‘सपनाका मेघमाला’ कविता सङ्ग्रह शीला योगीद्वारा लिखित र सङ्गृहीत साहित्यिक कृति हो । २०७५ बैशाखमा प्रकाशित यस सङ्ग्रहको प्रकाशन डा. नितीक्षा शर्माबाट भएको हो । आवरण बाहेक ६४ पेजमा संरचित यो कविता सङ्ग्रहभित्र जम्मा २२ ओटा गद्य कविता रहेका छन् । कविताहरू छोटा आयामका छन् । कविता सङ्ग्रहभित्र कविको लेखकीय छ । कतै दम्भ छैन, लेखकीयमा सिङ्गो कविता सङ्ग्रहको भाव प्राप्त हुने गरी डा. जगदीशचन्द्र भण्डारीको छोटो टिप्पणी रहेको छ ।
कविता कस्तो हुनुपर्छ ? यो विचार र संरचना दुवै पक्षमा बहसकै विषय हो । वर्गीय समाजमा कविताले कुनै न कुनै ढङ्गले वर्गकै प्रतिनिधित्व गरेकै हुन्छ । जसरी राजनीति भयो भन्नेहरू नै खराब राजनीति गरिरहेका हुन्छन् त्यसैगरी कवि हुँ भन्नेहरू कविताको मर्मलाई कुल्चिरहेका हुन्छन् । मूलत: पाठ्यक्रममा राखिएको पाठ्यांशलाई साहितय र त्यसका लेखकलाई मात्र साहित्यकार मान्ने हाम्रो सोच नबदलिएसम्म असल साहित्य कस्तो हुन्छ र त्यसले राज्य निर्माणमा कसरी सघाउन सक्छ भन्न विषय मूर्त हुन सक्दैन ।
“असमानताका पीडाहरू आँसुसँग घुटुघुटु पिएको दिनमा मेरो कविता गर्भमा बसेछ । जति पीडामा छट्पटाए पनि बच्चाको ‘च्याँ’ आवाज सुनेपछि आमा भएको गर्व हुन्छ र पीडा अनि खुसीको आँसु सँगै झर्ने गर्छ ।” यी हरफहरू कविले कविता र सन्तान जन्माउँदाको अनुभवस्वरूप लेखेको देखिन्छ । समाजमा देख्नेले सयौं वर्षदेखिको विभेद देखेको छ । शासन गर्नेले आफ्नो स्वार्थअनुकूल समाजवादको व्याख्यामा समय बिताएको छ । कविता सिर्जना गर्न थुप्रै विषय समाजमा रहँकै छ । समाजमा व्याप्त असमानताको पाटोलाई कवि मन कविता माध्यम प्रकट गर्न पुग्छ । हाम्रो राष्ट्रिय परिवेश र खास गरी निम्न वर्गीय सीमान्तकृत मानिसहरूमाथि भएको दमन, उत्पीडन साहित्यमा पोखिनै पर्दछ । यी र यिनै दायित्वबोधबाट साहित्यको जन्म भएको विषय बारे कविले आफ्नो कथनीमा भनेको देखिन्छ ।
यस छोटो लेखमा कवि शीला योगीको ‘सपनाको मेघमाला’ कविता सङ्ग्रह भित्रका प्रत्येक कविताहरूको छोटो–छोटो भावभूमि प्रस्तुत गर्दै अन्त्यमा कविता सङ्ग्रहको मूल भाव केलाउने जमर्को गरिएको छ ।
१. कम्लरी – कम्लरीको आत्मकतथा – सेवा, विद्रोह
२. हरेक बिहानीले सुरुवात गर्छ– आशा सञ्चार – परिवर्तन
उद्घोष – पुराना सकिने आशा
३. तिर्खाएको मन – स्वतन्त्रताको निम्ति समवेत स्वर निर्माण
घर–परिवार र बन्धन तोड्न आवश्यक
४. मेरो प्रेम बसेछ – समाज परिवर्तनको एउटै अठोट
सहयात्रामा वर्गीय प्रेम
५. अन्तिम इच्छा– छोरीले बलिदानीपूर्ण सङ्घर्ष गरेर परिवर्तन गरिछाड्ने अठोट लिएको विषय ।
त्यो हेर्ने धोको ।
६. गणतन्त्र र नाङ्ले पसल्नी – १९ दिने
–सामान्य जनताले गरेको योगदान
–साँचेको आशा
–गणतन्त्र लुटतन्त्रमा बदलिएकाले फेरि नयाँ ढङ्गले सोच्न जरुरी छ ।
७. लाङटाङ र आङाआले – राज्य सत्ताले निहत्याको कसरी ज्यान लियो ?
जनयुद्धको क्रममा कथित सुरक्षाकर्मी ज्यादतिले पोलेको मन
–आक्रोश/सफलताको अनुभूति
८. बस यही सोचेर म– गुण परिवर्तन नभई विश्राम लिन नहुने सन्देश
९. मूल्यहीन श्रम– राज्यले श्रमको शोषण गरेको प्रसङ्ग
दिनरात भोकै खटेर काम गर्नेको आक्रोश
वर्गीय यात्रा सजिलो नभएको
१०. सपनामा मेघमालाहरू – सपना अर्थात् सोचहरू
–विगतको कामबाट सन्तुष्ट छैनन्
–चित्त दुख्छ/छटपटी हुन्छ/गर्न केही सकिएको छैन ।
११. लोग्ने मान्छे –पुरुषलाई रुन पनि दिएको छैन समाजले
रुढ परम्पराले उन्मत्त पनि बनाएको छ ।
–एउटा पुरुषलाई कम्तीमा एउटा नारीले चिन्न सके जीवनयात्रा
भावपूर्ण र समान बन्न सक्छ ।
१२. जीवित अक्षरहरू–अक्षर विचारको बीज हुन् ।
–पीडा साहस बनेर लेखिने र पोखिने गर्छ
–अन्तत दमनले प्रतिकार गर्न सिकाउँछ ।
१३. छोरीलाई चिठी–छोरीलाई आफ्नो रूपमा नअलमलिन आग्रह
–नारी हुनुको गौरव निर्माण गर्न रूपमा होइन गुणमा ध्यान दिनुपर्छ ।
–एक्लो यात्रा होइन सामुहिकतामा बाँच्नु पर्छ ।
१४. बिराना आफन्तहरू– परिवर्तन नभइसकेको । कतिलाई भ्रमले सताएको गाउँमा अझै ढुक्कसँग बाँच्ने स्थिति छैन । दमन, शोषण, अन्याय
अत्याचारको राज छ । समानताविहिन गाउँको खोजी ।
१५. रित्तोकाख – आमाहरूले आफ्नो काख रित्तो पारेर परिवर्तनका निम्ति पठाएका छोराछोरी (सन्तान)को बलिदानीको हिसाब मागिएको छ ।
–अवसरवादीहरूले बलिदानको इतिहासको अवमूल्यन गरेको ।
१६. एउटा यात्रा–परिवर्तन समानताको लागि
–वर्गीय प्रेम नै वास्तविक प्रेम
१७. बेवारिस वर्तमान– होलेरी र खाराका कथा, वीरता र परिवर्तनका निम्ति लडेको लडाईको कथा ।
–परिवर्तन परिवर्तनका निम्ति हिँडकालाई नआएको
–चाहे खरिपाटी, चाहे पालुङटार जताजता जे बैठक भेला गरे पनि खासै अर्थ नराखेको
–अवसरवाद हावी भएको
–कर्णाली भेरीमा खासै परिवर्तन आउन नसकेको कथा ।
–थवाङ र जलजलाको सम्मान हुन नसकेको याथर्थ ।
१८. आकाशको रङ–पर्यावरण चेत
–स्वतन्त्रता र आस्थामाथि घुमिलपन आएको
१९. सपनाका गीतहरू–परिवर्तनका गीतहरू गुञ्जायमान हुन छाडेको
–अर्कै संस्कृति स्थापित गर्नेहरू हराएको
–सामन्ती सोच पुन: हावी भएको ।
–पुन: थवाङलाई ब्युझाउनु छ ।
२०. गर्भ–नारीको इच्छा मुताविक सृष्टि हुने
–पुरुष/नेतृत्वको अनुरूप केही नहुने
–भ्रममा बाँच्न नखोज भन्ने सन्देश
–समानता र सहअस्तित्वको पाठ गर्भमै सिकाएको जिकिर
२१. उनकी आमा – सन्तान (बलिदानीका निम्ति) जन्माउने आमाहरूको मन कसरी बुझ्ला ?
२२. जुकाहरूलाई मिल्काइ देऊ–पुरुषभित्र भएको अहङ्कार हटाउनु पर्ने
–यदि यो दम्भ हटे समान बन्न सक्ने र समतामूलक समाजको निर्माण हुने ।
–हाम्रो मनभित्र आफैलाई चुस्ने जुका रहेको र मिलाउनु पर्ने उद्घोष ।
–वर्गीय माया, लैङ्गिक विभेदको अन्त्य, जनयुद्धको गौरव नभुल्न आह्वान ।
माथि टिपोट गरिएको बुँदाहरूको आधारमा कविता सङ्ग्रह भित्र मूलत: तीन विषयको उठान भएको छ;
१) नारी पीडा र तत्सम्बन्धी प्रस्तुति
२) समाज विकासको प्रक्रियामा समान सहभागिताको आवश्यकता
३) वर्गीय प्रेम र यसका विविध पक्षको उद्घाटन
१) नारी पीडा र तत्सम्बन्धी प्रस्तुति
‘कम्लरी’, ‘अन्तिम ‘इच्छा’, ‘छोरीलाई चिठी’, ‘रित्तो काख, ‘गर्भ’, ‘उनकी आमा’ आदि शीर्षकका कविताहरूमा नारी पीडा र तत्सम्बन्धी प्रस्तुति मात्र छैन यसभित्र नारीका कमजोरी पक्ष खोज्ने हाम्रो समाजको गलत प्रवृत्तिको विरोध समेत गरिएको छ । कविले आफूलाई एउटा स्रष्टाको रूपमा सबल यात्राको थालनी गर्ने उद्घोष समेत गरेकी छिन्;
एकदिन साहेबले मलाई
मेरो हात सुम्सुम्याउँदै भन्नुभयो
कम्लरी जस्ती छैनस् तँ त
साहेबनी बन्न पो सुहाउँछेस् । (कम्लरी, पृ. १२)
‘नारी’ मात्र विषय छैन । नारीमाथिको वर्गीय विभेद झन् डरलाग्दो विषय छ । नेपाली समाजमा घोषित रूपमा कहीँ केही समस्या छैन तर यथार्थमा समाजको समस्या डरलाग्दो देखिन्छ । एकातिर तमाम समस्याको विपक्षमा लड्ने यात्रामा बितेको दश वर्षे जनयुद्धबाट समेत विषय हल हुन नसकेको तथ्यलाई यहाँ प्रस्तुत गरिएको छ भने अर्कोतर्फ जतिसुकै नारी मुक्तिका भाषण गरे पनि व्यवहार पक्षपातपूर्ण रहेको प्रमाण कविताले दिएको छ ।
तिमी हाँक नगर
यो गर्भ तिम्रो हो
मनलागे जन्माउने
मन नलागे तुहाउने । (गर्भ, पृ. ५९)
कविले नारी स्वतन्त्रतालाई पुरुषले आफ्नै स्वार्थअनुकूल पार्न खोजेको विषय प्रस्तुत गरेकी छन् । प्रवृत्ति अर्को, व्यक्ति इच्छा बमोजिम नभएर उसकै नियममा चल्ने प्राकृतिक विषय पनि यहाँ आएको छ ।
२) समाज विकासको प्रक्रियामा समान सहभागिताको आवश्यकता
कविले नेपाली समाजको विकास प्रक्रियामा नारी र पुरुष, उच्च वर्ग र निम्न वर्गको तथा सुदूर भूगोलको पनि उत्तिकै भूमिका रहेको छ । सो विषयलाई छायामा पारेर केही मान्छे, वर्ग, लिङ्ग, भूगोलले शासन गर्दा यो हालत भएको आरोप झूटो नभएको विषय उल्लेख गरिएको छ । ‘बिराना आफन्तहरू’, ‘जुकाहरूलाई मिल्काइ देऊ’, ‘मूल्यहीन श्रम’, ‘अन्तिम इच्छा’ जस्ता कविताहरूले यी भाव प्रकट गरेका छन् ।
आफ्नै आँगनमा बसेर
मेरो छोरीसँग बात मार्ने रहर
गाउँदेखि शहरभरि
अनि डाँडादेखि बगरसम्मको
कथा सुनाउने मेरो रहर । (अन्तिम इच्छा, पृ. २०)
नेपालको राज्य व्यवस्था जनमैत्री हुने हो भने आफ्ना सन्तानसँग खुशी साट्दै र दु:ख बाड्दै केही गर्न सकिने थियो भन्ने भाव यहाँ प्रकट भएको छ । आफ्ना सन्तानको श्रम यही माटोमा भिजोस् भन्ने चाहना प्रत्येक अभिभावकको हुने विषय प्रस्तुत छ ।
चुपचाप सहनु पर्छ
जब परिश्रम अरूका लागि
रातदिन पसिना बगाउनु अरूका लागि
तबश्रममा गर्वबोध कसरी गर्नु ? (मूल्यहीन श्रम, पृ. ३०)
हो समाज विकासमा सबैको सहयोग छैन र ! किन जस लिन शासकहरू तम्सिन्छन् ? आफू मात्र बाँच्ने चाहनाले नेपाली समाज बदनाम भएकोतर्फ कविको ध्यान खिचिएको छ । कवि प्रत्येकले समाजको निर्माणमा अपनत्व लिन सक्नुपर्छ भन्न विचार प्रस्तुत गरेकी छन् ।
३) वर्गीय प्रेम र यसका विविध पक्षको उद्घाटन
‘सपनाका मेघमाला’ कविता सङ्ग्रहमा प्रस्तुत अधिकांश कविताहरू वर्गीय प्रेमप्रतिको ढल्काइमा रहेका छन् । कविको आफ्नै परिवेश र समाजको थप अध्ययनले कवितामा वर्गीय विषयवस्तु सुन्दर ढङ्गले उपस्थित भएका छन् । ‘सपनाका गीतहरू’, ‘गणतन्त्र र नाङ्ग्ले पसल्नी’, ‘जुकाहरूलाई मिल्काइ देऊ’ जस्ता कविताहरूमा घनिभूत रूपमा वर्गीय चासो र वर्गीय प्रेम प्रकट भएका छन् । कवि आफ्नो जीवनयात्रालाई समेत यही वर्गीय धरातलको सापेक्षतामा प्रस्तुत गर्न पुग्दछिन् ।
ठूलाठूला भिरहरूमा
चितुवा र बाघहरूबाट जोगाउँदै
नौलो बिहानीको योजना सुनाउँदै
एकमुठी मकै र सातुको भरमा
गगन चुम्ने शिखरहरू, घनघोर जङ्गलहरू र
ओडारहरूमा ओत लाग्दै
जन्मेका यी सुन्दर सपनाहरू
हिजो आ (सपनाका गीतहरू, पृ. ५७)
कवितामा प्रतीक र बिम्बको माध्यमबाट नेपाली समाज, वर्गीय घरातलीय अवस्था साथै जङ्गली बर्बर हमलाकारी सामन्त शासकहरूको चपेटाबाट निम्नवर्गको आशालाई बचाउनु पर्ने स्थिति बोध भएको छ । गणतन्त्र प्राप्तिपछि नेपाली समाजको निम्नवर्गको आर्थिक स्थिति केही सुधार भएको छैन । यहाँ त सपनाको व्यापार गर्ने, सत्ता दलाली गर्ने र ठेक्का पट्टामा रमाउने बानीले गरिब झन् गरिब भएका छन् ।
राजधानीलाई घेर्दै
नारा लगाउँदै हिँडेकी थिएँ
बेलुका ओठमा कलेटी पार्दै
गोलीबाट बचेर घर फर्किँदा
मेरी छोरीले सोध्ने गर्थी
आमा नाङ्गो त घरमै छ
भोलि भात कहाँबाट खाने ? (गणतन्त्र र नाङ्ग्ले पसल्नी, पृ. २३)
कविताले हाम्रो शरीरमा काँडा उमार्दछन् । किनकि हामीले फेर्ने भनेको अवस्था हो । व्यवस्था मात्र फेरियो । अवस्था नफेर्ने व्यवस्थामा आज पनि राजा–महाराज, रानी–महारानी उत्पादन भइरहेकै छन् । कसरी हो फेर्के अवस्था ? के भाषण मात्रले फेरिन्छ । के एउटा पछि अर्को राष्ट्रपति वा प्रधानमन्त्री फेरिँदा फेरिन्छन् त ? ‘सपनाको मेघमाला’ कविता सङ्ग्रह भित्रका कविताले शालीन विद्रोह बोलेका छन् । अन्यायको विरुद्धमा आवाज ओकलेका छन् । समवेत स्वरको माध्यमबाट प्रतिध्वनित भइरहेका असन्तुष्टिप्रति सहानुभूति प्रकट गरेको छ । मान्छे–मान्छे समान हुनुपर्छ । शासक र शासित भइर आज कसरी समानता हुन सक्छ । अभिभावक बन्नुपर्ने राज्य किन गरिबको शिकार गरि हिँड्छ ?
अन्त्यमा
कवि शीला योगी सङ्ख्या कम र गुणमा बढी सोच्ने र लेख्ने नारी हस्ताक्षरका रूपमा आफ्नो परिचय बनाइरहेकी छिन् । निम्न वर्ग, नारी तथा सीमान्तकृत जातिको आवाजलाई एकताबद्ध बनाउन सकेमात्र ‘सपनाको मेघमाला’ले सार्थकता पाउन सक्छ भन्ने विश्वासका साथ आफ्ना झण्डै दुई दर्जन कविताका साथ कवितामाथि न्याय गर्न काव्ययात्रामा उत्रिएकी छिन् । मूलत: काव्यमा वर्णित वर्गीय प्रेमले कविमा प्रगतिशील लेखनको सुस्पष्ट सङ्केत देख्न सकिन्छ
कुरिनटार, चितवन