्द भयो । मेरो आत्मकथाको अन्त्य यही छाउनी ब्यारेकमा तपाईं सेनाहरुका मुट्ठीभित्र हुने भयो । आइ एम सो ह्यापी । कमसे कम मैले देश बर्वाद भएको त हेर्नु पर्दैन । देश बर्वाद हुने भयो ? कहाँ छ तपाईंको सेनाको पीर ? कसले गर्दा देश बर्वाद हुँदैछ ? सोच्न सक्नुहुन्छ ? म भन्छु अझ समय छ । सोच्नुस् तपाईं सेनाले ।”
“लौ, ठीक छ । ए दिदीलाई भित्र पु¥याइ देऊ त ।”
अचानक मैले त्यही स्वर सुनेँ, जसले मलाई समातेर ल्याएका थिए । उठ्न लागेको पनि नउठी म बसी नै रहेँ ।
“सर ! सि नोज् एभ्रिथिङ्ग । सि इज लाइङ्ग सर ।”
“हु इज लाइङ्ग ? टेल मी ? हु इज लाइङ्ग ? यु पिपल आर लाइङ्ग । माइन्ड योर लाङ्गवेज । प्लिज डन्ट प्रभोक मी ।”
“ठीक छ । ठीक छ । ए दिदीलाई भित्र पु¥याइ दे ।”
दुईजना सेनाले मेरो दुईतिरको पाखुरा समातेर मलाई गोदामभित्र पु¥याइदिए । त्यही सेलाएको फोममाथि पल्टेर म निकै बेरसम्म शून्य भई रहेँ । मन अति नै नमीठो भएर आयो । मनु हुमागाईंको सारै नै माया लाग्यो । मलाई समात्नुभन्दा त्यस्तै ३ हप्ता जति पहिले एक दिन बिहान सबेरै मनु हुमागाईं मकहाँ आएकी थिइन् । कति उज्यालो अनुहार उनको ? डमक्क परेको जीउमा साधारण पहिरन थियो । बर्वाद भएको घरको पीर उनको आकृति र अनुहारमा कतै भेटिनँ मैले । त्यतिबेला उनी भूमिगत भएकी आठ महिनाजति भइसकेको थियो । त्यतिबेला नै उनको पस्मिना सलको सानो व्यापार ठप्प भइसकेको थियो । आठवटा तानको सानो कारखाना पनि बन्द भइसकेको थियो । उनका श्रीमान ३ परिवारको आर्थिक बोझ उनकै मेहनत, लगनशीलता र बुद्धिले धानेर आइरहेकी थिइन् । कत्रो पीर होला उनको हृदयमा आफ्ना छोरा, छोरी र परिवारको ? तैपनि बाघको मुख खाए पनि रातो नखाए पनि रातो भनेजस्तो उनको अनुहार अलिकति पनि अँध्यारो थिएन । झन् उल्टो उनले मलाई हँसाएकी थिइन् –
“हिजो छाडी अस्ति जे पर्ला पर्ला भनेर म घरमा पुगेकी थिएँ । मलाई देख्ने बित्तिकै दिदी त (जेठी सौता) थररर कामिहाल्नुभो । मलाई अङ्गालोमा लिएर असाध्य नै रुनुभयो । घरबाट तिमी गइहाल । दुई पल्ट सेनाले यो घर घेर्न आइसके । तिमीलाई मैले कसरी बचाउने नि ? तिमी फर्किहाल ।”
घरमा पुग्ने बित्तिकै म कसरी फर्किन सक्थेँ । छोराछोरीको अनुहार नदेखेको महिनौं भइसकेको थियो । दिदीलाई सम्झाएँ । हजारौंलाई मारिसके हजारौं समातिसके । ज्यान मेरो मात्र होइन । तिनीहरुको पनि हो । म एकजना त्यसमा थपेर के फरक पर्छ र ? देशको खातिर हत्केलामा ज्यान राखेर मैदानमा उत्रेकी हुँ । दिदीले मेरो पीर नगर्नुहोला । तपाईंले घर सम्हालिदिनुभएकोले निर्धक्क भई मैले अगाडि बढ्न पाएकी छु । मैले त्यसरी सम्झाउँदा पनि दिदीका आँसु थामिएन । उहाँले मलाई असाध्य नै माया गर्नुहुन्छ । त्यो रात म घरैमा बसेँ । रातभरि म सुत्न सकिनँ । त्यस घरमा बस्न सक्ने त कुरै भएन । अब जाउँ कहाँ । सबैजसो आफन्त, साथीभाइ, इष्टमित्रहरुलाई सम्झेँ । तर कतै पनि मेरो मनले खाएन । तर कतै त जानु प¥यो । भोलिपल्ट बिहान म घरबाट निस्कन ठीक परेको देखी छोराले रुन खोज्दै के भनेको थियो सुन्नुस् न दिदी । मलाई कस्तो हाँसो उठेको थियो भने ।
“पर्दैन पर्दैन आमा ! तपार्ईंले यस घरबाट बाहिर नजानुस् । अब त यही घरमा बस्नु भए पनि हुन्छ । तपार्ईंले देख्नुभएन ? बुबाले हाम्रो सबै झ्यालढोकामा ग्रील ठोकी सक्नुभएको छ । अब सेना हाम्रो घरमा कसरी पस्न सक्छन् ? म ग्रीलको ढोका खोलिदिन्नँ । अनि तपाईंलाई कसरी समातेर लान सक्छन् ।”
“हेर्नुस् त दिदी । आठ वर्षमा टेकेको छोरोको बुद्धि ? ग्रिल भएपछि सेना छिर्न नसक्ने उसको बिचार । फेरि उसको बुबाचाहिँको विचार सुन्नुस् न ।”
“आ पर्दैन पर्दैन । कतै जानु पर्दैन । यही घरमा बसे हुन्छ । नचाहिने कुरामा जिद्दी गर्छे । देखिनस् । भ¥याङ्गको मुखैमा तँ रानीसित बसेको फोटो टाँगिराखेको । त्यो फोटो देखेपछि जस्तो सेना आए पनि लुरुक्क परी फर्केर जानेछन् । बुझिस् ? त्यत्रो पैसा हाली यति ठूलो फोटो त्यसै बनाएर ल्याएको हुँ र ? पर्दैन अर्काको घरमा जान । यही घरमा बसे हुन्छ ।”
हेर्नुस् त दिज्यू । बाउ त्यसो भन्ने, छोरा यसो भन्ने । अनि म हाँस्नु परेन ? बाउ र छोराको बुद्धि एउटै जस्तो भएन ? म खूब हाँसेको थिएँ । बल्लतल्ल सबैलाई सम्झाएर बुझाएर म घरबाट फुत्केर बाहिर आएँ । अब कता जाने ? जाने ठाउँ त कतै सुझेन । जहाँ भए पनि जानु त परिहाल्यो । म त रनभुल्लमा परिहालेँ । त्यतिबेला त मलाई संसार नै शून्यजस्तो सारै नै विरक्त लागेको थियो । मनमा गुन्दै बिस्तारै पाइला चाल्दै गल्ली छेडो हुँदै गएँ । हेर्नुस् साँझ झमक्क परिसक्यो । कता जाने ? मैले निर्णय गर्न सकेकी थिइनँ । झ्वास्स एउटी साथीलाई सम्झेँ मैले । उनले मलाई बोलाइरहेको निकै दिन भइसकेको थियो । तँलाई त्यस्तै प¥यो भने खुरुक्कन मकहाँ आउनू । जति दिन मन लाग्छ बस्नू । तँलाई कसैले शङ्का गर्न सक्दैन । मेरो पाइला उतैतिर बढ्दै गयो । उनको घरमा एकपल्ट मात्र गएकी थिएँ । पत्ता लगाउन सक्ने हो कि होइन ? ३÷४ जनासित सोधेर बल्ल पत्ता लगाएर गएँ । तर भाग्यले उनी घरैमा थिइन् । मलाई देखेर उनी अत्यन्त खुसी भइन् । पुग्ने बित्तिकै उनले मलाई खाजा खुवाइन् । उनको परिवार निकै ठूलो । जो पनि कोठाभित्र आउने । ‘नजानी को हुन् ? कहाँबाट आएकी ? माइती कहाँ आदि प्रश्न गरी हैरान पारे मलाई त । मैले जवाफ दिन नपाउँदै साथी जवाफ दिने गरिन् — “बिहे हुनुभन्दा पहिलेको मेरी असाध्य मिल्ने साथी । हामीले सँगै पढेका । मेरी बालसखा । अहिले भ्यान्टाबारीबाट आएकी दुई चार दिन यहाँ मसित बस्न ।”
साथीले त्यसरी जवाफ दिइरहँदा म त यस्तरी उकुसमुकुसी रहेकी थिएँ कि मेरो त मुटुको ढुकढुकी पनि बढेको थियो । भ्यान्टाबारी भन्ने कहाँ पर्छ ? मैले त नामैसम्म पनि सुनेकी थिइनँ । भ्यान्टाबारीको कुन स्थानमा कसकी छोरी या बुहारी भनेर सोधेको भए ? मलाई त के गरुँ न कसो गरु ? भइहाल्यो । साथीले भने प्रश्न गरिरहेका आँखा छली, मलाई इसाराले भनिरहेकी थिइन् — “डराउनु पर्दैन । म छु नि ।”
मैले पनि अचम्म मानेर प्रश्न गरेँ — “साँच्चै भ्यान्टाबारी भन्ने ठाउँ पनि छ र ?”
“छ त होला ।” भनेर मनु हुमागाईं खुबै हाँसेकी थिइन् ।
“दिज्यू ! मलाई पनि थाहा छैन — भ्यान्टाबारी कहाँ छ ? साथी भ्यान्टाबारीबाट आएकी भन्दा म त जिल्ल परेकी थिएँ । मलाई त उत्निखेरै फर्कन मन लागेको थियो । तर के गर्नु ? रात परिसक्यो । त्यसमाथि कता जाने ? जाने ठाउँ पनि सुझेको थिएन । मैले एक रात त्यहीँ काटेँ । भोलिपल्ट बिहान साथीलाई भनेँ मैले — “हेर ! तेरो परिवार निकै ठूलो छ । म तेरो घरमा बस्न ठीक हुँदैन । म यहाँबाट जान्छु । मलाई नरोक ।”
डराउनु पर्दैन भने । जे प्रश्न गरे पनि जवाफ दिने म छँदैछु नि । कसैले शङ्का गर्दैन भने । यहीँ बस ।”
“होइन जिद्दी नगर । यस घरमा बस्न मिल्दैन । म जान्छु ।”
“तेरो जाने ठाउँ छ भने जा । म तँलाई रोक्दिनँ ।”
“खासै जाने ठाउँ नभएर नै तँकहाँ आएकी । जता भएपनि जानु पर्ला ।”
“कस्तो जता भए पनि जानु पर्ला भनेकी ? जहाँ पायो त्यहाँ म तँलाई जान दिन्नँ । मैले चिनेकी एउटी स्वास्नीमान्छेले मलाई भनेकी थिइन् – दुईवटा कोठा खाली छ, भाडामा राख्नुप¥यो भनेर । तँलाई त्यसकहाँ लगिदिन्छु । मिलेर बस्न भइहाल्छ ।”
मेरो मनले पटक्कै नखाए पनि साथीको जिद्दीलाई मैले नकार्न सकिनँ र बिहानको भात खाई म साथीको पछि लागेँ । हामी गल्छीछेडो हुँदै गयौँ । लौ, दिज्यू । त्यो घर त एउटा प्रहरी अधिकृतको रहेछ । लौ मारेन अब ? मलाई त के गरुँ न कसो गरुँ भइहाल्यो । प्रहरीकी स्वास्नीले के भनी भने – “समय यस्तो छ हजुर । श्रीमान् हप्ताको एकपल्ट जसो मात्र आउने भएकाले तपाईं आइमाई बस्नुभयो भने मलाई पनि साथी हुन्छ । ३ वटा ससाना छोराछोरी मात्र छन् । भैहाल्छ । बस्नुस् ।”
मलाई अलि यता तानेर साथीले के भनी भने –“लोग्ने प्रहरी भएर के हुन्छ ? हप्ताको १÷२ पल्ट आउने त हो । स्वास्नी अनपढ छे । टेलिभिजन हेर्न पाए पुग्छ । छक्का पञ्जा केही पनि जान्दिन । सारै नै सोझी छे । यस्तो घरमा बस्यौ भने झन कसैले शङ्का गर्न सक्दैन ।’
हेर्नुस् त दिज्यू ! मलाई कत्रो आपत परेको ? अनि मैले के सोचेँ भने, योसित मतलब साथीसित बादविवाद गर्नु बेकार छ । बिचरा उनले त मेरो भलो नै चिताएकी थिइन् । मैले उनको मन रहने गरी भनेँ –“अब यसो गर्नुपर्ला । यो घरमा बस्ने नबस्ने म तँलाई भरे या भोलिसम्ममा जवाफ दिन्छु । अहिले म अन्तै जान्छु ।”
“तैंले हेरेर जे ठीक लाग्छ त्यही गर । तँ यहाँबाट अन्तै जाने भए जानू । राम्ररी होस् गरी जानू । अन्त कतै मिलेन भने यतै आउनू नि । डराउनु पर्दैन । ल, यो कालो चस्मा लगाएर जा । तँलाई कसैले पनि चिन्न सक्दैन । अस्ति मैले यही चस्मा लगाएर बाहिर गएकी थिएँ । मलाई कसैले पनि चिन्न सकेनन्” भनेर ब्यागबाट कालो चस्मा निकालेर मलाई लगाइदिई । म त त्यहाँबाट टाप कसिहालेँ ।
मनु हुमागाईंले ब्यागबाट चस्मा झिकेर देखाउँदै खूबै हाँसिन् । चस्मा हेरेर मैले पनि नहाँसी सुखै पाइन । पुरानो डिजाइनको कोर्नसम्म कोरिएको चश्मा, उनले लगाएर देखाउँदा त आँखाको अस्पतालबाट आइरहेको आँखाको रोगी जस्ती देखिएकीले झनै हाँसो उठेको थियो मेरो ।
“दिज्यूलाई अझ एउटा कुरा सुनाउन त बाँकी नै छ । हरे मेरो श्रीमान्को बुद्धि एउटा जान्ने ज्योतिषकहाँ मेरा बारेमा देखाउन जानुभएको थियो । ज्योतिषले के भनेर पठाएका थिए भने– “तपाईंकी श्रीमतीका दशा चौपट्टै खराब छ । दशा काट्ने श्लोक र बुटी दिएर पठाएका थिए ।”
म घरबाट निस्किने बेलामा उनले भने –“यो घरबाट बाहिर जानु पर्दैन भनेको तैंले मानिनस् । अस्ति मेरो नामले ज्योतिषलाई हेराउन गएको थिएँ । तेरो खराब दशा कटाउन यो श्लोक दिनको बिहान र राती सुत्ने बेलामा नित्य पढ्नु अनि यो बुटी शरीरमा लगाई राख्नू । यति गरेपछि तँलाई केही पनि हुनेछैन । ल ले, यो बुटी र मन्त्रश्लोक ।”
“कत्रो अन्धविश्वास मेरो श्रीमान्को ? के गरुँ ? उहाँको विश्वासलाई मर्न नदिन मैले त्यो बुटी र मन्त्र लिएर आएँ ।”
फेरि पनि मनु हुमागाईं खूब हाँसिन् । एउटा भनाइ छ ‘डुब्न लागेकाले सिन्काको पनि सहारा लिन खोज्छ रे’ बिचरा मनुका श्रीमान्ले पनि त्यही भनाइमा विश्वास गर्न पुगे ।
“तपार्ईंलाई त्यत्रो आपत् परेको थियो । मकहाँ किन आउनु भएन ?”
“दिदीकहाँ नबस्नू भन्ने खबर छ । कुनै पनि बेला छापा मार्न सक्छ भनेकाले नै म नआएकी । नत्र दिदीको घरमा जस्तो सजिलो र सुरक्षा अन्त कतै लाग्दैन । यस घरमा आइपुगेपछि त सेफभित्र बसेको जस्तो लाग्छ । मनमा कुनै प्रकारको शङ्का समेत नलाग्ने । यत्तिको आनन्द लाग्छ । अहिले पनि नजानू भनेका थिए तर पनि आएँ दिदी ।”
“तपाईं यो बीचमा कता बस्नु भो त ?”
“बस्न आऊ भन्नेहरु त नभएका होइनन् । तर आफ्नो मनले पनि खानुप¥यो । त्यहाँसम्म पुग्न सक्ने सुरक्षित बाटो छ या छैन ? बिचार पु¥याउनु प¥यो । कालो चस्मा लगाएर पठाउने साथीकहाँबाट आउँदा त मलाई सारै नै आपत् परेको थियो मकै पोलेर बेच्ने एउटी महिलाको छिँडीमा घुसेँ म । उनले मलाई चिनेकी । त्यस्तै प¥यो भने आउनुस् न भनिराखेकी थिइन् । तर के गर्नु ? एउटै छिँडीमा उनको लोग्ने, पाँच जना छोराछोरी गरी सात जना जहान त्यसमाथि म थपिएँ भने ८ जना हुन्छन् । कमाइको बाटो त्यही बाटामा बसी मकै पोलेर बेच्ने हो । ओछ्याउने त्यस्तो केही छैन । एक रात बसेर म त्यहाँबाट यहाँ आउँदैछु ।”
मैले यी सबै कुरा सम्झिरहेकी थिएँ । यति नजिककी मनु हुमागाईंलाई मैले चिनकै छैन भनेर अटेर गर्दै आएकीले म सारै नै अप्ठ्यारोमा परेकी थिएँ । कारण मैले उनका बारेमा केही जानकारी नदिई म उम्किन नसक्ने भएँ । अब कुरा कसरी मिलाउनु पर्ला ? मैले खुबै गौर गरेँ । झ्वास्स मैले के सम्झेँ भने मनदेवी शर्मा र मनु हुमागार्ईं एउटै हुन् कि भनेर किन प्रश्न नगर्ने ? हेरुँ । यसको प्रतिक्रिया के हुन्छ ? यही बाटो ठीक पर्ला भनेर मैले निर्णय गरेँ ।
सेनालाई बोलाई मैले खबर पठाएँ –“मेरो केही भन्नु छ ।” तुरुन्तै मलाई लिन पठाए । मलाई डो¥याएर बाहिर लाँदै गरेका सेनाले भने –“दिदी ! तपाईंले पटक्कै नदेखेको एक्टिङ्ग गर्नुस् है । नत्र फेरि यो पट्टीमाथिबाट अर्को पट्टी थपिदिनेछ ।”